अब कहाँतिर ?
फेरी एउटा ठण्डा मौसमसँगै, केही दिन अघिसम्म संघर्षमा उथलपुथल भइरहेको
पहाड, शीतनिद्रामा पस्यो। विगतको केहि महिनादेखि जुन सपना र विश्वास आगोझैं मानिसहरूका
मनमा बल्दैथियो, एकातिर मानिसहरू माथि दमन र अर्कोतिर विकासको आश्वासनको लहर— यी दुवैले खरानी झै त्यो आगोलाई ढाकिदिएको
छ। तर उत्पीडित राष्ट्रियताहरूको मुक्तिको आकांक्षा यति सजिलोसँग मर्नेछैन, यो त राजनैतिक समीकरणको भुमरीमा ठप्प भएको
मात्र हो। केही दिन अघि जुन मानिसहरू संघर्षमा जोसिलो थिए, प्रत्येक सरकारी कदम र सहुलियत नकारेर आफ्नो
अस्मिताको चिन्हारी साबित गर्दैथिए, तिनीहरू नै रातारात बदलिसकेका छन्, उनीहरूले शताब्दीदेखिको मुटुमा बसेको मांग
छोडि सके — यो कुरा असम्भव हो भन्ने सबैलाई थाहा छ।
तर कसरी भयो यो ‘परिवर्तन’? चर्चामा धेरैवटा कारणहरू आइरहेको छ— जेलबन्दी हजारौं मानिसहरूका परिवारको असहायता, शासकदलसंग जोडिए मुक्त हुने आश्वासन, रुपिया र बल अनि प्रशासनिक जोडले राज्यको
शासकदलले पहाडमा पनि आफ्नो जरा गाड्नथालेको छ, भने अर्कोतिर आन्दोलनको नेतृत्वको तर्फबाट
गलत कदमहरू, देशको सामग्रीक राजनैतिक परिप्रेक्षबाट अलिकति पनि सकारात्मक आश्वासन भेटाउने
विफलता, लामो बन्दपछी पनि कुनै फल नभएकोले मानिसहरू मध्ये पैदा भएको छ गुनासो। कारणहरू
खोज्दा अझै धेरै विश्लेषण, क्रिया-प्रतिक्रियाहरू छन्, जसको नतिजाले द्रुतगतिमा पहाडको राजनैतिक समीकरण बदली रहेको छ। यी सँगै जातिहरू
भित्र विभाजन पैदा गर्ने सिलसिला त छदैछ, जसमा धेरै रुपियाँ पनि उडिरहेको छ। नयाँ
नयाँ स्थिति, गठबन्धनमा परिवर्तन, रुपिया र बाहुबलको खेल चल्दैछ यहाँ, बयानहरू पनि बदलिंदै छ बिभिन्न पक्षको.... भोटको मौसम पनि त आइरहेको छ नि!
कुनैपनि ठाउँमा प्राय मुख्य राजनैतिक दलहरूका कार्यक्रमको
आधार मानिसहरूमाथि आ-आफ्नो कब्जा कायम गर्ने क्षमता हुन्छ। यो अधिकार जमाउने क्रममा प्राय मानिसहरूनै
पछाडीको कतारमा धकेलिन्छन्, नीति-नैतिकताको पनि त्यही हाल हुन्छ, मानिसहरूको मन जित्ने त्यस्तो स्लोगनहरू
आउछन्, तर त्यो सबै केवल बोल्ने कुरामात्रै हो। विकल्पको कुनैपनि चित्र देख्न नपाएकोले
मानिसहरू घुम्दैजान्छन् यो भुमरी भित्र। यो राज्यमा हेर्नुस्, पहिलाको सत्तामा बसेकाहरूले चलाएको शोषण
र उत्पीडनको विरोधमा जन्मेको गुनासोले ‘परिवर्तन’को आवाज उठाउदै जुन शक्तिलाई सत्तामा आसिन
गरायो, त्यसले पनि त्यही खालको शोषण उत्पीडन तथा विकासको त्यही मोडेललाई जनता माथि थोप्दै
छ। समग्र देशको परिप्रेक्षमा पनि एउटा भ्रष्टाचारभरी-जनविरोधी सत्ताको सट्टामा जुन शक्तिले सत्तामा
बस्न खोज्दैछ, उसको हात दङ्गा र जनसंहारको रगतले भिजेको छ, अनि जो विकासको जनविरोधी मोडेलको प्रवक्ता
पनि हो।
अलग राज्य गठनलेनै सबै समस्याको समाधान हुन्छ भनेर जुन दलले
ह्याम्लिनको बाँसुरीवाला झैँ आफ्नो पक्षमा जनतालाई खिचेको थियो, आज त्यही मानिसहरूमध्ये कोहि कोहि अलग राज्यको
तिब्र विरोध गर्ने राज्यको शासकदलको विकास मोडेलको भागीदार बन्दै उल्टातिर हिड्दै छन्।
बाहुबल, रुपिया, अनि प्रशासनिक खेलहरू छोडे जुन कुराहरू रहन्छ, त्यो बुझ्नु निक्कै महत्वपूर्ण छ। यो परिप्रेक्षमा
के पहाडको मानिसहरूमा गोर्खाल्याण्ड नै सबै समस्याको समाधान हो भन्ने म्याजिक के सकिन
आँटेको छ? के नयाँ म्याजिक ‘विकास’ हो?
यो अवश्य नै संगसंगै बुझ्नुपर्छ कि यो गोर्खाल्याण्ड माँगको
औचित्य लिएर कुनैपनि सन्देह नरहेतापनि बहुसंख्यक मानिसको स्वार्थमा यो आन्दोलन निर्देशित
नभए, आन्दोलनमा बारम्बार क्षेत्रीय व्यापारी-पुंजीपति-दादाहरूले नियन्त्रण रहनेछ र पहाड कसको कब्जामा
रहनेछ भन्ने निर्णायक विषय संधै बनिरहेकोले आन्दोलनको यस्तै नतिजा हुने सम्भावना छ।
अनि त्योसंगै सही विकासको सट्टामा पुंजीको मालिकहरूका चाहिने विकासको प्याकेजले लोभ्याउदै
आन्दोलनको गतिलाई—यसरीनै विचलित गरि रहन्छ। आत्मपरिचयको स्वीकृतिको मांग साधारण खटिखाने मानिसहरूका
जीवनसँग नजोडिएकोले, शोषणको असली रूप र त्यसको कारणहरूलाई उद्घाटन नगर्नुसक्नाले यस्तो एउटा आन्दोलन
सिमित हुने सम्भावना निक्कै छ, देशी-विदेशी-क्षेत्रीय पुँजीपतिहरूले आफ्नो स्वार्थको निम्ति संघर्षको बाटोलाई विचलित गर्छन्
यसपाली यस्तै भयो।
आन्दोलनलाई कुल्चनु देखि लिएर राष्ट्रियता भित्र विद्वेष
तयार गर्नु, नानाथरीका लोभ्याउने क्रमदेखि सशस्त्र बल द्वारा शम्शानको शान्ति कायम गरेपछि
शासकहरूले जुन ‘विकास’को दोकान खोलेर बसेका छन, त्यो क्षणिक मात्रै हो भन्ने सबैलाई थाहा छ, शुरूमा केहि देखावटी विकास भएपनि क्रमिकरूपमा
यो ‘विकास’ले शासक द्वारा परिभाषित बाटो नै पक्रिनेछ भन्ने कुरामा पनि कुनै सन्देह छैन।
पहाडको चियाकमान देखि, प्राकृतिक सम्पदा देखि, उहिलेदेखि गर्दै आएको शोषण बाट पुंजीपतिहरूले जुन बिपुल धन संचय
गर्छ, यस्तो केहि आन्दोलन भएको खण्डमा त्यो लगामहीन शोषणको रथ केही समयको निम्ति फस्छ, तर समय नबित्दै त्यो शोषणको चक्का फेरी मज्जाले
चल्न थाल्छन् त्यसलाई शासकहरूले पहाडको मुस्कान भन्छन्।
तर यो झुटो मुस्कान भित्र पनि साधारण मानिसहरूको रुवाई र
चिच्याहट बारम्बार गुन्जिरहन्छ। अनि इतिहासले त यो साबित गरेको छ कि अन्तिम मुस्कान
साधारण मानिसको नै हुन्छ!
No comments:
Post a Comment