Tuesday, March 1, 2022

कुन सर्तहरूमा खोलिने हो बन्द चिया बगान ?

कपिल तामाङ


चिया उद्योग भारतीय औद्योगिक क्षेत्रको एउटा ठुलो हिस्सा हो। विश्वका चिया उत्पादन गर्ने देशहरू मध्ये भारत दोस्रो स्थानमा आउँछ। देशकै आय आर्जनमा पनि चिया उद्योगको ठुलो योगदान रहेको छ। तर आज देशको यही चिया उद्योग भने चिन्ताजनक परिस्थितिबाट गुज्रिरहेको छ। 

नव-उदारवादको आगमनपछि चिया उद्योगको उत्पादन अनि बजारीकरणको प्रणालीमा ठुलो परिवर्तन आएको छ। आज चियाको बजारमा ठूलठूला अन्तर्राष्ट्रिय कर्पोरेसनहरूले आफ्नो वर्चस्व कायम गरेको छ। यसैले गर्दा चिया उद्योगको मुनाफा माथिल्लो स्तरमा मात्र एकीकृत भइरहेको छ भने चिया उत्पादनमा जति निवेशहरू हुनु पर्ने हो त्यसमा कमी देखिएको छ। यही कारणले गर्दा बगानहरूका सञ्चालन प्रणालीमा अनियमितता र उत्पादनप्रति बगान मालिकहरूको हेलचेक्र्याइँ बढेको छ। यस अन्तर्राष्ट्रिय कर्पोरेसनहरूका लागि चिया बगान र बगानमा काम गर्ने मजदुरहरू 'उत्पादनको खर्च'मा पर्ने बोझ सरह भएको छ। उनीहरूका लागि खटिखाने श्रमिकवर्ग केवल कागजका नम्बर मात्र हुन्। त्यसैले उनीहरूलाई बगानका श्रमिकको जीवनमा के असर पार्छ भन्दा ठुलो चिन्ता मुनाफा कसरी बढाउन सकिन्छ भन्नेमा छ। उनीहरू केवल बजारमा चियाको हिसाब लिएर सोच्छन्। उत्पादन अनि त्यसमा हुने निवेशदेखि उनीहरू आफ्नो हात उठाउन खोजिरहेका छन्। त्यसैले एउटा कालो बादल चिया बगानहरूमा छाएको छ। आउने दिनहरूमा बगानको स्थिति कस्तो हुन्छ भन्ने वास्तविक चित्र आज बन्द बगानहरू अनि ती बगानहरूलाई सञ्चालन गर्न जुन प्रकारको नीतिहरू सरकार अनि मालिकहरूले निर्धारण गर्दैछ त्यसले स्पष्ट हुँदछ।  

विश्वप्रसिद्ध चियाको रूपमा चिनिने 'दार्जीलिङ टी'को देशी र विदेशी बजारमा ठुला माग छ। तर विगतका केही वर्षदेखि प्राय सबै चिया बगानहरू नै डामाडोल स्थितिमा रहेको हामीले देख्दै आइरहेका छौँ। डङ्कन-गोएङ्काको अधीनमा रहेका १४ वटा बगान २०१४ देखि बन्द अवस्थामा थियो। त्यसरी नै अल्केमिस्टका ३ वटा बगान २०१५ देखि खराब हुँदै २०१७ मा ठप्प भएको थियो। बन्द अवस्थामा बगानका श्रमिकहरूको स्थिति भयावह बन्यो। कुपोषणको कारण मर्नेहरूको सङ्ख्यमा वृद्धि हुन थाल्यो। बगानहरूमा मानव तस्करी अनि पलायन हुनेहरूको सङ्ख्या बढ्यो। यी जम्मै समाचार पत्रिकाहरूमा छापिए। २०१४-मा न्यूनतम ज्यालाको माग गर्दै  ट्रेड युनियनहरूको जोइन्ट फोरम बनेको थियो। श्रमिकहरूको आवाज अनि संयुक्त ट्रेड युनियनहरूको दबाबमा पश्चिम बङ्गाल सरकारले डङ्कनका बगानहरूलाई केन्द्र अनि राज्य सरकारले चलाउने घोषणा पनि गऱ्यो। समय बित्दै गयो तर बगान चलेन। 

धेरै बगानहरूमा OMC (अपरेसनल म्यानेजमेन्ट कमिटी), JAC (जोइन्ट एक्सन कमिटी), SHG (सेल्फ हेल्प ग्रुप) आदि बनाएर बगानको पत्ती अरू चालु बगानलाई बेचेर श्रमिकहरूले अस्थायी रूपमा रोजगारको बन्दोवस्त सुरु गरे। यो प्रणालीको कुनै सरकारी मन्जुरी थिएन तर रोक पनि थिएन, कारण विकल्पको रूपमा योभन्दा अरू कुनै उपाय सरकारसँग थिएन। तर यस प्रक्रियामा चियाको तस्करी अनि भ्रष्टाचारको ठुलो आशङ्का थियो। जसलाई रोक्न गाह्रो थियो। यसरी चलिरहेको बगानहरूमा बिस्तारै नयाँ मालिक आउने हल्ला चल्यो। तर यो कुरा गोपनीय राखियो। गुपचुपमा धेरैवटा बैठकहरू भयो। मालिक अनि सक्रिय ट्रेड युनियनहरूबिच बैठकहरू भयो। 

बैठक सरकारको अनुपस्थितिमा नै भयो तर सरकारी दफ्तर अनि सरकारमा रहेका पार्टीसँग संलग्न ट्रेड युनियनको उपस्थितिमा। यसरी सरकारले मिटिङका निर्णयहरूमा आफ्नो सहमति अनि स्वीकृति जनाउने जिम्मेवारीदेखि जोगिने काम गऱ्यो। नयाँ मालिक अनि पुरानो मालिकमा कुनै प्रकारको वार्तालाप या सम्झौता भएको स्पष्ट जानकारी कसैलाई छैन। पुरानो मालिकले बगानप्रतिको आफ्नो स्वामित्व जमाउन न्यायपालिकासँग याचिका गरे पनि बगानका श्रमिकहरूले पाउन पर्ने राशिको कुराबारे उनी मौन छन्। अल्केमिस्टका बगानहरू पनि यस्तै परिस्थितिबाट गुज्रिरहेका छन्। के. डी. सिंह अल्केमिस्ट बगानका मालिक साथ साथै तृणमूल काँग्रेसको राज्य सभाका सदस्य पनि थिए। राजनैतिक झमेलामा परेपछि उनले बगानबाट पनि हात उठाए। त्यसपछि बिस्तारै बगान बन्द भयो। आठ डिभिजन भएको अल्केमिस्टका तीनवटा बगानका श्रमिकहरू मिलेर OMC-को मोडेलमा पत्ती बेचेर रोजगारको बाटो खोलेका थिए। आज त्यहाँ सिलिकन कम्पनी आएर दुईवटा बगान खोलिसक्यो। २०१७ मा अल्केमिस्ट बगानको मालिकाना ट्राइडेन्ट कम्पनीले लिने कुरा पुरानो मालिकपक्षको अनुपस्थितिमा भयो। मालिकानाको हस्तान्तरण अनि सम्झौताको पत्र जोइन्ट लेबर कमिस्नरसम्म मात्र सीमित रह्यो भने यसलाई सार्वजनिक पनि गरिएन। त्यसरी नै २०१९मा मेरिको कम्पनीसँग डङ्कनको दुम्सीपाडा बगानको सम्झौता अनि २०२१मा सम्मेलन कम्पनीसँग बाग्राकोट बगानको सम्झौताबारे डङ्कन अज्ञात रहेको कुरा अनि कुनै प्रकारको खबर नयाँ मालिक वा सरकारबाट आएको छैन भन्ने कुरा सुन्नमा आएको छ। यस्ता जटिल परिस्थितिमा रहेका छन् यी बगानहरू। तर हामीले डङ्कन अनि अन्य बन्द बगानमा चलिरहेको नयाँ मालिक अनि त्यससँग जोडिएका सर्तहरूमा ध्यान दिनु जरुरी छ। 

प्रथमतः नयाँ मालिकको प्रवृत्तिबारे कुरा गरौँ। बन्द बगान खोलेर चलाउने क्रममा निस्केका नयाँ पुँजीपति वा लगानीकर्ताहरूको प्राय नै चिया बगान चलाउने पुर्वानुभव नरहेको देखिन्छ। मेरिको, ट्राइडेन्ट भनौँ या सम्मेलन वा सिलिकन, यी सबै निवेशकहरू चिया उद्योगसँग केवल व्यापारको क्षेत्रमा जोडिएका छन्। मारिको नामक कम्पनीले डङ्कनको ५ वटा बगान दुम्सीपाडा, हन्टुपाडा, गेरगेन्डा अनि तुलसीपाडा बगानहरू आफ्नो हातमा लिएको छ। त्यसरी नै सम्मेलन नामक कम्पनीले डङ्कनकै बाग्राकोट बगानलाई आफ्नो हातमा लिएको छ। सिलिकन कम्पनीले अल्कमिस्टको कलेजभ्याली अनि पेशोक बगानलाई आफ्नो अधीनमा लिएको छ। बगान कसरी चलाउँछ त्यससँग जोडिएको निवेश अनि चल्ने प्रक्रियाको पूर्वानुभव नहुनु बगान अनि बगानका श्रमिकहरूका लागि घातक पनि हुन सक्छ। पहिले पनि यसरी धेरै फिनान्सरहरू पत्ती हुने समयमा आउनु अनि मुनाफा कमाएर बगानलाई छोडेर जाने क्रम देखा परेको हो। उदाहरणको निम्ति ट्राइडेन्ट कम्पनीले अल्केमिस्टका बगानहरूलाई सम्झौता गरी आफ्नो अधीनमा लिएको केही महिना भित्र नै बगानलाई छोडी दिए। तर बगानमा भएको मुनाफा अनि बगानको नाम गरेर सरकारको सहुलियत अनि ब्याङ्कबाट लोन लिने काम त्यो कम्पनीले गरेको थियो। जसको ठिक समाधान आजसम्म पनि भएको छैन। यस्ता घटनाक्रमले बगानका श्रमिकहरूमा नैराश्य सृजना हुन सक्छ, जसको ठुलो आर्थिक, सामाजिक अनि राजनैतिक प्रकोप हुन्छ। 

द्वितीयत: नयाँ मालिकले बगानको मर्मत अनि संरक्षणको लागि हुने खर्चमा कम भन्दा कम निवेश गर्ने नीति लिएर आउँछ। जुन सम्झौता पत्रमा स्पष्ट लेखेको हुन्छ। यसो गर्नले उनीहरू उत्पादनमा हुने खर्चबाट पनि आफ्नो मुनाफा निकाल्न सक्छन्।

तृतीयत:, श्रमिकहरूका बकाया राशिहरू पनि जतिसक्दो कम गरी किस्तीमा दिने कुरा सम्झौतामा हुन्छ। यसको दुईवटा परिणाम हुन सक्छ। बगानका श्रमिकहरू केही पैसा पाएपछि आशावादी हुन्छन् र काममा जान थाल्छन्। यसको फाइदा मालिकले लिन थाल्छ र मुनाफा कम हुँदा बगानलाई छोड्न उनीहरूलाई गाह्रो हुँदैन। अर्कोतर्फ बगानबाट उत्पादन गरेर बनेको पैसाले नै यो भुक्तान गर्ने नयाँ मालिकको रणनीति हुन्छ। जो बगानको उत्पादन शक्ति र मालिकको चरित्रमा निर्भर गर्छ।

चार- बगानका स्थायी श्रमिकहरूको सङ्ख्यामा कटौती। सम्झौता पत्रमा यो खुल्ला रूपमा लेखिएको हुन्छ। नयाँ स्थायी श्रमिकको नियुक्ति नहुने अनि वर्तमान स्थायी श्रमिकहरूमै पनि केही नम्बर कम गर्नु पर्ने जस्ता सर्तहरू राखिएका हुन्छन्। जसको फल स्वरूप स्थायी श्रमिकहरूले पाउनु पर्ने सुखसुविधा अनि उनका अधिकारहरूको हनन हुन्छ। साथै अस्थायी श्रमिकहरू केवल ज्यालाको लेनदेनमा मात्र म्यानेजमेन्टसँग  आबद्ध हुन्छ।

पाँच- रिटायर भएका श्रमिकहरूको बकाया राशि लिएर नयाँ मालिकको कुनै सरोकार हुँदैन। बन्द अवस्थामा हुँदा अनि बन्द हुन अघि रिटायर भएका श्रमिकहरू, जसले आफ्ना पीएफ वा ग्रयाच्युटी पाएका छैन, उनीहरूको लागि नयाँ मालिक आउनु कुनै फलदायी हुँदैन। अझ उनीहरूको माग गर्ने बाटोमा अड्चन अनि अनिश्चितता उत्पन्न हुन जान्छ। 

छ- भविष्यको सम्झौता। लाचार श्रमिकहरू नयाँ मालिकसँगको कठिन सम्झौतामा पसे पछि बगानको नियन्त्रण मालिकको हातमा पुग्छ। जसले गर्दा मालिकको शोषण अनि अत्याचार बढ्ने सम्भावना ज्यादा हुन्छ। काम गर्ने घण्टामा वृद्धि, छुट्टीमा कटौती, सहुलियतहरू (fringe benefits) मा कटौती हुन सक्छ।  यसले श्रमिकहरूको जीविका अनिश्चित अनि असुरक्षित बनाइदिन्छ।

अन्तमा: बन्द बगानलाई सुचारु रूपमा खोल्ने प्रक्रियामा लागि पर्नु चिया उद्योगको लागि अनिवार्य मात्र नभएर आवश्यक्ता पनि छ। तर जुन प्रणालीमा यो भइरहेको छ त्यो चिन्ताजनक छ। देशको हरेक उद्योग अनि कारखानाहरूमा यो अन्यौलता छाएको छ। सरकारको नव उदारवादी नीतिहरू मालिक अनि ठुला कर्पोरेटहरूका लागि त फलदायी बनेको छ तर आम खटिखाने श्रमिकको जीवन भने अझ असुरक्षित भएको छ। अझ थप सरकारले श्रम कानुनहरूमा गरेको संशोधनहरूले त झन् पुँजीपति अनि कर्पोरेटको श्रमिक माथिको अत्याचार बढेर जानेछ। यसको असर चिया उद्योग अनि त्यहाँका श्रमिकहरूका लागि अर्को ठुलो धक्का हुनेछ। मालिक अनि सरकारको साठगाँठ, सरकारको बन्द बगान प्रतिको अपदेखापन, ट्रेड युनियनको ढिलाइ अनि श्रमिकवर्गको अज्ञानता यी सबै कुराहरू जिम्मेवार छन् आजको चिया बगानको अन्योल अवस्थाको लागि। श्रमिकवर्गको बुलन्द आवाज अनि सरकारको कडा रणनीति यस समस्याको समाधान हुन् सक्छ। सरकारको सक्रिय भूमिका बिना हुँदै गरेका सम्झौताहरूको पनि कुनै भरोसा हुने छैन। आउने भविष्यमा चिया उद्योग तोडिएर चियाको बजारीकरण अनि लेनदेन गर्ने ठाउँ मात्र रहनेछ। चिया बगान अनि बगानका श्रमिकहरू भने अनिश्चित अनि असुरक्षित भविष्यमा हराउने छन्।


No comments:

Post a Comment