दार्जीलिङलाई
तीनवटा अङ्ग्रेजी अक्षर “टि”-हरूले
प्रसिद्ध बनाएको छ -‘टि,
टिम्बर
अनि टुरिजम। यसमा पर्ने टुरिजमको मुख्य आकर्षण रहेको छ यहाँको दार्जीलिङ हिमालयन रेलवेको
टोय ट्रेन। यस दार्जीलिङ हिमालयन रेलवेले पर्यटकहरूको आकर्षण बनेर कतिपय मानिसहरूको
जीविका पालानको निम्ति आर्थिक योगदान दिँदै आइरहेको छ। तर कसले सोँचेको छ,
कि
यस आकर्षक ट्रेनको वास्तविक अवस्था कस्तो छ भनेर?
वास्तवमा पहाडको अपर्याप्त यातायात प्रणालीको समस्यालाई सुल्झाउनको निम्ति सन् १८८१-मा दार्जीलिङ हिमालयन रेलवेको संचलान गरिएको थियो। त्यस पश्चात् पहाड़का मानिसहरू दार्जीलिङ हिमालयन रेलवेसँग विभिन्न रूपले जोडिन गए। केही रेलवेमा नै कार्यरत भएर, केही सवारी भएर, केही सवारीहरूका भरिया भएर, केही पसल थापेर इत्यादी। तर अहिले दार्जीलिङ हिमालयन रेलवेलाई धेरै समस्याहरू सँग जुझ्न परिरहेको छ। सन् १८८१- देखि अहिले सम्म दार्जीलिङ हिमालयन रेलवेको अस्तित्व छ। वास्तवमा एउटा इञ्जिनको सही आयुं ४० वर्ष मात्र हो तर यहाँका इञ्जिनहरू १२० वर्ष भन्दा पनि पुरानो भईसक्दा पनि कुनै कदम उठाइएको छैन। यदि दुर्भाग्यवश यो इञ्जिन कुनै दुर्घटनाको सिकार बन्न गयो भने यसको जिम्मेवार को हुन्छ?
५ डिसेम्बर, सन् १९९९- मा दार्जीलिङ हिमालयन रेलवेले विश्व विरासतमा मान्यता प्राप्त गयो। विश्व विरासतमा अंकित भए पश्चात्, १० वर्ष वाद मात्र, यसलाई Comprehensive Conservation and Management Plan (CCMP)- को निम्ति २०१०-११ को रेलवे बजेटमा १.२ करोड रुपियाँ प्रदान गर्ने निर्णय लिइयो, तर धेरै लामो अन्तारालसम्म पनि यो बजेट यहाँ आइपुग्न सफल भएको थिएन। राशि प्रदान गरिएता पनि दार्जीलिङ हिमालयन रेलवेको अवस्थामा कुनै सुधार भने देख्न पाइएन। यसको स्टेसनतिर पनि हामीले हेर्यौं भने त्याँहा न त शौचालयको राम्रो व्यवास्ता छ न त पिउने पानीको नै। सन् २०१२ अनि २०१३-को बजेटपनि दार्जीलिङ हिमालयन रेलवेको हितमा देखा परेन। यसले इञ्जिन, बग्गी, अनि रेलपथहरूको अनुरक्षणको निम्ति कुनैपनि चासो राखेको देखिएन।
२०१०-को जुन महिनामा पग्लाझोड़ामा पैह्रो गएको थियो जसमा राष्ट्रिय राजमार्गको ८८ मिटर ध्वस्त भयो अनि रेलमार्ग पनि ठप्प भयो। फेरी २०११-को सेप्तेम्बेर भूकम्पको कारण तीनधारे कारखानाको तलतिर ११० मिटरको रेलपथ ध्वस्त पारिदियो। तर अहिले तीन वर्ष पुग्न लागिसक्दा पनि दार्जीलिङ हिमालयन रेलवेको यस रेल सेवालाई पूर्ण रूपले स्थापित गर्ने कदम लिइएको छैन। यस प्राकृतिक विपत्ति पूर्व जब यहाँ रेल सेवा चल्ने गर्थ्यो, त्यस समय यस रेल सेवामा त्यही तीनधारे देखि खरसाङ आउन मात्र ८ रुपियाँ तिर्न पर्थ्यो भने अहिले रेलसेवाको अनुपस्तिथिमा ४० रुपैयाँ तिर्न परिरहेछ। यस्तै प्राकृतिक प्रकोपले सन् १८५१-मा सिलिगुडीदेखि गेलखोला सम्मको रेलपथ ध्वस्त भएको थियो तर यसको पूर्ण स्थापनाको निम्ति कुनै कदम नलिएको कारण यस भागलाई सधैँको निम्ति गुमाउनु पयो।
कतिपय इञ्जिन अनि बग्गीहरू अझपनि कारखाना अनि सिलिगुडीमा नै थाक लागेर बसेका छन् किनभने यसको मरमत्ति पश्चात् यसलाई खरसाङ लैजाने कुनै व्यवस्था छैन। अर्कोतिर भने बग्गीहरूको कमीलाई मुख्य कारण देखाएर ‘खरसाङ सफारी’-नामक रेल सेवालाई पनि बन्द गरिदियो। यी नै कारणहरूले गर्दा दार्जीलिङ हिमालयन रेलवेले १० करोड प्रति वर्षको क्षति झेल्न परिरहेछ। तर यसको अवस्थाको सुधारको औ संरक्षणको निम्ति कुनै कदम लिइएको छैन।
No comments:
Post a Comment