प्रियाशिखा राई
भारतीय दण्ड संहिता
(आइपीसी)-मा
गत 6 सितम्बरको दिन सर्वोच्च न्यायालयले सुधार ल्याएर समलैङ्गिक सम्बन्धमाथि
रोक हटाएपछि समाजको एक तप्काले यसलाई व्यक्तिस्वतन्त्रताको लडाइमा महत्त्वपूर्ण
जीत ठानिरहेका छन्। जबकि अर्कोतिर, यस्ता मुद्दाबारे
रुढीवादी अडान लिने तप्काले न्यायालयको निर्णयको
ठाडो विरोध गर्न नसकेता पनि
समलैङ्गिक सम्बन्धको गल्ती,
समस्या र
कमजोरीहरू खोज्दै विविध प्रश्नहरू उठाइरहेका छन्— ‘यसलाई लिएर किन यस्तो हल्ला?’ ‘समाजलाई यसले के फायदा हुनेछ?’,
‘समलैङ्गिकता अपराध नभए पनि अस्वाभाविक त हो!’, ‘देशमा यो भन्दा धेरै महत्त्वपूर्ण
कुराहरू छन्...’— आदिजस्ता भनाइहरू सतही चर्चमा छ। साँचो अर्थमा भन्नु हो भने
यस्ता भनाइहरूभित्र समलैङ्गिक
अधिकारबारे विरोधाभास नै लुकेको छ, जुन
चाहिँ ‘तर’ जोडेर अलिक घुमाउरो तरिकाले व्यक्त हुँदै छन्। जहाँ सामाजिक सचेतनाको एउटा मुखुण्डो लगाउने व्यर्थ प्रयास छ!
सामाजिक
प्रगति, जेन्डर आइडेन्टिटी र सेक्सुअल ओरियन्टसन् :
संसारभरि नै मानिसको चिन्तनमा धेरै यस्ता नयाँ सोचहरूको लहर देखिँदै छन्। विज्ञान, समाजशास्त्र तथा ज्ञानको सम्पूर्ण विकास क्रम सँगसँगै यस्ता कुराहरू जान्दै, बुझ्दै र सही तरिकाले आत्मसात् गर्दै समाज प्रगतिको दिशामा बढ्नु पर्ने हो। तर प्रगतिको बाटोमा हिँड्ने जमर्को कसेकाहरू पनि कोहीकोहीबेला यी विषयहरूबारे सहमति दिन हिच्किचाउँछन्। यसमाथि समाजको गहिराइमा जरा गाडिएको रुढीवादी र पितृसत्तात्मक सोच र त्यसको पक्षधरहरू त छन् नै। उनीहरूले गर्दा नै समाजको अग्रगति चाहिने रफ्तारमा सम्भव हुँदैन। कारण, समलैङ्गिकता वा अन्तर लिङ्गी पहिचान समाजमा सामान्य विषय बनियो भने पितृसत्ताको मूल आधारलाई नै एउटा ठुलो चुनौती र खतरा हुनेछ।
विधवा विवाह प्रथालाई यस देशको हिन्दु समाजले विगतको 150 वर्षमा पनि आत्मसात् गर्न सकेको छैन। नबालिका विवाह अहिले पनि एक सामान्य नियम जस्तै देखिन्छ। बोक्सी यथार्थमा हुँदैन भन्ने कुरा सम्पूर्ण समाजले बुझ्न सायद अझै एक शताब्दी लाग्छ! त्यसरी नै समलैङ्गिकता वा अन्तर लिङ्गी केही मानिसहरूको स्वाभाविक चरित्र र विशिष्टता हो अनि त्यसकारण यसलाई पनि एक स्वतन्त्र अधिकारको रुपमा मान्नुपर्छ भन्ने अडानसम्म पुग्न यस समाजलाई धेरै समय लाग्नेछ। समाजमा रुढीवादी मानसिकता एक ठुलो पहाड हो। यसको प्रत्येक बिन्दुमा आघात पुऱ्याउँछ र यस काममा प्रगतिवादीहरूले नै ठोस भूमिका लिनुपर्छ। अनि त्यससित यिनीहरूलाई नै प्रमाण दिनुपर्छ कि कति हदसम्म यिनीहरू स्वयले पनि सिकेका छन् भनेर।
समाजमा एउटा अवधारणा जब निर्माण हुन्छ र जब त्यो उकाली-ओराली बाटो भएर हिँड्छ, त्यो धारणा परिवर्तनबाट गुज्रिन्छ, तब एकतिर रुढीवादी शुद्धीकरण (revivalism) अनि अर्कोतिर प्रगतिवादी संस्कार प्रक्रिया एकसाथ देखिन्छ। त्यसभित्रै नयाँ कुरोले आफ्नो पक्षमा उपलब्धिहरू प्राप्त गर्दै अगाडी बढेको हुन्छ। त्यसको गतिमा हेरफेर हुनसक्छ, तर अग्रगति ठप्प हुँदैन। विभिन्न ठाउँमा बेग्लाबेग्लै तरिकाले यस्ता कुराहरू विकसित हुँदै जान्छन्। अनि यसको बाटो सधैँ नै सिधा हुँदैन। अर्कोतिर बुझ्नुपर्ने कुरा के हो भने इतिहासको कुनै पनि घटना इतिहासविद्को सुविधा अनुसार हुँदैन। कुनै सिद्धान्तको प्रक्रिया यथार्थबाट लिइन्छ, तर यान्त्रिक तरिकाले केवल यथार्थबाट लिएर मात्रै हुँदैन। यस गल्तीलाई एम्पिरिसीज्म भन्छ। यथार्थबाट लिएका अवधारणाको सारतत्वलाई फेरि यथार्थमाथि प्रयोग गर्दा सिद्धान्तको प्रक्रिया सम्पूर्णतामा पुग्छ। सिद्धान्त गठनको यस्तो बेलामा कुनै पनि बहस हुँदा चरम र नरमपन्थीको विवाद चलिरहेको देखिन्छ। यति बेला समर्थन वा विरोधको चरमबिन्दुहरूमा नपुगिन्जेलसम्म बहुस्वरलाई सुन्नु, र सम्बन्धित युक्तिविचारहरू बुझ्नु र जाँच गर्नु जरुरी छ।
आइपीसीको धारा 377-मा समलिङ्गी यौनसम्बन्धबारे रोक हटाइयो। तरै पनि ज्यादातर धार्मिक कट्टरवादीहरूले अझ पनि समलैङ्गिकताको विरोध गरिरहेका छन् भन्ने कुरामा कुनै आश्चर्य छैन। तर धेरै मानिसहरू, जो अरू कुराहरूमा संवेदनशील छन्, उनीहरू पनि यस कुरामा सहज भएर आफ्ना विचार व्यक्त गरेको देखिन्न। जस्तो कि वामपन्थीहरूलाई संसारमा नयाँ कुराहरूको अग्रदूत मानिन्थ्यो, तरै पनि उनीहरूमध्ये कतिले यस कुरामा केही हिचकिचाहट देखाउँदै छन्।
नयाँ कुरासँग एडजस्ट गर्न प्राचीन धर्म वा सङ्गठनहरूले समय लिन्छन्। तर यस्ता अन्तरिम समयमा, पूर्णरूपले अडान नलिए पनि सहनशीलता एक महत्त्वपूर्ण कुरा हो। त्यसबाटै निहालेर हेर्ने विचार बनिन्छ। यस्ता कुराहरू समय र स्थान सापेक्षित पनि हुन्छन्। आजको नयाँ पिँडीको धेरैले प्रश्न उठाउँछन् कि उहिलेको समयका प्रगतिवादीहरूले किन समलैङ्गिकताको कुरालाई ग्रहण गरेका थिएनन्? बुझ्नु पऱ्यो कि पहिला यस विषयमाथि चर्चा, शोध र चिन्तन गहिरोसँग भएको थिएन, त्यसको धेर स्रोतहरू पनि मौजुदा थिएन। चे ग्वेभाराको ‘गे’हरू माथि नराम्रो मन्तव्य, प्रथम संविधानमा समलैङ्गिकतालाई स्वीकृति दिए पनि पछि सोभियत रसियामा त्यो अधिकार खोस्नु जस्ता कुराहरूलाई आलोचना त गर्नुपर्छ नै, तर बेग्लाबेग्लै ऐतिहासिक यथार्थहरू पनि हेर्नु पर्ने छ। आज ‘नराम्रो’ भनेर चिनिने नर्थ कोरियामा पनि समलैङ्गिकतामाथि अपराधको दर्जा लाग्दैन। ध्यान राख्नु पर्छ कि यस्ता देशहरूमा स्वीकृति नरहे तापनि समलैङ्गिकहरूको अस्तित्व धेरै सङ्ख्यामा देखिन् थियो र त्यस्ताका समाजले यी तत्त्वहरूसँग एडजस्ट गरेरै बसेको थियो। प्राचीन देश र समाजहरूमा पनि समलैङ्गिकता स्वीकृतिसँग रहेको धेरै उदाहरण पाइन्छ।
विज्ञानले समलैङ्गिकता बारे के भन्छ
?
आज कुनै कुराको चर्चा गर्दा त्यसबारे विज्ञानको उपलब्धिहरू ठुलो कुरा मानिन्छ। त्यस कारण अब समलैङ्गिकताबारे विज्ञानको दृष्टिकोणबाट चर्चा गरौँ। लगभग सन 1992 पछि विज्ञान समलैङ्गिकता बारे तीन वटा कुरामा एकमत छ :
(1) समलैङ्गिकता मानिसको यौन अभिव्यक्तिको एक सामान्य भिन्नता हो।
(2) यौन अभिमुख वा सेक्सुअल ओरिएन्टेसन स्वाभाविक जैविक प्रकृति हो र यो इच्छा अनुसार लिने (choice) कुरा होइन, अनि यो पूर्ण रूपमा सामाजिक निर्माण पनि होइन।
(3) यौन व्यवहार वा सेक्सुअल बिहेभियर, यद्यपि, एउटा चोइस हो।
लन्डनको रोयल कलेज अफर साइकियाट्रीले यस विषयमाथि शोध गरेर निर्णय लिएको छ: (Position
Statement PS02/2014 April 2014) “The Royal College of Psychiatrists considers
that sexual orientation is determined by a combination of biological and
postnatal environmental factors. There is no evidence to go beyond this and
impute any kind of choice into the origins of sexual orientation. The College
wishes to clarify that homosexuality is not a psychiatric disorder.” यस बयानमा उनीहरूले उल्लेख गरेका छन् कि सन 1992 देखि WHO-ले मानसिक विकारको सुचीबाट (ICD) समलैङ्गिकतालाई हटाएको छ किनभने उनीहरू अनुसार यो कुनै साइकियाट्रीक डिसअर्डर होइन। जीव-विज्ञान अनुसार यो प्रवृत्ति व्यक्तिको इच्छादेखि स्वतन्त्र रहेर उसको भ्रूण अवस्था देखि नै विकसित हुन्छ। (“However,
homosexual orientation develops in a distinctively independent manner from the
will of the individual, under the influence of biological factors that act
mostly during embryonic life.” Jacques Balthazart, ‘The Biology of
Homosexuality’, Behavioral Neuroendocrinology Series, p-7, Oxford) । धेरैदिनसम्म मानिसको सोचाई थियो कि समलैङ्गिकता एक सामाजिक निर्माण (social construct) हो, तर यो भनाइमा सच्चाइ कम्ती छ। यसको साथ, धार्मिक गुरुहरूले यसलाई पाप, अनाचार, विकृति, गैर-सामाजिक आदि भन्दै आएकोले गर्दा समाजमा यसबारे एक घृणित मनोवृत्ति सिर्जना गरिएको छ। अर्कोतिर यसबारे कुनै सर्वमान्य मार्क्सवादी चिन्तकको वक्तव्य छैन। क्युबाको फिडेल कास्त्रोले भन्नुभएका थिए— “I should tell
you, too, that there were - and still are - very distinguished, outstanding
personalities in culture, literature, very prestigious figures in many areas of
knowledge, who were and are homosexual and who have enjoyed, and still enjoy,
despite the prejudices, a great deal of privilege and respect in this country.
… I’d like to think that discrimination against homosexuals is a problem that
is being overcome, and I do see it that way.” यहाँसम्म कि नर्थ कोरियाको आजको दृष्टिकोण यस्तो छ— “As a country
that embraces science and rationalisation, the DPRK recognises that many
individuals are born with homosexuality as a genetic trait and treats them with
due respect. Homosexuality in the DPRK have never been subject to repression as
in many capitalist regime.”
वामपन्थीहरूको कुरा यस कारण उल्लेख गरे किनभने वामपन्थीहरूले विज्ञान र विज्ञानको शोधबाट आएका कुराहरू माथि आफ्नो विचारलाई विकसित गराउँछन् र यो नै आजसम्म देखिएका सबभन्दा युक्तिसंगत बाटो पनि हो।
अहिलेसम्म समलिङ्गी सम्बन्धबारे जति वैज्ञानिक शोध भएको छ, त्यसको प्राय सबैले नै भन्छ कि समलैङ्गिकता एक स्वाभाविक यौन प्रवृत्ति हो। वैज्ञानिकहरूले समलैङ्गिकतालाई विपरितलैङ्गिकता जस्तै स्वाभाविक प्राकृतिक लैङ्गिकता हो भनेर स्वीकृति दिएका छन्। यो गलत थियो भने वैज्ञानिकहरूले के त्यसै यस्तो निष्कर्षमा पुग्थे? र अरू वैज्ञानिकहरूले पनि किन यसको विरोधमा बोलेनन्?
वैज्ञानिकहरूका शोधले देखाएका छन् कि 1500 भन्दा बढी जीव प्रजातिमध्ये समलैङ्गिकताको अस्तित्व देखिन्छ। यस तालिकामा स्तनधारी प्राणी देखि लिएर चरा, माछा, सरिसृप, उभयचर, किराहरू छन्। मानिसको खण्डमा मस्तिष्कमा हाइपोथेलामास भन्ने एक अंश छ, जहाँबाट यौन प्रवृत्तिहरू नियन्त्रित हुन्छ, समलैङ्गिकताको प्रवृत्ति पनि त्यहाँबाटै आउँछ। सिमन लिभको शरीर सम्बन्धित शोधबाट के पाइन्छ भने यस हाइपोथेलामासको interstitial
nucleus of the anterior hypothalamus, वा सङ्क्षेपमा INAH3 अंश समलिङ्गीहरूको खण्डमा अर्कै आकारको हुन्छ। अर्को इसारा पाइन्छ डिन ह्यामरको हालको शोधबाट। डिन ह्यामरले उसको शोधमा हाम्रो क्रोमोजोमको अंशले (Xq28) समलैङ्गिकतालाई प्रोत्साहित गर्छ भन्ने कुरोलाई साबित गरेका छन्। यस बाहेक पनि धेरैजसो शोधमा विभिन्न मनोवैज्ञानिक स्थितिसँग पिटुईटारी, थाइरोइड, पेरा-थाइरोइड, थाइमास, एड्रिनाल लगायत विभिन्न ग्रन्थिको सम्बन्ध आविष्कृत भएको छ। ‘गे जिन’ भन्ने कुरो अहिलेसम्म आविष्कार नभए पनि हालैको शोधहरू जुन दिशातर्फ जाँदै छन्, त्यसबाट समलैङ्गिकताको जेनेटिक कारण रहने सम्भावना पनि देखिँदै छ।
भारतको
कानुन व्यवस्था
समलैङ्गिकतालाई अवैध ठहऱ्याउने ऐन Indian Penal Code (IPC) थियो जुन चाहिँ 1860-मा ब्रिटिस सरकारद्वारा लागु गरिएको ऐन हो। IPC धारा 377-अन्तर्गत "प्राकृतिक नियमविरुद्धको शारीरिक सम्बन्ध" दण्डनीय हुनेछ। यहाँ यो प्रश्न उठ्छ कि कुनै विषय प्राकृतिक वा अप्राकृतिक हो भनी जाँच्ने शर्त कहाँ अनि कसले तोकेको छ? यो केवल समाजमा गर्हित सोच मात्र हो जुन समय र व्यवस्था अनुसार सुधार अनि विकसित हुँदै जाने कुरा हो। 1860 अघि समलैङ्गिकता यस्तो दण्डनीय विषय थिएन। धेरै प्राचीन ग्रन्थ, कला-कृति, धार्मिक मूर्तिकला इत्यादिमा हामी यसको सामान्य उल्लेख पाउँन सक्छौँ। यस कारण धेरै हदसम्म समलैङ्गिकताको अवैधता ब्रिटिशकालदेखि थोपिएको एउटा सङ्कीर्ण नैतिकता हो। ब्रिटिसले आफै 1967-मा समलैङ्गिकतालाई वैध घोषित गरेको थियो। तर भारतले भने स्वतन्त्र पाए पश्चात् पनि यो कानुनलाई निरन्तरता दिई रह्यो।
LGBTQIA+ समुदायको निरन्तर सङ्घर्षको फलस्वरूप 158 साल पश्चात् आज भारतको सर्वोच्च न्यायालयले समलैङ्गिकतामाथिको दण्ड धारा रद्द गरेको छ। 2009-मा नै दिल्ली उच्च न्यायालयले समलैङ्गिकतालाई कानुनी मान्यता दिएको थियो। दिल्ली उच्च न्यायालयले भनेको थियो कि भारत एउटा बहुस्वर (pluralistic) र inclusive देश बनिनु पर्छ जुन भारतको संविधान अनुसार हुनुपर्ने हो। न्यायालयको यो निर्णय पश्चात् देशभरि नयाँ समाज सृजनाको उत्साहित माहौल छाएको थियो। खास गरी समलैङ्गिक र अन्य वैकल्पिक पहिचान बोक्ने व्यक्तित्वहरूबिच। तर कतिपय रूढिवादी सोच बोकेका सङ्गठन अथवा व्यक्तिहरूले सो परिवर्तन रुचाएनन् र देशको सर्वोच्च न्यालयमा यस निर्णयको विरुद्ध याचिका पेस गरे। फलस्वरूप 2013-मा समलैङ्गिकता फेरि अवैध भनी भारतलाई 150 साल अघाड़ी पुऱ्याइदियो। 2013-को सर्वोच्च न्यायालयको मन्तव्य अनुसार दिल्ली उच्च न्यायालयले IPCको धारा 377-लाई असंवैधानिक ठहऱ्याएको निर्णय एउटा ठुलो गल्ती थियो। यसको कारण यो दिए कि 20 सालमा धारा 377-को अनुचित उपयोग भई 200 जनालाई पनि गलत आरोपमा पकडा परेका छैनन् र यो कारण पर्याप्त छैन कुनै कानुनलाई रद्द गर्न। LGBTQIA+ समुदायको निम्ति यो कालो दिन थियो। फेरि उनीहरूको अस्तित्व समाजमा अवैध भयो। तर उनीहरूले हार मानेनन् र निरन्तर आफ्ना अधिकार र सम्मानको लडाई जारी राखे। फलस्वरूप 2018को 6 सितम्बरको दिन लामो समयसम्म रोकिएको न्याय हासिल गर्न उनीहरू सफल भए। सर्वोच्च न्यायालयले IPC-को धारा 377-लाई रद्द गरी यसलाई संवैधानिक ठहरायो। भनियो कि समलैङ्गिकहरूको पनि संविधानमा समान मौलिक अधिकार छ। सर्वोच्च न्यायालयले भन्यो कि Article 15 अन्तर्गत सम्मानताको अधिकार, Article 15-भेदभावदेखि सुरक्षाको अधिकार, Article 19- खुल्ला अभिव्यक्तिको अधिकार, Article 21-सम्मानको अधिकार र Article 21-गोपनीयताको अधिकारहरू हुन् जो IPC-को धारा 677-ले उल्लङ्घन गरेको छ।
निष्कर्ष :
समलैङ्गिकताको कुरो केवल यौनजीवनबारे हो भन्ने गलत धारणा जो-जसको छ, उनीहरूलाई चाडै नै संसारमा मूर्ख भनेर ठानिनेछ। सेक्सुवालिटि वा लैंगिकता आदि शब्दहरूको उपयोगले गर्दा धेरैले यस विषयलाई केवल सेक्सुअल व्यवहारको कुरा हो भनेर बुझ्छन् र यस विषयमा आवाज उठाउनेहरूलाई केवल सेक्सबारे उत्साही हो भनेर सोच्छन्। जो-जसले बुझेका छैनन् उनीहरूको लागि एकपल्ट फेरि भन्नुपर्ने भयो कि जसरी ‘स्वाभाविक’ मानिएका विपरितलैङ्गिकताको मतलब केवल सेक्सुअल एक्ट होइन, जसरी विपरीत लिङ्गको मानिसहरूका एकअर्काप्रतिको आकर्षण-माया-नजिकता समाजमा स्वीकृत छ, सामाजिक-राजनैतिक-व्ययक्तिक-कानुनी व्यवहारदेखि लिएर गीत-कविता-कथा-फिल्ममा स्वीकृत छ, ठिक त्यसरी नै समलैङ्गिकताको स्वीकृति पनि चाहिन्छ— यस समान अधिकारको लागि नै यो सङ्घर्ष हो।
अब एउटा अर्को कुरा भनेर यस लेख सकी हालौँ। समलैङ्गिकताको अधिकारलाई रुढीवादी समाजले स्वीकृति नदिए पनि यसबारे लामो सङ्घर्षले गर्दा बिस्तारै-बिस्तारै कानुनी अधिकारहरू प्राप्त हुँदैछ। तर सोच्नुपर्ने कुरा के हो भने जब यस पुँजीवादी व्यवस्थाले अन्य धेरै सामाजिक असमानताहरूलाई कानुनी रूपमै बरकरार राखेर व्यवस्थालाई चलाइरहेका छन्, कानुनी प्रावधान एकतिर अनि यथार्थमा वर्गको अनि त्यससित जातपात-राष्ट्रियताको वा नारी-पुरुषको असमानताको कुराहरूलाई संवैधानिक रूपमै जारी राखिरहेको छ, त्यस बेला समलैङ्गिकतालाई स्वीकृति दिइन्छ, किन? सम्भवतः यसको कारण हो, यस स्वीकृतिले पुँजीवादी व्यवस्थाको जगलाई त्यति ठुलो असर पार्दैन। संसारको सम्पदा अनि सामाजिक श्रममाथि निजी स्वामित्व कायम राख्ने पुँजीवादी ढाँचालाई यस कानुनी सुधारले त्यति प्रभावित गर्दैन भनेरै यस मान्यता दिएको हो जस्तो लाग्छ। अब LGBTQIA+ सङ्घर्षमा सामेल भएका धेरैले सोच्छन् कि यस्ता कानुनी अधिकारहरूले नै सम्बन्धित सामाजिक मुक्ति दिनेछ। तर पुँजीवादको ढाँचाभित्र पुँजीवादीहरूले दिएको यस्तो कानुनी अधिकारले स्पष्टसँग देखाउँछ कि यस व्यवस्थाभित्र लैङ्गिकता र यौन व्यवहारको मुक्ति, अनि त्यस कारण मायाको उन्मुक्ति पनि सम्भव छैन। पुँजीको पन्जाबाट यस्ता अनुभूतिहरूको मुक्ति बाहेक सम्पूर्ण उन्मुक्ति अथवा स्वतन्त्रता आउने छैन। त्यसैले LGBTQIA+ समुदायको सम्पूर्ण मुक्ति समाजमा रहेका अरू मुक्तिको सङ्घर्षहरूसँग महत्त्वपूर्ण रूपमा जोडिएको छ।
No comments:
Post a Comment