Saturday, January 17, 2015

डार्विनको विकासक्रमको नियम र पोपको वक्तव्य

  संगीता खेवा

(हालैमा रोमन क्याथोलिक चर्चको प्रमुख पोप फ्रान्सिसले ‘पोंटीफिसियल एकाडेमी अफ साइन्स’ मा एउटा वक्तव्य मार्फत् ‘बिग ब्यांग थ्योरी’ र ‘डार्विनको ‘इभुलुशन थ्योरी’ साँचो हो भनेर मानिलिएका छन्। यसैलाई लिएर यो चर्चा)

विज्ञान र धर्म परस्परमा विपरीत भए पनि समाजको चल्नुमा यी दुवै तत्वहरूले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यी दुवै तत्वहरू विकासक्रमको प्रक्रियाबाट गुज्रेका पनि छन्। धर्मको मेरुदण्ड ‘सर्व-शक्तिमान ईश्वर’-माथि अगाध विश्वास हो भने, विज्ञानको प्रयोगद्वारा प्रमाणित सत्य। ईश्वरको कल्पना त झन् पुरातन कालमै भएको थियो। हजारौँ वर्ष अघाडी जब मानिसहरू संसर्ग प्रत्यक्ष प्रकृतिसँग थियो जब तिनीहरू दिनमा जङ्गलमा शिकार गरेर खान्थे र रात परे पछि गुफामा शरण लिन्थे। त्यतिबेला सामान्य प्राकृतिक घटनाहरूलाई बुझ्न पनि तिनीहरू असमर्थ थिए। 
प्राकृतिक आपदाहरू जस्तै जङ्गलमा डढेलो लाग्नु, पैह्रो जानु, बिजुली चम्किनु, जोडले पानी पर्नु, भुइचालो आउनु इत्यादिको कारक तत्व तिनीहरूको आदिम मगजको परिधि बाहिर थियो। तिनीहरू डराउथे र सोच्थे कि पक्कै पनि यस्तो रोक्नै नसकिने आपदाहरू पछाडि कुनै अदृश्य शक्तिको हात हुनुपर्छ र यसरी एउटा शक्तिशाली ईश्वरको कल्पना मानिसहरूले गर्न थाले। त्यतिबेला मानिसहरूले यी ईश्वरहरू मुर्त रूप दिए जस्तै आगो, पानी, हावा इत्यादिको रूपमा........
यही समयमा विज्ञानले पनि फेरी बामे सर्दै थियो। ढुङ्गाको औजार बनाएर शिकार गर्नु अरू पनि स-साना हतियारहरू बनाएर दैनन्दिनको कामलाई सजिलो बनाउन थाले मानिसहरू। यसरी छेव-छाउको वस्तुहरू प्रयोग गरेर हतियार, औजार बनाउन सक्नु मानिसको निम्ति ठुलो उपलब्धि थियो। यसले तिनीहरूको शारीरिक ऊर्जाको बचत त गयो नै बरु मानिसलाई मानसिक कसरत गर्ने मौका पनि दियो। तर आगोको उत्पत्ति गर्न सक्नु मानिसको विकासमा माइल खुट्टी भयो। जब मानिस स्वयम्ले आगो बाल्न सिक्यो त्यतिबेला धेरै कुराहरूमा परिवर्तन भयो। अब उसको निम्ति आगो एउटा परम शक्ति रहेन। यसरी नै कालान्तरमा उसले प्रकृतिलाई अझ बुझ्दै गयो र अहिलेसम्म मानी आएको ईश्वरको अस्तित्वमा पनि प्रश्नचिन्ह लाग्न थाल्यो। कैयौँ वैज्ञानिकहरूले आफ्नो सम्पूर्ण जीवनकाल प्रकृतिको रहस्यलाई बुझ्नमा लगाए। मानिसहरूले ईश्वरको मूर्त रूप हराए र कहीँ एउटा सर्वशक्तिमान छ जसले सबैलाई बनाए र सबैलाई सधैँ हेरी रहेका छन् भन्ने धारणा प्रचलनमा आउन थाल्यो। यहाँ ईश्वरको भूमिकामा पनि फेर-बदल भयो पहिलेको ईश्वर बर्बर, रिस्सा, दण्ड दिने खालका थिए भने आधुनिक ईश्वर शान्त, ममतापूर्ण, क्षमा गरिदिने भए। अघि डरको आधारमा उभिएको धर्म अब विश्वासको घडेरीमा अडिएको थियो ईश्वरको प्रिय हुने र मृत्यु पश्चात् स्वर्ग जाने लोभले मानिसहरूलाई ईश्वर र धर्म सँग जोडेर राख्यो। अमूर्त ईश्वरको कल्पनाले तीव्र रूप लियो। पृथिवीको उत्पत्ति र विकासको धेरैवटा अवधारणाहरू हामी धर्ममा पनि पाउछौं र विज्ञानमा पनि। बाइबलको ‘जेनेसिस’ अध्यायमा यो संसार र यसमा भएको समस्त जीव सृष्टिकर्ता परमेश्वरले ६ दिनमा बनाइएको हो भनेर लेखिएको छ। जम्मै जिउदो प्राणीहरू ईश्वरले बनेका हुन, यी प्राणीहरू अचानक पैदा भएका हुन् र यिनीहरू सृष्टि गरिएको क्षण देखिनै अपरिवर्तित छन् भन्ने धारणालाई ‘क्रिएशनिस्ट थियोरी’ भनिएको छ। अर्को यस्तै धारणा अनुसार यो पृथ्वी धेरैपल्ट धेरैवटा महासङ्कटहरूमा ध्वस्त भएपछि फेरी ईश्वरद्वारा नयाँ संसार सृष्टि गरिएको हुन्। यहाँ पोपको वक्तव्यको चर्चा गरिएको कारणले क्रिस्चियन धर्मको कुरो गरिएको छ, तर अन्यान्य धर्महरूमा पनि पृथिवी र जीवनको उत्पत्तिबारे आ-आफ्नै व्याख्याहरू छन्। अर्कोपट्टि विज्ञानको दृष्टिकोणले हेर्दा पृथ्वी र अन्य ग्रहहरूको उत्पति महाकाशमा भएको एउटा शक्तिशाली विस्फोट ‘बिग ब्यांग’- द्वारा भएको हो भनिन्छ जुन वैज्ञानिकहरूले प्रमाणित पनि गरेका छन्। चार्ल्स लिल भन्ने एकजना भू-तत्वविदको भनाइ अनुसार पृथ्वी बनिने क्रमलाई प्राकृतिक शक्तिहरूको बिस्तारो, स्थिर प्रभावले असर पारेको छ। तर यो प्रक्रिया यति बिस्तारो हुन्छ कि एउटा मानिसको जीवनकालमा यसलाई अनुभव गर्न सकिन्दैन जबकि यो परिवर्तनको प्रक्रिया चलिरहेको छ र चलीरहने छ। पृथ्वीको सृष्टि पछि यहाँ जीवनको उत्पति बारे पनि धेरैवटा मतहरू बनिन्दै-भत्किन्दै गए। सातौं शताब्दीसम्म मानिसहरू सजीव प्राणीहरू निर्जीव वस्तुबाट अचानक पैदा हुन्छ भन्ने विश्वास गर्थे। एपिकुरस, अरस्तु, थेल्स, न्युटन र डिकार्थसम्मले यही धारणा मान्ने गर्थे। यहाँ सम्म की सोलौ शताब्दीमा पनि भ्यान हेल्मोंटले भन्ने वैज्ञानिकले मैला लुगा र गहुँको पराल २१ दिनसम्म अँध्यारो भाँडामा राखे त्यहाँबाट मुसाको उत्पत्ति हुन्छ भनेका थिए। प्रथम पल्ट जीवनदेखि जीवन आउँछ भन्ने कुरोको पुष्टि सत्रौं शताब्दीमा फ्र्यान्सिसको रेडीले गरे। रेडीले गरेको मासु र झिंगाको प्रयोग त खुबै प्रसिद्ध भयो पनि। अठारौं शताब्दीमा एबे स्पालान्जीले पनि रेडीको प्रयोगलाई समर्थन गर्दै अन्य प्रयोगहरू गरे। यसै धारणालाई अझ गहकिलो बनाउन उनाइसौ शताब्दीमा लुइस पास्त्युरको आविर्भाव भयो। पातलो नली जस्तो मुख भएको दुईवटा काँचको पात्रहरूमा चिनी-पानीको मिश्रणलाई उमालेर राखियो प्रथम पात्रको मुख भाचियो र दोस्रोलाई जस्ताको त्यस्तै राखियो। तीन-चार दिन पछाडि पहिलो पत्रमा मज्जाले ब्याक्टेरिया फस्टाएको र दोस्रो पात्रमा भने जीवनको कुनै चिन्ह न भेटिएकोले यो तथ्य प्रमाणित भयो की कुनै पनि सजीव प्राणी निर्जीव पदार्थबाट उत्पन्न हुन सक्दैन। कमसेकम अहिले संसारमा भएको वायुमण्डलमा त यो कुरा असम्भव हो।
तर करोडौं वर्ष अघाडी जब पृथ्वी बिस्तारै सेलाउदै थियो त्यति बेला बज्रपात, परा-बैगुनी किरण, विकिरण, रेडियो सक्रिय पदार्थहरूको परस्परको प्रतिक्रियाले कुनै अजैव पदार्थबाट प्रथम जैव पदार्थको उत्पत्ति भयो। हेकलको उक्त भनाइको सत्यतालाई पछि गएर हेल्डेन, ओपारिन, मिलर, युरेले तथ्यहरू दिएर समर्थन गरे। यसरी १०-२० करोड वर्ष अघाडी भएको बिग ब्यांग पछाडि कसरी प्रथम जैव पदार्थको उत्पत्ति भयो र कसरी यही जैव पदार्थदेखि एककोषकीय प्राणी हुँदै जटिल प्राणीहरू भू-तलमा जन्मिदै र नासिंदै गए यी सबैको प्रमाण आज उपलब्ध छ। प्राणीहरूको विकासको क्रम वा नयाँ प्रजाति बनिनु र नासिनुको प्रक्रियालाई हामी समक्ष राखिदिने व्यक्ति थिए ‘चाल्स डार्विन’। गेलापेगोस द्वीपमा पाएको अचम्भ प्राणीहरूको नमुनालाई नियाल्दा डार्विनले जीवको विकासक्रमको एउटा यस्तो साचो पाए जसले यत्रो वर्षको कालो रहस्यको ताला खोल्न सक्षम भयो। आफ्नो कामको निष्कर्षलाई प्रथमपल्ट १८५९ मा उनले किताबको रूप दिए। उक्त किताबले त्यस समयको समाजमा ठुलो हलचल ल्याएको थियो कारण त्यस्ताकका मानिसहरूको मानसिकताले विकसित रूप लिएको थिएन र यत्रो ठुलो छलांगको निम्ति तिनीहरू तयार थिएनन्। त्यस बेलाको मानिसहरूको जीवनमा धर्म र पाद्रीहरूको प्रत्यक्ष हस्तक्षेप थियो। डार्विनको थियोरीले चर्च/ बाइबलको हाकाहाकी विरोध गयो, यसैले क्याथोलिक चर्चले कहिले पनि डार्विनको थ्योरिलाई मान्यता दिएन तर अचम्भको कुरो के सुन्नमा आयो भने २७ अक्टोबर २०१४को दिन रोमन क्याथोलिक चर्चको प्रमुख पोप फ्रान्सिसले ‘पोंटीफिसियल एकाडेमी अफ साइन्स’ मा एउटा वक्तव्य मार्फत् ‘बिग ब्यांग थियोरी’ र ‘डार्विनको ‘इभुलुशन थियोरी’ साँचो हो भनेर मनिलिएका छन्। भेटिकनको इतिहासमा यो एउटा ठुलो पाइला हो। तर यो भन्दा दशकौं पहिला १९५० मा पनि १२ औ पोप पियसले ‘बिग ब्यांग’ र विज्ञानले दिएको पृथ्वीको उत्पत्तिबारे अन्य मतहरूको विरोध नगर्ने सल्लाह दिएका थिए। 
आफ्नो वक्तव्यमा पोपले अझ भने— “जब हामी ‘जेनेसिस’ को सृष्टि पढ्छौं त्यतिबेला ईश्वरलाई जादुगर जस्तै कल्पना गर्ने भुल गर्छौ, जसले आफ्नो जादुको छडी घुमाएर सबै कुरोको निर्माण गरे। तर यस्तो हुँदैन।” पोपले ईश्वरलाई जादुगरको रूप नदिए तापनि सौरजगतको सृष्टि हुनुभन्दा अघाडी नै ईश्वरको अस्तित्वको ठाउँ राखिदिए। डार्विनको विकासक्रमको नियमलाई अंगाले पनि पोपको उक्त स्वीकारोक्ति र वर्तमान वैज्ञानिक अनुसन्धान भने मेल खाँदैन। धर्म र विज्ञानलाई सँगसँगै राख्न खोजिए पनि यहाँ ईश्वरलेनै मानिसको सृष्टि गरेको हो भनिएको छ। यसरी एकापट्टि वैज्ञानिक तथ्यहरूलाई पनि महत्व दिँदै र अर्कोपट्टि भने वैज्ञानिक अनुसन्धानहरूलाई नजरअन्दाज गर्दै ईश्वरले नै सबैकुरो बनायो भन्दै चर्च आफै विभ्रमित भइरहेको छ। बरु यस्तो वक्तव्य दिनु पछाडिको कारण विज्ञानसँग धर्मको विभेदलाई अलि कम्ती गर्नु हुनसक्छ। धर्मले कि त विज्ञानसँग मुख घुमाएर एकदमै छुट्टै हुन सक्छ, यसो गर्नाले उनीहरूको डरलाग्दो खति हुनेछ , कारण धर्मको अस्तित्वको लागि विज्ञानको स्वीकृति अत्यन्त जरुरी भएर गएको छ, कि त विज्ञानसँग ताल मिलाउनलाई यस्तै वक्तव्यहरू दिनु पर्छ। अन्तमा, डार्विनको थियोरी अनुसार “विकासक्रम स्वतःचालित प्रक्रिया हो, जसलाई कुनै पनि ‘सृष्टिकर्ता शक्ति’-को आवश्यक्ता पर्दैन। यो एकदमै बिस्तारो छ, निर्मम छ र नियमबद्ध रूपले चल्छ र चलिरहेको छ। र यो नै सत्य हो।”

No comments:

Post a Comment