Saturday, January 17, 2015

दिल्ली हाई-कोर्टको राय : नारी सम्बन्धित फैसलामा पितृसत्ताको छाप

 अम्बिका राई

बलात्कार! फेरी अर्को बलात्कारको खबर... हरेक दिन कुनै न कुनै ठाउँमा बलात्कार भएको खबर सुन्नमा आउँछ। सोझो शब्दमा भन्ने हो भने बलात्कारको अर्थ हो बलजफ्ती कसैको सामान चोरेर लानु। कसैसँग बलजफ्ती यौन सम्बन्ध राखेमा त्यसलाई बलात्कार भएको मानिन्छ। आज हेरौं भने ३ महिनाको शिशु होस् वा ६० वर्ष पुगेको वृद्ध नारी— सबै यो भयानक घटनाको शिकार बनिरहेछन्। अझ यो सब पछि पनि सोही नारीलाईनै दोषी देखाउने चलन छ। कहिले शिकार बनेको नारीको पहिरनमा प्रश्न उठ्छ त कहिले उसको चरित्रमा। थानामा गएर रिपोर्ट गयो भने कति रिपोर्टहरू दर्जनै गरिन्दैन , दर्ज गरिएको रिपोर्ट (F.I.R) हरूको पनि राम्रो तरिकाले छान-बिन गर्ने चलन छैन। धेरै जस्तो घटनाहरूमा बलात्कारीहरू खुल्लारूपमा स्वतन्त्रपूर्वक घुमी रहेको पनि पाइन्छ!!
यसै संदर्भमा २०१० साल, दिल्लीको मजनुको टिला भन्ने ठाउँमा भएको घटनालाई हेर्न सकिन्छ, जहाँ शारदा नामक ६५ सालको वृद्ध नारीको बलात्कार गरी हत्या गरिएको थियो। उक्त घटनाको दोषी ४९ वर्षीय आच्छे लाललाई १० सालको निम्ति जेलमा राख्ने निर्णय भएको थियो। मृत शारदाको पति अनुसार आच्छे लाल उनको घरमा बिहान ८ बजी आधा बोतल जस्तो रक्सी लिएर आएका थिए। रक्सी खाई सक्ने साथनै उनी आफ्नो पत्नी अनि आच्छे लाललाई घरमा छोड़ेर बाहिर निस्किएका थिए। पछि घर फर्किंदा आफ्नो पत्नीलाई मृत अवस्थामा पाएको साथै दोषीलाई अर्को कोठामा बेहोशीको हालत पाएको देखेर तिनी दङ्ग परे। पोस्टमोर्टेमको रिपोर्ट अनुसार शारदासंग बलात्कार गरिएको थाहा लाग्यो। सोही घटनाको छान बिन गरेर फेरी यसै सालको नवेम्बर महिनामा फेरी अर्को सुनुवाइ भयो। जसको अनुसार दिल्ली हाई-कोर्टले यो निर्णय सुनायो कि यदि कुनै नारीको मेनोपोज (रजोनिवृत्ति) भई सके पछि बलात्कार भयो भने त्यसलाई बलात्कार मानिंदैन। अनि बलात्कृत शारदाको यौनाङ्ग बाहेक शरीरको अरू कुनै पनि अङ्गमा कुनै प्रकारको चोट नभेटेको कारण यसलाई जबरजस्ती गरिएको यौन होइन भनेर भनियो। यो कहाँको न्याय हो? बलात्कार त कसैको उमेर हेरेर गरिन्दैन। तब न्यायको तराजुमा नाप तोल गर्दा उमेरको किन यस्तो महत्व? यहाँ यो कुरो स्पष्ट छ कि यो राय अनुसार, कुनै नारीको बलात्कारलाई उसको प्रजनन क्षमता सित जोडिएको छ, जब एउटा नारीले प्रजनन गर्ने क्षमता हराउछ तब के उसको शारीरिक र मानसिक पिडा कम भएर जान्छ? के उसले भोग्नु परेको प्रताडना उसको प्रजनन क्षमतामा भर पर्छ? जहाँ यस्तो कालो कानुन बनिन्दैछ त्यहाँ पितृसत्ताको कस्तो डरलाग्दो पकड होला भनेर अन्दाज लगाउन सकिन्छ। बलात्कार एउटा दण्डनिय अपराध हो र कुनै पनि बलात्कारीले दण्ड त अवश्यनै पाउनु पर्छ। बलात्कार कति हदसम्म एउटा यौन कार्य हो र कत्तिको पितृसत्तात्मक बर्चस्वको अभिव्यक्ति? यहाँ उमेरको सीमा तान्नेको के अर्थ छ र? वर्ल्ड हेल्थ अरगनाईजेसन अनुसार एक तिहाई (१\३) बलात्कारको शिकार बनिएको मानिसहरूको शरीरमा कुनै पनि प्रकारको निशान (दाग) पाइन्दैन। प्रश्न यो उठ्छ कि यस्तो घटनालाई कोर्टले कसरी नजर अन्दाज गर्न सक्छ जसले गर्दा कसैले आफ्नो ज्यान गुमाई रहेको छ। मृत नारीको छेउमा नै दोषीलाई पनि बेहोशिको हालतमा पाइए तापनि किन दोषीलाई दोषी हो भनी प्रमाण गर्न सकिएको छैन? कानुन कसको पक्षमा छ त? कोर्टले यो निर्णय सुनायो कि दोषीलाई थाहा थिएन कि उसको यस्तो कठोर सम्भोगले ती नारीको मृत्यु हुन्छ र यही आधारमा कोर्टले अन्तिम निर्णय दोषीको पक्षमा नै सुनायो। त के दोष त्यो नारीको थियो कि उ एउटा मातेको पुरुषसंग घरमा एक्लै थिई? वा दोष त्यो पतिको हो जसले आफ्नो पत्नीलाई त्यस व्यक्तिसँग घरमा छोड़ेर गयो? 
यौन हिंसालाई लिएर जुन प्रश्नहरू हामी माझ उत्पन्न भइरहेको छ, दिल्ली हाई-कोर्टको यस्तो निर्णयले अझ थप धेरै प्रश्नहरू हामी माझ उब्जाएर गएको छ। जहाँ समाजमा बलात्कार जस्तो घटनाको सङ्ख्या दिन प्रतिदिन बढी रहेछ, दिल्ली हाई-कोर्टको यस्तो निर्णयले त झन् यो बड़दो सङ्ख्यालाई कहाँ सम्म लाने हो? बलात्कार विरुद्ध कानुनलाई अझ बलियो बनाउनु पर्ने सट्टामा यो कस्तो नियम बनिन्दै छ? हाम्रो व्यवस्था सुति रहेछ, किन?

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...