Saturday, January 17, 2015

हिन्दी सिनेमा अनि नारी : ‘मर्दानी’मा एक नजर

गुञ्जन राणा

आजकल निकै कमर्सियल वा पपुलर हिन्दी चलचित्रहरू, समाजमा निहित समस्या, उत्पीडनमा आधारित हुन्छन्। एक समय थियो, जब अमिताब बच्चनको “एन्ग्री यंग म्यान”-को चरित्रले धेरै सामाजिक मुद्दाहरूलाई उठाएको थियो। कमर्सियल चलचित्र मध्ये यस्ता धेरै चलचित्रहरू छन्, पुरानो होस् वा नयाँ, यस्ता चलचित्रहरूको कमी भने छैन। देशको गरिबीमा लट्पटिएको जनता, खाद्यान्न बिहिन जनता, स्वास्थ्य सेवाहरू नपुगेको गाउँ, नारी उत्पीडन इत्यादि। सबै विषयहरूलाई चलचित्रले धेरै पल्ट लाखौँ दर्शकहरू अघाडी पछारेको छ। तर यसै बिच त्यस्ता चलचित्रहरू पनि छन्, जसले यी मुद्दाहरूलाई गलत निवेदन साथ दर्शक समक्ष राखेका छन्। अनि तुलनामा यी बेठिक निवेदन लिएर आउने चलचित्रहरूनै असलमा लोकप्रिय अनि सङ्ख्यामा बेसी हुन्छन्। किन भने यस्तो चलचित्रहरूले कहिले पनि समाजको स्थापित तथ्य, विचार, सोंच, धारणा आदिलाई ठेस पुयाउदैनन्। बरु उल्टो, यी स्थापित विचार, धारणा आदिलाई अझ बडी साहस दिन्छन्। 
चलचित्रहरूको विषय बनेको धेरै विषयहरू मध्ये, म केवल एउटा विषयलाई यहाँ चर्चामा ल्याउन चाहन्छु। अनि त्यो विषय हो, नारी उत्पीडन अनि शोषण। नारी उत्पीडन अनि शोषण आधारित चलचित्रहरूको कुरा गर्दा पनि, धेरै चलचित्रहरूलाई हामी यस तालिकामा गाभ्न सक्छौ। मेह्बूब खानद्वारा निर्देशित ‘मदर इन्डिया’ होस्, वा हालैको बहुप्रचलित प्रदिप सर निर्देशित ‘मर्दानी’। यस्ता धेरै चलचित्रहरूमा समाजमा निहित नारी उत्पीडन अनि शोषणलाई चलचित्रको मूल मुद्दा बनाइएको छ। तर ‘मदर इन्डिया’ अनि ‘मर्दानी’-मा हामी एकै प्रकारको विश्लेषण पाउदैनौ। कस्तो प्रकारले मुद्दा उठाएर त्यसलाई उपस्थित गरेको छ त्यसमा धेरै अन्तर हामी पाउछौ। ‘मदर इन्डिया’-मा एउटी आमाले आफ्नो पतिको अनुपस्तिथिमा आफ्नो छोरालाई हुर्काउछ, त्यस बिच आमाले धेरै समस्याहरूको सामना गर्नु पर्छ। यसमा समाजको नारी प्रतिको दृष्टिकोण देखाइएको छ, तर अन्तमा जसरी आमालाई एउटा असल भारतीय नारीको मूर्ति झैँ स्थापित गरिएको छ त्यो अति निन्दनीय छ। आमा, छोरी, स्वास्नी, दिदी (अरू जुनै पनि नारीको सामाजिक सम्बन्ध)- बाट समाज द्वारा निर्धारित, अपेक्षित सेवा हुन्छ, जुन सेवा नारीहरूले उताराधिकारमा पाएका हुन्छन्, त्यही सेवा, अनि जिम्मेदारीलाई निभाए एउटा असल नारी बनिन्छ भन्ने जुन सोंच, त्यसलाई ‘मदर इन्डिया’-ले चुनौती दिन सकेन। असलमा समाजमा स्थापित ‘लैंगिक भूमिका’ (Gender Role) नै वर्षौ देखि चली आएको नारी उत्पीडनको अभिव्यक्ति हो। नारी उन्मुक्तीको लागि यस भूमिका अनि नारीको सुसज्जित चरित्रलाईनै हामीले तोड्नु पर्छ। यो रूढ़िवद्धता तोड्ने प्रक्रिया, हालैको निर्मित चलचित्रहरूमा हामी पाउछौ। ‘मर्दानी’-मा पुलिस वर्दीमा बन्दुक समात्दै उपस्थित भएको रानी मुखर्जीले यसको प्रमाण दिन्छ। तर के नयाँ चलचित्रहरू पनि यो रूढ़िवद्धता तोड्न सफल बनेका छन्? अथवा शिथिल सामाजिक स्तिथिमा यस्तो हावाको लहरहरूले के कस्तो सन्देश लगेर जादैछ? अनि राजनैतिक ढङ्गमा रूढ़िवादको शिकार बनेको जनताको कस्तो प्रतिक्रिया छ त? अनि हाम्रो अडान कस्तो हुनुपर्ने हो? 
नारी अनि हिन्दी सिनेमा
सिनेमा वास्तविकताको प्रतिरूप हो, अनि एउटा यस्तो हथियार पनि हो जसले वास्तविकतामा परिवर्तन ल्याउन सक्छ। पपुलर सिनेमाले सिनेमाको यो संज्ञा भुले पनि, अझ सिनेमालाई कलाको प्रकारको रूपमा लिने धेरै यस्ता व्यक्तित्वहरू छन्। 
हिन्दी सिनेमामा, प्राय नारीहरूलाई स्थापित रूढ़िवद्ध चरित्रमा सीमित राखेको हुन्थ्यो। नारीलाई एउटा अति परिवार समर्पित आमा, सति सावित्री पत्नी, आज्ञकारी छोरीको रूपमा मात्र प्रस्तुत गरिन्छ, एवं जुन समाजको स्थापित नियम हो। हिन्दी सिनेमामा अभिनेत्री अभिनेताको वरी परि घुम्छ, अभिनेता केन्द्रित हुन्छ हिन्दी सिनेमा। उधारानार्थ कुनै पनि हिन्दी चलचित्र लिनूहोस, पुरानो या नयाँ, ‘करण अर्जुन’-को दुई भाइ छोरा बिना अपाङ्गो बनेको आमा, जसले छोराहरूलाई केवल बदलाको प्रेरणा दिन सक्छ, अनि अन्तमा त्यही छोराहरूको पौरुष बलको भरमा नै चलचित्रको सुखद अन्त हुन्छ।
तर अभिनेत्री केन्द्रित चलचित्र पनि हामी आजकल देख्न सक्छौ। तर यसलाई पनि, युक्तिवादी भन्न सकिन्दैन। जब अभिनेत्री केन्द्रित चलचित्र बन्छ, अथवा अभिनेत्रीले जब चलचित्रको पुरै भार उठाउनु पर्छ, तब एउटा नारीलाई पौरुष चरित्र भएको भिन्नै मान्छे बन्नु पर्छ। यसको मतलब यो हैन की पौरुष चरित्र एक मात्र पुरुषहरूको अधिकार हो, तर किन अभिनेत्रीलाई चलचित्रमा प्रमुख भूमिका निभाउदा उसलाई अभिनेता हुन पर्छ। अभिनेत्री अथवा नारीलाई आफ्नो चरित्र छोडेर पुरुषको चरित्र अप्नाउनु पर्छ। अनि यसलाई उल्टो प्रकारले हेर्दा नारीको कोमल, ममतापूर्ण एउटा चरित्र पनि कहाँबाट बनिन्छ? निश्चयनै समाजको रूढ़िवद्ध लैङ्गिक कामको विभाजनले गर्दा। यसलाई तोड्नु छ, तर नारीलाई पुरुष बनाएर हैन।
‘मर्दानी’- एक झलक
यस चलचित्रलाई नारीवादको तर्कहरूले वार गर्दा, प्रथम त यसको शीर्षकले वारको चोट भोग्छ। ‘मर्दानी’ नै किन? मर्दानी त् ‘मर्द’-को चरित्र हो, एउटा पुरुषको चरित्र हो। एउटा नारीले बन्दुक बोकेर पुलिसको काम गरे, किन उसको कामलाई मर्दानीको चरित्र दिनु। अथवा के यो चलचित्रले यो भन्न खोज्दैछ की पुलिसको काम, अथवा शारीरिक कामहरू केवल पुरुषहरूको काम हो? नारीहरूको काम घर भित्र सीमित हुन्छ? होइन भने, नारीहरूले केही शारीरिक काम गयो भने, त्यसलाई पौरुष कामको संज्ञा किन दिइन्छ? 
यस चलचित्रले पनि त्यही कालो चलनलाई पन्छाउँन सकेन। तर पनि पुरुषको जगामा, मर्दानीमा हामी पुलिसको ड्रेसमा बन्दुक खेलाँउदै एउटी नारी पाउछौ, यो प्रशंशनिय छ। 
अरू धेरै हिन्दी चलचित्रको केन्द्र बिन्दु हुन्छ, एउटा इमान्दार पुलिसको हिरोपन्थी, अनि अन्तमा जीत। त्यस्तै छ मर्दानी पनि, केवल पुरुषको सट्टा हामी मुख्य भूमिकामा महिला पाँउछौ। अरू अन्य हिन्दी चलचित्र झैँ, जसले लैङ्गिक भूमिकाको अदल बदल गयोस, मर्दानीमा पनि फिल्मको मुख्य केन्द्र बन्नलाई, नारीलाई पुरुष हुन परेको छ। यहाँ दुई वटा मुख्य कुरा आउछ, एउटा नारीको आफ्नै विशेष चरित्रहरू हुन्छ, कोमल, ममतापूर्ण, लजालु इत्यादि, यी चरित्रहरू सँगै नारीहरू चलचित्रको मुख्य पात्र बन्नु पर्छ, तर के यो चरित्रहरू पनि समाज को त्यही रूढ़िवद्धता कै फल त होइन? यी चरित्रहरू के नारीहरूको असल चरित्र हो? यदि समाजमा पहिले देखिनै लैङ्गिक असमानता नभएको भए, नारीहरूको कस्तो चरित्र हुनेथियो? फेरी प्राकृतिक रूपले नारीहरूले पाएको आमा हुने सौभाग्यले पनि त तिनीहरूलाई केही विशेष चरित्र दिन्छ। त्यसो भए कुन प्राकृतिक अनि कुन समाज निर्मित चरित्र हुन् त?  यो सब प्रश्नहरूनै छन्। 
मर्दानीमा रानी मुखर्जीको यस्तै भूमिका छ, तर यस चलचित्रमा थुप्रै चाखलाग्दो कुराहरू छन्, जस्तै चलचित्रको शुरुमा नै रानी मुखर्जीले, आफूले पर्खी रहेको गाडी आए पछि, आफ्नो सहकर्मी पुलिसहरूलाई भनेको कुरा। रानी मुखर्जीले भन्छ- ‘हामी ठुल ठुलो गुण्डा-चोरहरूलाई त ठिक पार्न सक्छौ, तर घरको मामलामा हामी कम्जोर हुन्छौ’। अथवा यहाँ रानी मुखर्जीले, आफ्नो नारी अस्तित्वलाई पछि सारेर, आफ्नो कामले बनेको परिचयलाई आफ्नो परिचय भनेको छ। एउटा नारी आफ्नो घर गृहस्तिको घेराबाट निस्केर आफ्नो कामको परिचय लिनु, यो पनि प्रशंशनिय छ। 
तर यस्तै फुटकर डाईलगहरू बाहेक अरू केही हामी यस चलचित्रमा पाउदैनौ। अरू अन्य हिन्दी चलचित्र झैँ, एउटा इमान्दार पुलिस, डीपार्टमेन्टबाट जसलाई निकाली दिन्छ, तर स्वतन्त्र रूपमा त्यो पुलिसले शोध चलाई बस्छ, अनि अन्तमा पुलिसको जित हुन्छ। एउटा नाथे इमान्दार पुलिस जसलाई भारत जस्तो देशमा कमिला समान कुल्चीइन्छ, त्यहाँ, एउटा पुलिसले सबै समाधान गरिदिन्छ भन्ने विचार भने भारतीय पपुलर सिनेमामा पुरानो हुँदैन।
अर्को सिनेमाको प्रतीक्षामा....  

No comments:

Post a Comment