Sunday, August 31, 2014

तापस पालको क्षमा पत्र !

संगीता  खेवा 

“एउटा महिला मुख्य मन्त्री भएर कुनै सजाय नदिकन तापस पालको क्षमा पत्र चुपचाप स्वीकार गर्नु खुबै अचम्म र लज्जास्पद कुरो हो। त्यो मुख्य मन्त्री जसले एक जमानामा आफै बलात्कारको विरुद्ध जुझारु लडाई गर्दै र महिलामाथि हुने यही शोषण मुक्त राज्यको निर्माण गरेर देखाउछु भनेर किटान गरेकी थिइन् उसैले केवल आफ्नो पार्टीको मुख बचाउनुको निम्ति पालको क्षमा पत्र स्वीकार गरेकी छिन्। हामी एउटा नेत्री जो सङ्घर्ष गरेर सत्तामा आएकी हुन्, उबाट सस्ते राजनीति देखि माथि उठेर यस्ता थोत्रे मानसिकता भएका मानिसहरूको विरुद्ध कठोर कदम चाल्ने आशा राख्छौँ, चाहे त्यो उसकै पार्टीको नेतानै किन नहोस्। बरु उसले त यस्तो कदम लिनु पर्ने हो कि त्यो देखेर देशको जम्मै अरू नेताहरू पनि जसले यस्तै विचार राख्छन् अबो उसो यस्तो घिनलाग्दो टिप्पणी गर्न अघि दस पल्ट सोच्नु परोस्।” उक्त वाक्यांश तृणमुलका नेता तापस पालको नारी विरुद्ध बयान पछाडि र मुख्यमन्त्री ममता ब्यनार्जी द्वारा उ विरुद्ध कुनै कडा कदम न उठाएको देखेर ‘सेन्टर फर सोसिअल रिसर्चको’ डाइरेक्टर डा. रन्जना कुमारीले दिएको बयान हो। स्मरण रहोस् अस्ति १ जुलाईको दिन चौमाहा भन्ने गाउँमा तृणमुल काँग्रेसको एउटा खुल्ला जनसभामा तृणमूलका नेता तापस पालले विरोधी पार्टीका कर्मीहरूलाई धम्की दिदै “म कसैलाई छोड्दिन। म आफ्नो केटाहरूलाई छोडिदिने छु, उनीहरू तिमीहरूको घर घरमा पसेर रेप गर्नेछन्” भनेका थिए। यस्तो छ देशको असल अनुहार जहाँ धुमधामले स्वतन्त्रताको जशन मनाइन्छ तर अर्को पट्टि यही जहाँ देशको नेताहरू खुल्लमखुल्ला यस्ता नारी विरोधी वक्तव्य दिन्छन् र कुनै सजाय पनि पाउदैनन् त्यस्तो देशमा नारीहरू कत्तिको स्वतन्त्र छन् त? भन्ने प्रश्न पनि आउछ बारम्बार। हाम्रो देशमा नेताहरूद्वारा नारी विरुद्ध गरिएको टिप्पणी थुप्रै छन् जसमा तापस पालको नाम पनि स्वर्ण अक्षरमा लेखिन पुगियो। फेरी यसलाई ढाकछोप गर्न डेरिक ओ ब्राइन जस्ता ‘बुद्धिजीवी’ नेताहरूको धुइरो पनि नलागेको हैन। 
भूमण्डलीकरण र इन्टरनेटको जमानामा पनि एकापट्टी नारीहरूलाई कसैले पनि सजिलै सित हर्न सक्ने परिवारको सम्पत्ति र इज्जत सोचिन्छ भने अर्को पट्टि सजिलै सित भोग गर्ने सकिने वस्तुको रूपमा हेरिन्छ। यी दुवै मतको छर्लङ्ग उदाहरण समाजमा छ्यापछ्यापति देख्न पाइन्छ। केही दिन अघि मात्रै झारखण्डमा पंचायतको आदेशमा एउटा १० वर्षकी बालिकाको दिउसै बलात्कार गरियो उसलाई जुन सजाय सुनाइयो त्यो उसको अपराध पनि थिएन उसको दाजुले गरेको अपराधको दण्ड त्यो बालिकाले भुक्तान गर्न परयो कारण नारीलाई चाहे उ जत्रै होस् घरको सम्पत्ति सरह मानिन्छ त्यसमा नारीको आफ्नो कुनै अस्तित्व छैन इच्छा अनिच्छा छैन यो समाजले जसरी उसलाई हिड्न भन्छ त्यसरीनै उ हिड्न पर्छ र आफू नारी भएर जन्मेको दोषको सजाय उसले भोग्नु पर्छ। हालैमा बंगालमै दुई जना बालिकाहरूलाई बलात्कार पछि रूखमा झुन्डाएर मारिएको खबर पनि आलै छ। जहाँ राज्यको मुख्य मन्त्री आफै एउटा नारी हुन् त्यस्तो राज्यमा पनि यस्तो जघन्य अपराध दिनदिनै बढ्दै गइरहेकै छ। यही राज्यमै बलात्कार पीडितहरूलाई क्षतिपूर्तिस्वरुप केही अर्थदान गरिने जस्ता लज्जास्पद कुरो पनि सबैले सुनेकै हो। अपराध कसरी कम्ती गर्नु त होइन बरु रुदै गरेको नानीलाई ललिपप दिए जस्तै पीडितलाई अर्थदान गर्नु भनेको मूल समस्यादेखि भाग्नु हो। त्यसै कारण तापस पालले दिएको धम्की पनि यहाँ नौलो होइन असलमा यहाँ त्यस्ता असंख्य पालहरू छन् जसले आफ्ना दुस्मनहरूलाई सजाय दिन उनीहरूको आफन्त नारीहरूलाई हमला गर्छन्। बितेको दशकमा नारीहरूमाथि भएको हिंसाको आकड़ा तर्साउने छ। घरेलु हिंसा, यौन हिंसा, एसिड फ्याकिने, पिछा गरिने, फोनमा इमेलमा अश्लील वाक्यहरू पठाइने जस्ता घटनाहरू देखि लिएर कार्यस्थलमा थिचो-मिचो इत्यादि। 
संसारको आधी आबादी भएको नारीहरू आज यौन हिंसाको आगोले गर्दा निरन्तर अपमान र बेइज्जतिको डरमा बाच्न बाध्य छन्। आफैलाई सधैँ असुरक्षित, कमजोर, सीमित र पछि तानिएको महसुस गर्छन् नारीहरू। बितेको हजारौँ वर्षमा यो सीमितताले नारीहरूको कयौँ प्रतिभाहरूलाई नष्ट गऱ्यो होला जसको हिसाब छैन। परिवारले, समाजले, राज्यले दिएको नारीको कोमल, अरूमाथि भर पर्ने, एक्लै केही गर्न नसक्ने परिचयलाई त्यागेर समाजमा क्रान्तिकारी परिवर्तन ल्याउन हेतु यही शोषित र पीडित व्यक्तिको भागीदारी महत्वपूर्ण हुन्छ केवल पीडित महिलालाई सान्त्वना दिएर वा उसलाई माया गरेर मात्रै यो समस्याको समाधान हुँदैन (उत्तर बंगालको प्रसिद्ध नेपाली खबर कागजमा बलात्कार पीडित महिलाहरूको निम्ति सान्त्वनाले भरिएको लेख छापिएको थियो जसमा यसको कारण वा निवारण कसैको बारेमा लेखिएको थिएन)। नारीहरूको मुक्ति उसको निम्ति मात्र नभएर सम्पूर्ण मानव जातिको निम्तिनै मुक्ति हो। नारी मुक्तिको प्रश्नमा उनीहरूको व्यवहार र संस्कृतिमा जतिको परिवर्तन आउनु पर्छ सचेत पुरुषहरूको व्यवहार, हाव-भाव र विचारमा पनि त्यतिकै परिवर्तन जरुरी छ। यसर्थ नारी मुक्तिमा पुरुषहरूको भूमिका पनि अतिनै मुख्य छ। कारण जुन तन्त्रले नारीहरू माथि अन्याय गरी रहेको हुन्छ त्यसैले खटिखाने पुरुषहरू माथि पनि त्यतिकै निर्मम अत्यचार गरी रहेको हुन्छ र केवल शासनमा सुविधाको निम्ति नारी र पुरुषमाझ मेल-मिलाप हुन दिदैन। पितृसत्ताको आडमा नारीहरूलाई दमन गर्ने समाज तन्त्रको घोर विरोध र सङ्घर्ष गर्ने समय आएको छ आजनै नत्र हामीले दिनहुँ पाल जस्तो चानचुने नेताहरूबाट धम्की खानु पर्छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...