Sunday, August 5, 2018

'वर्ल्ड कप टाउन' दार्जीलिङ : एक पोस्टमार्टम रिपोर्ट

सुमेन्द्र तामाङ


वर्ल्ड कपको समय थियो। मैले सानो भाइलाई सोधे 'तेरो फेभरेट फुटबलर को हो?' त्यसले उत्तर दियो— 'मेरो जोजो'। भाइ 4-5 वर्ष को हो अनि त्यसको जोजो 9/10 वर्षको। दुवैसँगै गोली खेल्छन्। नेइमार, मेस्सी, मोड्रिज, रोनाल्डोहरूको भीडमा ‘मेरो जोजो’ जस्ता उत्तरहरू कहाँ सुन्नमा पाइन्छ! यो कथाको तात्पर्य आफैँ बुझ्नु होला। दार्जीलिङको वर्ल्ड कप टाउनमा यो प्रश्नको उत्तर सायद नै थिएन। वर्ल्ड कपको भुमरीमा यस्ता स-साना महत्त्वपूर्ण उत्तरहरू कहाँ सुन्न पाइन्छ? 'तेरो फेभरेट फुटबलर/ टिम के के हो?' भन्ने प्रश्न त राशनमा बाँडेको लिफलेटको हेडिङ् जस्तै थियो। दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ चारैतिर झन्डा नै झन्डा। ब्राजिल, जर्मनी, स्पेन, पोर्तुगल, अर्जेन्टिना— वर्ल्ड कपको सुरुवातमा यी स्टार देशहरूकै मार्केट चलिरहेको थियो। तर खेला चाहिँ अर्कै भयो। वर्ल्ड कपको क्वार्टरदेखि फ्यानहरूको झन्डा पनि चेन्ज, देशभक्ति पनि चेन्ज! झन्डा फेर्ने राजनीति त पहाडले उहिलेदेखि गर्दै आइरहेको हो। कलेजका विद्यार्थीहरू अनुहारमा झन्डा बनाएर गीत गाउँदै सडकमा निस्केका थिए। युवाले आफ्ना आफ्ना प्रतिभालाई चौरस्तामा 'सो केस' गरिरहेका थिए। साइकल स्टन्ट, डान्स, रयाप, फुटबल स्कील इत्यादि सबै भइरहेको थियो ‘दार्जीलिङ : वर्ल्ड कप टाउन’को ब्रान्डमा। इन्टरनेटमा पनि यसैको चर्चा।
फुटबल लिएर निक्कै क्रेज थियो पहाडमा। यो क्रेज कुनै नयाँ कुरा पनि होइन, र यो क्रेज केवल यहाँ मात्रै पनि होइन। संसार भरिनै फुटबलको ठुलो क्रेज, यसैले यसको मार्केट पनि छ। चार सालमा एक पल्ट त यो क्रेज चढ्छ नै चढ्छ। साना हुँदा गाउँमा हामी सबै मिलेर एउटै ठाउँमा हेर्थ्यौँ, अहिले पनि यो चलन छ। तर हेर्नु भन्दा ज्यादा चाहिँ खेल्थ्यौँ। मैले फुटबल वर्ल्ड कपको क्याम्पेन पटक्कै गरेको होइन, न त मैले ठाडै यसको एन्टी क्याम्पेन गरेको हुँ। बस केही कुराहरू लाईमलाइटमा ल्याउन प्रयास मात्र गरेको हुँ अर्थात् यसको सामाजिक पोस्टमार्टम गर्न खोजेको हुँ।
विद्यार्थी, युवा, बुडोपाखाको यस्तो ठुलो प्रदर्शनी एउटा महत्त्वपूर्ण कुरा हो। यसबाट धेरै कुराहरू बुझ्न सकिन्छ। जेनेरेसनको एकता महत्त्वपूर्ण कुरो हो अनि वर्ल्ड कपका आयोजकहरूले यसलाई मज्जाले बुझेका छन्। त्यसैले होला ‘वर्ल्ड टाउन’ प्रोजेक्ट हिट भयो पहाडमा। सँगसँगै ‘राइजिङ स्टार’-ले झन् मज्जाले बुट्टा लगाइदियो यस क्याम्पेनलाई। तर, अर्को तर्फ यसो निहालेर हेर्दा कतिपय सङ्कटहरू देखा पर्छ। कति अराजनैतिक समालोचकहरूलाई यो कुराले घोच्ला पनि तर कुरा यस्तै नै छ। पहाडमा राजनैतिक सङ्कट यो होइन कि यहाँ वर्ल्ड कप टाउन भइरहेको छ, यहाँको राजनैतिक दशा यो हो कि यहाँ केवल फुटबल वर्ल्ड कप भइरहेको छ। हरेक चार सालको अन्तरालमा भइरहने वर्ल्ड कपलाई केन्द्रित गरेर मात्र पहाडको शान्ति घोषित गर्नु सकिँदैन। यदि कसैको यस्तो सोच छ भने उसले देख्ने दार्जीलिङ अनि वास्तविक दार्जीलिङमा धेरै फरक छ। यसै फरकपनलाई निहालेर हेर्दा यहाँको राजनीतिक संस्कृतिबारे बुझ्न सकिन्छ।
दार्जीलिङको शिक्षा व्यवस्था
दार्जीलिङ अनि कालेबुङ जिल्लासाथै तराई-डुवर्समा शिक्षा व्यवस्थाको हालत निक्कै नाजुक छ। खास गरी सरकारी स्कुल अनि कलेजहरू केवल 'बेकारी जन्माउने फ्याक्ट्री' मात्र भएको छ। फ्रीमा पाउने सरकारी किताबहरू पनि कतिपय स्कुलहरूमा बिक्री गरिन्छ। भेडा बाख्राको सङ्ख्यामा स्कुल जान्छन् नानीहरू। खादाखाद हुन्छ क्लासरुम। शिक्षक शिक्षिकाहरू धेरै कम। शिक्षाको नाममा ‘टर्चर’ भन्न सकिन्छ। कलेजको त झन् नाम मात्रै। सरकारी कलेजहरूको नाममा केवल बिल्डिङ छ। टिचर छैन, भएकै टिचरहरू कन्ट्रयाक्टको आधारमा मात्रै छन्। कुकुर जस्तै खटाइन्छ। यो त सरकारी कलेजको कुरा हो।
अन्य स्कुल र कलेजको स्टयाल गजब छ। हरेक साल युनिफर्म चेन्ज गर्ने फेसन छ। तर फेल हुने कि त झुन्डेर पास हुनेहरूको सङ्ख्या चैँ बढेको बढेकै। नयाँ टिचर, प्रोफेसरको त कुरा नगरे पनि हुन्छ। बरु भएकै सहुलियतहरू पनि निजीकरणको चढाउमा दिफ्युस भइसकेको छ। जनताकै कारण पनि यसो भएको हो। अवसरवादी नेताहरू पनि यसमा दायी छन्। विद्यालयहरूको सरकारी सुविधाहरू बलजप्ती कटौती गरेर सरकारले शिक्षा व्यवस्थालाई निजी मालिकहरूको हातमा सम्पिदिएको छ। 'निजी कलेजहरूको त चाल नै ठुलो'— भनेको त सुनेका छौँ हामीले। क्यापिटल लुट चलिरहेको छ आधुनिक शिक्षाको नाममा। क्याथोलिक शिक्षा व्यवस्थाले त झन् कतिको जरा गाडेको छ भनेर बुझ्नलाई चाहिँ विद्यार्थीहरूलाई नेपालीमा लेख्न लाउनुपर्छ। को कति पानीमा स्पष्टै हुन्छ। भाषा अतिक्रमणको प्रश्न यहाँ पनि छ। तर अङ्ग्रेजी भाषाको अचिक्रमणमा त पहाडका जनता निक्कै उत्साही पो छन्! वर्ल्ड कपको निम्ति वर्ल्ड कप टाउन तर शिक्षा व्यवस्थाको प्रश्नमा किन चुपचाप? कुरा अलिक नपचेको जस्तो लाग्छ।
स्वास्थ्य व्यवस्था, नारी उत्पीडन्, वर्ण भेदभाव इत्यादि
खरसाङ हस्पिटलमा एउटै बेडमा तीन जनासम्म सुताउँछ। अझै रोगी रुङ्ग्नेहरूको भुइँमा सुताई हुन्छ। सबै सेकेन्डरी हस्पिटलमा यस्तै हालत छ। हस्पिटल त छ डाक्टरहरू कम्ती छन्। कम्ती नै भए पनि डक्टरहरू छन् तर दबाइहरू छैनन्। हस्पिटलमा हुनुपर्ने वुनियादी सामग्रीहरू पनि छैन। यसैले बिमारीहरूलाई नर्थ बेंगल मेडिकल रिफर गरिन्छ। कति रोगी त हस्पिटल नहेरी मर्छन्। पहाडको स्वास्थ्य व्यवस्थाको यस्तो चिन्ताजनक अवस्थाबारे वर्ल्ड कप टाउन एवं अर्वन हुनेखानेलाई कुनै चासो छैन। कारण उनीहरूको लागि त नियोटिया, आनन्दलोक जस्ता भव्य अस्पतालहरू छदैछ। सरकारी हस्पिटललाई कसले ध्यान दिने? स्प्रष्ट छ कुरा जातीय स्वराजको छायाले यसमा विष फ्याँकेको छ। 'गोर्खाल्यान्ड भए अरू त भई हाल्छ’ भन्ने चेतनाको छायामा परेको छ यहाँका मुलभुत समस्याहरू।
खरसाङमा 12 वर्षीय नाबालिकाको बलात्कार भयो केही दिनअघि। विजनबारीमा 16 वर्षीय केटीलाई 4 जना युवकले ग्याङ रेप गऱ्यो। घुममा साढे तीन वर्षको नानीलाई 49 वर्षको पुरुषले बलात्कार गऱ्यो। यो केवल जुलाई महिना भित्रका घटनाहरू हुन्। यस्ता घटनाहरू कम्ती मात्र छापामा आउँछ। तर पहाडको सिभिल सोसाइटी भने चुपचाप छ। कोही अघि आए उल्टो महिलाहरूलाई नै दोष दिन्छन्। के दार्जीलिङको वर्ल्ड कप टाउनलाई यी घटनाहरू नर्मल लाग्छ? के यस्ता अमानवीय घटनाहरू प्रति मौन बस्नु नै सत्ताले सिकाएको ‘शान्ति’ हो त?
यता दलित अत्याचार प्रति मौन बस्छ। तर सामाजिक मानसिकताले नै दलितहरूलाई शोषण गरिरहेको हुन्छ।
समाजले जबसम्म प्रचारवाद अनि राजनीति बिचको अन्तरसम्बन्ध बुझ्दैन तब त्यो समाजको अस्तित्व सङ्कटमा जान्छ। अहिले खतरनाक सङ्कटको भुमरीमा परेको छ वर्ल्ड कप टाउन। समस्या यो होइन कि वर्ल्ड कपको दसैँ भइरहेको छ, तर समस्या त यो हो कि वर्ल्ड कप बाहेक पहाडमा अरू केही भएको छैन भन्ने मानसिकता। चिया मजदुरको मिनिमम वेजको आन्दोलन चरम सीमामा छ, बन्द बगानहरूको अवस्था एकदमै नाजुक छ, गणतन्त्रको नाममा दादागिरी चलिरहेको छ। तर दार्जीलिङको वर्ल्ड कप टाउनलाई कुनै चासो छैन। चिया श्रमिकले गरिरहेका मिनिमम वेजको आन्दोलन त शान्ति भङ्ग गर्ने षड्यन्त्र पो भन्छ। के वर्ल्ड कप टाउनका चिया श्रमिकहरू दिनको 150 रुपियाँ मात्र पाउनु? यसैले वर्ल्ड कपको सामाजिक अर्थ यहाँ ब्राउन सुगर जस्तै भएन त? टिस्टा नदीमा बाँधले गर्दा कतिवटा गाउँ-बस्तीहरू डुब्नु लागेको छ। अझै तीन वटा नयाँ बाँधको परियोजना सरकारको हातमा छ। वनबस्तीहरूमा राज्यले आतङ्क फैलाउँदै रेल लाइन बिछ्याउने ठुलो मिलिटरी प्लान भइरहेको छ। सुरुङ निर्माणको काम भइरहेको छ। पर्यावरण र त्यहाँ फरेस्ट भिलेजका बासिन्दाहरूलाई उच्छेद गर्ने ठुलो राजनीतिक षडयन्त्र भइरहेको छ। तर पहाडको सिभिल सोसाइटी मौन छ। सही पोलिटिकल कल्चर नै छैन दार्जीलिङ अर्थात् वर्ल्ड कप टाउनमा। बाजेले माटो दिएको थियो, हामीले त्यसको मूर्ती पो बनाए छौँ, कस्तो विडम्बना!!
पहाड तराई डुवर्समा हजारौँ सङ्कटहरू छन्। ती सङ्कटहरू ‘पीसफुल’को क्याटेगिरीमा आउँदैनन्। पहाड कहिले पीसफुल थिएन, निर्मल र पवित्र पनि थिएन। अहिले पनि छैन। यो कुरा चाहिँ क्लियर गरौँ। यो शान्ति त 'अदृश्य हात'को काम हो। पहाडका राम्रा राम्रा फुटबल खेलाडीहरूलाई हेर्नु छ भने सिटी सेन्टर, कुवैत, कतार, दुवई कि त दिल्ली, केरेला, बंग्लोरतिर जानु। हाम्रा युवा खेलाडीहरू पलायन भएर सबै बाहिर छन्। यो सङ्कट पनि छ पहाडमा तर दार्जीलिङको वर्ल्ड कप टाउनलाई के को चिन्ता? समाजमा भइरहेको शोषण, उत्पीडनबारे कसैलाई चासो छैन। चर्चा पनि छैन। यसैले दार्जीलिङको शान्ति निर्धारण गर्ने यो राजनीतिक दाउपेचको पोस्टमार्टम गर्नु जरुरी छ। दार्जीलिङ केवल वर्ल्ड कप टाउन होइन, दार्जीलिङ पिँजडाको सुगा पनि हो। तर पिँजडाको मालिक पनि यहाँ सुगाहरू नै छन्। ओरवेललाई कोट गर्दैछु, ‘सबै जानवारहरू एक समान छन्, तर केही जानवारहरू अरू भन्दा अलिक ज्यादा सम्मानका छन्।’

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...