Sunday, August 31, 2014

तीनधारे चिया कमान : एक नजर

निकिता लामा

चिया पिएर हामी आफ्नो दिनको शुभारम्भ गर्ने गर्छौ, हजुर त्यही चियापत्ती जो हाम्रै गाउँको फ्याक्ट्रीमा बनिने गर्छ, जसलाई हाम्रै गाँउका बाजे, बोज्यु, काका, काकी र आमा बाबुले दिनभरि खटेर बनाँउछन्। तर यसपालि तिनीहरूको श्रमलाई लिएर यसो चासो लिँदा हामीले धेरै कुराको पुष्टि गर्न सक्यौं।
चिया कमानका श्रमिकहरूको जीवन आजको समयमा जिउन धेरैनै कठिन भएर गएको छ, दिनभरि खटेता पनि पहाडमा ९० रुपियाँको मात्र कमाई हुन्छ। त्यो ९० रुपियाँ जसमा आजको समयमा एक किलो खानेतेल पनि आँउदैन त कहाँबाट ल्याउने चामल, दाल र साग सब्जी अनि त्यति पैसामा कसरी आफ्नो बाल-बच्चालाई पढाउने? कमानका श्रमिकहरूको जीवन अतिनै सोचनीय छ। आफ्नो वेतन बारे आवाज उठाँउ भने कमान बन्द हुने डरले चुप लागेरनै टार्छन्। इच्छा त हुन्छ नि आफू पनि २ कोठामात्र भएपनि पक्का घर बनाएर बस्ने तर खै के पुग्थ्यो, त्यो दिनको ९० रुपियाँले आफ्नो परिवारको पेट पाल्न त पुग्दैन घर कसरी टाल्ने। यस्ता धेरै इच्छाहरू हुन्छन् ती कमानमा खटिखाने मजदुरहरूको पनि तर पक्का घर त टाढैको कुरा आफ्नो घरको छाना चुहुने भई सक्दा पनि मालिक वर्गबाट केही सहयोग पाँउदैनन् ती कमानका मजदुरहरूले। 
तीनधारे चिया कमानका श्रमिकहरूको भनाइ अनुसार तिनीहरूले पहिला दाउरा, गम्बुट, शिक्कल आदि जस्ता सुविधाहरू उपभोग गर्ने गर्थे तर अहिलेको मलिकबाट त्यस्तो केही पनि पाउदैनन्। वर्षमा दाउराको बद्ली केही पैसा दिएरनै टारी दिन्छन्। जुन पैसामा एक महिना चलाउने दाउरा पनि आँउदैन, त कसरी वर्ष भरि किन्ने दाउरा? त्यसरीनै गम्बुटको पैसा मात्र ८३ रुपियाँ दिइन्छ र बजारमा त्यस्को दाम न भनेको पनि २५० रुपियाँ देखि ३०० रुपियाँ सम्म छ। यस्तो अवस्थामा कसरी चलाउने आफ्नो घर र परिवार? कमानमा स्वास्थ्य केन्द्र त छ नि तर दवाईहरू? जोरोलाई पनि त्यही दवाई र पेट दुख्दा पनि त्यही दवाई दिइन्छ भन्ने कुरा थाह पायौ। स्वास्थ्य केन्द्रमा पनि त्यस्तो राम्रो उपचार नभएको र दवाईहरू पनि समयमा नपाएको गुनासोहरू श्रमिकहरूबाट थाह पायौ। 
कमानमा कतिपय यस्तो श्रमिकहरू पनि काम गर्छन् जसको कमानमा स्थायी काम छैन, उनीहरू दिनको ९० रुपियाँमा मात्र काम गर्छन् उनीहरूको न त प्रोभिडेन्ड फण्ड काटिन्छ न त ग्राचुइटि। साथै तिनीहरूले कमानबाट रासिन-पानी पनि पाँउदैनन्। कमानका स्थायी श्रमिकहरूले रासिन त पाँउछन् तर चामल भने त्यस्तो राम्रो हुँदैन र आटा पनि त्यही गतिको अनि मट्टीतेल पाउछ केवल २०० मी.ली महिनामा। 
यस्तो धेरै गुनासोहरू बोकेर अघि बढ्दैछ उनीहरूको जीवन, आफ्नो गुनासोहरू सुनीदिन्छन् कि भनेर ट्रेड युनियन त स्थापित गरेका छन् तरैपनि त्यसले पनि श्रमिकहरूको आवाजलाई तीव्र गतिमा अघि बढाउन नसकेको कुरा हामीले ती श्रमिकहरूबाट जान्न पायौ। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...