नयाँ सरकार क्षमतामा आउनेबित्तिकै राज्यमा नारीहरुमाथि बलात्कार र यौन शोषणको घटनाहरू बर्खा झरीमा च्याउ पलाए जस्तै लटरम्मै देख्न पाइएको छ। न्याशनल क्राइम रिसर्चको तथ्य अनुसार सम्पूर्ण देशमा नारी विरुद्ध हुने यौन हिंसाहरूको तुलनामा पश्चिम बंगालमा यस्ता घटनाहरु दुइगुणा बेसी घट्छन्। दिल्ली, हरियाणा वो अन्य राज्यहरूको तुलनामा पनि पश्चिम बंगालमा धेरै संख्यामा नारीहरु बलात्कृत हुन पुग्छन्। नारीहरूप्रति हुने घरेलु हिंसामा त झन् यो राज्य प्रथम स्थानमा छ। २०११मा भएको बलात्कारको घटनामा यो राज्य दितीय स्थानमा आउछ। यो वर्षनै नारीविरुद्ध यौन शोषणहरूको १९,६६२ वटा घटनाहरू प्रकाशमा आएको छ।
गत फेब्रुअरीमा पार्क स्ट्रीटमा भएको बलात्कारको घटनाले सबैलाई तर्साइरहेको भोलिपल्टै काटोवामा अर्को यस्तै घटना सुन्नमा आयो। त्यसपछि बरानगर, बारुइपुर, बहरमपुर एक पछि अर्को बलात्कारको घटना भइनै रहेको छ। उत्तर बंगाल पनि यतो घटनाहरूमा पछि छैन गत महिना जलपाइगुडीमा एउटा युवतीसंग बलात्कारको घटना ताजै छ। मालदामा झन् यस्तो घटनाहरू दिनहु घटिरहेको हुन्छ। कतै धार्मिक दंगामा पनि नारीहरुनै उत्पीडित हुन्छन्, कतै जात पातको लडाईमा पनि नारीहरुनै पिसिन पुग्छन्।
सबैको रिस र विक्षोभको बदला चाही नारीहरूमाथिनै निकाल्ने परम्परा त सबैले जानेकै कुरो हो। नानीको आमा होस् वा दुधमुखे बालिका— यौन पिपाशु राक्षसहरूको हातबाट बाँच्न सक्दैनन्। जतिसुकै ठुलो ओहदाको नारीहरुपनि आफ्नो कार्यालयमा अरू सहकर्मी पुरुषहरुद्वारा उत्पीडित हुन परेको हुन्छ भने सानो-तिनो काम गर्ने नारीहरूको सुरक्षाको त कुरै नगरे पनि हुन्छ। अस्ति ५ सेप्टेम्बरको दिन खड्गपुरमा एउटा छात्रीलाई केहि केटाहरू मिलेर सामुहिक बलात्कार गरेको अर्को दिन ६ सेप्टेम्बरमा फेरी दुर्गपुरको सिटि सेन्टरको छेवैमा आफ्नै पतिको सामुने १०-१५ केटाहरूले एउटी महिलाको सामुहिक बलात्कार गरे। प्रतिवादिहरूको हत्याको सिलसिलापनि जारीनै छ। यस्तो दुईवटा हत्या हुन ठाउँ बारासातमा हिज आज बेलुकीपख नारीहरू एक्लै हिंड्नु दुष्कर भइसकेको छ। कलकत्तामा त झन् एउटा डेढ बर्षको बालिकामाथि यौन अत्याचारको घटना सुन्न पाइएको छ। यस्तो अमानवीय धटनाहरूले समाजमा आतंक फैलाउदै छ। समाचार पत्रहरूमा छापिएको आकडा अनुसार जुलाई-अगस्तमा मात्रै ३६ वटा बलात्कार र १२ वटा यौन शोषणको घटनाहरू समुख आएको छ। यो त भयो लेखिएको घटनाहरू यस बाहिर त झन कत्ति यस्तो घटनाहरू गते जस्तो कुनै लेखा जोखानै छैन।
राज्यको प्रथम मुख्यमन्त्री साथै गृहमन्त्रीले त पश्चिम बंगालका नारीहरूलाई झन् अन्धकारमय र असुरक्षित युगमा ठेली पठाउदैछ। एकसमयको जुझारू नेत्री जो नारीहरूमाथि हुने शोषण, अत्याचार र बलात्कार इत्यादिको विरुद्धमा घाइते बघेनी जस्तै गर्जी उठ्थी, जसले मूक-बहिरो फालानिको बलात्कारलाई लिएर तीव्र विरोध जनाउँदै राइटर्स बिल्डिंगमा धरणा बसेकी थिइन्, जसले सिंगुरको तापसी मालिक बलात्कार तथा हत्याकाण्डलाई लिएर प्रतिवाद जनाइएकी थिइन्। यसपछिनै त तिनले राजनैतिक प्रसिद्धि पाइन् र तिनको भोट-ब्यांक बढ्यो। एउटा नारी मुख्यमन्त्री भएमा राज्यमा नारीहरूले उचित सम्मान र न्याय पाउलान् भनि लाखों नारीहरूले भोट दिएर तिनी विजयी त भइन् तर क्षमतामा आउनेबित्तिकै छेपारालेझै रंग बद्लानुमा तिनलाई धेर समय लागेन। आज तिनलेनै राज्यमा घटिरहेको बलात्कारको घटनाहरूलाई बगम्फुसे, कल्पित तथा तिनको सरकारलाई बद्नाम गर्न हेतु चरित्रहीन नारीहरूद्वारा रचिएको मनगढन्ते कथा मात्र हुन् भन्नमा हिच्किचाउदैनन्। अझ आफ्नो छवी सफा बनाउनका निम्ति मुख्यमन्त्री साथै अन्य मन्त्रीगण उल्टै ती पिडित नारीहरूमाथि औंला उठाउन चुक्दैनन्।
नारीहरूको पोशाक, कार्यकलाप, चरित्र इत्यादिलाई लिएर प्रश्नहरू उठाउनेहरूले ती पुरुषहरू जसले ढुक्कसँग यस्तो घृणित कामहरू गर्दैछन् तिनीहरूको चरित्रको मापदण्ड किन गर्दैनन् त? यो कस्तो समाज व्यवस्था हो जसमा पीडितलेनै दण्ड पाउछन् बलात्कृत बालिकाहरू स्कूलमा भर्ना पाउदैनन्, युवतीहरूको जिवन कष्टकर बनाईन्छ, महिलाहरू चरित्रहीन ठहराईन्छन्। पार्क स्ट्रिटको घटना पछाडी एकजना मन्त्रीले– त्यति राती नाइट क्लबमा त्यो महिला के गर्दै थिइ भनेर प्रश्न गरे। एकातर्फ नाइट क्लब जस्तो पुँजीवादी संस्कृतिलाई शासक श्रेणीले संरक्षण दिन्छन्, लाइसेन्स दिन्छन् र अर्कोतर्फ त्यहि नाइट क्लबमा कुनै महिला गएमा उसको चरित्रमा दाग लगाइन्छ। भनेपछि नाइट क्लबहरू केवल पुरुषहरूको निम्ति हुनुपर्ने जसमा महिलाहरूको उपस्थिति निषिद्ध हुनपर्ने तर त्यसो त हुदैन कारण महिलाहरूको बजारीकरण गरेरै यस्ता नाइट क्लबहरूले कमाइ रहेका छन्।
नारीहरूलाई केवल वस्तुको रूपमा हेर्ने प्रवृति बजारमा व्याप्त छ। जुनसुकै विज्ञापनमा पनि नारीको शरीरलाई प्रदर्शित गरिएको हुन्छ। विभिन्न क्रिम बेच्ने विज्ञापनहरूले त गोरी भए मात्रै तिम्रो आत्मविश्वास बढ्छ सम्म भन्छन् जसले नारीलाई बुद्धिहीन, सस्तो र कमजोर मानिसको रूपमा देखाउछन्। फलस्वरूप नारीहरूको स्तर दिन-प्रतिदिन घटिरहेको छ।
देह-व्यापारको बढ्दो बजारको मांग पूर्ति गर्न लाई दिनहुँ हजारौको संख्यामा चेली-बेटीको बेच-बिखानको घटनाहरू सुन्नमा आउछ। टाढो जान पर्दैन यसो आफ्नो गाउँघरमै आँखा घुमाएर हेर्दा केयौं केटीहरू काम पाउने आशामा विदेशतर्फ लाग्छन् र कहिले फर्कदैनन्। कत्तिजना युवतीहरूलाई त दलालहरूले बिहे गरेर परदेश लागि बेचिदिन्छन्। हिज-आज त झन् सा-साना उमेरका बालिकाहरूको बेच-बिखान तीव्र रूपले बढिरहेको छ। यस्ता केटीहरूलाई सेक्स टुरिजम वा अश्लील फिल्महरूमा काम गर्न वाध्य गरिन्छ। अश्लील फिल्मको बजार त झन् विराट छ जो बिना विज्ञापन इन्टरनेटको माध्यमले चलिरहेछ। यस्तो समाज जहाँ यौनको खुला व्यापार छ, नारीहरू केवल भोग्यवस्तु सरह मानिन्छ तय मानिसहरूमा विकृति आउदैन र? अब यदि कुनै केटी केहि कारणवश यस्ता वेश्यालयबाट मुक्त भए भने पनि समाजमा यिनीहरूले पुनः स्वीकृति पाउंदैनन्। अन्त्यमा समाजबाट बहिष्कृत भएर, प्राणघातक रोगहरूसित जुझ्दै यिनीहरू मर्न पर्छ। जुन देशमा हत्याराहरूलाई धरि मृत्युदण्ड दिईन्दैन त्यहि यी नारीहरूले प्रतिदिन मृत्युलाई अंलाग्नुपर्ने हुन्छ? कुकुर-बिरालो भन्दा नराम्रो मृत्यु यिनीहरूको हुन्छ त्यो पनि कुनै अपराध नगरी यो कस्तो न्याय हो?
यसैमाथि हाम्रो मुख्यमन्त्रीले घाऊ माथि नुन छर्दै अत्यन्त अपमानजनक रूपमा बलात्कार पीडितहरूको निम्ति क्षतिपूर्तिको घोषणा गरेकी छिन्। बलात्कृत नाबालिकको निम्ति ३० हजार रुपिया र युवतिको निम्ति २० हजार। यसरि एउटा नारीको मान-सम्मानको जम्मा मूल्य २०/३० हजार लगाएर उल्टै यस्तो घटनाहरूलाई प्रोत्साहन दिइरहेकी छिन्। के त्यो पैसाले ति बालिका वा युवतिको जिवन फेरी सामान्य हुन्छ? उनीहरूमा उब्जिएको शारीरिक र मानसिक यातनाको घाऊ के २०/३० हजारले पुरिन्छ? माननीय सुप्रिम कोर्टले एउटा नारीले आफु बलात्कृत भएको मौखिक बयाननै अभियोग जनाउन यथेष्ट हुनेछ भन्ने वक्तब्य दिएपनि त्यसलाई टोकस दिदै मुख्यमन्त्रीले अभियोग प्रमाणित गरे मात्रै पिडितले क्षतिपूर्ति पाउने बताएकी छिन्। तर जहाँ पुलिसले बलात्कारको घटनाहरूको रिपोर्ट लेख्न चाहदैन, मन्त्रीहरू जहाँ यस्ता घटनाहरूमा नारीहरूकै दोष देख्छन त्यहाँ एउटा साधारण नारीले कसरी अभियोग जनाउन सक्छ? फेरि यस्तो घटनाहरू घटे पछि क्षतिपूर्ति दिनु भन्दा घटनामाथिनै रोक लगाए उचित हुदैन र?
सबैभन्दा ठुलो कुरो त हामी नारीहरू कुनै क्षतिपूर्ति चाहन्दैनौ। हामी त मानिसहरू जस्तै आत्मसम्मानसाथ बाँच्ने अधिकार चाहन्छौ। कार्यालय, विद्यालय इत्यादिमा कुनै चिंताबिना सुचारुरुपमा कार्य गर्न र पढ्न चाहन्छौं। यसोसले हामी चाहन्छौं दोषीहरूलाई प्रोत्साहन दिन बन्द गरियोस्, बलात्कारीहरूलाई कठोरतम सजाय दिने कानून बनाइयोस्, नारी बेच-बिखनमा लिप्त व्यक्तिहरूलाई कठोर भन्दा कठोर सजाय दिइयोस् जसमा कि कसैले पनि फेरि फेरि यस्तो कामहरू गर्ने साहस नपाओस्।
संगीता खेवा
No comments:
Post a Comment