Tuesday, August 7, 2018

चियाबारीमा चिन्ताग्रस्त जीवन

अम्बिका राई



उत्तर बङ्गालको चियाबगानहरूका वर्तमान स्थिति सबैलाई थाहै छ। त्यस्तै मालिक शोषणको चपेटामा परेको छ बाग्राकोट चिया बगान। वर्ष 2014मा यस बगान बन्द भएको थियो। डन्क्न्स-गोइन्काको अन्य 15 वटा बगान झैँ। सुचारु चलिरहेको बगान अचानक बन्द हुँदा चिया श्रमिकहरूको दैनिक जीवनमा ठुलो भूकम्प आयो।


बिहानको 4 बजी अर्थात् भुक भुके उज्यालो धर्तीमा खस्न नपाई घर धन्दा सम्हाल्नु पर्छ। परिवारका अन्य सदस्यहरू घोर निन्द्रामै हुन्छन् तर गृहिणीले नै चुह्लाचौका नहेरे बिहानको सुरुवात हुँदैन। परिवारका निम्ति बिहानको खाजा, विद्यार्थी नानीहरूका निम्ति स्कुल टिफिन, भाडा-बर्तन-घर सरसफाइ गरेर सात- साढे सात भित्रमा मेलोमा पुग्नुपर्छ। मधेसको अचकल्टा गर्मीमा दिनभरि चिया बोट बिच उभिएर पत्ति टिप्नुपर्छ। दिनभरिको कठिन परिश्रमले थकित शरीर लिएर घर पस्नुपर्छ। साझा घर पस्नसाथ भान्सा तयार गर्नु, घर सरसफाइ, परिवारको देखभाल। एकै छिन शरीर टेकाउने फुर्सद पनि कहाँ हामीसँग! यसरी नै बित्छ हाम्रो दैनिक जीवन’— यो जैविक पीडा डुवर्सको बाग्राकोट चियाबगानका एक चिया श्रमिक महिलाले सुनाएकी हुन्। यसरी नै घरधन्दा बगानको काम गरेरै बित्छ श्रमजीवी महिलाहरूको दैनिक जीवन।
उत्तर बङ्गालको चियाबगानहरूका वर्तमान स्थिति सबैलाई थाहै छ। त्यस्तै मालिक शोषणको चपेटामा परेको बाग्राकोट चिया बगान। वर्ष 2014 मा यस बगान बन्द भएको थियो। डन्क्न्स-गोइन्काको अन्य 15 वटा बगान झैँ। सुचारु चलिरहेको बगान अचानक बन्द हुँदा चिया श्रमिकहरूको दैनिक जीवनमा ठुलो भूकम्प आयो। बगानका अधिकांश चिया श्रमिकहरूलाई त्यस समय घरपरिवार थाम्नु निक्कै समस्या भयो। जसको कारण बगानका केही श्रमिकहरू कामको खोजीमा पलायन भएर दिल्ली, मुम्बई, केरलासम्म पुगे। कामको खोजीमा पलायन भएका कतिपय श्रमिकहरू आजसम्म पनि घर फर्केका छैनन्।
वर्ष 2016 को मार्च महिनादेखि बगान चल्ने छाटकाट देखियो तर बगानको व्यवस्थापनमा पहिले जस्तो सक्रियता देखिएन। अहिले पनि नामको लागि मात्र बगान चालु छ। चिया श्रमिकहरू दैनिक बगानमा खटिरहेका छन् तर बेतन समयमा पाउँदैनन्। कानुनी रूपमा चिया श्रमिकहरूले कम्पनीबाट पाउनु पर्ने सहुलियतहरू पनि अहिले बन्द भइसकेको छ।
वर्ष 2015 मा राशनको माग गर्दै बगानका मजदुरहरूले राजमार्गमा धरना दिएका थिए। राजमार्ग अवरोध गरेको आरोपमा पुलिसले 11 जना मजदुरहरू विरुद्ध मुद्दा दर्ता गऱ्यो। यो देशमा राशनको माग गर्दा पनि अपराधी हुन्छ! पुलिसले अपराधी ठानिएका मजदुरहरूमा 3 जना महिला श्रमिकहरू छन्। राशनको माग गर्दै सडकमा निस्केका यी मदजुरहरू अहिले न्यायालय धाउँदै छन्। यता मालिकहरूले मजदुरहरूको रगत पसिना चुस्न छाड्दैनन्, उता सरकारले पुलिस चौकी न्यायलहरूमा मजदुरहरूलाई सजाय दिन छोड्दैन। दिनरात शोषणको मर्कामा परेका मजदुरहरूले आफ्ना अधिकारको आवाज उठाउनु पनि यो देशमा ठुलो अपराध मानिन्छ। तर सत्ताले जत्ति नै जेल खाना पुलिस चौकीहरू तयार गरून्, मजदुर सङ्घर्ष रोकिने छैन।
हेर्दा बगान चालु देखिए तापनि बगानको कामले घर चलाउनु सकिन्न। त्यसैले प्रत्येक घरबाट कोही कोही दिल्ली, मुम्बई, बङ्गलोरतिर कामको खोजीमा पलायन भएर जान्छन् अथवा गइरहेका छन्। यस्ता बगानहरूबाट धेर सङ्ख्यामा पुरुषहरू पलायन भइरहेका छन्। यसैले पुरुष सदस्य नभएका बगानका महिलाहरू दोहोरो मर्कामा परिरहेका छन्। कारण उनीहरूले घरधन्दा साथै बगानको बोझ पनि आफ्नो काँधमा लिनु परिरहेका छन्। 
उत्तर बङ्गालका प्राय जस्तो बगानहरूमा क्रेसको सुविधा बन्द भएको धेरै वर्ष भइसकेको छ। यस्तै स्थिति बाग्राकोट बगानमा पनि छ। नानीहरूलाई क्रेसमा राखेर महिलाहरू बगानको काम गर्थे। क्रेसमा नानीहरूलाई दूध, बिस्कुट आदि दिइन्थ्यो।  बिघामा कार्यरत महिलाहरूका नानीहरूलाई पनि क्रेसमा राख्ने सुविधा थियो। तर अहिले क्रेश बन्द भएको कारण महिलाहरूलाई बगानको काम गर्नमा धेरै समस्या भइरहेको छ।
अन्य बगानहरू झैँ डुवर्सको बाग्राकोट चिया बगानमा पनि मजदुरहरू विविध समस्याकासाथ जुझीरहेका छन्। चिया श्रमिकहरू बसोबास गर्ने क्षेत्रमा पिउने पानीको व्यवस्थापन नहुनु, बाटोघाटोको समस्या, अस्पताल आदि नहुनु जस्तो घटनाले स्पष्टै बुझ्न सकिन्छ कि यो आधुनिक भारतमा मजदुरहरूको जीवनको मोल कति ?
चिया श्रमिकहरूका निम्ति प्रमुख आर्थिक स्रोत नै चिया बगान हो। बगानका श्रमिकहरूसँग आय आर्जन गर्ने अन्य माध्यम छैन। तर वर्तमान सरकार मालिक पक्षले चिया श्रमिकलाई अझ दबाएर राख्न मजदुरहरूमाथि अझ अमानवीय शोषण गर्न देशको कानुन व्यवस्थासमेतमा फेरबदल गर्दैछ। सस्तो ज्यालामा मजदुरहरूलाई शोषण गर्न सरकार-मालिकहरूले मजदुरहरूको कानुनी अधिकारमाथि तीव्र रूपले हस्तक्षेप गर्दै आइरहेको छ। यसै हस्तक्षेपको कारण चिया श्रमिकहरूले चिन्ताग्रस्त जीवन बाँच्न परिरहेका छन्। यस्ता शोषणदेखि मुक्त जीवन बाँच्न श्रमिकहरूले सङ्घर्षको बाटो पनि खोजिरहेका छन्। यसैले श्रमिकहरूको सङ्घर्ष पनि जारी छ।

No comments:

Post a Comment