छेवाङ योञ्जन
करिब तीन वर्ष बित्यो बगान अघोषित रूपमा बन्द भएको। सुरुमा मजदुरहरूलाई ज्याला दिन छोड्यो, कम्पनी प्रबन्धक अनि कर्मचारीहरूको बेतन बन्द भयो। बगानको अर्थ व्यवस्थामा अनियमितता देखा पर्दै गयो। कम्पनीले यो समस्याको चाडै समाधान गर्नेछ भन्ने विश्वासका साथ मजदुरहरूले काम गरिरहे। कर्मचारीहरूले कार्यालय सञ्चालन गरिरहे। तर आर्थिक स्थितिमा सुधार आएन। मजदुरहरूले पत्ती टिपी नै रहेका थिए। कारखाना र कार्यालयहरू सञ्चालन भई नै रहेको थियो अर्थात् ‘उत्पादन’ रोकिएको थिएन। बजारमा मेड-टी बिक्री पनि भइरहेको थियो। कम्पनीको पुँजी खातामा त्यसको मुनाफाको हिसाब पनि दर्ता भइरहेकै थियो। बस् यता बगानमा बिना ज्याला मजदुरहरू पसिना बगाइरहेका थिए। बिना बेतन प्रबन्धक र कर्मचारीहरूले कार्यालय सञ्चालन गरिरहेका थिए। श्रमिक-कर्मचारीहरूको निःशुल्क पसिना चुसेर उता मालिकले भने चौगुना नाफा कमाइरहेको थियो। वर्ष 2015-को अन्ततिर पेशोक कि त धोत्रे चिया बगानहरू पुग्दा त्यहाँको स्थिति ठिक यस्तै थियो। महिला मजदुरहरू पत्ती टिप्थे, तौलाई गर्न आउँथे अनि झोक्कीएर जान्थे— ‘यो हप्ता पनि पैसा पाएन भने, काममा आउँदिन।’ उनीहरूले प्रतीक्षा गरेका कयौँ हप्तासम्म पैसा आएन अर्थात् उनीहरूका परिश्रमको मूल्य मालिकले दिएन। अहिले तिनै महिला मजदुरहरू बगान आउँदैनन्। यसो भनौ, उनीहरू बगानमै छैनन्। कुनै कुनै बेला बगानको स्थिति बुझ्न जाँदा गाउँले बुढाहरू भन्छन्— ‘कोइ दिल्ली, बम्बई र चेन्नाईतिर होला, माथिल्लो घरको चैँ दुबई गएको छ।’ म मनमनै सोच्छु मजदुरको जात, धर्म र सीमा हुँदैन रहेछ।
'बिना मूल्य कसले श्रम दिन्छ र? तर एलकेमिस्ट अधिनस्त रहेका पहाडका बगानहरू (पेशोक, धोत्रे, कलेजभेल्ली)-का चिया मजदुरहरूले मालिकको मन फर्किने आशामा कयौँ दिनसम्म बिना ज्याला काम गरिरहे। लगभग एक वर्षसम्म काम गरेको ज्याला नपाएपछि मजदुरहरूले कुरा बुझे— ‘यो मालिकले हामीलाई लुटिरहेको छ'। मजदुरहरूको बकाया राशिको हिसाब 15 करोडभन्दा धेर पुगिसकेको थियो। सन 2016देखि सुरु भयो यी बगानहरूका मजदुरहरूको सङ्घर्षको नयाँ बाटो। पेशोक, धोत्रे र कलेजभेल्लीका मजदुरहरूले 'जोइन्ट एक्सन कमिटी' गठन गरे। यस कमिटीको उद्देश्य थियो मजदुरहरूको बकाया राशि खोज्नु र बगानको सुरक्षा गर्नु। दुई वर्षसम्म लेबर दफतर-जिल्लापाल/धरना-जुलुस-सभा र बैठकहरू भयो। यहाँसम्म कि कमिटीले श्रम मन्त्रीसमेतलाई कलकत्ता र यता भेट गरेर बगानको स्थितिमा सुधार ल्याउन सरकारी पहलको माग गऱ्यो। तर बगान अघोषित रूपमा बन्द नै रह्यो। कुरा क्लियर छ—‘बन्द चिया बगानको समाधानको दिशामा सरकारलाई कुनै प्रकारको चासो छैन'। अचेल बेला-बेला चिया गफ गर्दा इन्द्रमान दाजु भन्ने गर्छन्— ‘यो केडी सिंह, अम्बानीहरूले नै सरकार बनाउँछ, करोडपतिहरूको सरकारले मजदुरको कुरा सुन्छ र?’ केडी सिंह एलकेमिस्ट कम्पनीको मालिक हो। जसको टाउकोमा मजदुरहरूको करोडौँ रुपियाँ बाँकी छ, अनि सुन्नमा आयो कि ग्रीसको एक टापुमा बसाई सार्ने बन्दोवस्त पक्का गरिकन त्यो मान्छेले निरब मोदीहरूझैँ भारतबाट भाग्ने तरखरमा छ। चिटफण्ड घोटालाले गर्दा कानुनी रूपमा आरोप छ उनीमाथि।
भनिन्छ नि एउटा बाटो बन्द भए हजार बाटो खोल्लिन्छ। यी बन्द बगानका मजदुरहरूका निम्ति सोही हुन गयो। उनीहरू मजदुरहरूको बकाया राशि खोज्नका निम्ति सङ्घर्ष गर्न थाले। यो सङ्घर्षले उनीहरूलाई कम्पनीको कलकत्तामा अवस्थित कार्यालयसम्म पुऱ्यायो। लथालिङ्ग अवस्थामा रहेको कम्पनी कार्यालय देखेर मजदुरहरूको मालिकमाथिको विश्वास उड्यो। कलकत्ताबाट फर्केर ‘यो बगानको मालिक को?’ भन्दै मजदुरहरूले प्रश्न गर्न थाले। सम्बन्धित निकायहरूका अधिकारीहरूसँग वार्ता भयो। तब फेला पऱ्यो बगानको मालिकानाको सत्य तथ्य। धोत्रे बगानको लिज सन् 1987 सालदेखि पञ्जीकृत गरिएको रहेनछ। पेशोक बगानको लिज वर्ष 2014 देखि थाँतीमा छ। यहाँ त मालिकले केवल मजदुरहरूलाई मात्र होइन सरकारलाई पनि लुटिरहेको रहेछ। तरै पनि सरकार मौन छ। कुनै प्रकारको कार्वाही गर्दैन। बगानको 'लिज रिनिउ' नगरिएको तथ्य फेला पऱ्योपछि कमिटीले आफ्नो मागपत्रमा नयाँ एजेन्डामा थप्यो—‘मालिकानाको अधिकारीक पुष्टि हुनुपर्छ।’
चियाबगान सङ्ग्राम समितिबाट यस सङ्घर्षलाई प्रत्येक पाइलामा साथ दिंदै र यी बन्द बगानबारे डक्युमेन्ट्री बनाउने उद्देश्यले हामी चिया बगानहरू घुमिबस्छौँ। मजदुरहरूसँग कुराकानी गर्छौं। धेरै मजदुरहरूलाई चिया उद्योगबारे जानकारी रहेनछ। मालिकले मात्र बगान चलाउन सक्छ भन्ने मानसिक विश्वासले मजदुरहरूको दिमाग ओगटेको छ। हुन त यो व्यवस्था नै वर्ग विभाजनको आधारमा उभिएको छ। मालिकहरूलाई काँधमा बोक्ने अनि मजदुरहरूलाई गोली हान्ने युगमा कसरी पनि मजदुरहरूले ‘श्रमिक शक्ति’को कल्पना गर्न सक्छन्। यसैले मालिकको शोषण, सत्ताको दमन अनि क्षेत्रीय राजनीतिको उदासीनतापूर्ण नीतिले थकित बनिसकेका बन्द बगानका मजदुरहरू मालिकमाथि नै आश्रित हुन्छन्। तर मजदुरको शोषण गर्नु अनि नाफा कमाउनु नै मालिकको नीति हो। कुनै पनि मालिकले मजदुर सेवाका निम्ति कम्पनी खोलेको इतिहास छैन। बगान भ्रमणको क्रममा भेटिएका मजदुरहरूसँग मालिकी शोषण र सत्ताको दमनकारी नीतिहरूबारे कुरा गऱ्यौँ। धेरै श्रमिकहरूले कम्पनी मालिकको नामसमेत सुनेका रहेनछन्। कतिलाई त कम्पनीको नामधरि थाहा छैन। कुराकुरैमा मजदुरहरू भन्छन्— ‘कमान चलाउने त हामी नै हौँ, त्यो मालिकले न त बगान देखेको छ न नै हाम्रो अवस्था देखेको छ।’
गत अप्रेल-मई महिनादेखि धोत्रे र पेशोकका मजदुरहरूले मजदुर कमिटी बनाएर पत्ती टिप्ने काम सुरु गरेका छन्। बगानको सुरक्षा गर्न अनि मजदुरहरूलाई आर्थिक राहत दिन पत्ती टिपेर बिक्री गर्न बाहेक अरू विकल्प कमिटीसँग थिएन। यसैले मजदुर कमिटीहरूले अहिलेलाई अर्काको फ्याक्ट्रीमा काँचो पत्ती बिक्री गरिरहेको छ, वर्कर्स् को-अपरेटिभ सोसाइटी गठनको लक्ष्यलाई मनमा लिएर। जोइन्ट एक्सन कमिटीका अध्यक्ष मनि नारायण प्रधान बगानका मुन्सी बाबु हुन्, यस वर्ष उनको रिटायरमेन्ट थियो। तर अहिले उनी काँचो पत्ती तौलिनु र बोरा बोक्नमा व्यस्त छन्। तुङसुङका तरुण आषिश तामाङ बगानका फ्याक्ट्री बाबु हुन् उनी पनि गाडीमा पत्ती लोड गर्छन्, झोलुङ्गे पुलपारी बसेर चार डिभिजनबाट आएको पत्तिको हिसाब लेख्छन्। धोत्रेका सुरज हवल, महेन्द्र सुब्बा, राजधन राई, सुकराज राई अथवा पेशोकका सुबे तामाङ, अनन्त राई, उर्मिला दिदी, कमिटीको प्रेसिडेन्ट शरण राई, राजेन दाजु, इन्द्रमान दाजु जम्मै जम्मैले अहिले मजदुरहरूसँग-सँगै काम गरिरेका छन्। सबैले बराबर श्रम दिनुपर्छ भन्ने सोच उनीहरूमा विकास भइसकेको छ। उनीहरूलाई अहिले न त राजनीतिको चिन्ता छ न नै युनियनको खाँचो। ‘राजनीतिले हेप्नसम्म हेप्यो अब चिया मजदुरहरू सचेत हौँ’— भन्छन् शरण दाजु। ‘सरकारले बगानको आधिकारीक जिम्मा मजदुरहरूलाई दिए हामी को-अपरेटिभ बनाएर बगान चलाउँछौँ, फ्याक्ट्री पनि चलाएर देखाउँछौँ’— म मणिनारायण प्रधानको यो भनाइ कहिले भुल्न सक्दिन।
यी बन्द बगानका मजदुरहरूको क्रमिक सङ्घर्ष जारी नै छ। कम्पनीले दैनिक 132.50 ज्याला दिन्थ्यो। हाल मजदुरहरूले दैनिक तीन-चार घण्टाको अवधिमा 3 सयदेखि 5 सयसम्म ज्याला पाइरहेका छन्। मालिकले चिया मजदुरहरूलाई कतिसम्म भरमा लुटाइ गरिरहेको छ भन्ने कुराको हिसाब निकाल्न अब कुनै क्यालकुलेटरको आवश्यकता छैन। मजदुरहरूसँगको कुराकानीमा हामीले त्रिपुराको एउटा बगानको कुरा राख्यौँ। श्रमिक को-अपरेटिभ सोसाइटीमार्फत सञ्चालन भइरहेको त्यस बगानले मजदुरहरूलाई पोहोर 48% बोनस प्रदान गरेको थियो। यता चालु बगानहरूमा 8.33% देखि 19-20% सम्म मात्र मजदुरहरूलाई बोनस प्रदान गरिन्छ। मालिकी लुटको यस्तो हिसाब बुझिसकेका वर्कर्स कमिटीले यसपाली बोनस दिने निर्णय लिएको छ। बन्द बगानको सङ्घर्ष गर्दै भएपनि मजदुरहरूलाई बोनस दिने कमिटिको यो निर्णय सरकार अनि मालिक दुवैका निम्ति ठूलो चुनौती हो।
करीब तीन वर्ष अनुभवको आधारमा जोइन्ट एक्सन कमिटीले आफ्नो मागपत्र तयार गरेको छ, जुन चाहिँ सबै अधिकारीसम्म धेरैपल्ट पुगिसकेको छ। अन्तिममा जिल्लापालको मौखिक आश्वासनमाथि नै चलिरहेको छ अहिलेको काँचो पत्ति टिप्ने सिस्टम— जसले गर्दा बगानको हेरचार पनि भइरहेको छ, मजदुरहरूले पनि दुइ छाक खानु पाउँदैछ। श्रमिक कमिटीहरूका माग छ— एक, कुनै कम्पनी आए, त्यस कम्पनीले मजदुरहरूको करोडौँ रुपियाँ भुक्तान गर्नुपर्छ अनि सम्झौतामा बगान सञ्चालनको सुरक्षा राशि देखाउनु पर्छ। दोस्रो, बगानको मालिकानाको आधिकारिक पुष्टि गर्नुपर्छ, लिज क्लियर गर्नुपर्छ। तेस्रो, यदि कुनै कम्पनीले बगान चलाउन सक्दैन भने सरकारले बन्द बगान सञ्चालनको दायित्व लिनुपर्छ। चौथो एवं अन्तिम, को-अपरेटिभ सोसाइटी गठन गरी मजदुरहरूलाई बगानको आधिकारिक हस्तान्तरण गर्नुपर्छ। यी मागहरूका साथ अडिग रहेका चिया मजदुरहरूलाई सामाजिक एकवद्धताको आवश्यकता छ।
यी श्रमिक कमिटीहरू निसन्देह सङ्घर्षको एक वैकल्पिक उदाहरण तयार गरेको छ। आ-आफ्ना पार्टी-युनियन-गुट-मतको विभेदहरूलाई पर सारेर धैर्यसाथ लगातार सङ्घर्षमा हिडीरहेका यी बगानहरूका स्टाफ-सबस्टाफ-वर्करहरूलाई नै जान्छ यस्तो सुनौलो उदाहरण बनाउने श्रेय। आज फेरि नयाँ मालिक आउने कुरा भइरहेको छ— त्यसमा जति एकजुटता र हक-अधिकारको स्पष्ट उच्चारण मजदुरहरूको तर्फबाट आउँदैछ, त्यो प्मी यस लामो जुझारु बाटोकै नतिजा हो। यस किमती अनुभव एक महत्वपूर्ण चरण भएर रहनेछ पहाडको मजदुर सङ्घर्षको इतिहासमा।
No comments:
Post a Comment