Saturday, January 17, 2015

चिया बगान हडताल

थेन्दुप लामा

विगत ११ अनि १२ नोभेम्बरको दिन ‘जोइन्ट फोरम’ (२३ वटा ट्रेड युनियनको संगठित मंच)-ले पहाड, तराई अनि डुवर्सको समस्त चिया बगान हड़ताल अनि १२ नोभेम्बरको दिन तराई-डुवर्समा आम हड़तालको आह्वान गयो। यो हड़ताल पहाड, तराई अनि डुवर्सको चिया बगानको श्रमिकहरूका निम्ति न्यूनतम मजदुरी अधिनियम (मिनिमम वेज एक्ट) अनि परिवर्तनशील महंगाई भत्ता (भी.डी.ए.) सरकारले लागु गर्नुपर्छ भन्ने माँगमा गरिएको थियो।
यस वर्ष ३१ मार्च, २०१४-मा पुरानो वेतन चुक्तिको म्याद समाप्त भयो। २०११ सालको वेतन चुक्तिमा पहाडका चिया श्रमिकहरूको ९० रुपियाँ हाजिरा तोकिएको थियो भने तराई अनि डुवर्सका श्रमिकहरूको वेतन ८५ रुपियाँ तय गरेको थियो अनि एक वर्षको अन्तरालमा ५ रुपियाँको दरले बढाउने जुक्तिले अहिले हाजिरा ९५ रुपियाँ छ। त्यस वेतन चुक्तिमा २०१२ सालको मई महिना देखि दैनिक मजदुरी श्रमिकहरूको निम्ति परिवर्तनशील महंगाइ भत्ता लागु हुने राज्य सरकार अनि मालिक पक्षबाट आश्वासन दिएका थिए। तर यसलाई लागु गर्न राज्य सरकार अनि मालिक श्रेणीले कुनै कदम उठाएनन्। 
१ अप्रिल २०१४ देखि नयाँ वेतन निर्धारण गर्नलाई श्रम दफ्तरद्वारा आयोजित त्रिपक्षीय बैठक पाँचपल्ट असफल भएको छ। सरकार अनि मालिक पक्ष केहि रुपियाँ बढाउने चाँजोमा छ भने २३ वटा युनियनको गठबन्धन जोइन्ट फोरम मिनिमम वेजको माँगमा एकमत छन्। यसरी बारम्बार श्रमिकहरूको हितको निम्ति मिनिमम वेज एक्टको माँगलाई सरकार अनि मालिकहरूले अस्वीकार गर्दा समस्त चिया श्रमिक जोइन्ट फोरमको अगुवाइमा आन्दोलन गर्न मैदानमा उत्रेको छ। आन्दोलनको रुपमा सरकार अनि मालिक पक्षलाई दवाव दिनुलाई जोइन्ट फोरमको नेतृत्वमा २६ जुन, २४-२५ जुलाई अनि १३-१४ अगस्तमा काम सुरू गर्नु अगाडी प्रत्येक चियाबगानमा विक्षोभ प्रदर्शन, गेट मिटिंग तथा पहाड, तराई अनि डुवर्सको विभिन्न ठाउँहरूमा संयुक्त जनसभा तथा जुलुस पनि गरेको छ। २० अगस्तमा असंख्य चिया मजदुरहरूका जुलुसले सिलिगुडीको सडक डाकेको थियो भने १३ अक्टोबरको दिन श्रमिकहरूले बगान बहिर आएर ४० वटा सरकारी आफिसमा प्रधानमन्त्री तथा मुख्यमन्त्रीको निम्ति मिनिमम वेज एक्टको अनुसार जायज वेतन ढाँचा लागु गराउनुपर्ने भनेर डेपुटेसन जमा गरे। सरकार पक्षबाट केहि पनि सकारात्मक विचार नपाउदा आन्दोलन एक पाइला अघि बढे अनि ११–१२ नोभेम्बरमा बगान हड़ताल अनि १२ नोभेम्बरमा आम-हड़ताल पनि पालन गयो। 

बगान हड़ताल अनि आम हड़ताल : प्रभाव अनि प्रतिक्रिया 
दुइ दिनको बगान हड़ताल पहाड, तराई अनि डुवर्सको सबै बगानमा नै सफलता पूर्वक पालन गयो भने केहि बगानहरूमा जोइन्ट फोरममा नरहेको सत्तासीन पार्टी तृणमूल कांग्रेसको ट्रेड युनियनले यस हड़ताललाई समर्थन गरेन।
 दार्जीलिंगको सबै बगानहरूमा फ्याक्ट्रीको चियापत्ती पेल्ने मेसिन चलेन, श्रमिकहरू काममा उपस्थित रहेन अनि कुनै तनावपूर्ण स्थिति सिर्जना नभएको खबर छ। त्यहाँ श्रमिकहरूले हड़तालको दिन व्यापक रुपमा गेट मिटिंग अनि जुलुश गरे। तराई अनि डुवर्सको बगानमा जसरी मालिकहरूले श्रमिकहरूलाई भोको पेट पार्न फ्याक्ट्रीमा ताला लगाएर सुइकुच्चा ठोक्थे त्यस्तै यी दुइ दिन श्रमिकहरूले आफ्नो हक र मर्यादाको लडाईको निम्ति फ्याक्ट्रीको गेटमा ताला लगाएर मालिकहरूलाई लोभको मुनाफा बढाउनुमा बाधा पुयाए। त्यहाँ पनि ज्यादातर बगानहरूमा श्रमिकहरूले गेट मिटिंग अनि जुलुस निकाले। जोइन्ट फोरमका नेता चित्त देले भने— हड़ताल सफल रह्यो कारण काममा कोहि पनि मजदुर गएन अनि चारवटै जिल्लाको बगानहरू बन्द रह्यो अनि अझ उनले भने कि यहाँबाट नै थाहा पाइन्छ तृणमूल कांग्रेसले चिया बगानहरूबाट प्रभाव गुमाउदैछ कारण तिनीहरूले श्रमिकहरूको चाहना र उमंगलाई पूरा गर्न सकेन। 
 नक्सलबारी चिया बगानमा तनावपूर्ण अवस्था रह्यो जब तृणमूल कांग्रेसका समर्थहरू बगानमा पत्ती टिप्न पस्दा जोइन्ट फोरमका समर्थकहरूले रोके तर दार्जीलिंग पुलिस अनि आर.ए.एफ. अर्धसैनिक बलको आगमनले स्थितीले ठुलो रूप लिनसकेन। सी.आई.टी,यु-को नेता गौतम घोषले भन्यो तराईको सबै ४९वटा बगान बन्द रह्यो अनि तृणमूल समर्थकहरू पनि आन्दोलनमा भाग लिए। करला भेली चियाबगानको तृनमुल टी प्लान्टेसन वर्कर्स युनियनको कार्यकर्ताले जोइन्ट फोरमले श्रमिकको हितमा आन्दोलन गरेको कारणले उनीहरूको युनिट पनि हड़तालमा सामेल भएको बताए। तर तृणमूल ट्रेड युनियनका नेता मिठु मोहंतले उनीहरूको झण्डा समातेर हड़ताललाई सघाउने उनीहरूको समर्थक होइन भने अनि बन्दको विरोध गरे। अर्को तृणमूल ट्रेड युनियनको नेता आलोक चक्रवर्तीले उद्योगलाई बन्दद्वारा केहि पनि नोक्सान नभएको अनि ज्यादातर फ्याक्ट्री चल्यो भनेर बतायो। अटल चियाबगान अनि मेरी भ्यु चियाबगानमा बन्दलाई विफल बनाउनुको निम्ति तृणमूल समर्थकहरू पुलिसको सहारा लिँदैथिए तर पुलिस अनि नेताहरूले त्यहाँको महिला श्रमिकहरूको कडा विरोधको सामना गर्नुपयो। विभिन्न स्रोतहरू अनुसार प्राय बगानहरूमा नै हड़तालको खास प्रभाव थियो। 
चिया मालिकहरूले बताए कि ४८ घण्टे बगान हड़तालमा उनीहरूलाई ३० करोडको नोक्सान भयो। 
१२ नोभेम्बरको १२ घण्टे आम हड़ताल पहाडमा पालन भएन कारण त्यहाँको शक्तिशाली ट्रेड युनियन डी.टी.डी.पी.एल.यु.-ले टुरिजमलाई बाधा नदिने अनि विद्यार्थीहरूको परीक्षामा पनि हड़तालको प्रभावले हानी पुग्ने बताएर हड़ताल नगर्ने निर्णयमा पुगे पनि बगान हड़ताललाई त्यस दिन पनि पालन गरे।
यो हड़तालमा केही बगानहरूको म्यानेजर बंगलोहरुमा काम यातायात चल्यो भने नोक्सान पूर्ति गराउन छुट्टीको दिन काम पनि लाग्यो जुन अस्वाभाविक हो।
प्राप्त रिपोर्ट अनुसार तराई अनि डुवर्समा आम हड़ताल सफल रहेको दाबी छ। १२ तारिकको दिन दार्जीलिंग जिल्लाको तीन महकुमामा आम हड़ताल पालन नभएता पनि यसै जिल्लाको सिलिगुडी महकुमामा व्यापक हड़ताल मच्चियो। जलपाईगुडी, अलिपुरद्वार, उत्तर दिनाजपुरको इस्लामपुर अनि चोपडा साथै कुचबिहारको मेख्लीगंज आम हड़तालको पूर्ण नियन्त्रणमा थियो।

बगान हड़ताल अनि आम हड़ताल : समीक्षा 
चिया बगानका श्रमिकहरूको वेतन वृद्धि अथवा मिनिमम वेजको जुन आन्दोलन चल्दैछ, त्यो एकदमैं न्यायसंगत लडाई हो। आजको महँगो युगमा पनि असंगठित क्षेत्रका श्रमिकहरू भन्दा कम ज्याला चिया श्रमिकहरूले पाउनु अन्यायपूर्ण अनि अमानवीय हो। इतिहास साक्षी छ जब जब मालिकहरू मजदुरमाथि क्रूर शोषण गर्छन् त्यति बेला मजदुरहरू आफ्नो मान-स्वाभिमानको निम्ति गर्जी उठेको छ र इतिहासलाई नयाँ दिशा दिएको छ। चियाबारी सङ्घर्षको इतिहासमा पनि इमान्दार ट्रेड युनियनको नेतृत्वमा मजदुरहरूको अटुट एकता अनि बलिदानको फल स्वरुप १९५५को आन्दोलनमा जित हासिल गरेको थियो। त्यसपछि विस्तारै नानाथरीका राजनैतिक उथलपुथलको साथसाथै अवसरवादी धाराको ट्रेड युनियनहरूले मजदुरहरूसँग भन्दा ज्यादा मालिकहरूसँग राम्रो सम्बन्द बनाउने नीतिले दिनदिनै श्रमिक आन्दोलन तहसनहस गर्दै कमजोर अवस्थामा पुयाइदियो भन्दा कुनै आपत्ति नहोला। त्यसैकारणले चिया क्षेत्रका श्रमिकहरूले अहिलेसम्म पनि आफ्नो श्रमको उचित मुल्य पाएका छैनन् अनि मालिकहरूको धेरै अत्याचार खप्नुपर्छ। मजदुर सङ्घर्षको कमजोरीले गर्दा नै आज श्रमिकको जीवन दयनीय अवस्थामा छ। 
चिया बगानमा अहिले उठेको आन्दोलनले फेरी श्रमिकहरू माथि नयाँ उमंग र जोसको बिउ छर्दैछ भने यस आन्दोलनलाई बचाई राख्न पनि श्रमिकहरूकै हाथमा छ। आज उठेको एकबद्ध आन्दोलन पनि श्रमिकहरूकै एकताको फल हो। किनभने सबैलाई थाहा छ ट्रेड युनियनहरूले श्रमिकहरूको आस्था गुमाउदै थिए। जोइन्ट फोरमको नेतृत्वमा चल्दै गरेको आन्दोलनले कुन दिशा पक्रिने हो त्यसको निष्कर्षमा अहिले नगएको नै ठिक हुन्छ किनभने विगतका वेतन चुक्तिमा पनि यी युनियनहरूले नै आसन ग्रहण गरेका हुन र त्यसको नतिजा श्रमिकहरूले कसरी भोग्दैछन् यो यहाँ यथार्थ छ। तर यो पक्कै भन्न सकिन्छ कि एकत्रित मजदुरहरूको दबाबले नै यस आन्दोलनलाई दिशा निर्देश गर्नमा पूरा मद्दत पुयाउछ।
अहिले जोइन्ट फोरमको वेज वृद्धिको आन्दोलनले जुन गति पक्रेर बगान हड़तालसम्म गरे यसको खास महत्व छ। आन्दोलनले हड़तालको रूप ल्याउनु त्यसको खास विशेषता छ। एउटा सर्वहारा नेताले हड़तालको विषयमा यसरी लेख्छन्- “हरेक हड़तालले पुँजीपतिलाई याद गराउछ कि ऊ होइन, तर मजदुर, त्यो मजदुर वास्तविक स्वामी हो, जसले अत्याधिक ठुलो स्वरमा आफ्नो अधिकारहरूको घोषणा गर्दैछन्। हरेक हड़तालले मजदुरलाई याद गराउछ कि उसको स्थिति असहाय होइन, किनभने ऊ एक्लै छैन। सामान्य शान्तिपूर्ण समयमा मजदुर कुनै संकोच बिना काम गर्छन्, मालिकको बातको विरोध गर्दैनन्, आफ्नो हालतमा पनि चर्चा गर्दैनन्। हड़तालको समयमा उनि आफ्नो माँगहरू ठुलो आवाजमा प्रस्तुत गर्छन्, मालिकहरूको आफ्नो सबै दुर्व्यवहारहरू याद गराउछन्, उनी आफ्नो अधिकारहरूको दावा गर्छन्, उनी केवल आफ्नो अनि आफ्नो मजदुरीको बारेमा सोच्दैनन्, तर आफ्नो सबै साथीहरूको बारेमा सोच्छन्, जसले ऊ सँगै औजार तल राखिदिएको छ अनि कुनै पीडाको चिन्ता नगरि मजदुरहरूको जितको निम्ति उठेका छन्”।
यस हड़तालले सरकार र मालिक पक्षलाई जोडदार रुपमा हल्लाएको छ साथै चिया बगान बाहिरका समाजले पनि हड़तालमा सहयोग पुयाउदा अज आन्दोलन मजबुत भएर गएको छ। यस स्थितिमा ट्रेड युनियनको आन्दोलनबाट बाहिर यसलाई सामाजिक आन्दोलनको रूप दिनु अति आवश्यक छ। अहिले सम्मको गतिविधिलाई मध्य नजर राख्दै जोइन्ट फोरमको सकारात्मक भूमिका उल्लेखनीय छ तर जोइन्ट फोरमले यो आन्दोलनलाई वास्तविक कस्तो रूप दिनेछ, मालिक र मजदुर बिचको निरन्तर चलिरहने सङ्घर्षलाई कस्तो स्थान दिनेछ, भविष्यमा यसको रणनीतिले कति सफलता हासिल गर्नेछ, मंच आफै कतिको बलियो छ? — यी सब प्रश्नको उत्तर हामी समय सापेक्ष नै पाउनेछौ। 

No comments:

Post a Comment