Sunday, August 31, 2014

गाज़ामा दाँत दुखाई

समिहा एल्वान
अनुवाद : संगीता खेवा 

[ प्यालेस्टाइनको गाज़ामा अमरिकी मद्दतले भइरहेको लगातार इजरेली हमला र अशान्ति बिच कसरी साधारण मानिसहरूको जीवन अस्त-व्यस्त भइरहेको छ, त्यसकै एउटा झलक स्वरूप प्रस्तुत छ समिहा एल्वानद्वारा ३१ मार्च, २०१० मा रचित छोटो कथाको नेपाली अनुवाद । ]

म फेरी त्यै दाँत दुखाई लिएर बिहान ब्युझे। अब कुनै उपाय रहेन, डेन्टिस्ट भएकोमा जानै पऱ्यो। पहिला मैले न जानको निम्ति धेरै बहानाहरू गरे तर अब अत्ति भयो। बाबाले डेन्टिस्टसँग मेरो भेटघाट गराई दिन्छु भन्नु भयो तर अभाग्यवश मैले अझ ३ दिन पर्खिनु पर्ने भयो। दाँत दुखाई भन्दा बढी अर्को कुनै पीड़ा हुनु सक्छ जस्तो मलाई लाग्दैन। यो एकदमै असहनीय छ। मेरो पीड़ाले भरिएको आर्तनाद सुनेर बाबाले ठाढाबाट भन्नु भयो – “यदि तिमीले दुखाई सहन सक्दैनौ भने हामी जान सक्छौ.......”। मलाई लाग्यो कि त बाबाले भनेको कुरा मैले राम्ररी सुन्न सकिन कि त बाबा पक्कै पनि जिस्किनु हुँदैछ। उहाँ पट्टि फर्केर मैले प्रश्न गरे “कहाँ जान सक्छौ हरे”? मजाले घाटी सफा गर्दै बाबाले भन्नु भयो “एल विकाला” “युएनआरडब्लुए” स्वास्थ्य केन्द्र। मेरो मुटु चिसो भयो, जम्मै शरीर जिरिंग जिरिंग भयो। अचानक त्यो स्थानको दृश्य मेरो आँखा अघाडी नाच्न थाल्यो। सधैँ स्कुल जाने बाटोमा ‘युएनआरडब्लुए’ को दुईवटा बिल्डिंग पर्थ्यो, एउटा बिल्डिंगमा स्वास्थ्य केन्द्र थियो र अर्कोमा चाहिँ युएनआरडब्लुएको मुख्य अफिस, त्यही अफिस जहाँ हालैमा गाज़ाको प्रतिवादी हमला भएको थियो। सेतो र निलो रंगको बिल्डिंग जसमा युएनआरडब्लुए को झण्डा लहराई रहेको हुन्थ्यो, त्यो दृश्यले त मलाई पक्का पनि आकर्षित गरेको होइन नै। तर त्यो मान्छे-मान्छेको समुन्द्र जहाँ मानिसहरू कतारमा उभी रहेका हुन्थे वा कतार यथावत् राख्ने कोशिश गर्थे केवल त्यो जालीले ढाकिएको खिरकी सम्म पुग्नलाई र आफ्नो नाम वा नम्बर सुन्नलाई आतुर। अनि यो दृश्य देखेर मलाई सधैँ ती मानिसहरू प्रति दया जाग्थ्यो जो गरम महिनाको त्यो टन-टन घाममा पनि कतारमा उभिरहेका हुन्थे र ठण्डा महिनाको पानी झरीमा पनि त्यही कतारमै उभिरहेका हुन्थे। मैले आफूलाई त्यो कतारमा उभिरहेको कल्पना यो भन्दा अघि कहिले पनि गरेकी थिइन। न त कहिले मैले सोचेको थिए कि म पनि त्यही कतारमा आफ्नो नाम बोलाउने प्रतीक्षामा र त्यो जालीले ढाकिएको खिरकी सम्म पुग्न सङ्घर्ष गर्दै यो सोच्दै गरेकी हुनेछु कि म ती भाग्यमानीहरू मद्धे परे जसको नाम बोलाइयो र ती अभागी मानिसहरू जस्तै अनन्तकालसम्म पर्खेको पर्खेकै हुनु परेन। त्यो मनोवैज्ञानिक पिडा जत्तिकै खतरनाक भए पनि मैले यो दुखाईको मारले गर्दा आत्मसमर्पण गर्ने पऱ्यो। मैले त्यो स्थानमा जान पर्ने भयो चाहे मलाई राम्रो लागोस् वा नलागोस्। त्यसै पनि अन्य मानिसहरूसँग त्यो कतारमा उभिनु कतिको नराम्रो पो हुनु सक्छ र? जहाँ कयौ मानिसहरू आ-आफ्नो पिडा, मर्का लिएर आएका हुन्छन् र हुन सक्छ मेरो दुखाई तिनीहरूको तुलनामा केही पनि न होला।
निन्द्राहीन रात पछि जब म बाबा कहाँ गए, मैले केही बोल्नै परेन उहाँको मायालु आँखाले मेरो दुखाई कम्ती गर्ने कोशिश गर्दै थियो। उहाँले भन्नु भयो कि उहाँ मान्छेको भीड खनिनु अघिनै सेन्टरमा गएर मेरो नाम लेखेर आउनु हुनेछ। मैले सोचे बिहानको ७ बजिनै कसरी एउटा ठाउँमा मान्छेको भीड खनिनु सक्ला!
सेन्टर जाने बाटो भरि मैले सोची बसे कि कसरी यो भन्दा पहिला म मेरो बाबा प्रति कृतघ्न थिए। उहाँ यही परिस्थितिमा महिनामा वा दुई महिनामा एक पल्ट परि रहनु हुन्छ। उहाँ युएनआरडब्लुए बाट दिइने आवश्यक सामग्रीहरू लिन यही कतारमा उभी रहनु पर्छ कारण हामी ती भाग्यमानी प्यालेस्टिनिहरू मद्धे पर्छौं जसकोमा युएनआरडब्लुए कार्ड छ। मेरो आमालाई शरणार्थी मानिन्छ यहाँ।मलाई थाह छैन कि किन कतिपय मानिसहरूले त्यो कार्डलाई सहुलियतको हिसाबले हेर्छन् र बडो गर्व साथ त्यो कार्ड हातमा लिएका हुन्छन् जसले उनीहरूले जे गुमाए अनि त्यसको क्षतिपूर्तिमा कत्ति कम्ती पाउँदैछन् भन्ने कुराको विरोधाभास देखाउछ। के एक बोरा गहुँले पहिला तिनीहरूकोमा भएको जमिनको क्षतिपूर्ति गर्न सक्छ? के एक प्याकेट चिनीले तिनीहरूको त्यो तितो पिडालाई मेटाउन सक्छ जो तिनीहरू प्रतिदिन आफ्नो प्यारो घर गुमाउनु पर्दा र टेन्टमा जीवन बिताउनु पर्दा महसुस गर्छन्? के दुई बतल तेलले ती मानिसहरूलाई आफ्नो ओलिभको रूखहरू बिर्साई दिन सक्छ जसलाई निर्ममतापूर्वक उखेलिको थियो जस्तो कि तिनीहरू आफै पनि खेदिएका थिए। वा यो एउटा घोषणापत्र मात्र हो कि तिनीहरू अस्थायी शरणार्थी हुन् र यो कार्ड हातमा छ भने तिनीहरूले एकदिन फेरी आफ्नो घर जमिन जम्मै फिर्ता पाउँनेछन्।
जब म सेन्टरमा पुगे, त्यहाँ बाहिर मानिसहरूको कतार थिएन। मलाई लाग्छ कि मेरो यस्तो भय केवल डेन्टिस्टहरू प्रति रहेको मेरो तीव्र विकर्षण हो। मलाई लाग्दै छ कि मैले ज्यादै भनेछु यो सेतो र निलो बिल्डिंग साँच्चैनै एउटा राम्रो र शान्त ठाउँ भान हुँदैछ। मेरो प्रिय रंगहरूले मलाई केही राहत त दियो तर त्यो बेसी क्षण टिकेन। जस्तो म क्लिनिक भित्र पसे त्यस्तै मानिसहरूको अस्पष्ट आवाजहरू स्पष्ट हुँदै गयो। त्यो सानो क्लिनिकको चारै पट्टि आँखा घुमाउदै गर्दा मैले देखे कि क्लिनिक सा-सानो कमराहरू लिएर बनिएको थियो र प्रत्येक कमराको दैलो माथि यो क्लिनिकमा के-कस्तो उपचारहरू गरिन्छ त्यो विषयमा नक्सा टाँगिएको थियो। साधारण क्लिनिक, आँखा जचाई, दाँतको डाक्टर र कमराको ठुलो हिस्सा आन्तरिक औषधीको लागि तोकिएको थियो। र, तिमीलाई नक्सामा देखाइएको बिमारी भन्दा बेग्लै बिमारी छ भने तिमीले अन्तै बाटो लिनु पऱ्यो। आशा गरौँ कि तिमी त्यस्तो कुनै बिमारीले ग्रसित छैनौ जसको उपचार युएनआरडब्लुए ले त के? कसैले पनि दिन सक्दैन, कारण तिम्रो उपचारको निम्ति जुन औषधी चाहिन्छ त्यो गाज़ा क्षेत्रमा ल्याउन निषेध गरिएको छ। भनिन्छ यी औषधीहरू सुरक्षाको दृष्टिकोणले गर्दा निषेध गरिएको हो। मैले सोचे धन्न मेरो त दाँत मात्रै दुखेको हो।
मेरो बाबा भीड चिर्दै म भएकोमा आएर सोध्नु भयो- “यति ढिलो किन आयौ? मैले तिम्रो लागि नम्बर ल्याई दिएको छु तिमीले झन्डै यो गुमायौं” “ओह नम्बर! त्यो त मैले कुनै हालतमा पनि गुमाउन सक्दिन नि, मैले सोचे। कहिलेकाहीँ आफूले मानिस भएको कुरा बिर्सिनु पर्छ र केवल एउटा नम्बर मात्रै भएर रहनु पर्छ। म अहिले म थिइन। केवल सात। सात अहिले घरी यही शब्द मात्रै म सुन्न चाहन्थे। म मेरो बाबाले राखिदिएको बेन्चिको सानो कुनामा चेप्टिएर बसे। मेरो अवस्था देखेर मेरो बाबाले आफ्नो नम्बर पर्खेर बस्ने अरू मान्छेहरू जस्तै उभिनुनै रुचाउनु भयो। फरक अलिकति के थियो भने यसरी उभिनु उनीहरूको रहर नभएर कर थियो कारण कमरमा भएको पाँचवटा बेन्चिहरू ती ठसठसी भरिएको आइमाई, केटाकेटी, पुरुष र बुढापाकाहरूको निम्ति पक्कै पनि पर्याप्त थिएन। मैले आफ्नो छेउमा बसिरहेकी एउटा आइमाइको कार्डमा यसो आँखा घुमाए र छक्क परे, आम्भो! उसले छत्तिस नम्बर बोलाउन्जेल सम्म कत्ति लामो पर्खिनु पर्ने हो जबकि म सात भएर पनि अहिले सम्म मेरो नम्बर आएको थिएन? एकछिन पछि मैले सुने- “नम्बर छ, खै कता नम्बर छ.....?” प्राथमिक विद्ध्यालयको हरियो जामा लगाएको एउटा सानी केटी उठी। एक्लै उ कमरा भित्र पसी। म आफैलाई लाज लाग्यो त्यो केटी त म जस्तो डरछेरुवा रहिन रैछिन् आफ्नो बाबालाई साथमा ल्याउने। कमरा भित्र पस्दा उसले आफ्नो स्कुलको झोला बोकेकी थिईन्। शायद दाँत निकालेर सिधै स्कुल जान लागेकी थिई उ। दुई मिनट पछि लगत्तै त्यो दैलो खोलियो। त्यो सानी केटी विजयको भाव मुखमा लिएर फर्की मानो भनी रहेकी छे “मैले अन्तमा तलाइँ आफ्नो मुखबाट निकाली छोडे, दुष्ट दाँत।” दुई मिनट! उसलाई कुनै बिहोसीको दबाई पनि दिन नसकिने समय दुई मिनट....... आह कस्तो सन्चो। 
एकछिन त मलाई त्यहाँबाट भागेर जाऊ कि जस्तो पनि लाग्यो। जति बेला मेरो नम्बर बोलाइयो त्यतिखेर मेरो बाबाले मलाई तानेर लानु पऱ्यो। उहाँले मलाई हात समातेर भित्र तानेर लानु भयो। तीनजना डाक्टरहरू खुबै भद्र देखिंदै थिए, तिनीहरूले मेरो नाम त सोधे। म कुर्सीमा ढल्किनु पऱ्यो तर एक मिनट भन्दा पनि कम्ती समयमै डाक्टरले मेरो दाँत सर्जरी गरेर निकाल्नु पर्छ भने, जुन आश्चर्य बिना युएनआरडब्लुए को क्लिनिकमा सम्भव थिएन। मैले मेरो सबै दुखाई बिर्सी पठाए, कत्तिबेला त्यो कमराबाट निस्कु जस्तो लाग्दै थियो मलाई। म साँस नफेरी त्यहाँबाट निस्के। त्यो सानी केटीको अनुहारमा जस्तो मुस्कान थियो, त्यही मुस्कान लिएर हतार हतार म बाहिर जाने बाटो तर्फ लागे र बाबा तर्फ हेरे, “ देख्नु भयो यिनीहरूले मेरो सहायता गर्न सकेनन् बाबा”। मेरो बाबाले मेरो मरन्च्यासे अनुहार फेरी आफ्नो प्राकृतिक रंगमा फर्की आएको देखेर हाँस्नु भयो। मेरो अनुहार अघि एउटा सानो औषधीको पुरिया देखाउदै भन्नु भयो, “केही नभए पनि हाम्रो मा पेन किलर त छ”। “हजुर, पेन किलर” म सोच्दै, मुस्कुराए। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...