Monday, December 30, 2013

अन्न— जीवन कि मृत्यु ?


अन्न, जीवनको श्रोत। जसबाट जीवन फल्छ-फूल्छ। अनि त्यसैसँग जोडिएको खेती-पाती। कसरी खेतीजो आफैमा जीवनको तत्व हो, त्यसले जीवनलाई नै नष्ट पार्दैछ। कृषकहरू जसले सभ्यतालै निरन्तरता दिने वस्तुको उत्पादन गर्छन्, तिनीहरूनै किन फेरी आफ्नै जीवन अन्त गर्छन्? कृषि आत्महत्या अहिले सञ्चारमाध्यमको चर्चित विषय बनेको छ। कतिपय भिडियो अनि तस्बिरहरूले बिचबिचमा निकै सनसनी पनि मच्याउछ। शोधकर्ताहरूको शोधको विषयपनि बनेको छ कृषक आत्महत्या। आंकडाहरू भयानक छन् अनि साथै कारणहरू पनि।
कृषक आत्महत्या, किन दिनहु बढ्दैछ? यसका कारणहरू पत्तो लगाउदा भारतको अर्थनीति अनि सामाजिक ढाँचा नाङ्गोझार हुन जान्छ, कसैले यसको सही एवं उचित विश्लेषण गरेका छन् भने कसैले व्यर्थ मूल्याङ्कन गरेका छन्। तै पनि बहु सङ्ख्यामा मानिसहरू पपुलर मिडियाले जे पस्केर दिन्छ त्यही उचित अनि सही सम्झेर निल्छन्, त्यसमा न आफ्नो समर्थन हुन्छ न नै विरोधिता।
कृषक आत्महत्या २०११ भन्दा ४७% बढेको छ। कृषि सङ्कटले घेरेको राज्यमा त झन कृषक आत्महत्या १००% बढेको छ। भारतभरी हुने कृषक आत्महत्याको आंकडाको ठुलो भाग केवल पाँच राज्यहरूबाट आउछ। यी राज्यहरू हुन्महाराष्ट्र, आन्ध्रप्रदेश, कर्नाटक, मध्यप्रदेश अनि छत्तीसगढ। महाराष्ट्रमा आत्महत्याको दर २९.१ प्रति १००,००० छ, जून सम्पूर्ण भारतको आत्महत्याको दर भन्दा १६०% ज्यादा हो। अरू कतिपय राज्यहरूमा पनि कुल भारतभरि हुने कृषक आत्महत्याको दर भन्दा बेसी छ।
बितेको सालहरूमा कृषक आत्महत्या कागज-पत्रमा घटे पनि शोधकर्ताहरूको अनुसार त्यो बडीरहेछ। भारतीय अर्थनीतिमा जब विदेशी ठुल्ठुला पुँजीहरूको लागि खोलियो, त्यसैको निरन्तरतामा यो आपदा आएको हो। यिनीहरूको आगमन अघि सङ्कट आउदैनथ्यो, त्यसो हैन, तर सङ्कटको आकारलाई यहाँ गुरुत्व दिन अति आवश्यक छ। हरीत क्रान्तिको लहरमा, जादुको बीज, किटनाशक अन्य कृषि समन्धित सामाग्रीहरू मनसान्तो अनि त्यस्तै अरू ठुल्ठुला कम्पनीहरूले धेरै बिक्री गर्यो, अरबौ रुपैया नाफा गर्यो, अनि अहिले त्यसको फल हामी समक्ष छ। कृषकहरूले उत्पादन बडाउनलाई बि. टि बीज, किटनाशक अरू अन्य रसायनहरू किने, उत्पादन राम्रो भयो, तर अर्को वर्ष किटनाशक अनि अरू रसायनहरूको मात्रा बढाउन पर्यो, झन् अर्को वर्ष बिक्रयमूल्य भन्दा क्रयमूल्य बेसी हुन् थाल्यो, अनि किटनाशकहरूले पनि आफ्नो असर किट-पतंगहरूमा मात्रा नदेखाएर मानिसहरूमा पनि देखाउन थाल्यो। कृषकहरू बहु-सङ्ख्यामा बिरामी हुन थाले। अरू थुप्रै बिमारीहरूमा क्यान्सर सबै भन्दा डरलाग्दो थियो। कृषक आफ्नो बिमारी, घटेको उत्पादन अनि बढ्दो ऋणले गर्दा आफ्नो जीवन धान्न नसक्ने भए।
भारतमा अहिले ६८.८ प्रतिशत मानिसहरू ग्रामीण इलाकामा बस्छन, अनि ६० प्रतिशत मानिस खेती-पातीमा निर्भर छन्। १९९० अघिको दशक तिर कृषक आत्मा हत्या अहिलेको तुलनामा धेरै कम थियो। १९९० को उदारीकरण पछि आत्महत्याको सङ्ख्या प्रति वर्ष बढेको हो। जब ठूल्ठूला पुँजीहरु कृषि क्षेत्रमा पसे, तब कृषि क्षेत्रलाई पनि पुँजीपतिहरुले आफ्नो नाफा कमाउने घेरामा लिए। तिनीहरूलाई महँगो बीज अनि किटनाशकहरु बिक्री गरियो। यसमा ठूल्ठूला पूंजीपतिहरुको धेरै नाफा थियो, तर कृषकहरू भने ऋणको भुमरीमा फसिदै गए कृषकहरूको आत्महत्यामा सामाजिक ढाँचाको पनि ठुलो भूमिका छ। शोधकर्ताहरू अनुसार आर्थिक रूपले कृषकहरू कमजोर हुँदा तिनीहरूमा आत्महत्या गर्ने लक्षण धेर हुन्छ। यानिकी जब कृषकहरूले लिएको ऋण तिनीहरू तिर्न सक्दैनन्, सुद थपिन्छ, उत्पादन राम्रो हुदैन, त्यतिबेला तिनीहरू आत्महत्या गर्न सक्छन। तर यहाँ अरू थुप्रै कारणहरू पनि हुन्छ। जसरि आगो लाग्नलाई अक्सिजनको जरुरत हुन्छ, त्यसरी नै आर्थिक रूपमा कमजोर भएको कृषकलाई आत्महत्या गर्न उक्साउने अक्सिजन बन्छ सामाजिक मान्यता। जस्तै एक पिता (पुरुष)-ले आफ्नो सन्तान अनि स्वास्नीलाई जिउने साधन दिन नसक्दा, अपमान हुने पितृसतात्मक सामाजिक मान्यता। पिताको लागि त्यो अपमान निकै घातक हुन्छ र घरको आमालाई सबै ऋणहरू सुम्पेर उनी अवकाश लिन्छन्। विधवा नारीहरूलाई ऋणको बोझ त दिइन्छ तर उनीहरूलाई निर्णय लिने क्षमता भने दिइन्दैन्। आत्मकेन्द्रीकरणलाई प्रोत्साहन दिने समाज व्यवस्थामा कृषक अनि उनको परिवारलाई राज्य अथवा व्यवस्थाको सङ्कट भिराइदिइन्छ। 
भारत सरकारले बढ्दो कृषक आत्महत्या रोक्ने केही ठोस कदम उठाएको छैन, न नै कृषकहरूको वेदना सुनिरहेछ। बरु सरकारले तह दोस्रो हरीत क्रान्तिलाई स्वागत गर्ने जमर्को कसेको छ। जब कि न्यासनल क्रयिम रेकोर्ड ब्युरो अनुसार ६ वर्षको अन्तराल(१९९५-२००१) प्रति वर्ष १४,४६२-को दरले १९९५ देखि अहिले सम्म २,७०,९४० कृषकहरूले आत्महत्या गरिसकेका छन्। अनि २००१ देखि २०११ सम्म, ११ वर्षको अन्तरालमा प्रति वर्ष १६,७४३-को दरले कृषकहरू आत्महत्या गरे। अर्थात् ४५ कृषक प्रति दिन वा एक कृषक प्रति आधा घण्टा।                                                                          

   गुञ्जन राणा

No comments:

Post a Comment