कृत्रिमरूपले आधुनिक तकनिकहरू द्वारा बनाइएको एउटा असम्बन्धित
जीव जस्तै ब्याक्टेरिया,
भाइरस,
फंगस इत्यादिको जीन अर्कै जीव जस्तै उच्च उद्भिद आदिको डीएनए
मा जोडेर बनाइएको नयाँ प्रकारको उद्भिद वा फसलनै जी एम (जेनेटिकली
मोडिफाइड) फसल हो। यस्तो किसिमको मिसावट वा संकरण प्रकृतिमा पाईन्दैन बरु
एक एकवटा जीवमा भएको जीनको विकाश धेरै लामो जैविक विकासको प्रक्रियाबाट भएको हुन्छ।
उदाहरणको रूपमा खुबै चर्चामा रहेको बीटी कपास र बीटी बैगुन माटोमा पाइने एक किसिमको
ब्याक्टेरिया (ब्यासिलस थुरिञ्जिएँसिस) बाट
कीटनाशक जीन निकालेर त्यसलाई कपास र बैगुनको जिनमा हालेर बनाइएको हो। वैज्ञानिकहरूको
भनाई अनुसार उद्भिद आफैले हानिकारक किरा मार्न सक्ने गुण जीएम फसलमा हुन्छ। अनि कृषिमा
हानिकारक रासायनिक कीटनाशकहरूको बढ्दो प्रयोगलाई पनि यसले घटाउछ। तर यसको विपरीत यसले
जैविक विकासमा अनिश्चितता बढाउछ कारण यस्तो जीएम फसल एकपल्ट वातावारणमा पुगे पछि आफै
बढ्छ र आफ्नो वंश बढाउछ जो रोक्न नसकिने र अड्कल काट्न नसकिने हुन जान्छ। संसारभरि
भएको असंख्य अध्ययनबाट जीएम फसलहरू प्रकृति, पशु-पक्षी र मानिसको
निम्ति हानिकारक रहेको पत्तो लागेको छ। यसको तीन मुख्य प्रकारको हानिकारक तथ्यहरूको
पत्तो लागेको छ— १)
अन्नामा निहित बीटी टकसिनले गर्दा त्यो खाद्यान्न जहरिलो वा
शरीरमा प्रतिक्रिया हुने सम्भावना रहन्छ। २) जीन
हस्तान्तरणले गर्दा त्यो उद्भिद्-मा नयाँ किसिमको हर्मोन र प्रोटिनको गठन हुन् सक्छ जो उपोभोक्ताको
निम्ति हानिकारक हुनसक्छ। ३)
पारम्परिक खेती-पातिको पद्धति परिवर्तित
भएकोले फसलमा धेरै मल र झारपात मर्ने दवाइको प्रचलन बढेर जान्छ जसले माटोलाई बाँझो
बनाउछ। यस्तो विदेशी जीन भएको फसलले किराहरू साथै अन्य झारपातलाई अझ प्रतिरोधात्मक
क्षमता दिन्छ फलस्वरूप ज्यादै प्रतिरोधको क्षमता भएको किरा र झारपात जन्मिन्छ (सुपरपेस्ट
र सुपरवीड) अनि सबैभन्दा महत्वपूर्ण कुरो जीएम खाद्यान्नको उत्पादकहरूले
यी अन्नहरू बढी पोषण भएको दाबी गरे तापनि अहिलेसम्म यसमा प्राकृतिक अन्नमा भन्दा पोषण
रहेको प्रमाणित भएको भने छैन। सुरक्षाको अभावले गर्दा धेरैजसो देशहरूले जीएम फसलको
उत्पादन र विस्तारको प्रक्रियामा रोक लगाएको छ। फलस्वरूप अमेरिकामा जीएम फसलको बजारीकरणको
१५ वर्ष पश्चात् पनि ७५%
(संसारको जम्मा ३.४% कृषि
भूमि) जी एम फसल केवल तीनवटा देशहरू (अमेरिका, ब्राजिल
र अर्जेन्टिना)-मा मात्र फस्टाएको छ।
जी एम फसल अनि मनसान्टो
मनसान्टो अमेरिकामा अवस्थित कृषि जैव तकनिक सम्बन्धित बहुराष्ट्रिय
कम्पनी हो। संसारको सबैभन्दा शीर्ष जीएम फसलको उत्पादकको रूपमा यो प्रसिद्ध छ। एक समयमा
डीडीटी, पीसीबी जस्तो डरलाग्दो रसायन बनाउने कम्पनीले प्लास्टिक र कृत्रिम
रेशा बनाउने उद्ध्योगमा पनि निक्कै बजार खायो त्यसपछि अहिले जीएम खाद्यान्नको संसारभरिनै
खुल्ला व्यापार गर्दैछ। १९८३ मा प्रथम पल्ट जीएम फसल बनाएर १९८७ मा यसको खेतमा परीक्षण
गरेपछि मनसान्टोले पछि फर्केर हेरेन। अमेरिकाको १० प्रमुख व्यापारीहरूमा आफ्नो नाम
दर्ता गराएपछि जीएम बीजको व्यापारमा यसले संसारमै एकक्षत्र राज गर्दै छ। अमेरिकामा
प्रत्येक वर्ष मनसान्टो उत्पादित ८०% मकै र ९०% सिमिको
बीजन छरिन्छन् जसले यो कम्पनीको एकक्षत्र बजारको कथा भन्छ।
भारतमा ९५% कपासको
बीजन मनसान्टोको पञ्जामा छ। यसरि बीज माथि नियन्त्रण गरेर यसले परोक्षरूपमा मानिसहरूको
विशेष गरी किसानहरूको जीवनमाथि नियन्त्रण गरिरहेको छ कारण बीज खाद्य-सांग्लोको प्रथम
कडी हो जो जीवनको श्रोत पनि हो यसैले बीज माथि नियन्त्रण भनेको जीवनमाथि नियन्त्रण
हो। ज्यादा भन्दा ज्यादा आवश्यक बीजहरूलाई पेटेन्ट (१७
वटा पंजीकृत पेटेन्ट र ३२ वटा पेटेन्टको निम्ति अर्जी) गरेर
मनसान्टो एकप्रकारले जीवनको मालिक भएको छ जसले सबै जसमा वास्तवमा बीज उगाउने किसानहरू
पनि पर्छन् उनीहरूबाट जीवित रहने भाडा उठाउछ।
कुनै उद्भिदमा अर्को जीवको जीन हालिदिनले
मात्रै के नयाँ उद्भिद्को आविष्कार भै हाल्छ र? जसको
किटान मनसान्टो जस्तो कम्पनीहरूले गर्छन्। यी बीजहरूले त आफू सँग झन् ठुलो महामारी
पो ल्याउछ। किसानहरूको निम्ति काम गरेको जस्तै गरेर मनसान्टोले कैयों किसानहरू माथि
आफ्नो बीज चोरेको आरोप लगाएर मुद्दा हालेको छ जसले किसानहरू ॠणको अन्धकार कुवामा डुब्न
जान्छन। जीएम अन्नले संसारको खाद्य समस्यालाई समाधान गर्छ भन्दै यसले देशमा भएको प्राकृतिक
बीजहरूको विनाश गर्दैछ। उदाहरणस्वरूप अमेरिकाले जीएम मकै भित्राएपछि त्यहाँ पाइने मकैको
प्रकारहरूमा ६७% (२००५ मा ३२२६ प्रकार देखि घटेर २०१० मा १०६२ प्रकार) ह्रास
आएको छ। यसै गरी जीएम सिमिले त्यहाँको ९०% बजार
पक्रेको छ जसले गर्दा यसको मूल्यमा
(१९९५ देखि २०११ सम्म) ३२५% वृद्धि
भएको छ।
मनसान्टोको भारत आगमन
१९८८ सालको विश्व ब्यांकको सीड पोलिसी मार्फत मनसान्टो भारतमा
पस्न सफल भयो। मनसान्टो भारतमा पस्ने बितिक्कै यहाँ पाँचवटा परिवर्तनहरू आयो— १) भारतमा
भएको कृषि आधारित कम्पनीहरू कित बन्द गरियो वा मनसान्टोसित सयुक्तरूपमा काम गर्ने सर्तमा
राखियो यसले बीज व्यापार अझ केन्द्रित हुन पुग्यो। २) किसानको
जुग जुगको साथी र बाच्ने सहारा बीज अब बौद्धिक सम्पत्ति भयो जसको निम्ति मनसान्टोलाई
राजस्व (रोयल्टी)
दिन पर्ने भयो जसले गर्दा बीजहरूको मूल्यवृद्धि तीव्र गतिले
बढ्न थाल्यो। ३) प्राकृतिक रूपले पारागन भएको बीजको स्थान हाईब्रीड र जीएम बीजहरूले
लियो सजिलै पाइने वस्तु अब महँगो र पेटेन्ट उत्पादमा परिणत भयो। ४) पहिला
विभिन्न अन्न-बालीहरूसित मिश्रित रूपले उमारिने कपास अब सिङ्गो खेतीमा परिणत
भयो जसले गर्दा कपास कीटपतंग,
बिमारी,
सुखाबाट ज्यादा प्रभावित हुन थाल्यो फलस्वरूप धेरै ठाउँमा कपासको
खेती पूर्ण असफल पनि भयो जसलेगर्दा किसानहरूलाई हुन सम्मको क्षति भयो। ५) भारतको
कृषिकार्य प्रणालीमा हस्तक्षेप गर्दै मनसान्टोले यहाँको प्राकृतिक साधनहरूलाई कब्जा
गरेर आफ्नो हाईब्रीड र जीएम बीजहरूलाई पीपीपी (पब्लिक
प्राइभेट पार्टनरसीप) को सहायताले अझ व्यापक बनाउने काम गर्दैछ। १९९५ मा भारतको महीको
सँग मिलेर मनसान्टोले बीटी कपास भारतमा ल्यायो। १९९७-९८ तिर अवैधरुपमा
खेत-परीक्षण गरेपछि अर्को वर्षनै बीटी कपासको बीजन बजारीकरण गर्ने
घोषणा यसले गयो तर वातावरण सुरक्षाको अधिनियम अनुसार भारतको सर्वोच्च न्यायालयले बीटी
कपासको बिक्रीलाई २००२ सम्म भारतमा रोक्न सक्यो।
२०१२ को बीटी कपास माथि विचाराधीन
संसदीय बैठकको सिफारिस मानेर सवोच्च न्यायालयले जीएम खाद्यान्नको बिक्री र खेत-निरिक्षण अन्त्य
गर्ने आदेश दिए। तर यतिका दिनसम्म भारतको कृषि पद्धति परिवर्तित भइसकेको थियो। मनसान्टोको
कपासको बीजहरू माथिको नियन्त्रण,
विकल्पको नाश र राजस्वको नाममा भरपुर नाफा उठाउने प्रक्रियाले
किसानहरूलाई दिन प्रतिदिन ॠणले ढाक्दैछ। बीटी कपासको खेतीमा सर्नु परेकोले किसानहरूले
खुबै कष्ट झेल्न परेको छ जसलाई २०११-२०१२ मा भारतको कपास
किसानहरूको आत्महत्या सित सिधै जोड्न सकिन्छ। बीटी कपासको खेतीले कीटनाशक रसायनको प्रयोग
घटाउनुको सट्टा यसमा डरलाग्दो वृद्धि ल्यायो र किसानको कृषि लागत पनि त्यत्तिकै बढायो
यसोसले कपास उत्पादन गर्ने राज्यहरूमा प्रथम स्थानमा रहेको महाराष्ट्र किसान आत्महत्याको
घटनाहरूमा पनि प्रथम स्थानमै छ।
आत्महत्याको घटनाहरू बीटी कपासको खेतीको कारणले ह्वात्तै
बढेको छ। यसको मुख्य कारणहरू अधिक मूल्य भएको मनसान्टोको बीज,
रासायनिक
मल र झार मार्ने दवाईको बेसी प्रयोग हो जसले किसानको ॠणको परिमाणलाई धेरै गुना बढाइदिन्छ।
देशको सरकारी आंकडा अनुसारनै किसानले लिएको ऋणको ७५%
अंश
खेतीको सामग्री किन्नुमै जान्छ। भारी माथि सुपारी भने झैँ मनसान्टोको घातक वार हो यसको
‘फेरी फसल नदिने बीज’
वा
‘स्टेराइल सीड्स’
जसले
एकपल्ट फसल दिए पछि अर्कोपल्टको बीज बाँझो हुन्छ। तर हालैमा कन्भेन्सन अन बायोलोजिकल
डाइभरसिटिले यसको प्रयोगमाथि रोक लगाएको छ नत्र भने त मनसान्टोले यसबाट अपार नाफकमाउने
थियो। मनसान्टोले किसानहरूलाई बीज राख्नु मनाही गर्छ र उसको बीजनै लगाउनु पर्ने बाध्यता
बनाइदिन्छ। कन्ज्युमर्स इन्टरनेशनलको आंकडा अनुसार फिलिपिन्समा २७०,०००
जना सानो-किसानहरूलाई बलजफ्ती
जीएम मकै लगाउन बाध्य गरिन्छ। त्यहाँ मकैको बीजको दाम पहिलाको भन्दा २८५%
बढेर
गएको छ जसले किसानको सम्पूर्ण उत्पादन खर्चको १८-२१%
खान्छ।
विकासशील देशहरूको किसानहरू महँगो बीजले गर्दा उत्पीडित छन्। यिनीहरू बीज बेच्ने र
पैसा उधारो दिने मानिसहरू माथि भर पर्नु पर्छ जो फिलिपिन्समा यी दुवै काम प्राय एउटै
मानिसले गर्छन् र जीएम फसल नलाए पैसा सापटी नदिने धम्कि दिन्छन् जसले किसानहरू दुइधारी
तरबारको चपेटमा पर्छन्।
मनसान्टोको जाल
माछालाई
जालमा पारे झैँ मनसान्टोले पनि किसानहरूलाई आफ्नो पञ्जामा कस्न जाल बिछाएको छ। यसको
जासुसले अर्काको खेतमा पसेर त्यहाँ फलिरहेको अन्न-बाली
चोर्छ र त्यहाँ जीएम फसलको छनक मात्र पाए जम्मै फसलमाथि आफ्नो आधिपत्य जमाउँछ र किसानलाई
पैसा भरपाई गर्न बाध्य गर्छ। अमेरिकामा २०१३ को सुरुवातमै मनसान्टोले ४६६ किसानहरू
विरुद्ध १४४ वटा मुद्दाहरू हालिसकेको छ। यसले धेरैवटा नियम कानुनहरू पनि बनाएको छ जसमा
किसानले बीज राख्नु नपाउने, पारम्परिक
बीज सफा गर्ने उपकरणलाई गैरकानूनी घोषित गर्ने साथै बीज हस्तान्तरित गर्ने उपकरण,
जैविक
मल आदिको पनि कडा जाँच गर्न पर्ने जसले गर्दा किसानहरूले आफ्नो बीज राख्न नसकोस र प्रत्येक
वर्ष मनसान्टोबाटै बीज किन्न बाध्य होस्।
जैव तकनिक नियामक प्राधिकरण विधेयक (BRAI)
बीटी
कपासको दुर्गति पछि कानुनी रूपमा बीटी बैगुनको खेतीलाई भारत सरकार द्वारा स्वीकृति
छैन तर पनि छिमेकी देशहरू मार्फत देशको सीमान्त राज्यहरूमा यसको प्रचलन निक्कै नै देख्न
पाइन्छ। अस्ट्रेलियाबाट जीएम केराको निर्यातको कुरा पनि निक्कै जोडमा चल्दै थियो। ब्रोक्ली
र क्यप्सिकमको बीजहरू माथि पनि यसले आखा गाडी रहेको छ। मनसान्टोले भारतको विश्वविद्यालय
र विज्ञान तथा प्रविधिकी संस्थानहरू सित मिलेर आफ्नो प्रभाव बढाउदै गरेको बेलामा विज्ञान
अनि प्रविधिकी मन्त्री, भारत
सरकार द्वारा अप्रिल २०१३ मा जैव तकनिक नियामक प्राधिकरण विधेयक
(Biotechnology
Regulatory Authority of India Bill) प्रस्तुत
गरियो जसको भनाइमा “जैव
तकनिकद्वारा तैयार गरिएको खाद्यान्नको प्रयोग गर्न सकिन्छ तर तबमात्र जब अन्नको आपूर्ति
गर्ने अर्को कुनै सम्भव तरिका रहदैन” त
के भारतलाई आफ्नो देशको खाद्यान्नको आपूर्तिको लागि जीएम फसलको आवश्यकता छ र?
जनवरी
१, २०१३ मा भारतले ६६७ लाख
टन अन्नको उत्पादन गरेको थियो जुन आवश्यक भन्दा साढे २ गुना ज्यादा थियो। देशको २५%
जनसङ्ख्या
भोक्कै भएको जान्दा जान्दै पनि यी अन्नहरू कि त ढिकुटीहरूमा सड़्छन् कि त निर्यात गरिन्छन्।
गहुँ र चामलको बढी उत्पादन हुँदा हुँदै पनि संसारको तीन भागमा एक भाग भोकाहरू भारतमै
पाइन्छन् यसैबाट बुझ्न सकिन्छ समस्या खाद्यान्नको कमी कदापि होइन तर अन्न संरक्षण र
यसको सञ्चालन पद्धतिमा भई रहेको गडबडी हो। जबसम्म उक्त पद्धति सुचारू रूपले चल्न थाल्दैन
तबसम्म जजुनसुकै जीएम फसलले पनि भारतको भोक मार्न सक्दैन। यसैले धेरैजना बुद्धिजीवी,
गैर
सरकारी सङ्गठन, कतिपय
राजनैतिक दलहरूले BRAIको
देशव्यापी विरोध प्रदर्शन गरेका छन्। उक्त बिल पास हुनु भनेको मनसान्टोलाई हरियो झंडी देखाउनु हो भन्दै उक्त
बिल चाडो भन्दा चाडो खारेज गरी पर्छ भन्ने आवाजपनि चारै तिर बाट उठ्दै छ।
No comments:
Post a Comment