भावना शर्मा
आर्थिक तहको आधारमा विश्वको समाजलाई मोटामोटी तीन तहमा विभाजित गरेर हेरिने चलन छ – सम्पन्न तह, मध्यम वर्गीय तह र निम्न आर्थिक तह। त्यसरी भारतीय नेपाली नारीहरूलाई पनि यी तीन तहमा हेर्न सकिन्छ। भारतीय नेपाली नारीहरूको पनि एउटा तेस्रो विश्व छ – जहाँ लोकतन्त्र, आधुनिक नारी अधिकार, नारी मुक्ति इत्यादि कुराहरू अन्धकारमा छन्। महिला दिवस, नारी दिवस, नारी सशक्तीकरण कार्यक्रम इत्यादि कुराहरू जताततै भइरहन्छन् तर त्यस्ता कार्यक्रमहरू प्रायः नै मध्यम वर्गीय र सम्पन्न वर्गका नारीहरूको निम्ति हुने गर्छन्। प्रायः नारीवादी लेखन पनि तेस्रो विश्वका नारीहरूको संसारदेखि अलग नै भएको पाइन्छ। तेस्रो विश्वका नारीहरूको इतिहास निश्चल छ। दिनभरि घरेलु काममा घोटिएर बस्ने, घर सम्हाल्ने अघोषित जिम्मेवारी लिएर बस्ने, भान्साघरमा सीमित जीवन बिताउने र आफूलाई विवाहित कुमारीको रूपमा स्वीकार गरिसकेका नारीहरूलाई लोकतन्त्र, नारीवाद, नारी अधिकार, विश्व परिवेश इत्यादि कुराहरूसँग कुनै सरोकार छैन। त्यस्ता नारीहरूमा धेरैजनाको आफ्नो आयस्रोत हुँदैन र लोग्नेकै कमाइमा आश्रित हुन्छन्। त्यसो हुँदा उनीहरूको निम्ति आर्थिक सुरक्षा छैन। लोग्नेकै कमाइमा निर्भर हुनाले उनीहरू सधैँ लोग्नेप्रति कृतज्ञ हुनुपर्ने र लोग्नेको सामु शिर झुकाएर बाँच्नुपर्ने अवस्थामा हुन्छन्। त्यसरी जिन्दगीभरि नै लोग्नेको हुकुम पालन गरेर बस्ने नारीहरूमा युगसापेक्ष चेतनाको विकास हुने सम्भावना कम मात्र हुन्छ। लोग्नेका अनेकन् गल्तीहरू र कमजोरीहरूको मूक दर्शक बनेर बस्न बाध्य ती नारीहरू असली प्रेमभन्दा बढी शोषण र बलजफ्ती सहेर बाँचेका हुन्छन्। उनीहरूको भिजेको सिरानीले मुक्ति मागिरहेको हुन्छ र समूल क्रान्तिको माग गरिरहेको हुन्छ तर सिरानी र मजेत्रोको फेरो त्यसरी भिज्दै सुक्दै गर्नमा अभ्यस्त भइसकेका हुन्छन्। ती नारीहरूले दुलही बन्दादेखि उसो आनन्द नामको अनुभूतिलाई तिलाञ्जलि दिइसकेका हुन्छन्। लोग्ने दिन रात मातेर आउँछ, घरलाई नर्क बनाउँछ र परिवारलाई पीडाबाहेक केही दिँदैन भने ती नारीलाई त्यो भोग्न कति साह्रो पर्छ होला। यस्तो अन्याय सहेर पनि उनीहरू अदृश्य काल्पनिक शक्तिहरूमा विश्वास गर्छन् र आनन्दसँग भन्ने गर्छन् – “जे गर्छन् ईश्वरले नै गर्छन् र राम्रैका लागि गर्छन्!” तर लोग्नेले जगट्याएर आँगनमा पछार्दा उनको ईश्वर के गरिरहन्छ प्रश्न कहिल्यै गर्दिनन्। कति प्यारो छ उनीहरूलाई ईश्वर। जब लोग्नेले लात्तीले हान्छ, मुड्कीले चोट पार्छ, थप्पडले गाला रन्काइदिन्छ र जब उसको टाउको भित्तामा ठोक्किन पुग्छ नि त्यतिबेला ती अदृश्य शक्तिहरू चाहिँ मज्जा मानेर स्वास्नीलाई हेप्ने चलन त पुराण कथा, धार्मिक ग्रन्थहरूमा पनि त हुन्थ्यो भनेर चुप लागी हेरिबस्छन्। नारीहरूले पुज्ने यस्ता नदेखिने शक्तिहरू न त चलमलाउँछन्, न त श्रमजीवी वर्गका नारीहरूलाई संविधानले दिएको हक अधिकारका कुरा नै बुझाइदिन्छन्।
तेस्रो विश्वका नारीहरूले यस्ता उत्पीडन, अन्याय, अत्याचार, शोषण र दमन सहिरहनुपर्छ।
अहिले त शारीरिक उत्पीडन र बलात्कार त समाजले पचाइसकेको छ। त्यसो त भारतलाई नारीहरूको निम्ति एकदमै असुरक्षित देश भनेर मान्न थालिएको छ। त्यस्तो अवस्थामा तेस्रो विश्वका नारीहरूको अवस्था कस्तो होला। एउटा अप्रकाशित समाचार छ। एउटी विवाहित तरुणीको लोग्ने रक्सी पिएकै असरले रोगग्रस्त भएर मऱ्यो। तरुणी उमेरमै विधवा भइन्। पछि त्यही परिवारकै एकजनाले बलात्कार गऱ्यो। त्यो पनि जेठाजु पर्नेले। तर न्याय पाइनन्। सन्तानको नाक जान्छ भनेर कुरा घरभित्रै मिलाइयो। तर त्यसपछि उनी बारम्बार बलात्कृत भइरहिन् त्यही मान्छेबाट। पछि मानसिक रोगले विक्षिप्त भएर गाउँ डुल्न लागिन् अनि गाउँबाटै हराइन्।
नेपाली समाजमा तेस्रो विश्वका नारीहरूको बाक्लो उपस्थिति छ। तर त्यो अवस्थाबाट मुक्तिको निम्ति कुनै ठोस कदम उठाइएको देखिन्न। आर्थिक असुरक्षाले गर्दा उनीहरू जस्तै अन्याय र अत्याचार पनि सहेर बस्न बाध्य हुन्छन्। राक्षसजस्तो लोग्नेलाई पनि पति परमेश्वर भनेर मानिरहने बाध्यता छ। घर छोडेर जान सक्दैनन्। त्यसो हुँदा नर्कबाट मुक्तिका कुरा अथवा त्योभन्दा राम्रो जिन्दगीको सपना देख्ने कुराको कल्पनासम्म गर्न सक्दैनन्। नारीहरूको निम्ति थुप्रै कानुनहरू बनिएता पनि त्यसको उपभोग गर्नमा धेरै प्रश्नहरू अनुत्तरित नै छन्। नारी सशक्तीकरण जस्ता राजनीतिक स्वार्थले भरिएका नाराहरू तेस्रो विश्वका नारीहरूको अन्धकारसम्म चिहाउन समेत आइपुग्दैन।
सबैका आआफ्ना कथा र व्यथाहरू लुकेका छन्। गाउँघरमा डुल्न निस्कँदा थाहा लाग्छ– प्रत्येक मान्छेको कथा, सङ्घर्षको कथा, जीवनको भोगाइ र अन्याय अत्याचारहरू सहिरहेका कथा। यस्तै कथा त दिनमा दशबाह्रवटा सुन्दा मात्र थाहा लाग्छ कि सबैले आफ्नै तरिकाले सङ्घर्ष गरिरहेका हुन्छन्। तेस्रो विश्वका बहुसङ्ख्यक नारीहरू बेरोजगार हुन्छन्। आफ्नो परिवारको निम्ति चुल्हा जलाउनुदेखि लिएर परिवारको प्रबन्धनसम्म सम्हाल्नमा व्यस्त यी नारीहरूको नयाँ घाम झुल्किँदैन, आकाश नीलो हुँदैन र धर्तीमा वसन्त आउँदैन। मूल कुरा के छ भने त्यस्ता नारीहरूको निम्ति आर्थिक सुरक्षा उपलब्ध गराएर उनीहरूलाई आत्मनिर्भर बनाउने व्यवस्था आजको देशले सोचेकै छैन। त्यसकारण तेस्रो विश्वका महिलाहरू एउटा यस्तो सुव्यवस्थाको निम्ति तड्पिरहेका छन् जहाँ उत्पीडनहरूदेखि मुक्तिको निम्ति एउटा फाँटिलो जग्गा होस्।
एउटी विधवा स्वास्नीको एउटा घटना यहाँ प्रस्तुत गर्न चाहन्छु।
यो घटना २०१९- को हो। मिर्गौलाको रोगले लोग्नेको मृत्यु भयो। घरमा सानासाना बालबच्चा छन्। लोग्नेको मृत्युपछि घरमा कमाउने कोही भएन। आफ्नो हैसियतले भ्याएको सबै काम गरिन् उनले। आफू अनपढ भएको कारणले सरकारी वा निजी कार्यालयहरूमा कतै काम पाइनन्। लोग्नेको मृत्युमा शोकाकुल भएको परिवारलाई सहायताको जरुरत थियो तर सहयोग पुऱ्याउन कोही अघि सरेनन्। उहिलेको नेपाली समाज र अहिलेको नेपाली समाज उत्तिकै छ। राँडी भनियो, यस्तालाई सहायता गर्नुहुन्न भनियो, टाउकैमा टेक्छन्, यस्ताले सरापेको टक्कै पुग्छ नि भनियो। यसरी समाजले छिःछिः दुर्दुर गरेपछि लोग्ने मरेको दुई वर्षपछि आफ्ना दुई छोरी र एक छोराको माया मारेर आफैले आत्महत्या गरिन्। उनको आत्महत्यामा आर्थिक, सामाजिक र मनोवैज्ञानिक पनि कारणहरू थिए। विधवा नारीको समस्यालाई समाजले अनदेखा गरेपछि उनलाई जिउने इच्छा भएन। यदि उनलाई कसैले आश्रय दिनुसकेको भए अथवा उनको समाज सचेत र बलियो समाज भइदिएको भए उनले आत्महत्या गर्नुपर्ने थिएन र ती नानीहरूको जीवन झन् अन्धकारमा भासिने थिएन।
अन्धविश्वास र रूढीवादले समाजको उन्नतिमा गतिलो बाधा पुऱ्याएको छ। तर चेतनाको दियो बाल्ने ठाउँसम्म नभएको तेस्रो विश्वका नारीहरू नै अन्धविश्वास र रूढीवादको रक्षा गर्ने समूह भएर बसेका छन्। त्यसको अर्को पनि असर समाजमा छ। चुडेल, मसान, अदृश्य शक्तिहरू र भाग्यवादमा चुर्लुम्म डुबेका यी नारीहरूले आफ्ना सन्तानको मस्तिष्कमा पनि ती कुराहरूको जरा गाडिदिने गर्दछन्। छोराछोरीलाई शिर झुकाएर बाँच्ने, अधिकारको कुरो नगर्ने, भाग्यमा विश्वास गर्ने, सत्यहरूदेखि आँखा बन्द गर्ने– कान बन्द गर्ने र मुख पनि बन्द राख्ने तालिम दिन्छन्। त्यसरी स्कुलहरूमा आत्मविश्वास, आत्मस्वाभिमान, जीवनको उमङ्ग र सुन्दर सपना हराएका बालबालिकाहरू पनि पढिरहेछन्। पृथ्वीको पेटमा ठुलो माछा सुतेको र त्यो हल्लिँदा भुईँचालो जाने दन्त्यकथा उनीहरूको निम्ति शाश्वत सत्य छ। त्यसो हुँदा जातिभेद, सम्प्रदायवाद, रूढीवादजस्ता प्रगतिविरोधी कुराहरूले उनीहरूको अविकसित मनमा जरा गाडेर बसेका हुन्छन्। त्यसरी नयाँ युगमा पनि पुरानै संस्कार र विश्वासहरू लिएका बालबालिकाहरू तेस्रो विश्वबाट हुर्किन्छन्।
एउटी सत्रह वर्षकी किशोरी घरेलु समस्या र मानसिक तनाउको कारणले बिरामी भएकी थिइन्। यस्तो बिरामी कि अलिक धेरै मान्छेहरू छेउमा सँगै बसेर बोलिदिएर दिमागमा थोरै असर पर्दा पनि उसको शरीर काम्ने गर्थ्यो। पहिला धामी झाँक्री नचाए, देउता बुझाउन अनेक गरियो। तर बहिनीको अवस्था झन् बिग्रँदै गयो। त्यसपछि आधा विश्वाससित डाक्टर देखाउन लगियो। उनलाई डिप्रेसन् र एङ्जाइटी भन्ने समस्या रहेछ। एक महिनासम्म डाक्टरको उपचार र औषधि सेवनले उनी निको हुँदै गएकी थिइन्। तर धार्मिक आस्थाले जितेको परिवारले उनलाई फेरि अर्को थलोमा पुऱ्याइयो। त्यहाँ उनलाई माता उत्रिने तर्खरमा भएकी बताइयो र मन्दिर बनाइदिने सुझाव दिइयो। अनि उनलाई जबरजस्ती माता बनाइयो। दशौं कक्षामा थिइन्। पढ्नमा अब्बल थिइन्। आज उनी करैले भक्तहरूको जोखना हेरिदिन्छिन्। तर विडम्बना के छ भने त्यो गाउँको शिक्षित समाज समेत एउटी होनहार किशोरीलाई माता बनाइएकोमा खुशी नै छ।
तसर्थ अब हाम्रो समाज कति जागरूक छ भनेर पहिला विश्लेषण गर्नु जरुरी भयो। दोस्रोमा यी तेस्रो विश्वका नारीहरूमा युग अनुसारको चेतना विकसित गर्न गैर सरकारी संस्थानहरू, साहित्यिक संस्थानहरू, सचेत बुद्धिजीवीहरूको समूहले केही गर्नुपऱ्यो। साहित्यिक तरङ्ग नपुगेको त्यो अभेक क्षेत्रमा नयाँ युगको सन्देश पुऱ्याउन विशेष त शिक्षित जागरूक महिलाहरूले जाँगर चलाउनु आवश्यक देखिएको छ।
No comments:
Post a Comment