स्वास्थ्य
हाम्रो जीवनको महत्वपूर्ण अङ्ग हो। त्यसैले नै हामी हाम्रो जीवन बचाउनको निम्ति जेपनि
गर्न पुग्छौं। कुशल जीवन निर्वाहको निम्ति चाहिने आवश्यक वस्तु हो स्वास्थ्य। तब के
आजको प्रसङ्गमा स्वास्थ्य क्षेत्रको अवस्था यस्तो छ? असमानताको
खाडलभित्र रहेको यो व्यवस्था र समाजमा आमजनताहरूको स्वास्थ्य कस्तो होला,
यो प्रश्नहरू तपाइहरूको मानसपटल पनि होला मेरो मानसपटलमा पनि सधैँ चलीरहेको
हो। आज पनि मानिसहरू न्यूनतम चिकित्सा नपाएर मरिरहेकाछन्। अहिले पनि मानिसहरू जोरो,
डिसेन्ट्री, टीबी जस्ता रोगहरूले मरिरहेका छन्।
देशको
स्वास्थ्यसेवा : क्रमिकरूपले विकासको बाटो
भारत
स्वाधीन हुन अघि भारतको जनताको स्वास्थ्य यस्तो व्यक्तिहरूको हातमा थियो जसलाई पेशागत
रूपमा डाक्टर त भनिन्थ्यो तर उनीहरू विस्तृत परिवारको सदस्य जस्तै थिए। जनतालाई उनीहरूमा
पूरा विश्वास थियो, उनीहरूले धोका दिन सक्छ भनेर तिनीहरू सोच्न पनि सक्दैन थिए।
केही घम्भिर भए तिनीहरू सरकारी अस्पतालमा जान्थे। ठूल-ठुला
निजी अस्पतालहरू त्यतिखेर थोरै नै थियो, त्यो पनि सहरहरूमा
मात्रै। भन्न पर्दा त्यतिखेर राज्य अथवा प्रशासनले राम्रो मात्रामा स्वास्थ्य सेवा
हेरचार गर्दथ्यो। हामी देशमा यस्तो दुईवटा जनस्वास्थ्य कार्यक्रमको साक्षी बनेका छौ,
एक स्मल पोक्स हटाउने कार्यक्रम अनि अर्को मलेरिया नियन्त्रण कार्यक्रम।
तृणमूल स्तर साथसाथै जनस्वास्थ्य सेवामा पनि जनताले राम्रो स्वास्थ्य सेवा निःशुल्क
पाउदथ्यो। त्यसबेला गाह्रो बिमारीहरूको जाँच नहुनथ्यो होला,
अनि बाइपास सर्जरी अथवा मिर्गौला फेर्ने सर्जरी गर्न सम्भव थिएन होला तर मानिसहरूले
झाडा-पखाला, मलेरिया अनि क्षयरोग जस्ता विमारीहरूको न्यूनतम स्तरको चिकित्सा
पाउँथे।
सन १९४७
पछि : आश्वासनको
सुरुवात
हाम्रो
देशमा स्वतन्त्रता पश्चात् 'भोर कमिटी'को सिफारिसबाट १९४६ देखि भारतले स्वास्थ्य सेवाको नेटवर्क वृहतररूपले
फैलायो, र विश्वमा ठुलो स्वास्थ्य सेवाको नेटवर्क बनाउन सफल बन्यो। त्यससमय
तल्लो दर्जाको धेरै मानिसहरूले पनि स्वास्थ्य सेवाको लाभ उठाउन पाएको थियो।
विज्ञानको अग्रगतिको बाटोमा प्रौद्योगिकीको विकासले स्वास्थ्य सेवाको महत्वपूर्ण
अङ्ग चिकित्सा क्षेत्रलाई आधुनिक उपकरणहरू प्रदान गयो। त्यसपछि आयो मेडिकल र सर्जिकल
क्षेत्र अनि प्रतिविम्ब विज्ञानमा नयाँ आविष्कार र प्रौद्योगिक अग्रगति। योसँग नयाँ
फार्माकोलजिकल अणुहरूका आविष्कारले सम्पूर्ण चिकित्सा प्रणालीको रूपरेखालाई नयाँ दिशा
दियो। यसले गर्दा नै पहिला निको नहुने रोगहरू आज सजिलै सँग निको भएको सुनिन्छ। मानिसहरू
अहिले आफ्नो जीवनको निम्ति, खुसीको निम्ति जसो तसो यी चिकित्साहरू आर्जन गर्न खोच्छन्। यी
नयाँ तकनिकीले धेरै मानिसहरूलाई पीडाबाट मुक्ति दिलाउन सफल भए पनि बिस्तारै निजी कम्पनीहरूले
यी वैज्ञानिक विकासको लाभ उठाई, निजी हस्पतालहरू खोल्न सुरु गरेर स्वास्थ्य क्षेत्रलाई व्यापारमा
परिणत गरी दिए।
सरकारले जिम्मेवारीबाट हात
झिक्नथाल्यो
जब राज्य अथवा प्रशासनले जनताप्रतिको
स्वास्थ्य सेवाको जिम्मेवारीबाट हात झिक्न थाल्यो तब क्रमिकरूपमा निजी अस्पतालहरू राष्ट्रिय
स्वास्थ्य सेवाको रूपमा खडा भए!
यद्धपि चिकित्सा, स्वास्थ्य देखरेखको एउटा अङ्ग
भए पनि हामी
‘स्वास्थ्य सेवा’ अनि ‘चिकित्सा’ नमिसाँउ, यसलाई अलग-अलग अनि सही ढङ्गमा चर्चा
गर्न जरुरी छ। स्वास्थ्य सेवा बृहत् रूपमा रोगीहरूलाई होइन बरु बिमारीमुक्त मान्छेहरूलाई
दिइन्छ, जबकि चिकित्सा रोगीहरूलाई
दिइन्छ, जसलाई डाक्टरी देखरेख चाहिन्छ।
निःशुल्क चिकित्साको
आधुनिक धारणा प्राचीन भारतमा धरी थियो। राज्य परिचालित अस्पताल अनि पशु अस्पतालहरू
अशोकको साम्राज्यमा पनि रहेको हामी निशान पाउन सक्छौ। यस्तो अस्पतालहरू मध्ययुगमा पनि
थिए। आधुनिक समयमा,
केवल राज्यले
होइन, यस्तो समुदायहरूको उदाहरण
पनि छ जसले अस्पतालहरू बनाउने जिम्मेवारी लिई स्वास्थ्य सेवा निःशुल्क वितरण गर्दथ्यो।
तर विश्वभरि कहीँ पनि स्वास्थ्य सेवा एवं चिकित्सा व्यापक रूपमा निःशुल्क प्रदान गर्ने
धारणा, यहाँ सम्म कि सोचाई समेत थिएन।
समाजवादी सोवियत ब्लक विश्वमा पहिलो थियो जसले स्वास्थ्य सेवा अनि चिकित्साको समान
अनि व्यापक वितरणको धारणालाई कार्यमा परिणत गयो। वास्तवमा त्यो यस्तो बेला थियो जब
एउटा देशको स्वास्थ्य सेवा चरमबिन्दुमा पुगेको थियो। स्वतन्त्रता पश्चात् उपनिवेशिक
देशहरूले
“कल्याणकारी
राज्य”-को अवधारणा मान्न थाल्यो जसमा
भारत पनि पछि हटेन। यो अवधारणा अनुसार देशभरि स्वास्थ्य सेवाको प्रसारण हुनेछ र जसको
हृदयबिन्दु रहनेछ प्राथमिक चिकित्सा केन्द्र।
तर भारतको शासकवर्गले
उपादानको कमी र जनता विरोधी राजनैतिक चिन्ताधारा बोक्दा बोक्दै पनि जनताको कल्याण गर्ने
नाटक गर्दै जनताको लागि निःशुल्क चिकित्सा व्यवस्था प्रदान गर्ने बाचा दिए। तर दैनन्दिन
बढ्दो माँगले गर्दा यस्तो व्यवस्था मिलाउन सरकारलाई हम्मे पर्न गयो।
नयाँ
दृष्टिकोण : पुरानै क्रम
१९७८
मा अलमा आटामा भएको अन्तराष्ट्रिय सम्मेलनमा उपस्थित १३४ वटा देशका प्रतिनिधिहरूले
स्वास्थ्यलाई लिएर थुप्रै क्रान्तिकारी प्रस्तावहरू राखे र सम्मेलनले विकसित र अविकसित
देशहरू मध्ये स्वास्थ्यमा रहेका असमानतालाई राजनैतिक, सामाजिक
वा अर्थनैतिकरूपले ग्रहण गर्न सकिँदैन भन्ने घोषणा जारी गरे। त्यस अन्तराष्ट्रिय सम्मेलनबाट
नै स्वास्थ्य सेवालाई प्राइमरी, सेकेन्डरी र टर्सियरी भागहरूमा विभाग गरियो। र घोषणा गरियो कि
सबै देशले आफ्नो स्वास्थ्य सेवामा प्राथमिक स्वास्थ्य सेवालाई प्राथमिकता दिने भनेर।
उक्त सम्मेलनले चिकित्सा सेवा भन्दा स्वास्थ्य सेवामा बेसी जोड दिएको थियो। एलोपेथिक
बाहेक अरू चिकित्सा पद्धतिको उपयोग गर्ने कुरा पनि आयो। समग्रतामा यी सुझावहरुका लक्ष्य
थियो चिकित्सा सेवामा लागत घटाउनु। स्वास्थ्य सेवालाई प्राथमिकता दिने कुरा अवश्य एउटा
गिमिक झैँ थियो। मानिसहरूले स्वास्थ्य सम्बन्धी कतिपय कुराहरू आफै सम्हाल्न सकेतापनि
उपचारको खर्च र औषधी मुलो किन्ने खर्च साधारण मानिसहरूलाई गाह्रो पर्न गयो। यस्तो अवस्थामा
निजी व्यापार गर्नेहरूले हाम्रो जनतालाई स्वास्थ्य सेवा दिने जिम्मेवारी लिए। फेरी
सँगसँगै कतिपय स्वार्थी मानिसहरूले सरकारी हस्पतालहरूको अकर्मण्यता बढाइ चढाई बक्न
थाले। आज यी विकसित चिकित्सा पद्धतिहरू ठुला ठुला निजी हस्पतालमा नै सीमित छन्,
आम मानिसहरूले सजिलै सँग यस्ता सुविधा भोग गर्न पाउदैनन्। त्यसो भने विकास र
यस्तो आधुनिकता कसको निम्ति? यस्तो विकास र आधुनिकताबाट फाइदा ठुला-बडाहरूलाई
मात्र हुनेगर्छ। आमजनताहरू भने यस्ता सुख-सुविधाहरूबाट
वन्चित छन्।
स्वास्थ्य
सेवा र चिकित्सा सेवा
खासमा जसलाई तिनीहरू 'स्वास्थ्य सेवा' भन्दै थिए ती वास्तवमा केवल चिकित्सा सेवा
मात्र थिए, जो 'स्टार होटल' जस्तो देखिने चमकदार भवनमा आधुनिक उपकरणहरूले भरिएको संग्राहलयमा पाइन्थ्यो। अचानक
स्वास्थ्य सेवा वा चिकिस्ता सेवालाई 'उद्योग' भन्न थालियो, जनताको सेवा 'उपभोग्य वस्तु'मा परिणत भयो र कल्याणकारी राज्यको जनता भए 'उपभोक्ता'।
आजको
स्थिति
यसैगरी स्वतन्त्रताको ६ दशक वादमा पनि आज रोगीहरू न्यूनतम चिकित्सा
नपाएर तड्पिन्छन् र तड्पीरहेका छन्। हाम्रो देशमा बहुसङ्ख्यक मानिसले सरकारी सुविधा
नपाएर गैरसरकारी चिकित्सा व्यवस्था अपनाउन बाध्य हुनपुग्छन। सरकारी बजेटको ठुलो अंश
अस्त्रशस्त्र र जनताको शोषण अनि जनतालाई मार्ने साधनहरूमा खर्चे पश्चात्, थोरै रहेको बजेटलाई मानिस् बचाउने स्वास्थ्य
र अरू क्षेत्रमा खर्च गरिन्छ। यसबाहेक त्यो रुपियाँको पनि एउटा ठुलो अंश भ्रष्टाचार
र व्यवस्थापनको लापरवाहीमा नष्ट हुन्छ। फलस्वरुप प्राथमिक स्वास्थ्य केन्द्रहरू वा
धेरै सदर अस्पतालहरू भएपनि नभए जस्तै हुन्छन्। जुन ठुल्ठुला सरकारी अस्पतालहरू अहिले
चल्दैछन, त्यहापनि केही दवाई बाहेक अन्य महँगो दवाई, परीक्षा, अपरेशनको सरसामानहरू सबै मानिसले नै आफ्नो
गोजी टकटक्याएर किन्नुपर्छ। जसले जीवनमा एकचोटि पनि सरकारी चिकित्सा व्यवस्थाको उपभोग
गरेकाछन, उनले अनुभव गरेकाछन, डक्टर-नर्स वा अरू स्वास्थ्य कार्यकर्ताको दुर्व्यवहार, उनीहरू बिरामी काखमा लिएर अस्पतालको एक कुना
देखि अर्को कुना सम्म कुदेका छन् परीक्षा गराउनलाई, मामुली एउटा स्ट्रेचर जुटाउने वर्डबयलाई
घुष दिएका छन्, दलालहरुको चक्करमा फसेर जसको समस्त धन लुटिएको छ, मुसा-बिरालोसँग भुँइमा ठाउँ जुटाउनु पर्यो जसलाई, उनलाई के थाहा छ भने विश्वमैं सबैभन्दा बृहत्
स्वास्थ्य नेटवर्क बनाउन सफल भएको थियो हाम्रो देश!
स्वास्थ्यमा निजी व्यापार
दार्जिलिङबाट सिलगढी झरिसकेपछि हामी त्यहाँ लटरम्मै खुलेका नर्सिंग
होमहरू देख्छौँ। टलक्कै टल्किने भित्ता भित्र बहुतल्ले अस्पतालहरू देखि लिएर गाउँ-जिल्लासहरूमा च्याउ जस्तै बनेको निजी नर्सिंगहोमहरूको
स्तिथि त अझै भयानक छ। सरकारी स्वास्थ्य सेवा ठिक नभएका कारणले आम मानिसहरू पनि यी
नर्सिंग होम जान बाध्य बनिरहेका छन्। यी हस्पतालहरूले मनपरी पैसा लिन्छन् र मानिसहरू
आफ्नो ज्यानका निम्ति यस्ता हस्पतालहरूमा जीवनमा कमाएको धन दिन बाध्य बन्छन्। नाफाको
निम्ति मात्रै चलेको यी गैरसरकारी संस्थानहरू स्वास्थ्य सेवाको निम्ति खतरनाक हुन्छ— त के यो स्वाभाविक होइन र? यी निजी अस्पतालहरू मध्ये अनेकौले मानवसेवाको
नाममा सरकार देखि सस्तो दरमा जमिन र अन्यान्य सहुलियतहरू प्राप्त गर्दछन। तर वास्तवमा
यसले जुन मानवहरूका सेवा गर्छन्, त्यो हो यी निजी अस्पतालका मालिकहरु। बिरामी भएको मानिसहरूका असहायताको फाइदा
उठाएर दवाई, परीक्षा वा चिकित्साको नाममा अस्वाभाविक रकम लिएर असंख्य मानिसलाई कंगाल बनाउदा
उनीहरूलाई केही जस्तो लाग्दैन। तर यी खतरा केवल आर्थिकरुपमा मात्र सीमित छैन, स्वास्थ्यको हिसाबले पनि त्यतिनै खतरनाक
हो। रोगीहरु बाट अझ धेरै पैसा उद्धार गर्नलाई अनावश्यक दवाई किन्न अनि जाँच गर्न लगाउछन्, यसको खतरनाक असर रोगीको स्वास्थ्य वा जीवनको
निम्ति खतरनाक हुनसक्छ। अनि रोगिलाई मात्र होइन, एन्टीवायोटिक दवाईको प्रयोगले भयानक जीवाणुहरू
फैलिन्दैछ, जसले गर्द भविष्यमा अरू दवाईहरुले काम गर्नेछैन। अन्त्यमा जम्मै समाजको स्वास्थ्य
व्यवस्था माथि नै खतरा आउनेछ। नाफामुखी यी व्यवस्था स्वास्थ्यको क्षेत्रमा खतरनाक हो
भन्ने कुरा संसारको धेरै देशहरूले (जसमध्ये इंग्ल्यान्ड, कनाडा) पनि स्विकारेका छन्, अनि यी देशहरूले स्वास्थ्य व्यवस्था सरकारी
नियन्त्रणमा नै चलाउने गर्छन्।
यती मात्र होइन, प्राइभेट मेडिकल विश्वविध्यालयहरू पनि खोलिएको
छ, जहाँ विध्यार्थीहरू मेरिटमा होइन पैसामा भर्ना गरिन्छ। एकतर्फ सरकारले आफ्नो जिम्मेदारीबाट
खुट्टा झिक्ने प्रयास गरिरहेको छ भने अर्को तर्फ यी निजी हस्पतालहरू देशको स्वास्थ्य
सेवाको पौरख हुने भान गर्दैछन्।
अझ थप स्वास्थ्य टुरिजमको नाममा ठूलाठूला मालिकहरूले थुप्रै
दोकानहरू खोलेर बसेका छन्। हर साल भारतमा १५ हजार विदेशीहरूले चिकित्सा गराउछन् र यसको
मात्रा प्रत्येक वर्ष १४ प्रतिशत बढ्दैछ। कुनै एक विदेशीलाई, मानिलिनुहोस् एउटा अमेरिकीलाई, उसको देशमा बाईपास सर्जरी गराउन ७५ लाख लाग्छ, तर उसले त्यही सर्जरी भारतमा ७५ लाखमा गराउछ।
र यी विशेषज्ञहरूलाई यिनीहरूले हाम्रो देशका जनसाधारणको पैसाबाट पाएका हुन्। यस्तो
असोचनिय स्वास्थ्य सेवाको अवस्था मूल भुक्तभोगी आजको गाउँ बस्तीका मानिसहरू बनेकाछन्।
एउटा सानो एपेन्डिक्सको अपरेशन गर्न आजको बजारमा ४० देखि ४५ हजार रुपियाँ सम्म लाग्छ।
चिकित्सा पद्धतिको विकासको एउटा न्यूनतम हिस्सापनि जनसाधारणले पाएका छैन भन्न मिल्छ।
आजको समयमा पनि मानिसहरूले एपेन्डिक्सको अप्रेसन गरेर मृत्यु भएको सुनिन्छ। तर यही
त हो, हामी बेसरकारी निजी हस्पतालहरू बाट अरू के पनि आशा गर्न सक्छौँ, तिनीहरूको मूलमन्त्र पैसा हो, मानिसको ज्यान होइन।
अनि औषधी कम्पनीहरू
स्वास्थ्य व्यवस्थाको दुर्दशा सँग जोडिएको छ देशी-विदेशी दवाई कम्पनीहरू। संसारभरिनै खतरनाक
प्रमाणित भएर निषेध गरिएको एकाधिक दवाई भारतमा प्रशासन सित गुप्त साठगाँठ द्वारा मज्जाले
चल्दैछ। प्रत्येक साल अन्तर्राष्ट्रिय नियमकानुनहरुको वास्ता नगरी, कुनै प्रकारको उचित परीक्षा बिना यो देशमा
असंख्य नयाँ दवाईहरुले बिक्रीगर्ने स्वीकृति पाइरहेको छ। अर्कोतिर भारत र भारत जस्तै
पछारिएको देश हरुलाई पुरै संसारका दवाई कम्पनीहरूले उनीहरूको नयाँ दवाई बनाउने परीक्षणगृह
बनाएर अझ बेसी परिक्षण गर्नथालेकाछन्। यी देशको अशिक्षित अनि दरिद्रता ग्रस्त समुदायको
फाइदा उठाउदै कम्पनीहरूले यी मानिसहहरुलाई गिनिपिग सरह परिक्षणको वस्तु बनाउदछन्, परिक्षणको हानिकारक परिणामले केहीको ज्यान
गए पनि यिनिहरुकोमा लास लुकाउने वन्दोवस्त हुन्छ। यसरी हामी बुझ्न सक्छौ कि सरकार अनि
यी कम्पनीहरूले हाम्रो जीवनको मूल्य कति लगाएको छ।
विगतको १० वर्षमा देशको जतिजना मानिस आतङ्कवादी हमला वा पाकिस्तान
सित युद्धमा मरे, त्यो भन्दा कैयौं गुणा बेसी मानिस प्रत्येक साल हाम्रो देशको स्वास्थ्य व्यवस्थाको
खराब हालतले गर्दा मर्छन्— त्यसबारे सबै सरकार, सबै स्थापित राजनैतिक दलहरू एकदमै चुपचाप रहन्छ। किनभने यसमाथि कुरा गर्नको तात्पर्य
समाज व्यवस्थाको असली रूपको भण्डाफोर गर्नु हुनेछ, सबैलाई थाहा हुनेछ कसको स्वार्थमा चल्दैछ
हाम्रो देश, ठुल्ठुला राजनैतिक दलहरूको मुखुण्डो खोलिनेछ।
स्वास्थ्य भनेको दवाई, अपरेशन, डाक्टर र अस्पतालमात्र होइन। स्वास्थ्य लिएर
कुरा गरौँ भने जुन समाजमा हामी बस्छौं, चेष्टा गरेपनि त्यो समाज देखि मुख फर्काउनु असम्भव हुन्छ। टीबी
रोगले हाम्रो देशमा जुन लाखौँ मानिस बिरामी हुन्छन्, त्यसको निम्ति मुख्यतः दरिद्रता र कुपोषण
जिम्मेवार छ। प्रत्येक साल भारत र हाम्रो राज्यमा जुन बालमृत्युको घटनाहरू हुन्छ, त्यो नानीका आमाहरूले गर्भवती रहँदा राम्रो
खानापिना पायो भने बालमृत्यु रोक्न सम्भव हुन्छ। जुन युवा वा युवती बेरोजगारीको पीडाले, वा कार्यस्थलको भयानक चापले निक्कै निराश
हुन्छन्, उनीहरूको मानसिक अवसाद हटाउन सक्ने दवाई के आविष्कार भएको छ र? जब ठुल्ठुला रासायनिक मल र कीटनाशक कम्पनीहरूका
नाफाको लालचले देशको कृषि अर्थनीतिलाई प्रत्येक क्षण क्रमिकरुपमा ध्वस्त गरिन्छन्, अनि त्यसको फलस्वरुप प्रत्येक वर्ष लाखौँ
मानिसहरूले गाउँ देखि सहर जान बाध्य हुन्छन्, कुनैपनि प्रकारले दुइछाक जुटाउने आशामा, बस्न बाध्य हुन्छन् सहरको भीड, फोहोरी, अस्वस्थ झोपडीहरूमा, गैरकानुनी बसोबासो गर्नेहरु भनेर जसलाई सम्पूर्ण
नागरिक सेवा देखि वञ्चित गरिन्छ— तब स्वास्थ्यको निम्ति लडाई के समाजको बदलावको लडाई देखि अलग्गै भएर लड्नु सम्भव
छ र?
धुनिराज
छेत्री
No comments:
Post a Comment