दार्जिलिङ पहाड अनि समतल तथा डुवर्सले सधैँ देशी-विदेशी पर्यटकहरूलाई आफ्नो सुन्दरता र हरियालीले
मन्त्रमुग्ध बनाएको छ। यहाँको बन-जङ्गल र हरियो लह-लह परेको चियाबारीले संसारमै आफ्नो एउटा विशिष्ट स्थान बनाएको छ। पर्यटकहरू दुई-चार दिनको निम्ति यहाँ आउछन् र प्रशंसा गर्दै
यहाँबाट जान्छन् तर यो हरियाली पछि कत्तिको भयानक रसायनहरूको हात छ त्यो कसैले कल्पना
पनि गर्न सकिन्दैन।
चियाबगान बृहत् क्षेत्रमा एउटै मात्र फसल उमारेर गरिएको
खेती हो। यस प्रकारको एकनासे फसलले धेरै प्रकारको फसललाई नोक्सान गर्ने किराहरूलाई
निम्त्याउछ। संसार भरीको चियाबगानबाट जम्मा १०३१ थरीको किराहरू पाइएको रिपोर्ट छ। एसियामा
२३० थरीका किराहरुले चिया माथि आक्रमण गर्छन् भने १७३ थरीका किराहरू उत्तरपूर्व क्षेत्रका
चियाबगानबाट पाइएका छन्। अब यी थरीथरीका किराहरू कसैले मुना खाइदिएर कसैले जरा खकुलो
पारिदिएर त कसैले छिप्पेको पात जसले जम्मै गाचलाई खाद्य दिइरहेको हुन्छ त्यसलाई नै
खाई दिन्छन र गाचलाई नोक्सान पुऱ्याउछन् फलस्वरूप जम्मै चियाको उत्पादान प्रणालीलाईनै
घाटा पुऱ्याउछन्। यही किरा र नचाहिदो झार-पातबाट मुक्ति पाउनलाई चियाबगानका मालिकहरूले
डरलाग्दो रसायनहरू बगानमा छडकिनु लगाउछन। यस्तो रसायनहरूले जम्मै किसिमको हानिकारक
वा लाभदायक जम्मै किराहरूलाई मारिदिन्छ। यसले गर्दा छोटो अवधिको निम्ति नाफा त हुन्छ
तर किराहरूले त्यो रसायन चाँडै नै पचाउन थालछन् र मर्न छोडछन्। यस बाहेक अरू निम्न
परिमाणमा पाइने किराहरू धेरैको सङ्ख्यामा आएर चियाबारीहरू सोत्तर पनि पारि दिन्छन।
ठुलो परिमाणमा रासायनिक किटनाशकहरू प्रयोग गरे तापनि भारत अन्य देशहरूको तुलनामा रसायन
प्रयोगको तालिकामा अलिक पछि नै आउछ। जापानले सबैभन्दा शीर्ष स्थान ओगट्दै १२के.जी प्रति हेक्टर ज्यानमारा रसायन चलाउछ, त्यसपछि अमेरिका ७ के. जी प्रति हेक्टरको दरले रसायन चलाउँदै दोस्रो
स्थानमा आउछ, कोरिया तेस्रो स्थानमा बसेर ६.६ के.जी प्रति हेक्टर रसायन चलाउँछ, युरोपले २.५ के.जी प्रति हेक्टर चलाउँछ भने भारतले ०.५ के. जी प्रति हेक्टर रसायन चलाउँछ। भारतको प्रमुख
चियाबगानहरूमा रासायनिक किटनाशकहरूको उपयोग हेर्दा असाम र कच्छारमा ११.५ के. जी प्रति हेक्टर, डुवर्स अनि तराईमा १६.७५ के.जी प्रति हेक्टर अनि दार्जिलिङ पहाडमा ७.३५ के.जी प्रति हेक्टरको दरले गरिएको देखिन्छ।
उक्त आकडाबाट थाहा पाउन सकिन्छ कि हामी दिनहुँ बिहान बेलुकी कति विष पिईरहेका हुन्छौ।
‘चिया’ खुबै सस्तो र ऊर्जा प्रदान गर्ने पेय पदार्थ
हो। यसले शरीर र दिमाग दुवैलाई चुस्त बनाउछ तर उत्पादन बढाउने चक्करमा चियाबगानका मालिकहरू
र ठुल्ठूला व्यापारीहरूले दिनहुँ लाखौ मानिसहरूलाई चियाको रूपमा विष पिलाईरहेका छन्।
२००२, २००३ र २००४ मा भयंकर तीव्र रासायनिक किटनाशक सिन्थेटिक पाइरीथ्रोइड भित्र पर्ने
इथियोंन युरोपियन युनियनका देशहरूमा निर्यात गरिएको चियाहरूमा सबैभन्दा बेसी तोकिएको
सीमाभन्दा पनि कयौँ गुणा बेसी पाइएको थियो। डी.डी.टि को प्रयोग चिया अनि खाद्य पर्दार्थको
कृषिमा धेरै अघि नै प्रतिबन्धित भएतापनि आज पनि असामबाट निर्यात गरिएको कतिपय चियाको
स्याम्पलहरूमा डी.डी.टि को अंश पाइएको छ।
चाहिएको भन्दा एकदमै ज्यादा मात्रामा रासायनिक किटनाशक र
झार-पात मार्ने दबाईहरूले चियाबगानको पर्यावरणलाई एकदमै दूषित र विषालु बनाइरहेका
छन्। एउटा किरा वा झार देख्ने बित्तिकै किटनाशक हाली हाल्ने प्रवृत्तिले किराहरूलाई
त्यो डरलाग्दो दबाई पचाउने बनाईदिईसके। नाना थरीको विदेशी प्रजातिको झारहरू उम्रन थाले
जो झारनाशकले मर्दैनन्। ज्यादा नाफा कमाउने ध्येयले धेरै भन्दा धेर किटनाशकहरूले बजार
पक्रदै गयो। किटनाशकको काम गर्ने घेरा निक्कै फराकिलो भएकोले यसले कसैलाई पनि छोड्दैन।
गाई, बाख्रा, कुखरा, चरादेखि लिएर ऋणमा डुबेको मजदुरसम्मलाई यसले परमधाम पुऱ्याउन सहायता गर्छ। बर्खामा
पातहरूबाट बगेर स-सानो धारमा मिसिँदै पानी-पधेंरो र नदीहरू सम्म किटनाशकले प्रदूषित हुन्छ, जसले गर्दा प्राकृतिक रूपमा पाइने धेरै थरीको
माछाहरू खोलानालाबाट प्राय हराइसकेका छन्। दार्जिलिङ तराई अञ्चलका कतिपय नदीको पानी
र बालुवामा किटनाशकको राम्रै परिमाण पाइएको छ। केही महिना अघि मात्रै उत्तर बंगाल विश्वविधालयको
भूगोल विभाग अघि पाँचवटा पहेँलो खुट्टा भएको हरियो परेवा मरिरहेको पाइयो। यो जम्मै
चारहरूको चारो पिस्ने झाते च्यातिएको थियो। धेरै निरिक्षणहरू गरे पछि प्राणी विभागका
सोधार्थीहरूले ती परेवाहरूको मृत्युको कारण रासायनिक किटनाशक हुन् सक्छ भन्ने पत्तो
लगाए कारण इटलीमा गरिएको परेवा माथिको एउटा प्रयोगमा ओर्ग्यानोफोश्फेट नामक किटनाशक
खाए पश्चात् चराहरू यसरी नै झाते फाटेर मरेका थिए। विश्वविधालय क्याम्पस चारै तर्फबाट
धानखेती र चिया बगानले घेरिएको हुनाले त्यहाँ बग्ने खोलामा किटनाशकको परिमाण ज्यादा
हुन सक्छ र त्यही पानी पिएर चराहरूको मृत्यु भएको हुन् सक्छ भन्ने अनुमान गरिएको छ
(चित्रमा)।
आजकल हरेक फसलमा रसायन छरिन्छ। फल, सब्जी, चामल, गहुँ जम्मै विषले घेरिएको हुन्छ। कुनै सुरक्षा
बिना यस्तो घातक रसायनहरू छर्कने मजदुरहरू भयानक बिमारीको सिकार बन्न पुग्छन्, जसको सुनिदिने कोही छैन। हाम्रो खाद्य पर्दार्थहरूलाई
विष मुक्त बनाउन पनि हाम्रै हातमा छ, बेसी लोभ नगरेर कम मात्रामा रसायनको प्रयोग वा जैविक खेतीको प्रणालीहरू
जस्तै: १. हातले कोरा टिपेर नष्ट गरेर, २. लाइट ट्रयापले किरा समातेर, ३. जैविक मल र किनाशक प्रयोग गरेर, ४. माइक्रोस्कोपिक जीवहरू जस्तै व्याक्टेरिया र वाईरसद्वारा किरा मारेर, ५. चियाबगानको बिच बिचमा अरू रूखहरू पनि रोपेर— इत्यादि नीतिहरू अपनाएर यो विषबाट मुक्ति
पाउन सकिन्छ र निर्धक्क भएर चियाको आनन्द लिन सकिन्छ।
संगीता
खेवा
No comments:
Post a Comment