Saturday, January 17, 2015

सम्पादकीय : नवेम्बर - डिसेम्बर २०१४

कस्तो हुनुहुन्छ ?

कस्तो छौ? प्रश्न सुन्दै आजकल प्राय नै ‘ठिकै छु’ भनेर मुश्किलले ओठमा मुस्कान ल्याई हिड्नथाल्छु। किनभने ‘राम्रै छु’ भनेर जोरसँग भन्नुमा एक प्रकारको दोधार भइरहेको छ। देशमा धुमधामले नयाँ सरकार आएको पनि केहि महिना बितिसक्यो, अनि एउटा वर्षको पनि अन्त हुनआँट्यो, यस्तो बेलामा यसो पछाडि फर्केर हेरौ हाम्रो दिनचर्या, हाम्रो जीवन हिड्ने बाटोलाई। 
पहाड होस् वा मधेश— जुन युवाले रोजगारको निम्ति गुजरात-महाराष्ट्र-तमिलनाडु अथवा मलेशिया-अरब गएर दैनिक १४ घन्टा खटेर पनि एकपल्ट बिरामी हुनु बित्तिकै सबै कुरो गुमाएर घर फर्कन बाध्य हुनु पर्छ— उसलाई थाहा छ, उ राम्रो छैन!
बिहानैदेखि रगतपसिना बगाएर खेतिपाती गरेतापनि जसको लागि नाफा टाढा भन्दा टाढा भइरहेको छ— त्यो गाउँलेहरू होस् वा रंगीचंगी विज्ञापनवाला प्लेसमेन्ट एजेन्सीहरूमा चक्कर लगाउदा हत्तुहैरान भएको भर्खर कलेज पास गरेको केटी अथवा सिभिक पुलिसको काम गुमाएको युवा होस्— उनीहरू पनि राम्रो भने छैनन्!
स्कुल-सर्विस कि प्राइमरी स्कुलमा चान्स लगाउनलाई बी.एड., बी. टी. गरेर बस्ने युवा-युवतीहरू होस् अथवा सिभिल सर्भिस पास गर्ने आशामा वर्षोदेखि किरायाको घरमा बसेर घरबाट पैसा माँग्दा लाज भइरहेको केटा केटी होस्, शपिंग मल, प्राइभेट नर्सिंग होम अथवा ठुलो अफिसको रिसेप्सनमा चाकरी गरेर महिनामा ५००० रुपियाँ हातमा पाउने केटी अथवा बजारमा सब्जीको भाउ सुनेर जसले भन्नुपर्दैछ — ‘होस्, एक किलो होइन, आधा किलो नै दिनुहोस्’— यी सबैजनालाईनै राम्ररी थाहा छ कि उनीहरू राम्रो छैनन्। 
तर प्रश्न के हो भने राम्रो नरहेतापनि भन्दा के पो हुन्छ र? अनि भन्यो भने पनि सुन्नेनै को छ र?
हाम्रो देशको सत्तामा बस्ने वा बस्नु खोज्ने पार्टीहरूका नेताहरूलाई राम्ररी थाहा छ कि हाम्रो देशको जनताका स्मरण शक्ति निकै कम छ। एउटा पार्टीको सरकारबाट वाक्कै भएर त्यसलाई बदलिएर अर्को पार्टीको सरकार ल्याएर फेरी हत्तु हुँदाहुँदै सोच्न थाल्छन् मानिसहरू— तब के पहिलाको सरकार नै राम्रो थियो? यस राज्यमा एउटा सरकार गए पछी अर्को सरकार ‘परिवर्तन’को नाममा आयो, यी दुइ भित्र तुलना चल्दाचल्दै हामी बिर्सिन्छौँ कि जुन भाजपा आज बिस्तारै उम्रिरहेको छ, उनीहरूले १९९९-२००४ सम्म सरकारमा रहंदा एकतिर आकाशछुने महंगाई, भ्रष्टाचार अनि अर्को तिर दङ्गा उक्साउनु जस्तो काम गरेको थियो। यी सब देखेरनै जनताले भोट दिएर कांग्रेसलाई ल्याएको थियो— जसको भ्रष्टाचारले पछी गएर सबै रेकर्डहरू भत्काई दियो। 
त्यही गुनासो र कर्पोरेट पुँजीको विज्ञापनको चम्किलो उपस्थितिले गर्दा आज फेरी केन्द्रको सत्तामा बसेका छन् नरेन्द्र मोदी। चुनाव अघिको महंगाई विरोधी, भ्रष्टाचार विरोधी स्लोगनहरू अहिले पछाडी सरिसकेको छ। नयाँ नयाँ म्याजिक जस्तै एक पछी एक नयाँ घोषणा गरिरहेका छन् नरेन्द्र मोदीले। उनले जम्मै संसारको पुँजीपतिहरूलाई आह्वान गर्दैछन् — प्रोडक्ट चाँही संसारको कुनै पनि ठाउँमा बेच्नुहोस्, तर ति तयार गर्ने काम इन्डियामानै गर्नुहोस्। मोदीको यो मोडेलको नाम हो— ‘मेक इन् इन्डिया’। यसले गर्दा हाम्रो देशको युवायुवतीहरूले राजगारको मौका पाउनेछन् रे। तर, संसारको विभिन्न देशको मालिकहरूले किन भारतमा आएर निवेश गर्ने? यदि यस देशमा सबभन्दा सस्तोमा आफ्नो श्रम दिने मानिस पाए भने उनीहरू निवेश गर्नसक्छन्, थप्नुहोस् सस्तोमा प्राकृतिक सम्पदाको आपूर्ति अनि लगामहीन ट्याक्स छुट। यस्तो मोडेल त हामीले पहिलादेखिनै चिन्छौं— सत्तामा बसेको पुरानो भाजपाको ‘इन्डिया साइनिंग’ वा कांग्रेसको ‘गरिबी हटाव’ अथवा यो ‘मेक इन् इन्डिया’ सबै एकै हो। 
यो मोडेलले गर्दा युवायुवतीहरूले जुन काम पाउनेछन् त्यो सबै नै ठेक्का प्रथामा वा ‘अप्रेन्टिस’को नाम दिएर बर्षोसम्म नाम मात्रको ज्यालामा काम हो। मालिकले चाहे भने कहिलेपनि कामबाट छटाई गर्नसक्छ, न्युनतम ज्याला वा श्रमिकको आवास-शिक्षा-स्वास्थ्य-दुर्घटना सम्बन्धित कुनै सामाजिक सुरक्षा दिने कुनै वाध्यता मालिकहरू माथि नरहोस् भनेर बदलिंदैछ देशको श्रम-कानुनहरू पनि। सिधा कुरा के हो भने आउने पुस्ताहरूलाई दिनमा अधिक भन्दा अधिक खटेर कम भन्दा कम ज्यालामा दिन गुजार्नु पर्ने स्थिति हुनेछ। 
त्यससित देशी-विदेशी ठुलो मालिकहरूको मुनाफाको निम्ति हाम्रो देशलाई उदाङ्गो पारेर बेचिनेछ खनिज सम्पदा, बनजंगल सम्पदा र जीव विचित्रता। जमिन र पानीको स्रोतहरूलाई निचोरेर खतम पारिन्दैछ द्रुत नाफाको आशामा। त्यसैपनि उपभोक्तावादको जमानामा धनी गरीब बीच गहिरो खाडल भइसकेको छ। सरकारको यस्तो नीतिले त जनतालाई झन् साह्रो गरिबी र भुकमारीको भुमरीमा हालिदिने छ। यसरी त न देशको मानिसहरूका पसिना-रगत चुस्नुको सिलसिला माथि रोक लाग्नेछ न मानिसको विकाशनै हुनेछ। ‘अच्छे दिन’ रे! बन्दैछ त एउटा ‘शक्तिशाली-विकसित’ भारत। 
के हामी यस्तै चाहन्छौं? 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...