दिदीको ‘लण्डन’ देखि ‘स्विट्जरल्यान्ड’-सम्म
पश्चिम बंगालको मुख्यमन्त्री बन्नसाथ ममता ब्यानर्जीले कोलकत्ता शहरलाई लण्डन अनि दार्जीलिङ जिल्लालाई स्विट्जरल्यान्डमा परिणत गर्छु भनेर कम्मर कसेकी छिन्। देख्नुमा सुन, कोट्याए गनाउने भने झै उनको त्यो विचारमा पनि खोट थियो। कोलकत्ता र दार्जीलिंगमा निम्नवर्गीय परिवारहरू बाँच्न सक्छन् तर लण्डन र स्विट्जरल्यान्डमा साँस फेर्ने सपना आम जनताले नदेखे पनि हुन्छ। ‘लुटी ल्यायो भुटी खायो’-को आधारमा जिउने खटीखाने मानिसहरूले जरा गाड़ेको ठाउँ कोलकत्ता र दार्जीलिंगमा त अहिले महंगाइको माहामारीले हाहाकार मच्चिन्दैछ भने के आशा साँच्नु हामीले गगनचुम्बी भवन र स्विस कटेजमा निदाउने?
‘परिवर्तन’ र नोनाडांगा— लण्डनको श्री गणेश
दिदीको ‘परिवर्तन’-को बादल मडारिएर पश्चिमबंगाल हुँदै पहाडलाई पनि छोयो। ‘परिवर्तन’-को हावाले ‘विकाश’-को मूल फुटायो, सबभन्दा पहिला कोलकत्ता स्थित नोनाडांगा— एउटा फोहोरले भरिएको झोपडपट्टी हो, जो गरीब भन्दा गरीबको वासस्थान हो। सुन्दरताको नाममा ३० मार्च २०१२को दिन कलकत्ता मेट्रोपोलिटन डेभेलपमेन्ट अथोरिटी (के॰एम॰डी॰ए॰)-ले सरकारी पुलिस फोर्सको देखरेखमा मजदूर कलोनी र श्रमिक पल्लीमा बुलडोजर चलाएर र आगो लगाएर प्राय २०० झोपड़ीवासी को घर माटोमा परिणत गरिदियो। ज-जसले आफ्नो घर बुलडोजरको प्रहारबाट बचाउने कोशिश गरे तिनीहरूलाई पुलिसहरूले भयंकर प्रकारले कुटे अनि पुलिस भ्यानमा थुनिदिए। फुटेको-टुटेको, भत्केको, छरपस्ट र लथालिङ्ग चिजबिजहरू ओसारपसार गरेर झोपडीवासीले त्यहाँनै फाटेको फ्लेक्स बाँसमाथि ओडाएर अस्थायी वासस्थानको प्रबन्ध गरेर सामुहिक भान्साघर पनि तयार गरे। भोलिपल्ट १ र ४ अप्रिलमा त्यहाँका वासिन्दाहरूले उच्छेद प्रतिरोध कमिटीको ब्यानरमा विरोध जुलुस निकाले र ८ अप्रिलमा धरणा बसे साथै पुनर्वासको विन्ती चडाए। तर सरकारतर्फबाट नकारात्मक प्रत्युत्तर साथै नोनाडांगालाई बाहिरका मान्छेहरूले कब्जा गरेर त्यहाँ अस्त्र-शस्त्रहरू थुपारेको अभियोग लगाए। ४ अप्रिलको शान्तिपूर्ण विरोध जुलुसमा कोलकत्ता पुलिसले आँखा चिम गरेर लाठीचार्ज गर्यो। महिला पुलिसबिना स्त्रीहरू माथि वर्दीविहिन पुरूष पुलिसहरूले पनि क्रुर लाठीचार्ज गर्यो र महिलाहरू माथि झम्टेर भुइँमा थेचारिदियो, दुई वर्षको बालक जय पासवानको टाउको फुटाइदियो र गर्भवती महिला रिता पात्रको पेटमा लात हान्यो। फेरी ८ अप्रिलको दिन शान्तिपूर्ण धर्नामा बसेका ६९ वासिन्दा र एक्टिभिस्टहरू लाई पुलिसले पक्रेर लग्यो बादमा ६२ जनालाई छाडिदियो तर ७ जना एक्टिभिस्टहरू माथि झुठो आरोप लगाई जेलमा हाल्यो। त्यसपछि धेरै विरोध र गिरफ्तारको प्रक्रिया चलिरह्यो। यहाँमात्र सिमित छैन सरकार र पुलिसको अत्याचार, के॰एम॰डी॰ए॰-द्वारा बाहिर-भित्र गर्ने सबै बाटो बन्द गर्दा स्थानीय वासिन्दाहरूले २८ अप्रिलको दिन आपत्ति जनाए। पुलिसहरूले ११ जना वासिन्दाहरूलाई गिरफ्तार गरे जसमा ५ महिलाहरू पनि सामिल थिए। उनीहरूलाई झुटो आरोप लगाएर पुलिस कास्टोडीमा राखियो। अहिले सबै वासिन्दा र एक्टिभिस्टहरू बेलमा जेलबाट बाहिर छन् तर १ जना एक्टिभिस्ट चाहिँ अन्य केसले गर्दा जेल खटिरहेका छन्। पुलिस, सरकार र गुण्डाहरूको धम्की दैनन्दिन नोनाडांगावासीहरूलाई आउँछ।
नोनाडांगाका वासिन्दाहरु को हुन्?
महानगर महानगर कोलकत्ताको ‘विकास’-को निम्ति अरू ठाउँहरूको जुन झोपडपट्टीवासीलाई विस्थापित गरिन्छ, उनीहरूलाई सरकारले नोनाडांगामा पुनर्वास दिएका थिए। यसरी नोनाडांगा १६० स्कोयार फीट को एक कोठे फ्ल्याटहरूले भरिएको छ। नोनाडांगा पिउने पानी, सरकारी स्वास्थ्य केन्द्र वा पाठशाला र अरू सुबिधाहरूबाट वञ्चित छ। सानो कोठा, त्यो पनि दाजुभाइको दुइ-तीन परिवारले खचाखच भरिएको कारणले उनीहरू मध्ये कोहीकोही फ्ल्याटबाट निस्केर मैदान वा सडक छेउनिर झोपडी बसाउन बाध्य भए। गाउँबाट आएका अर्को हिस्सा आफ्नो कृषिको खर्च चलाउन नसकेकोले वा सुन्दरवनमा आईलाको प्रकोपले घरबार-खेत नष्ट भई सरकार पक्षबाट सहायता नपाएर जीविकाको साधन खोज्दै महानगर आइपुगे, आखिर जहाँ झोपडी लगाएर बसे पनि अन्त्यमा उनीहरूलाई उठाएर नोनाडांगा जस्तो ठाउँमानै फ्याकिदिन्छन्। पुनर्वासको ठाउँ यो नै हो सोचेर चारैतिरबाट विस्थापित मानिसहरूले पनि यहाँ झोपडी बनाएर बस्नथाल्यो केही वर्षदेखि। अरू धेरै यस्तो कलोनी सितै निर्माण भएको हो यहाँको मजदूर पल्ली र श्रमिक कलोनी। यहाँ बसोवास गर्ने मानिसहरूले विभिन्न सानो कारखाना, अल्प उत्पादन केन्द्र, घरघरमा परिचारिका र धेरै जस्तो असंगठित र अनौपचारिक क्षेत्रको मजदूरको रूपमा जीविका चलाउँछन्। कोहि रिक्शा त कोहि अटो चलाउने काम गर्छ, केहि अंश मानिसहरू बाटोको छेउ निर चिया, खाना, खुद्रा पसल थापेर बसेका छन् भने धेरै जसो महिलाहरू शहरका मध्य वर्गीयहरू परिवारमा घरेलु काममा कार्यरत् छन्। गाइनेहरूपनि छन्। दिनभरी खटेर पनि उनीहरूले एकै क्षण पनि गुणस्तरीय जीविका धान्न पाउदैनन्। सस्तो रोजमा आफ्नो श्रम बिक्रि गर्नुपरेकोले उनीहरूको जीवन सधैनै असुरक्षित हुन्छ। यस्तो जीवन जहाँ प्राथमिक अनिवार्य कुराहरूको केहि प्रबन्ध छैन र सधै यसकै निम्ति धाउनु परिरहेको बेला अझ ‘विकास’-को विनासमा चेप्टिनु परिरहेको नोनाडांगावासी जस्तै लाखौ भारतीय मजदूर वर्गको मूल रूपमा वास्तविक विकासको चाहिँ किन सरकारले जिम्मा लिदैन? गाउँ देखि शहर र नगर हुँदै भयंकर विकास र विस्थापनको शिकार बनिरहेका यी श्रमिक श्रेणीको खाँचो उनीहरूलाई छ जसको सस्तो श्रम बिना ‘वर्तमान विकाशको ढाँचा’ सम्भव छैन। गरीबमाथि विस्थापनको हमला कसको पक्षमा? नोनाडांगाको गरीब मानिसहरूको सङ्घर्षले यो प्रश्ननै उठाउँदैछ।
आजसम्म जुनै पनि ‘विकास’-को मोडेलले उद्योगपति अथवा पुँजीपतिहरूको फाइदामात्र गरेको छ र गरीब जनताको घाउमा नुन छर्किने काम गरेको छ। यस्तै कारण हो आज फोहोर सरिको नोनाडांगालाई पनि ‘विकास’-को नाममा बुलडोजर चलाएर ‘सुन्दर र उत्कृष्ट’ बनाउन खोज्दैछन् ‘परिवर्तन’को सरकार। असलमा नोनाडांगा भित्र र वरिपरी ८० एकर जमीन खाली गरेर स्टार/बजेट होटेल, सपिंग मल, मल्टिप्लेक्स, रियल एस्टेटका मालिकहरूलाई सुम्पिन तैयार पारिएको छ। यदि ८० एकर जमिन यी नाफाखोरहरूको हाथमा पुग्यो भने अझ १००० भन्दा बढी घरहरू विनाश हुनेछ। विस्थापन र शोषणको प्रकोपबाट बढ्दै जानेछ प्रतिदिन। पुरा देश र विश्वभरिनै नगरहरूको ढाँचा पुंजी एकत्रित गर्नुको निमित्त तयारी गरिंदैछ। वोर्किंग ग्रुपस ओन ह्युमन राइट्स अनुसार भारतमा सन् १९४७ को सत्ताहस्तान्तरणदेखि अहिले सम्म ६० देखि ६५ मिलियन मानिसहरू ‘विकाश’ जडित विस्थापनको शिकार भइसकेको छ जुन आंकडा संसार भरि सबैभन्दा बेसी हो।
दिदीको ‘परिवर्तन’ र ‘स्विट्जरल्यान्ड’-को सपना – पहाडवासीलाई खतराको संकेत हो
यी केहि महिना अगाडि विस्थापनले पहाड र उसको आँगनलाई पनि छोयो। सुकुना नजिक गुल्मा चियाबारीमा ८० परिवारले खेती गर्ने जमीन चियाबगानका मालिकले जोरजबरजस्ती आफ्नो कब्जामा लिने कोशिश गरे। जजसले जमिन नदिने निर्णय गरे उनीहरूलाई कामबाट निलम्बित गरियो। जब मालिक र मजदूरबीच संघर्षको स्थिति आयो मालिकको गुण्डा र पुलिसहरू मिलेर उनीहरूलाई खुब पिटे अनि झुटो आरोप लगाएर कोर्ट धाउन बाद्य गराए। पछि मालिक पक्षबाट जमिन सुम्पिए मात्र काममा फिर्ता लिनेछ भनेर उनीहरूलाई नोटिस पठाइयो।
दार्जीलिङ शहरमानै चौरस्ता देखि प्लान्टर्स अस्पतालसम्म सबै पसलेहरूलाई विस्थापित गरिदिइयो। उनीहरूको एक मात्र आयस्रोतमा ताला लगाएर प्लान्टर्स क्लबमा मीटिंग गर्न आउने मालिकवर्गको र चौरास्ता घुम्न आउने भी॰आई॰पी॰ पर्यटकहरूको गाडी राख्न पार्किङ एरिया त्यहाँ तयारी गरियो। टिस्टा खोलामा वृहत प्रोजेक्टले कतिलाई बेघर बनाइसके भने अझै निकट भविष्यमा स्थनीय मानिसहरूको पेट पाल्ने साधन साना- तिना दोकानहरूलाई कतिको क्षति गर्ने हो भनेर चिन्ता गर्दैछन् दोकानदारहरू। दार्जीलिंग जिल्लालाई यसरी स्वागत गरेको छ ‘परिवर्तनको’-को आँधीले। अझ ‘दिदी’ भन्छिन् ‘दार्जीलिंग इज स्माइलिङ’। लेफ्ट फ्रण्ट सरकारको राजमा सिलगढी छेउ चाँदमुनि चियाबगान विस्थापन गरिंदा हजारौं श्रमिकले घर र रोजगार गुमाए र दुइ जना श्रमिक त झन् पुलिसको गोलीको शिकार बन्न पर्यो अहिले त्यहाँ पैसावालाहरूको विशाल सापिंग-मल ‘सिटी सेन्टर’ र रेसिडेन्सीयल कम्प्लेक्स ‘उत्तरायन’ निर्माण गरिएको छ। यदि दिदीको योजना अनुसार दार्जीलिंगलाई ‘स्विट्जारल्यान्ड’ बनाउने हो भने आम जनताको भविष्य खतरामा पर्नेछ। अहिले साँचै नै डर छ पर्जापट्टा नभएका चियाबगानका बासिन्दाहरूलाई किनभने हालैमा कम्पनी मालिकहरूको स्वार्थमा ‘भिलेज टुरिजम’-मा निवेश गर्न सक्ने पोलिसी सरकारले अनुमोदित गरेको छ। पहिले उनीहरूलाई लीजहोल्ड जमीनमा चियाको खेती गर्ने मात्र अनुमति थियो तर अब यदि उनीहरूले भिलेज टुरिजमको व्यापार बढाउन चियाबगान भित्र स्टार/बजेट होटेल, सुन्दरता प्रोजेक्ट, गोल्फ कोर्स, रिक्रीयसनल फ्येसिलिटी इत्यादि ‘विकाश’ गर्न तयारी भयो भने सयौं नोनाडांगा यहाँ पनि देखिने छ।
सरकारी आकडा अनुसार हाम्रो देशका ७७% जनता दिनको २० रूपीयाँ मात्रमा जिउँदछ। सिमेन्ट र इटाले आकाश ढाक्न र जमिनलाई अलकत्रले छोप्नुलाईनै यस व्यवस्थामा, जहाँ अल्पसंख्यक धनी मानिसहरूको हातमा सारा धन थुप्रिएको छ, ‘विकाश’ भनिन्छ। यदि देशको उन्नति गर्ने हो भने यी बहुसंख्यक जनताको विकाश हुनुपर्छ। तर हाम्रो केन्द्र र राज्य सरकारले मूल रूपमा जनताको विकाश गर्ने साधन शिक्षा, स्वास्थ्य, पोषण र रोजगार प्रदान गर्ने क्षेत्रबाट हात फिर्ता लिइसकेका छन्। वास्तवमा देश र जनताको विकास स्वाभाविक रूपले हुने गर्छ, जबरजस्तीले होइन।
थेन्डुप लामा
No comments:
Post a Comment