Saturday, January 17, 2015

डुवर्सको चिया श्रमिकहरू टुहुरा भएका छन्

ललित न्यासुर

एक समय थियो डुवर्समा, फ्याक्ट्री गेट अघि आवाज गुन्जन्थ्यो – “हाम्रो दाबी मान्नु पर्छ, मजदुरको रगत चुस्ने मालिक होसियार”। मालिकहरू डराउथे, मालिकले श्रमिकको कुरा मानेन अथवा मान्नु ढिलो गयो भने अफिस घेराउ, बगान बन्द, यति शक्तिशाली थियो युनियन, सानो थिए— स्कुल पडथे... थाहा छ सबै, आज, बगानमै नोकरी गरी रिटायर भएको पनि आठ वर्ष भइ सकेछ, ग्राच्युटी पाएको छुइन, प्रभिडेन्ट फण्डको पुरा रकम हाथ परेको छैन, डुवर्सको प्राय सबै चियाबगानमा यस्तै हालत छ, आजको मालिक युनियन र सरकारदेखि डराउदैन, आज उनीहरूको कुरा मजदुरले मानेन भने गेटमा ताला झूलिन्छ, बन्द बगानमा श्रमिक र उनको परिवारको हालत जे होस्— कुनै वास्ता छैन, ४ वटा बगान बन्द छ आजको दिनमा पनि, प्लान्टेशन लेबर एक्ट-१९५१ फोरिएर धुलो धुलो भएको छ, श्रमिकले पाउदै आएको सुविधाहरू बिस्तारै बन्द हुँदै जाँदैछ, प्रभिडेन्ट फण्डमा जमा भएको रकम मालिकलेनै खाँदैछन्, समयमा तलब र राशिन दिदैनन्, धेरै बगानमा झोड़ाको पानी पिउनु पर्ने बाध्यता छ, घर मरम्मती हुँदैन, वर्षा याममा घर भत्किएर मान्छे घाइते हुन्छ, अस्पताल छ डाक्टर छैन, औषधी छैन, कतिपय बगानमा हथोड़े डक्टरले उपचार गर्दा मान्छे मरिरहेका छन्, बन्द रहेको बगानमा भोजनको अभावले मान्छे मर्ने, कामको खोजीमा ठुलो शहरतिर जाने, अभावको फायदा लिई तस्करहरूले मानव तस्करी र नारी तस्करी गर्ने, युवतीहरूलाई वेश्यालयमा नरकको जीवन विताउनु पर्ने— यस्तो स्थिति उत्पन्न भइसकेको छ। चल्दै गरेको बगानमा पनि श्रमिकहरू आतङ्कमा जीवन बिताईरहेका छन्, कुनै पनि समय उनीहरूका बगानमा पनि ताला झुलिनु सक्छ। रोज बड़दैन, ९५ रुपियाँ दैनिक रोज छ। त्रिपक्षीय बैठक बसिन्छ तर फैसला हुँदैन, राज्यले केन्द्रीय श्रम मंत्री र वाणिज्य मंत्रीसम्मलाई गुहार मांगी रहेको छ, लोकसभामा बंगालका सांसद्हरूले तहलका मच्चाई रहेको छन्।
उत्तर बंगालमा लगभग ४५० चिया बगान छन् भने डुवर्समा मात्रै १५४ वटा बगान छन्, भोटाङको जम्मा १८ वटा दूर्गको ७ वटा विशाल विशाल दूर्ग डुवर्समा छन्, यस ठाउको नामकरण पनि दूर्ग (fort)-जोडेर डुवर्स भएको हुनु पर्छ— भन्ने गर्छन् जानकारहरूले। पूर्वमा आसाम सिमानाका सुनकोश खोला देखि पश्चिमको टिस्टा खोलासम्मको भोटाङको पाददेशमा पर्ने समतल क्षेत्रको नाम ‘डुवर्स’ कुनै कारणले होला— पुर्वजहरूले डुवर्सलाई तीन खण्डमा भाग गरेछन्, जस्तै— पूर्व डुवर्स (सुनकोश देखि तोर्षा खोलासम्म), मध्य डुवर्स(तोर्षा देखि डाइना खोलासम्म), अनि पश्चिम डुवर्स (डाइना देखि टिस्टा खोलासम्म)। भारत सरकारले यस डुवर्स क्षेत्रको निम्ति भोटाङ सरकारलाई वर्षेनी नियमित रूपमा खजाना तिर्दै आइरहेको छ।
इतिहासकारहरूका भनाइ छ— चियाको उद्योग शुरु हुनु भन्दा प्राय २५० वर्ष अघि देखि गोर्खाहरू यस डुवर्समा बसेका थिए, भोटाङका एक अवतारी लामा साबडुक नामग्याल नेपाल भ्रमणबाट फर्किंदा तत्कालीन नेपालका राजा रामशाहले भोटाङको सुरक्षाको निम्ति विष्णु थापाका जिम्मामा ५० गोर्खा परिवारलाई पठाएको रहेछ, उनीहरू प्रहरी भई यहीँ समतल क्षेत्र (आजको डुवर्स) मा खेतीबारी गरी बसेका रहेछन्। अंग्रजी सन् १८११ मा सोही अवतारी लामा पुनः नेपाल जाँदा त्यस घरीको राजा डम्बर शाहले पनि असंख्य प्रजाहरूलाई पठाएको कुरा इतिहासमा वर्णित छ।
डुवर्समा चियाको खेती शुरु भएको सन् १८९७ देखि को, पहिलो चिया बगान हो- ‘गजलडुबा चिया बगान’। इस्ट इण्डिया कम्पनीले यसरी नै चिया बगान बसाउँदै जाँदा नेपाल, झारखण्ड, बिहार र उड़ीसाबाट असंख्य मजदुर ल्याए, चिया स्थापनाकाल देखि यसो लगभग ढ़ेड़ सय वर्ष भएछ यी मजदुरहरू यहाँ बसेको। व्यवसायी र अन्य जातीहरू पनि केही पछिबाट आएका हुन्। तर, उनीहरू आज सामर्थ छन् भने चिया बारीमा खट्नेहरू शरणार्थीहरू सरह छन्- एक इन्च माटो आफ्नो नाउँमा छैन। जमीनको पट्टा नहुँदा सरकारी सहुलियतबाट पनि वन्चित छन् यीनिहरू। बगीचा श्रमिक ऐन १९५१ त बनियो जस अन्तर्गत पक्का घर, अस्पताल, शुद्ध खाने पानी, प्राथमिक शिक्षा, सलाना छुट्टी, तिर्पल, ओड़ने कम्बल, चप्पल दिनु पर्ने, शुरू शुरूमा मालिकहरूले दिने गरेको पनि थियो, मालिकको खर्च धेरै बड़ेर गयो, स्वदेशी मालिकहरूले यसलाई बहन गर्ने चाहेनन्। पछि पछि बगीचा ऐनलाई सरकारी नजरबाट लुकाएर पालन गर्नु छोडीयो, एक्कासि उनीहरूले श्रमिकहरूलाई पाउनु पर्ने हकबाट वन्चित गर्न लाग्दा पनि बगानमा रहेको युनियनहरू एकमुख हुन् सकेंनन्, यसैको फल भोग्न पर्दैछ आजको युनियन र श्रमिकहरूले, आज मालिकहरूका युनियन CCPA शक्तिशाली भएको छ, सरकारलाई हल्लाउने ताकत छ उनीहरूकोमा, कुरा-उनीहरूको पक्षमा नभए गेटमा ताला झुलिन्छ, हाहाकार भच्चाइ दिन्छ, संसारमा सबै भन्दा ठुलो गणतान्त्रिक देश- भारत, चिया उधोगको यस समस्यालाई समाधान गर्न सकेन भने ‘अच्छा दिन’ कसरी आउने?
चिया उत्पादन, विक्रिदर र मुनाफाको वर्षनी प्रकाशित तथ्यले बताए अनुसार मालिकहरूलाई घाटा छँदै छैन। चिया उधोगमा इमान्दारी पूर्वक, मन लगाएर मालिकहरूले ध्यान दिए, आफू मात्र बाँच्नु होइन, श्रमिकहरूलाई पनि राम्रो अवस्थामा बाँच्नु दिने सत-विचार मालिकहरूको मनमा पलाएन भने देश कसरी अघि बड़ने? 

No comments:

Post a Comment