Wednesday, September 7, 2016

मैले देखेको चे ग्वेभारा

अल्बार्टो ग्रानाडो

अल्बार्टो ग्रानाडो थिएँ अर्जेन्टिनीयन-कुबान बायोकेमिस्ट, डाक्टर, लेखक अनि वैज्ञानिक। वहाँ चे ग्वेभाराको 1952को मोटरसाइकल भ्रमणको साथी पनि थिएँ। 14 जुन चे ग्वेभाराको जन्मदिन थियो। चे ग्वेभारा लिएर जति हल्ला हुन्छ, वहाँलाई प्रोडक्टको विज्ञापनको हिसाबले उपयोग गरिन्छ, तर वहाँको जीवन अनि विचार के कस्तो थियो, त्यो बुझ्नको लागि हामीले यो लेख छाप्दैछौँ।

करोडौँ मानिसका लागि चे ग्वेभारा क्रान्तिको प्रतीक हो। लाखौँका लागि त उ क्राइस्ट नै हो। उसो त उसलाई सैतान ठान्नेहरू पनि कम छैनन्। नायक र खलनायकको बहस चेका सन्दर्भमा जति भएका छन्, त्यति सायदै इतिहासमा अरू कसैका सन्दर्भमा भएका छन्। तर, मेरा लागि चे केवल एक साथी हो, जसको नक्सा नाइट क्लबमा उन्मत्त नाचिरहेकी तरुनीदेखि दर्शनशास्त्रको गम्भीर प्राध्यापकसम्मका छातीमा टाँसिएका छन्, त्यो मेरो साथी हो। यौटा मिथकको मित्र हुनुको गर्व र रोमाञ्च आजसम्म अनुभव गरिहेको छु म। चेसँग मेरो पहिलो भेट सन् १९४२ मा भएको थियो। पछि १९४५ मा चेको परिवार मेरो गृहनगर कोर्दाबामा बसाइँ सर्योर। कोर्दाबामा हाम्रो पहिलो भेट पुलिसथानामा भएको थियो। हाइस्कुलको विद्यार्थी विद्रोहमा सहभागी भएका कारण म समातिएको थिएँ। चे मेरो भाइ तोमससँग मलाई भेट्न आएको थियो। १७ वर्षीय यस केटाको अनुहारमा आफ्नो उमेर भन्दा बेसी उदासी र गम्भीरता ले भरिएको थियो। आँखा एकदमै चम्किलो तर, मान्छे भने अलि मैला मैला खालको। सम्पूर्णमा, उ एउटा प्रभावशाली व्यक्तित्व भएको मान्छे थियो।
र, हामी खुबै मिल्ने साथी बन्यौँ। तर, चे सहज र सामान्य साथी भने थिएन। जिद्दी थियो, एकदमै जिद्दी। आफ्नो विश्वास र अडानमा एक छिट्टा यताउति नहल्लिने। उसले ठान्यो पछि ठान्यो, ठान्यो। माक्सवाद उसका लागि प्रथम र अन्तिम सत्य थियो। 
म उसलाई भन्ने गर्थेँ, 'साथी, बाँच्नका लागि सम्झौता पनि गर्नुपर्छ।' सम्झौता भन्ने शब्द सुन्नेबित्तिकै भडि्कने गर्थ्यो उ। सम्झौता, दासता, कायरता, पुँजीवाद, साम्राज्यवाद...चेले आजीवन घृणा गरेका शब्द हुन्। चे अर्कै तत्त्वले बनेको मान्छे थियो।
त्यो यात्रा जसले चेलाई चे बनायो
सन् १९५२ मा चे र म ल्याटिन अमेरिकाको भ्रमणमा निक्लने भयौँ। तिनताक अर्जेन्टिनामा हामी फुटबल र ट्यांगो नाच उत्कर्षमा पुगेको युगमा थियौँ। एक प्रकारले हेडोनिजम (भोग-विलासवाद) पनि उत्कर्षमै थियो। हाम्रो यो यात्राको उद्देश्य पनि साहसिक घुमफिर र रोमान्च नै थियो भन्न सकिन्छ। कमसेकम मेरा निम्ति त यस्तै थियो। सत्य, यो यात्राले चेको सोच र व्यक्तित्वमा भयानक उलटपुलट गराउला भन्ने मैले सोचेकै थिइनँ।
 मैले त्यतिबेला आठ सय डलरमा किनेको मोटरसाइकल ला पोदेरोसा चढेर निक्लियौँ हामी ल्याटिन अमेरिकाको यात्रा गर्न। यो मोटरसाइकल वास्तवमा ज्ञान र स्वतन्त्रता प्रतिको हाम्रो उत्सुकताको प्रतीक थियो।
अर्जेन्टिनाबाट चिली पुग्नेबित्तिकै हामीसँग भएको पैसा सकियो। अब हामी 'उठ् जोगी फट्कार छाला, जहाँ जाला त्यहाँ खाला' भन्ने स्थितिमा पुगेका थियौँ। तर, मान्छेहरूलाई हात लिन सक्ने चेको जादुमय कौशलका कारण हामी जहाँजहाँ पुग्यौँ, त्यहाँत्यहाँ हामीले मानिसका आतिथ्य पायौँ।
चिलीको लसएन्जेलस पुगेपछि भने ला पोदेरोसा हामीले मरम्मत गर्न नसक्ने गरी बिग्रियो। यो मोटरसाइकल हाम्रो प्राण थियो भने पनि हुन्छ। अझ, ला पोदेरोसासँग मेरो यति भावनात्मक लगाव थियो कि यसलाई यौटा कुनामा थन्काएर हिँड्नु मेरा निम्ति खुबै पीडादायी थियो। तर, यात्रा त पूरा गर्नु नै थियो। त्यसैले ढुङ्गा, घोडा, ट्रक, जे भेट्छ त्यसैमा सवार भएर हामीले अर्जेन्टिना, चिली, कोलम्बिया र भेनेजुएलाको यात्रा सम्पन्न गर्यौँच। ल्याटिन अमेरिकाको एकसरो भ्रमण गरिछाड्यौँ।
यस यात्राले हामीलाई ल्याटिन अमेरिकाले भोगिरहेको पीडा, अन्याय, असमानता र गरिबीसित भलिभाँती परिचित गरायो। अमेरिकी आधिपत्यले निम्बु निचोरे जस्तै शोषण गरेको थियो ल्याटिन अमेरिकालाई। यस यात्राले चेको अन्तरमा रहेको ज्वालामुखीलाई विस्फोट गराइदियो। अब चे शिरदेखि खुट्टासम्म तातो न तातो लाभा भएको थियो। म ठोकुवा गर्छु- यस यात्राले चेलाई चे बनाएको थियो।
यस यात्रामा परिआएका तितामिठा घटनाहरूको बयान गरिसक्नु छैन। हामी चिलीको इस्टर द्वीपमा पुगेका थियौँ, त्यहाँ महिलाको सङ्ख्या अत्यधिक थियो। एउटै मानिसका एघारवटासम्म पत्नी हुन्छन् रे भन्ने सुनेपछि हामी त्यता हानिएका थियौँ। अतिथिहरूको मानमनितो पनि गज्जबले गरे इस्टरवासीले। 
हामी जतिजति घुम्दै जान्थ्यौँ, त्यतित्यति हाम्रा मानिस माथि गरिएका अन्यायले हाम्रा आँखा खोल्दै जान्थे। अमेरिकाले चिलीमा चलाएको यौटा टिन खानीमा पुगेका थियौँ हामी। यस खानीमा काम गर्ने अधिकांश मजदुर सिलिकोसिस भनिने रोगले ग्रस्त थिए। सिलिका भनिने बालुवामा पाइने कणयुक्त हावामा सास फेर्दा फोक्सोमा नराम्रो क्षति गर्ने रोग हो यो। लगभग मृत्युको मुखमा पुगेका मजदुरहरूलाई अमेरिकाले यसरी रात-दिन जोतेको देखेर चे रिसले पागलजस्तै भएको थियो।
यसै यात्राका क्रममा सान पाब्लो भन्ने ठाउँमा कुष्ठरोगीहरूको बस्तीमा काम गर्न पुगेका थियौँ हामी। यस बस्तीमा जानलाई यौटा विशाल नदी तर्नुपर्थ्यो। नदी तर्नै नसक्ने गरेर उर्लिएको थियो। नदीपारि केही कुष्ठरोगीहरू हामीलाई पर्खिरहेका थिए। डाक्टर अर्थात् हामी (तर, चे डाक्टर भइसकेको थिएन) आउँदै छौँ भन्ने खबर पाएर उनीहरू भयङ्कर खुसी भएका थिए किनभने कुष्ठरोगीहरूको बस्तीमा डाक्टरहरू प्रायः जाँदैनथे। त, हामी वारि, उनीहरू पारि! रातको समय। 'म त तर्न सक्दिनँ, तँलाई मर्न मन लागेको छ भने तर्' भनेर म नदीको किनारमा लम्पसार परेँ। चेले अघिपछि नसोची पानीमा हामफाल्यो र पुग्यो पारि। किनारमा बसेका कुष्ठरोगीहरूले उसको यस्तरी स्वागत गरे, मानौँ उ उनीहरूको मसिहा थियो। मैले भने नदीमा पस्ने हिम्मत गर्न सकिनँ। ढुङ्गा चढेर पार गरेँ।
त्यस बस्तीका मानिसका उपचारमा हामी दिनरात खटियौँ। भोक-तिर्खा सब कुरो बिर्सेको थियो चेले। 'अब तिमी पक्का फिल्यान्थ्रोपिस्ट (परोपकारी) भयौ,' म उसलाई भन्ने गर्थेँ। 'फिल्यान्थ्रोपि्रस्ट भनाउँदाहरू ढोँगी हुन्छन्। म त क्रान्तिकारी हुँ,' ऊ हाँसेर भन्ने गर्थ्यो।
हाम्रो यो यात्रा नौ महिनापछि भेनेजुएलाको राजधानी काराकासमा पुगेर टुंगियो। तर, त्यस यात्राको धङधङी र त्यस यात्रामा हामीले हासिल गरेकेा राजनीतिक चेतना र क्रान्तिकारी प्रखरता भने जिन्दगीभर रहिरह्यो। म कुष्ठरोगसम्बन्धी थप अनुसन्धान गर्न काराकासमै बसेँ भने चे डाक्टरी पूरा गर्न बुएनस आयर्स गयो।
सन् १९५९ मा क्युबामा क्रान्ति सफल भएपछि चेले मलाई क्युबा बोलायो। क्युबा वास्तवमा मेरो सपनाको देश थियो। क्युबा यस्तो देश थियो, जहाँ मानिस वैज्ञानिक या कलात्मक दृष्टिले आफूलाई उन्नत बनाउन लागि परेका थिए। उता, सिङ्गो विश्व भने भोग/उपभोगबाहेक केही सोच्नै नसक्ने भएको थियो।
क्युबामा मैले सान्टिएगो स्कुल अफ मेडिसिन स्थापना गरेँ। लामो समयसम्म मैले यसमा काम गरेँ। हाल म क्युबामा रिटायर्ड जीवन बिताइरहेको छु।
चे ग्वेभारा स्वभावैले साहसी मान्छे थियो। ऊ कहिल्यै कसैसामु झुकेन। 'म कसैका अगाडि घुँडा टेक्ने मान्छे होइन। तिमीहरू केवल यौटा मान्छेलाई मारिरहेका छौ। म भनेकेा विचार हुँ,' बोलिभियामा हत्या गरिनुअघि उसले यसो भनेको थियो अरे। उसले सत्य बोलेको थियो, बिल्कुल सत्य। मैले सुनेअनुसार सिआइए समर्थित बोलिभियाली राष्ट्रपति रेने बारिएन्तोसले चेलाई मार्ने आदेश दिए पनि उसलाई गोली ठोकेर मार्न बोलिभियाली सैनिकले हिम्मत गर्न सकेनन्। अन्तमा एक मथ्थु अफिसरलाई पैसाको लालच देखाएर चेलाई गोली ठोक्न लगाइएको थियो रे।
उसको हत्या भएको दिन म दुई कारणले रोएँ। पहिलो- एउटा सबभन्दा नजिकको, सबभन्दा आत्मीय मित्रको वियोगले गर्दा। दोस्रो- १९५२ को यात्रा थाल्नुअघि 'तपाईँहरूका छोरालाई सकुशल फिर्ता ल्याउनेछु' भनेर चेका बाबा-आमालाई गरेको प्रतीज्ञा पूरा गर्न नसकेकोले गर्दा।
क्यास्ट्रोसँग खटपट परेका कारण उसले क्युबा छोडेको हो भन्ने एकथरीको भनाइलाई म स्वीकार गर्दिनँ। चे यति विशाल थियो कि उ न डाक्टरी पेसामा अटाउँथ्यो, न अर्जेन्टिनामा, न क्युबामा। उ सारा संसारमा क्रान्ति गर्न हिँडेको थियो।
म चेका दुई गुणबाट कायल थिएँ। उसको इमानदारी र नकारात्मक चिजलाई सकारात्मकमा रूपान्तरण गर्न सक्ने क्षमता। आजको युवापुस्ताले उसलाई किन अनुसरण गर्नुपर्छ भने उ आफूले सही र उचित ठानेको चिजका पक्षमा आजीवन लडेको थियो र त्यसैका लागि उ मर्यो पनि। समयसँगै धेरैभन्दा धेरै राष्ट्रहरू भ्रष्टहरूबाट शासित हुँदै जाँदा चेको क्रान्तिकारी व्यक्तित्व झन्झन् विशाल र महान् हुँदै गयो। उ यस्तो मानिस थियो हो, जो आफूले गरेको काममा आफ्नो भएभरको क्षमता लगाउथ्यो र जसको यो प्रवृत्ति सदा स्मरणीय र अनुकरणीय छ।




No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...