Wednesday, August 15, 2018

स्वतन्त्रताको परिभाषा र उपलब्धि

“हामी सेतो शोषकहरूको स्थानमा कालो शोषकहरू ल्याएर कष्ट उठाउन चाहँदैनौँ”
–– भगत सिंह

स्पष्ट छ, सहिद भगत सिंहलाई स्वाधीनता आन्दोलनमा जुन कुराको डर थियो अन्तमा त्यही भयो। 15 अगस्ट 1947-को दिन अङ्ग्रेज शोषकहरूको सिंहासन भारतीय शोषकहरूले लिए। करोडौं मानिसझैं युवा क्रान्तिकारी भगत सिंहले देश स्वतन्त्र मात्र होइन मान्छेद्वारा मान्छेमाथि गरिने शोषणबाट पनि मुक्ति चाहेका थिए। तर स्वतन्त्रता सङ्ग्रामको लगाम औसरवादी नेतृत्वहरूको हातमा थियो। त्यसै कारण 15 अगस्टको दिन देशको मालिक मात्र फेरियो तर देशवासीमाथि भइरहने मालिकी शोषणबाट भारत स्वतन्त्र हुन सकेन। 

स्वतन्त्रताको वर्षगाँठहरू देशमा धूमधामसँग पालन त गरिन्छ। तर देशवासी भने दिनदिनै शोषणको दलदलमा भासिँदै गइरहेका छन्। देश स्वतन्त्र भएको 71औँ वर्षपछि आम-मान्छेले बुझ्दै छन् कि भारतमा देशवासी कतिसम्म स्वतन्त्रता जीवन बाँच्न पाइरहेका छन्। 

स्वतन्त्र भारतमा देशवासी विभिन्न रूपले ‘राज्य हत्या’-को सिकार बनिरहेका छन्। गत मई महिनामा दक्षिण भारतको तमिलनाडु राज्यको टुटीकोरिनमा पुलिस प्रशासनले 12 जना प्रदर्शनकारीहरूको हत्या गरे। पर्यावरण सुरक्षाका निम्ति टुटीकर्नीमा निर्माण हुनगइरहेको कप्पर प्लान्टको विरोध गर्दै हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्केका थिए। तर तामिलनाडू पुलिसले स्नाइपर खटाएर 12 जना प्रदर्शनकारीहरूको गोली ठोकेर हत्या गरे। यो यस्तो हत्या थियो जुन ब्रिटिस भारतमा अङ्ग्रेजहरूको आदेश पालन नगर्दा भारतीयहरूलाई गोली ठोकिन्थ्यो। तर स्वतन्त्र भारतमा ब्रिटिस पुँजीपतिकै पक्ष लिँदै कालो शोषकहरू(भारतीय)-ले यसरी प्रदर्शनकारीहरूको हत्या गरिरहेका छन्। आम जनताले विरोधको आवाज उठाउन समेत नपाउने देशमै स्वतन्त्रताको ढोल पिटेर उत्सव मनाइरहेको छ। 

वर्ष 2017-मा दार्जीलिङ पहाडमा भएको गोर्खाल्यान्ड आन्दोलनमा पनि साधारण जनताको हत्या गर्नुमा यो देशको सत्ताको ठुलो भूमिका छ। आफ्ना वर्चस्व कायम राख्न केन्द्र अनि राज्य सरकारले एकार्कालाई दोष्याए पनि गोर्खाल्यान्ड समर्थकहरूको हत्या गरिनुमा दुवै सरकारको महत्त्वपूर्ण भूमिका छ। जनताले आत्मनिर्णयको अधिकारको आवाज उठाउनु नपाउने देशलाई कसरी स्वतन्त्र देश भन्ने? आज पनि दार्जीलिङको खुल्ला सडकमा पुलिसले ‘स्नाइपर’ डुलाएर जनतामा तनाऊको माहौल उत्पन्न गराइरहेको छ। त के यही हो स्वतन्त्र देश? ब्रिटिस भारतमा जुन प्रकारले क्रूर ब्रिटिस अधिकारी जनरल डायरले आन्दोलनकारीहरूमाथि गोली बर्साएको थियो। सोही घटना देशको विभिन्न राज्यहरूमा बारम्बार भइरहेको छ। यसको ज्वलन्त उदाहरण हो काश्मीर, गोर्खाल्यान्ड र अझै राष्ट्रियताको सङ्घर्षहरू। जहाँ प्रत्येक चोटिको आन्दोलनलाई सत्ताले गोली ठोकेर दबाउने प्रयास गर्छ। 

स्वतन्त्र भारतमा मार्गरेटस् होपको गोलीकाण्डदेखि शुरु गरेर यस्ता अनगन्ती घटनाहरू चलिरहकै छ। आन्ध्रप्रदेशको चित्तुर जिल्लामा शेषाचलम जङ्गलमा दाउरा काटेको आरोपमा पुलिसले 20 जनालाई गोली ठोकेर माऱ्यो। भांगोरको किसान सङ्घर्षमा विगत एक वर्षमा तीनजनाले ज्यान गुमायो। उत्तरप्रदेशको मुस्ताफावाद गाउँमा गौ-रक्षक हिन्दुवाहीनीले तीन जना पुलिस अधिकारीको उपस्थितिमा कासिम नामक व्यक्तिलाई कुटेर मरनसन्या अवस्थामा पुऱ्यायो। आजको स्वतन्त्र भारतमा गौ-रक्षकहरूले कयौँको हत्या गरिसके/गरिरहेका छन्, कसैलाई चासो छैन। धर्मको नाममा, जाती र जातपातको नाममा, लैङ्गिक वर्चस्वको नाममा यस्ता कति हो कति घटना दिनहुँ भइरहेको छ।

स्वतन्त्र भारतमा मजदुर र किसानहरू दिनप्रतिदिन आर्थिक शोषणको सिकार भइरहेका छन्। यस देशको सरकारले प्रति वर्ष मजदुरको अधिकारहरू खोस्दै आइरहेका छन्। लाखौँ किसानहरूले आत्महत्या गरिसके। दार्जीलिङ पहाडमै चिया श्रमिकहरू आर्थिक शोषणको शिखरमा छन्। वनवासीहरूलाई बन अधिकार कानुनदेखि वञ्चित राख्न विभिन्न प्रकारका प्रशासनिक जालझेल गरिँदै छ।  अर्कोतिर भने विजय माल्या, अदानी, अम्बानी, निरब मोदीहरू जनताको खुन पसिना चुसेर आरामको जिन्दगी बिताइरहेका छन्। सरकारले केवल यी पुँजीपति दलालहरूलाई पुस्याउने काम गरिरहेको छ। देशकै करोडौँ शिक्षित युवाहरूले बेरोजगारी समस्यादेखि मुक्ति पाउन सकेका छैन। नानीहरूलाई शिक्षाको अधिकार सठीकरूपमा छैन, आमजनतालाई गास-वास-कपासको ग्यारेन्टी छैन। तर सम्पूर्ण देशवासीको आकाङ्क्षा सपनालाई बन्दक बनाएर प्रत्येक वर्ष देशको नौटङ्की सरकारले शानसित स्वतन्त्रता दिवस पालन गरिरहेको छ। यसैले जबसम्म पुँजीपति दलाल सत्तादेखि देशवासी स्वतन्त्र हुँदैनन् तबसम्म देश स्वतन्त्रताको अर्थले कुनै महत्त्व राख्दैन। 

भगत सिंहले भनेका थिए – ‘जनताको लागि, जनताको राजनीतिक शक्ति हासिल गर्नु नै क्रान्तिको मूल आशय हो’। यसै कारण भगत सिंहले आर्थिक शोषणबाट मुक्त हुनलाई जनताकै राजनीतिक शक्ति कायम हुनुपर्ने कुरामा जोड दिँदै स्वाधीन आन्दोलनमा आफूलाई होमिएका थिए।

मालिक फेरिँदैमा शोषणको अन्त हुँदैन। व्यवस्थालाई फेरिने अभिभारा आज  देशको आमजनताको काँधमा छ। शोषण मुक्त देश नै स्वतन्त्र देश हो। त्यस्तो स्वतन्त्रताको निम्ति एकवद्ध हुनु नै ब्रिटिसलाई हटाउने 'स्वतन्त्रता दिवस'को शपथ हुनुसक्छ। 

No comments:

Post a Comment