Friday, November 16, 2018

कविताहरू


चिया र चिन्तन
निकेश लिम्बु

उहिले बाजेको पाला देखि नै 
सुन्दै आएको
‘सुनको बोट’ भन्दै
षडयन्त्र र शोषणको जाल
बुन्दै आएको।

यो कथा यो व्यथा, मर्मको व्याकुलता
धेरै पुरानो छ
डरले काल्लेको,
अनुभूतिको विदीर्ण आवाज
धेरै गुनासो छ।

जब विश्व-रेशमी पलङबाट नै
मैले टिपेको चियाको चुस्की लिन्छ
आफुलाई दास नै ठान्दछु
र त्यै
पोहोर-परारको
थोत्रे नाम्लो-जडाउरी भिरेर
थुम्चे
नागबेली बाटो लाग्दछु।

मेरो नागबेली बाटो
खाल्डो-खपेल्टो हुँदै
भिरालो छ
श्रमिक हुन, श्रम गर्दैछु
जीवन साच्चै नै
अँध्यारो छ।  

अब त
त्यो घनघोर वर्षा पछिको इन्द्रेणी कहिले देखापर्ने
मजदुर शाश्वत हक र अधिकार
कहिले पाउने
विश्वअघि अर्थवृद्धिका भाषणहरू छाडी हिड्छौं
यो भाषणको सिस्टम कहिले फेरिने।

युवा भन्छ
‘हो सपमा मैले पनि देखेको छु’
तर उडान भने सकेको छैन
अरू युवा झैं म पनि
आखिर लाहुरे नै बन्न
वाध्य बनेको छु। 

मैले युवाको कसारोलाई वाद भनिन
सहन सक्छु
फागुनको फुको बिरसिलो क्षन

श्रमको रकम मात्र पो मागेको छु
बढाई देउ मेरो सानो वेतन।

*******



जमीन
आशिष् उदास

मेरो बाजेले गोरु जोत्नु भो
बाँझो खेत खन्नु भो
र भाग्य उमार्नु भो
तर मेरो बाजेले
जुन खेतमा भाग्य उमार्नु भो
त्यो खेत मेरो हो भन्नु पाएन

मेरो बाउले भस्मे फाँड्नु भो
बारी बिराउनु भो
खोल्छा गोड्नु भो
र भविष्य फलाउनु भो
तर मेरो बाउले
जुन जमिनमा भविष्य फलाउनु भो
त्यो जमिन मेरो हो भन्न पाएन ।

मेरी आमाले जुन बारीहरूमा पसिना चुहाउनु भो
र सपना फुलाउनु भो
त्यो बारी मेरो हो भन्न पाएन

सरकार अब
यो देशको सप्पै सप्पै जमिन
आफ्नो आफ्नो भागमा बाटिदिनोस्
पक्कै पनि मेरो भागमा एक चोक्टा त पर्छैपर्छ।
कमसेकम त्यो
एक चोक्टा जमिनलाई मेरो हो
भन्न त पाउँछु नि।।

  


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...