Wednesday, September 7, 2016

मुहम्मद अली : प्रतिवादको अर्को नाम

नुमा सुब्बा

[मुहम्मद अलीको मृत्युले मानिसहरूलाई उसको जो फ्रेजर अनि जोर्ज फोरमेन विरुद्ध भएको ऐतिहासिक बक्सिंग प्रतियोगिताको याद दिलाउछ होला तर उनको रेसिजम र युद्ध विरुद्ध बलियो आवाज पनि उल्लेखयोग्य छ। तर मुहम्मद अली अहिले आएर संसारको सबैभन्दा उत्कृष्ट खेलाडी मात्र भएर रहे उनको राजनैतिक अडानलाई मजाले छोपेर उनलाई निक्रिस्ट अनि जन उपभोग्य वस्तु बनाएर अघि राखियो]
“पुतलीझैँ उड्नु, मौरीले झैँ चिल्नु” यो प्रसिद्ध भनाइ मुहम्मद अली को हो। उनी एक होनाहार मुक्का योद्धा (बक्सर) मात्र नभएर, एक्टिभिस्ट पनि थिए। उनलाई 20औ शताब्दीको खेल जगतमा महत्त्वपूर्ण र ख्यातिप्राप्त व्यक्तित्वको रूपमा लिइन्छ। उनको करियरको शुरुवातदेखिनै अलीलाई रिंग बाहिर र भित्र पनि प्रेरणादायी र विवादास्पद खेलाडीको रूपमा लिइन्थ्यो। 
उनको जन्म 17 जनवरी 1942 मा लौइस्विल्ले, केन्टकीमा भएको हो। मुहम्मद अलीको पहिलाको नाम थियो कसियास मर्सिलुसक्ले जुनियर। आफ्नो प्रिय साइकल चोरी हुँदा 12 बर्षिया क्ले, लौइस्विल्ला प्रहरी अधिकारी जो मार्टिन कहाँ चोर लाई पक्राउ गर्न भनी पुगे। मार्टिन एक बक्सिंग प्रशिक्षक थिए। दुखी भएका केटाकेटीलाई पहिले लड्न सिक्नुपर्छ भनी क्लेलाई प्रेरणादायी सुझाउ दिए। 18को हुँदा क्ले ले आठवटा हार अप्नाई, सय वटा जीत हासिल गरिसकेका थिए। करिएरको शुरुदेखि नै 6फुट 3इन्चको क्ले ले आफ्नो शक्तिशाली ज्याब्स, खुट्टाको तीव्र गतिको संयोजन र निरन्तर ब्रग्गदोसियो र आत्मा पदन्नतीको कारणले “लौइस्विल लिप” को उपनाम सन्1960 ओक्टोबेर29 मा नै कमाइ सकेका थिए। यस्तै गरेर क्लेले फरवरी 25, 1964मा हेभी वेट चाम्पियन सोंनी लिस्टोंन(1932-1970) विरुद्ध जीत हसिल गरे। उनले पहिलो पटक आफ्नो “टाईटल शोट” प्राप्त गरे। सातौ राउण्डको शुरुमै घन्टीको जवाब दिन लिस्टों असफल रहे। र विश्वको हेभी वेट चाम्पियन क्ले बने। 
यसरी 1964मा उनको नाम कसियास मर्सिलुस क्ले जुनियर हुँदा उनी विश्वको हेभी वेट चाम्पियन बने। त्यसपछि अचानक नँया र अनौठो नाम भएको मानिसको रूपमा त्यो प्रतिष्ठा एक राजनैतिक अडानमा प्रस्तुत भयो। उनी क्ले नभएर अब मुहम्मद अली भइसकेका थिए। उनको अनुसार कसियास मर्सिलुस क्ले जुनियर एउटा कमारो या दासको नाम हो। जुन नाम उसले छानेको थिएन अनि त्यो उसलाई अब चाहिदैन। उनी आफ्नो स्वतन्त्र नाम मुहम्मद अली बाट चिनियोस भन्ने चाहन्थे। 
अप्रिल28, सन्1967मा अलीले यु.एस, आर्मी मा आफूलाई स्थापित गर्न इन्कार गरे। जसको कारण आफ्नो मेहेनत र पसिनाले कमाएको हेभी वेटको टाइटल, उ बाट खोसियो अनि आफ्नो करियरको पराकास्टमा उनलाई तीन वर्षसम्म बक्सिंग खेलबाट प्रतिबन्धित गरियो। तर आफ्नो सबै कुरा जोखिम मा राखी, दृढ संकल्पका साथ उनले आफूलाई भियेतनाम युद्धदेखि बाहिर राखे। 
लौइस्विल्ले को फेयर हाउसिंग र्यालीमा उनले आफ्नो कुरा यसरी सार्वजनिक गरे “किन तिनीहरूले मलाई वर्दी हालेर, मेरो घरदेखि 10000 माइल टाढा पठाई, भिएतनाम का काला मानिस हरूमाथि बारुद र गोली चलाउनु भन्दैछन् जबकि लौइस्विल्लेका तथाकथित निग्रोहरूलाई अझै पनि कुकुर जस्तै व्यवहार गरिन्छ र साधारण मानव अधिकारका कुराहरू पनि दिन अस्वीकार गरिन्छ। केवल गोरो छाला भएको मालिकहरूको को बर्चस्वलाई विश्वमा कायम राखी राख्नका लागि, एउटा गरिब देशलाई जलाउन चाहन्न र त्यहाँका मानिसहरूको हत्या गर्नका लागि यस सरकारलाई मदत गर्न 10000 माइल टाढा कदापि जादिन।” उनले अझ भने कि “अब यस्ता खराब कुराहरूलाई अन्त गर्ने दिन आइसक्यो। मलाई त्यस्तो अडान लिनको बद्ली करौडौ डलरको नोक्सानी हुने चेतावनी आएको छ। तर मैले भनिसके र फेरी भन्दैछु कि मेरो मानिसहरूको साँचो शत्रु यही छ। जो आफ्नो न्याय, स्वतन्त्रता र समानताको लागि लडीरहेका छन् तिनीहरूलाई बन्दी बनाएर, म मेरो धर्म, मान्छे वा आफैलाई ग्लानी गराउने काम कहिले गर्ने छैन। । यदि मेरो विचारमा यस युद्धले मेरा 22मिलियन मान्छेहरूलाई स्वतन्त्रता र समानता दिलाउन सक्ने थियो भने, तिनीहरूले मलाई यसरी ड्राफ्ट गर्नु पर्ने स्थिति आउने थिएन, म भोलिनै युद्धमा सामेल हुने थिए। म मेरो विश्वास माथि खडा भएर गुमाउनु केही छैन। यसैले म जेल जान तयार छु। आखिर हामी चार सय वर्ष सम्म पनि त जेलमै थियौ।” यसरी यो कालो शक्तिको मात्र दाबी होइन, यो एउटा बयान पनि हो, अन्तर्राष्ट्रिय एकताको बयान जसले थिचोमिचो मा परेकाहरूलाई सामूहिक प्रतिरोधको बाटो देखाउछ। 
उनलाई 20जुन 1967मा ड्राफ्ट नमानेको आरोपमा दोषी ठहरईयो। उनलाई $10000 को जरिमाना सहित 5 वर्षको जेल कैदको सजाय सुनाइयो। यति मात्र नभएर उनलाई तीन वर्षसम्म बक्सिंगमा प्रतिबन्द लगाइयो। यस दौरान पनि उनले भियेतनाम युद्धको विरुद्ध कलेज अनि क्याम्पसहरूमा प्रचार गरिरहे। 
 जब 1967 मा डा. मार्टिन लुथर किंगए भियेतनाम युद्ध विरुद्ध आवाज उठाए, त्यतिबेला मुख्य धाराका प्रेस र आफ्नै सल्लहाकारबाट पनि उनी आलोचित भए र उनलाई “विदेशी” मुद्दाहरूमा नबोल्ने सल्लाह दिइयो तर डा. किंगले आफ्नो अडानलाई न्यायसंगत ठहराउदै जन साधरणलाई भने-“ मुहम्मद अलीले भने झैँ हामी सबै काला, गहुगोरो र गरिब छौँ- अनि हामी सबै एउटै शोषणयुक्त समाजका शिकार हौ।”
जब नेलसन मण्डेला लाई “रबेन ऐलंड” मा कैद गरिएको थियो तब मुहम्मद अलीले उनलाई त्यस जेलमा कुनै भित्ताहरू नभएको महसुस गरायो भनेर उनले भने। 
जब लाउनदेस काउन्टी, एलाबामामा स्टुडेन्ट नन-भायोलेन्ट कोअर्डिनेटिंग कमिटी (SNCC) को कार्यकर्ताहरूले 1965 मा स्वतन्त्र राजनैतिक दलको गठन गरे त्यतिबेला प्रथम पल्ट यस दलले आफ्नो चिन्ह कालो प्यान्थर राखे अनि यसको मुनि स्लोगन लेखे मुहम्मद अलीको भाषामा “ हामी सबैभन्दा महान् हौ।”
जब बिली जीन किंगले खेलको क्षेत्रमा महिलाहरूको समान अधिकारको कुरा गर्दै थिइन्, मुहम्मद अलीले तिनलाई भनेका थिए, “बिली तिमी रानी हौ।” यस वाक्यले तिनलाई साहसी हुनुको आभास दिएको थियो तिनले बताइन्। 
प्रश्न छ कसरी? कसरी उ यस्तो विप्लवी विचार ल्याउन सफल भए? छोटकरीमा उत्तर यो हो कि उ अमेरिकाको विरुद्धमा खडा हुन सके...अनि विजयी भएर निस्किए। मुहम्मद अलीले यस्तो संस्कृति भएको देशमा जहाँ खेलकुद र हिंसा दुवैलाई पूजा गरिन्छ, जहाँ काला खेलाडीलाई त खुब सराहना गरिन्छ तर कालो छालालाई भने अपराध मानिन्छ, सशक्त हुनु के हो र साहसको परिभाषालाई सबैमाझ प्रचलित गरिदिए। उनको सडकको भाषण होस् वा रिंग भित्रको लडाई उनले सदा सत्य बोले परिणामको चिन्ता कहिले गरेनन्। 
उनी 26 अक्टुबर 1970मा बक्सिंग रिंग भित्र फेरी फर्किए। अर्को केही वर्ष सम्म मुहम्मद अली अमेरिकाको सबै भन्दा लोकप्रिय र सबै भन्दा प्रसंसनीय व्यक्तित्व बनी रहे। सन् 1984मा अली पार्किन्सन बिमारीको शिकार बने र खेल जगत बाट अवकाश ग्रहण गरे। 
पार्किन्सनको बिमारीले अलीलाई डरलाग्दो क्षति गयो उनी हिँड्न र बोल्न नसक्ने भए तर उनी आजीवन मानवताका संरक्षक भइरहे।   
जुन 3 मा 74 वर्षको उमेरमा अलीको मृत्यु भयो। लगभग 100000 जना मानिसहरू लौइस्विल्लेमा उनलाई बिदा भन्न भेला भएका थिए। संसारले उनलाई बक्सिंगको निम्ति साथै काला अनि शोषित मानिसहरूको निम्ति आवाज उठाउने साहसी योद्धाको रूपमा याद गर्ने छन्। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...