Friday, November 16, 2018

केरला : बाढी र राजनीति


कपिल तामाङ


यस वर्ष दक्षिण भारतको केरलामा आएको बाढी सायद यस शताब्दीको सबै भन्दा खतरनाक बाढी हो। यसमा हजारौँ मानिसहरूले ज्यान गुमाए, लाखौँ बेघर बने अनि अरबौँ रुपियाँको क्षति भयो। घनघोर वर्षाले केरलावासी विपदमा परिरहेका थिए। यातायात अचल थियो। जनजीवन ठप्प थियो केरलामा। डुवाउको कारण मानिसहरू मृत्युसँग जुझिरहेका थिए। बालबालिकाहरू विष परेका माछा झैँ तैरिरहेका थिए। यस्तो भीषण परिस्थितिमा केरलालाई अझ ठुलो विपद पऱ्यो जब जल विद्युत् निकायले बाँधको पानी खोली दियो। यस बाँधको पानीले केरलाको दक्षिण-पश्चिम प्रान्तलाई पूर्णरूपले डुबायो र मृत्यु सुचीमा चढ्यो हजारौँ केरलावासीको नाम। गुमनाम बने त्यहाँका कयौँ गाउँ-बस्ती र खुद्रा सहरहरू। तर प्रश्न उठ्छ केरलाको भयानक डुबाउको कारण केवल वर्षा हो वा देशको कमजोर पूर्वाधार?
भारतमा बाढी आउनु/डुबाऊ हुनु नयाँ कुरा होइन। प्रति वर्ष भारतको 15 प्रतिशत भूमि बाढीले क्षतिग्रस्त हुन्छ अनि प्रति वर्ष हजारौँ मानिसले ज्यान गुमाउनु पर्छ। यस्ता प्राकृतिक आपदामा करोडौँ रुपियाँको नोक्सान पनि हुन्छ। सरकारी एजेन्सीहरूले यस्ता विषयमा अनुसन्धान त गर्छ तर अहिलेसम्म कुनै प्रकारको समाधानसूत्र भने फेला पारेको छैन।  गत वर्ष कम्पट्रोलर एन्ड अडिटर जेनरल(CAG)-ले जारी गरेको रिपोर्ट अनुसार जुन सुरक्षा योजनाहरू तयार गरिन्छ त्यसको राशि आवन्टित हुँदा नहुँदै म्याद पुरा हुन्छ अर्थात् योजना आउटडेटेड भएर जान्छ। यस्तो कमजोर धरातलमा उभिएको छ देशको सुरक्षा प्रणाली। प्रत्येक राज्यले कुनै पनि बाँध निर्माणपछि आपत्कालीन योजनाहरूबारे केन्द्रीय सरकारलाई जनाएको हुनुपर्छ। यसो गर्नाले प्रभावित क्षेत्रहरू चिन्हित गर्न सहज हुन्छ अनि आपत्कालीन स्थितिमा चाडै राहत पुऱ्याउन सकिन्छ। तर देशमा 5 हजार भन्दा धेर बाँधहरू छन्। जसमध्ये केवल 7 प्रतिशतसँग मात्र सुरक्षा योजना छ। केरलाका 61 वाट बाँधहरू मध्ये कुनैसँग पनि तयार सुरक्षा योजना थिएन। यसबारे सरकारलाई जनाएको पनि थिएन। सरकारले पनि सुरक्षा योजनाबारे कुनै प्रकारको चासो देखाएको थिएन।
देशमा प्रति वर्ष डुबाऊ हुने निश्चित छ। तर सरकार र सम्बन्धित निकायसँग कुनै प्रकारका सुरक्षा उपाय र योजनाहरू छैन। सरकार र निकायहरू निष्क्रिय रहँदा मान्छेले नै मान्छेको बचाउका निम्ति विभिन्न उपायहरू खोज्छन्। यस्तै भयो केरला बाढीमा पनि, विभिन्न व्यक्तिविषेश साथै सङ्घसंस्थाहरूले बचाउ अनि राहत कार्य गर्न थाले। यता, निष्क्रिय रहेको सरकार र सम्बन्धित निकायहरूले यसै बचाउ कार्य अनि राहत अभियानमा राजनीति खेल्ने मैदान फेला परे। राष्ट्रिय राजनीतिक दलहरू काँग्रेस अनि भाजपा पार्टीले केरलाको बाम सरकारलाई आरोप लगाउँदै भने— ‘यो मानव निर्मित आपदा हो।’ विपक्षको नेता रमेश चेन्निथालाले भने “40 वटा बाँधको पानी एकै साथ खोल्दा यो दुर्घटना भएको हो, यसमा राज्य सरकारको दोष छ। राज्य सरकारलाई थाहै थिएन कुन ठाउँ डुबाऊ हुनेछ जब पम्बा नदीको 11 वटा बाँध अनि 6 वटा चलाकुद्य नदीको बाँध एक साथ खोलिएको थियो”। हुन त यो वर्ष 41.44 प्रतिशत धेर पानी पऱ्यो जसले गर्दा स्थिति अझ गम्भीर भएर गयो, तर 44 वटा बाँध बिना चेतावनी खोलेकोले यस्तो परिस्थिति भएको हो भन्छन् काँग्रेस नेताहरू। बाँध सुरक्षा सचिव सी. एन. रामचन्द्रन नैयरले काँग्रेसको उक्त बयानको खण्डन गरे। उनले भने— ‘यो आधारहिन आरोप हो।’
प्रत्येक राजनीतिक दलले बाढी लिएर आ-आफ्ना योगदानको ढोल पिट्न थाले। जब मिडियामा समाचारको खुराक कम पर्न थाल्यो तब सुरु भयो केरला डिबेट। त्यहाँ पनि चिच्याउन थाले नेताहरू, राजनीतिक चाटुकारहरू र टीआरपी भोगी पत्रकारहरू। बाढीमा ज्यान गुमाएका, परिवारविहीन बनेका हजारौँ-लाखौँ मानिसहरूको मर्माहत स्थितिमाथि हुन थाल्यो सस्तो चर्चा। अरबबाट 600 करोड राहत राशि पाउने विवाददेखि मुख्यमन्त्रीको रिलिफ फन्डमा घोटाला भएको विषयहरूमा चर्चा भयो, आरोप-प्रतिआरोप युद्ध चल्यो अर्थात् सुरु भयो केरला बाढीको राष्ट्रिय तमासा। जुन तमासाले न त भविष्यका निम्ति सुरक्षा उपाय निकाले न नै बाढी पीडितहरूका निम्ति समाधान सूत्र नै खोजे।  केरलाको परिस्थिति अझै पनि गम्भीर छ। नेता साथै मिडियाले सायद केरलाको बाढीलाई बिर्सिसके होलान् तर त्यहाँका बासिन्दाहरूको सङ्घर्ष त अझै बाँकी नै छ। त्यहाँका पीडितहरूले फेरि शून्यदेखि जीवन सुरु गर्नुपर्ने स्थिति छ। कतिले आफ्ना प्रियजनहरू गुमाएका छन् तरै पनि ढुङ्गे मुटु लिएर जीवन धान्न बाध्य बनिरहेका छन्। यसैले केरलाको बाढी हाम्रो लागि राष्ट्रिय तमासा होइन, सुरक्षा उपायका निम्ति साङ्केतिक शिक्षा हुनुपर्छ।
प्राकृतिक प्रकोपबाट कोही बाँच्न सक्दैन। तर प्रकृतिको विनाश अनि लुट जुन प्रकारले भइरहेको छ त्यसको प्रकोपमा परेर मानिस केवल पीडितको भूमिकामा मात्र बस्नु हुँदैन। पुँजीवादले केवल मुनाफाको अनुहार हेर्छ। विकास अनि उन्नतिको नाम गरेर जुन प्रकारले प्राकृतिक पदार्थहरू लुट्ने काम भइरहेको छ, त्यसैको कारण नै प्राकृतिक प्रकोप आउनु त सुनिश्चित हो। दिन प्रतिदिन यस्ता प्रकोपहरू बढ्दै छन्। तर धेर क्षति भने गरिब खटिखाने मानिसहरूले भोग्नु परिरहेका छन्। ग्लोबल वार्मिङ आजको युगमा ठुलो समस्या हो। आगामी दिनहरूमा यस्तो परिस्थिति आउँदैन भन्न सकिन्न। पर्यावरण नाश, बाँध निर्माण जस्ता विनाशकारी विकासहरूले गर्दा अझ धेर प्राकृतिक प्रकोप हुने सम्भावना प्रबल छ। यस्तो समयमा केरलाबाट सिख लिन जरुरी छ। आरोप प्रतिआरोपहरूलाई पछि राखेर एकजुटताका साथ मानिसहरूले सुरक्षा उपायहरूका निम्ति पहल गर्नु जरुरी छ। यस्ता घटनाहरूबाट बाँच्न गहन चर्चा अनि उचित पदक्षेपहरू ग्रहण गर्न जरुरी छ। किन कि हाम्रा अघि अझ धेर प्राकृतिक प्रकोपहरू उभिरहेका छन्।



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...