राधिका तामाङ ‘रौद्ररादु’
बाल श्रम ऐन अनुसार चौध वर्षदेखि मुनिको कुनै पनि व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरिएको छ। घरेलु काम (परिवारको स्वामित्वमा रहेको व्यवसाय र बाल कलाकार बाहेक) लगायतका कुनै पनि रोजगारमा बालबालिकालाई रोजगारी दिन निषेध गरिएको छ।
मेरो किरायाको कोठा नजिकै एउटा श्रमिक परिवार बस्छ। एकदिन आमा चाहिँले भनेको सुनेँ – ‘ठुलो छोरो आठ वर्षको भयो। दोकानमा बस्नु सक्छ नि। काम पूरा गर्छ त।‘ अर्को दिन त्यो नानीलाई एउटा झोला बोकाएर काम गर्नुको लागि लगिएको देखेँ। त्यो नानीलाई बाल श्रम गराउन लगिएकै हो। त्यो बालकजस्ता अरू कति नानीहरू छन् होला जो बाल श्रम ऐन हुँदाहुँदै पनि त्यसरी काम गरिरहेका होलान्। त्यो बालकले पक्कै पनि दोकान चलाउने त होइन। चलाउनु दिँदैन पनि। बाल श्रम कानुनले त्यो दिँदैन। तर बाउआमालाई समाजको आँखा छल्नको लागि पढाइदिन्छु भनेर बालबालिकालाई लगिन्छ। पढाइदिन्छु भनेर घरमा लगी घरेलु कामकाजमा दल्नेहरूलाई बाल श्रम कानुनले भेट्दैन। हो, देखाउनको लागि नजिकैको सरकारी स्कुल पठाइन्छ। (त्यसरी पढाइदिन्छु भनेर लानेहरूले तथाकथित प्राइभेट स्कुलतिर त्यस्ता बालबालिकालाई पठाएको देखिएको छैन।) देखाउनकै लागि स्कुल पठाइएको हुन्छ तर त्यस्ता बालबालिकाले घरमा पढ्न पाउँदैनन्। होमवर्क गर्ने समय पाउँदैनन्। मलाई लाग्छ कि त्यस्ता बालबालिकाहरू जेलभित्र बसेर स्कुल गएकोभन्दा बढ्ता हुँदैन। अरू नानीहरूले जुन सुखसुविधा उपभोग गर्छन् त्यो उपभोग गर्न यी नानीहरूले पाउँदैनन्। यस्तो कथा हाम्रो पहाडमा अनगन्ती छन्। हाम्रै गाउँघरमा पनि छन्। त्यस्ता बालबालिकाहरू पढेर आफ्नो भविष्य बनाउने उद्देश्यले स्कुल गइरहेका हुँदैनन्। चारपाँच घण्टा भए पनि आफू बसेको घरदेखि मुक्त हुनलाई उनीहरू स्कुल जान्छन्। स्कुलमा भाँडा माझ्नु पर्दैन, लुगा धुनु पर्दैन, भुईँ पुछ्नु पर्दैन र कसैको गाली र कचकच सुन्नु पर्दैन।
कतिवटा ठाउँमा आमाबाउले सानासाना भाइबहिनी पाल्नलाई दाजुदिदीलाई बेच्ने गरेका घटनाहरू हामी सुन्छौँ – पड्छौँ। तर हाम्रोतिर त्यस्तो घटना हुँदैन वा भएको छैन भनेर कसरी भन्नसक्छौं? फरक यति हो कि यतातिर तरिका अर्कै छ। सम्पन्न मानिसहरूले विपन्नका छोराछोरीलाई पढाइदिन्छु, स्याहार्छु, हुर्काइदिन्छु भनेर लान्छ तर आखिरमा बालश्रम नै गराउँछ। आफ्ना छोराछोरीलाई चिटिक्क पारेर नाम चलेको निजी स्कुलमा पठाउँछन्। अनि दयामायामा बसेको त्यो बालक वा बालिकाले मालिकको नानीको झोला स्कुलसम्म पुऱ्याइदिएर हतार हतार घर फर्की आफू पालिस नगरेको जुत्ता र इस्त्री नलाएको स्कुलको ड्रेस लाएर सरकारी स्कुल जानुपर्छ। ऊ प्रायः नै ढिलो गरी स्कुल पुग्छ र ढिलो भएकोमा प्रायः नै सजाय पनि भोग्छ। विडम्बना के छ भने त्यस्ता बालबालिकाको मजबुरी बुझ्ने शिक्षकशिक्षिकाहरू स्कुलतिर कम मात्र हुँदछन्। मालिकको नानी ट्युसन जाँदा त्यो नानी घरमा भाँडा माझ्ने, लुगा धुने, भुईँ पुछ्ने जस्ता काममा दलिएको हुन्छ।
मेरी साथी थिइन् एकजना। भन्नलाई नै त ऊ मामाको घरमा बसेर स्कुल जान्थिन्। तर उसलाई नोकरनीलाईजस्तै व्यवहार गर्थे घरकाहरू। उसले सधैँ भन्ने गर्थी – मैले त उठेकोदेखि स्कुल आउने बेलासम्म काम गर्नुपर्छ। स्कुलबाट गएर पनि काम गर्नुपर्छ। दिदी र बहिनीले (मामाकै छोरीहरू) केही काम सघाउँदैन। दिदी र बहिनी पनि ऊसँगै एउटै स्कुलमा पढ्ने। स्कुलबाट सँगै घर पुगेपछि दुई बहिनी थकाइ मार्न ओछ्यानमा ढल्किने। मेरी साथीले भने खाजा र चिया बनाएर ओछ्यानमै पुर्याइदिनुपर्ने। आफूले ढाड भाँचिञ्जेल काम गरिरहेको बेला पनि मामाकी छोरीहरू कोठा थुनेर शृङ्गार गर्दै बसेको देख्दा साथीलाई रुनु मन लाग्थ्यो अरे।
कतिले त घरमा काम गर्न राखिएका बालबालिकामाथि साह्रै दुर्व्यवहार पनि गर्ने गर्छन्। ती बालबालिकाले सानो गल्ती गरे पनि ठुलो समस्या बनाएर गाली गर्ने, पिट्ने र अनेक थरीका प्रताडना दिने गर्छन्। खाना खाँदा पनि छुट्टाइन्छ। घरमा सबैले खाइसकेर मात्र ती बालबालिकाले खानुपर्ने दस्तुर धेरै ठाउँमा देखिन्छ। परिवारको लागि केआरटी चामल खाएर ती बालबालिकालाई चाहिँ बीपीएलको कोटामा पाएको चामल पकाएर दिने गरेको पनि मैले मेरै आँखाले देखेको छु। अथवा मलाई कहाँनिर मन दुख्यो भने त्यो घरमा दुईवटा राम्रो नस्लको कुकुर थियो। काम गर्ने बालिका र ती कुकुरको निम्ति एकै खालको चामल एकैठाउँमा पकाइन्थ्यो।
एउटा गाउँमा एकजना सम्भ्रान्त परिवारमा एउटी बाह्र वर्षकी बालिकालाई पालिएको थियो। एक दिन स्वास्नी चाहिँ कहीँ घुम्न गएर घर आइपुग्दा बालिकालाई कुनामा बसेर रोइरहेकी देखिछन्। राम्ररी हेर्दा बालिकाको पछिल्लो भाग रगतपच्छे भएको रहेछ। सोधपुछ गर्दा आफ्नै लोग्नेले उनी नहुँदा बलात्कार नै गरेको रहेछ। त्यति सुन्नेसाथै तिनले उल्टो बालिकालाई नै जगट्याएर मरणासन्न अवस्थासम्म कुटेकी कुरा गाउँभरि फैलिएको थियो। आफ्नो लोग्नेलाई बिगारेको आरोप लगाएकी थिइन् ती शिक्षित महिलाले! युक्तिसङ्गत कुरो के थियो भने बाह्र वर्षकी ती बालिकाले त्यो पुरुषलाई बलात्कार गर्ने कुरा त कल्पनासम्म गर्न सकिन्न। तर ती महिलाले ती बालिकालाई यस्तै आरोप लगाएर अमानवीय तरिकाले प्रताडित गरेकी थिइन्। बालिकाका बाउआमा गरिब, निर्धो र अनजान। उनीहरूले चुपचाप आफ्नी छोरीलाई घर लगेर गएका थिए। पछि थाहा लाग्यो ती बालिका गर्भवती भइछन्। तर गरिबीको विडम्बना के थियो भने छोरीको त्यस्तो हालत देख्दादेख्दै पनि ‘ठुला मान्छेसित सिङ जुधाउनु हुँदैन’ भनेर बाउआमाले चुपचाप छोरीलाई घरमै सुत्केरी हुन लाउनुपऱ्यो तर पुलिसमा मुद्दा दर्ता गर्न सकेनन्।
मैले अर्को कथा पनि सुनेकी छु। एउटा घरमा काम गर्न राखिएकी अनाथ बालिकालाई मालिकले गर्भवती बनायो। त्यो कुरा घरमा खुलेपछि मालिक्नीले ती बालिकालाई त्यही अवस्थामा सिलगढीमा कतै छोडिराखेर आइछन्। कहाँ गई होली ती बालिका? अनि मालिक भने आज पनि शानसँग घुमिरहेको छ। गाउँमा उसको धाक त्यतिकै छ। सम्मान त्यतिकै छ। त्यसरी हाम्रो समाजले राक्षसहरूलाई पनि सिटिङ रुमको सोफामा राखेर चिया चमेनाले सम्मान गर्ने ढोँगी प्रथा चलाइरहेको छ।
एउटा घरमा दिदीचाहिँको बिहे हुन्छ। लोग्नेको घरमा छोराहरू मात्रै हुन्छ। दिदीले मेरो साथी पनि हुन्छ, यसलाई पढाइदिन्छु भनेर कान्छी बहिनीलाई लिएर जान्छ। नयाँ घरमा जानु पाउँदा बहिनी खुशी खुशी जान्छे। पहिले त उसलाई राम्रै गरिन्छ। तर समय बित्दै जाँदा घरकाहरूको व्यवहार बदलिँदै जान्छ। त्यो घरमा उसलाई फुस्ल्याएर नोकर्नी बनाउन ल्याइएको भनेर उसलाई बिस्तारै आभास हुँदै जान्छ। बालिकाको छाती त तब चर्किन्छ जब दिदीले पनि उसलाई नोकर्नीलाई जस्तै व्यवहार गर्न थाल्छे। पछि पछि उसको बढ्दै गरेको शरीरदेखि लोभिएर दिदीको लोग्नेले उसलाई शारीरिक प्रताडना दिन थाल्छ। ती बालिकाको मनमा लागेको चोट र मानवताको प्रश्नको समाधान कहीँ छैन।
आर्थिक विपन्नताले जन्माएका यस्ता हजारौँ कथाहरू छन्। गरिबी रेखामुनि रहेका परिवारका बालबालिकाहरूले भोगिरहेको नर्कलाई बाल श्रम कानुनले छोइरहेको छैन।
त्यसरी गरिब हुनु भनेको गाँस, बास र कपासको अभावमा बाँच्नु मात्र होइन। मान्छे भएर मान्छेलाईजस्तो व्यवहार नपाउनु भोकै बस्नु र फाटेको लाएर हिँड्नुभन्दा दशौं गुणा बढ्ता दर्दनाक अनुभव हो। खाली खुट्टा हिँड्नु केही होइन तर जुत्ता जत्ति पनि गन्ती नहुनु ठुलो अपमान हो। देशमा लाखौँ बालबालिका बाल श्रम कानुनको हातबाट धेरै टाढा पशु झैँ जिन्दगी बाँचिरहेका छन् तर हाम्रै नेपाली समाजमा पनि गरिबीको कारणले नर्कको जिन्दगी भोगिरहेका बालबालिकाको कथा कम छैन। अझ भन्नुपर्दा त्यस्ता अवस्थाका बालकहरूभन्दा पनि बालिकाहरूले उठाउनुपर्ने जोखिम अनेक छन्। मालिकको घरमा नोकर भएर बाँच्नुभन्दा नोकर्नी भएर बाँच्नु अझ कष्टकर छ। मेरो अनुसन्धान र अनुभवमा सत्तरी प्रतिशत त्यस्ता बालिकाहरू यौन उत्पीडनको शिकार बन्ने गरेका छन्। उनीहरू शारीरिक छेडछाडदेखि बलात्कारसम्म पनि चुपचाप सहन बाध्य छन्। एक प्रतिशतभन्दा पनि कम मात्र त्यस्तो मामला सार्वजनिक हुने अथवा कानुनको नजरमा पुग्ने गर्छ। गरिबीको सबैभन्दा ठुलो अभिशाप हो मुख खोल्ने अवस्था नहुनु। गरीबहरूको मुख थुन्न कसैले पनि सक्छ। त्यसकारण बालश्रम कानुन पनि समाजको जरासम्म पुग्नलाई दशौं वर्ष लाग्नसक्छ। किनभने देशमा अथवा हाम्रो समाजमा प्रगतिशील सोच, व्यवहार, चरित्र अनि संस्कारको सन्तोषजनक विकास भएको छैन। देश अहिले पनि राफेल जेट र परमाणु हतियार राख्ने आधुनिक तर पाषाण युगमै छ। देशको कुनै पनि कानुन अपराधी साबित भएको व्यक्तिलाई न्याय गर्नुमा सीमित छ तर अपराध हुनै नदिने परिवेश र व्यवस्था तयार पार्न असक्षम छ। त्यसकारण अहिले तमाम शोषित, पीडित, अवहेलित र प्रताडित समुदायलाई कानुनकोभन्दा बढ्ता त एउटा त्यस्तो व्यवस्था चाहिएको छ जहाँ मान्छेले मान्छेलाई मान्छेलाई झैँ व्यवहार गर्ने संस्कृतिको विकास गर्न सकिन्छ। अझ भनौँ, त्यस्ता बालबालिकामाथि हुने शोषण, दमन, प्रताडना, मानसिक आघात र अमानवीय व्यवहारहरूमाथि रोक लगाउन विशेष कानुन बनाउन जरुरी देखिन्छ। त्योभन्दा उता सभ्य समाजले पनि त्यस्ता असभ्य व्यवहारहरू देखे कानुनको सहायता लिएर सम्बन्धित प्रशासनलाई खबर गर्न सक्ने परिवेशको निर्माण हुनुपर्ने देखिन्छ। सभ्य समाज आफै बन्दैन। असभ्य मानिसहरूको समाजमा सभ्य मान्छे बस्नु सक्दैन। असभ्यताको विरोध नगर्नु भनेको त्यसको समर्थन गर्नु नै हो। नागरिक समाज पनि चुप लागेर बस्दा नै धेरै अमानवीय घटनाहरूले प्रेरणा पाइरहेको छ। मामा र भान्जी सडकमा हिँड्दा आँखा फुकालेर हेर्नेहरूको समाजले घरघरमा भइरहेका यी अमानवीय व्यवहारहरूमाथि ध्यान दिँदैन। त्यसकारण एउटा प्रगतिशील समाजको निर्माण पनि आवश्यक भएको छ।
No comments:
Post a Comment