डा. राहुलदेव बर्मन
जुनियर डाक्टरको निर्मम बलात्कार र हत्या
विगत 9 अगस्टको दिन कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा एक क्रूर बलात्कार र हत्याको घटना भएको थियो। अस्पतालमा कार्यरत एउटी जुनियर डाक्टरको बलात्कारपछि हत्या भएको छ। युवती चेस्ट मेडिसिन विभागमा एमडी दोस्रो वर्षमा अध्ययनरत थिइन्। हामीलाई हाम्रो विद्यार्थीकालको अनुभवबाट थाहा छ, अस्पतालहरू सबैभन्दा सुरक्षित ठाउँहरूमध्ये एक हो। काम गर्ने क्रममा हाम्री एक सहकर्मीको यो भयानक घटना र निधनको कल्पना पनि हामी गर्न सक्दैनौँ।
चलिरहेको थिए थ्रेट सिन्डिकेटहरू
अस्पतालमा लामो समयदेखि चलिरहेको थ्रेट सिन्डिकेटहरू, जुन शासकहरूको नजिकका मुट्ठीभर डाक्टरहरूद्वारा सञ्चालित हुन्छन्, विगत केही वर्षदेखि अति सक्रिय छन्। उत्तरबङ्गाल लबी भनेर चिनिने यो सिन्डिकेटले अस्पतालहरूलाई भ्रष्टाचारको अखाडा बनाइदियो।
यो गुठको नामाकरनमा उत्तरबङ्गाल छ किनभने यसको कतिजना प्रमुख व्यक्ति उत्तरबङ्गालकै हुन्, कतिजनाको पोस्टिङ यता भएदेखि नानाभाती चलखेलहरू चलाएका हुन्, र कतिजना अन्य ठाउँहरूबाट पनि छन्। तर नयाँ जागिरको पोष्टिङ होस् वा सरुवा– सबै कुरामा दादागिरी र घुषको कारोवार चलाउनु नै गर्थे यिनीहरू। राज्यको सत्तारुढ दलको समर्थनमा यिनीहरु यति धेर शक्तिशाली भए कि उनीहरुको विरोध कसैले गर्न सकेको थिएनन्। विरोध गर्दा ट्रान्सफर अवधारित बनेको थियो।
यो शक्तिशाली उत्तरबङ्गाल लबी अस्पतालमा गुणस्तरहीन औषधि आपूर्ति गर्नेदेखि लिएर खारेज गरिएको मेडिकल सामग्री आपूर्तिको व्यापारलगायत धेरै किसिमको घटिया कामहरूसँग संलग्न थियो।
विगत केही वर्षदेखि यिनीहरुको जगजगीका कारण अस्पतालहरुमा त्रासको वातावरण बनिरहेको छ। यिनीहरूप्रतिको समर्पण इन्कार गर्नु अकल्पनीय थियो।
यो क्रूर बलात्कार र हत्या के जबरजस्ती समर्पण गराउनलाई नै भयो?
घटनाको भोलिपल्ट तथाकथित उत्तरबङ्गाल लबीका सबै हस्तीहरू घटनास्थलमा आएर घटनालाई ढाकछोप गर्ने कोसिस गरे, जसरी पीडितको परिवारलाई प्रारम्भिक जानकारी दिइएको थियो कि पीडितले आत्महत्या गरेकी थिइन् र जसरी घटनाको दुई दिनभित्र एकजना सिभिक भोलन्टियर पक्राउ परे, र उसलाई सबै अपराध स्वीकार गर्न लगाइयो-- यी कुराहरूबाट यस्ता आशंका बलियो नै हुन्छ। पुलिस-प्रशासनले पनि आफ्नो सर्वोच्च शक्ति लगाएर सच्चाईलाई ढाकछोप गर्न मद्दत गर्यो।
एकातिर जब हामी सहकर्मी बहिनीको मृत्युमा आक्रोशित भए, अर्कातिर विशाल जनसाधारण पनि यस घटनामा आफ्नो दैनिक असुरक्षाको चिन्ताले काँपिरहेका छन्। जताततै छ सिन्डिकेट राज! केटीहरूमाथि उत्पीडन दिनानुदिनको घटना!
त्रसित जुनियर डाक्टरहरूको जमातले आफ्नो सामाजिक दायित्वबोधबाट प्रेरित भई आन्दोलनमा सामेल हुन अपील गरेपछि लाखौँ जनसाधारण सडकमा उत्रिए। कुनै पनि ठूलो संगठित प्रयास बिना सडकमा स्वतःस्फूर्त जनज्वार देखिन थाल्यो।
यसैबीच, 14 अगस्टमा केही महिला सङ्गठन र व्यक्तिहरूले 'केटीहरूको रात दखल' (रिक्लेम द नाइट) कार्यक्रम घोषणा गरेपछि त्यो आह्वान डढेलो झैँ फैलियो चारैतिर। एक-दुईदिनको वा भनौँ कता कता त केही मात्र घन्टाको तयारीमा हजारौँ मानिस, मुख्यत केटीहरू जनसमुद्र जस्तै सडकमा ओर्लिए। यो कार्यक्रम भने हरेक कुना-काप्चासम्म पुगेको जस्तो भान भयो। यो राज्यमा, र राज्य पार गरेर देशका विभिन्न भाग, अनि विदेशका विभिन्न सहरमा समेत यो कार्यक्रम मनाइयो।
यस्ता विरोधहरूबाट शासक डराए। आरजी कर अस्पतालमा चलिरहेको धरना मञ्च शासक-समर्थित गुण्डाहरूले ध्वस्त पारे। र चर्किँदै गरेको आन्दोलनलाई दबाउन वा सेल्लाउन साम-दाम-दण्ड-भेदको थरीथरीका तरिका अपनाउन थाले प्रशासन-सरकार र शासकदलकाहरूले। तर आन्दोलन दिनदिनै बढेर गयो।
राज्यको प्रमुख विपक्षी दल बीजेपीले यो आन्दोलनको आगोमा आफ्नै रोटी सेक्न उत्र्यो। बिल्किस बानुको बलात्कारीलाई माला लगाउने बीजेपी जब बलात्कारको न्याय माग्दै सडकमा उत्रिए, जुनियर डाक्टरहरूले उनीहरूलाई चिन्न र आन्दोलनको मञ्चबाट निकाल्न बेर लगाएनन्। मानिसहरूले पनि बलात्कारीहरूको समर्थक यस समूहलाई खारेज गरे। भाजपाले आन्दोलनलाई बहकाउने धेरै पटक प्रयास गरे तर सचेत जनताले त्यस्ता कोसिसहरूलाई विफल पारिदिए।
सर्वोच्च अदालतले यो मुद्दाको जिम्मेवारी लिए! सरकारी कलेज अस्पतालमा जुनियर डाक्टरहरुले आन्दोलनको आह्वान गरे! जनताले कठिनाई स्वीकारेर पनि यस आन्दोलनलाई लगातार समर्थन गरे! र धेरै आयामहरू खोलिन थाल्यो।
स्वास्थ्यव्यवस्था सुधार लिएर डाक्टरहरूको पहल
यस अवस्थामा, वरिष्ठ डाक्टरहरूले सामान्यभन्दा बढी जिम्मेवारी लिए, ताकि मानिसहरूलाई दुःख नपरोस्। यसरी नै जनसाधारण, जुनियर डाक्टर र सिनियर डाक्टरहरुको सामूहिक सहभागितामा आन्दोलनले ठूलो रूप लियो।
चिकित्सकहरूले पीडितलाई न्यायदिने मागसितै अस्पतालमा थप सुरक्षा र हिंसामा संलग्नलाई कारबाही गर्नुपर्ने मागलगायत जनस्वास्थ्य सुधारको मुद्दा पनि अघि सारेका छन्। जनस्वास्थ्य प्रणालीमा सुधार नगरी अस्पतालमा स्वास्थ्यकर्मीहरूको सुरक्षा सम्भव नहुने कुरा जुनियर डाक्टर सङ्गठनले स्पष्ट पारेको छ। उन्नत सरकारी स्वास्थ्य प्रणालीले जनतालाई उचित सेवा उपलब्ध गरायो भने मात्रै सरकारी अस्पतालमा रहेको यो सिन्डिकेटको शासनलाई जनताले उखेल्नेछन् भन्ने हामी आशावादी छौँ। साथै, पर्याप्त नि:शुल्क सार्वजनिक स्वास्थ्य प्रणाली पनि जनताको अधिकार हो।
अस्पतालको सुरक्षा वृद्धि, पीडितलाई न्याय, जाँचको क्रममा प्रमाण लुकाएको आरोपमा पुलिस र स्वास्थ्य विभागका अधिकारीलाई हटाउने, धम्की दिने सिन्डिकेट-लाई कारबाही र जनस्वास्थ्य सुधारको माग पनि बलियो हुँदै गयो। जुनियर डाक्टरहरुले जुलुस लिएर माग जनाउन जाँदा बेकामे पुलिस अधिकारीलाई मेरूदण्ड उपहार दिए।
जुनियर डाक्टरहरुले मुख्यमन्त्रीसँग पटक पटक मागबारे छलफल गरे पनि माग पूरा नभएपछि जुनियर डाक्टरहरुले आमरण अनसन बस्ने निर्णय गरे। आमरण अनशन कलकत्ताको धर्मतला र उत्तर बङ्गाल मेडिकल कलेजमा सुरु भयो। साथै समस्त ठाउँहरूमा लहर जस्तै एकपछि एक कार्यक्रम भइरह्यो। एउटा कुनै आह्वान उठ्ने बित्तिकै त्यो फैलिएर गए वा स्थानीय स्तरमा पनि पहलहरू चलिरहे।
एकातिर जुनियर डाक्टरहरूले अनशन जारी राखे, अर्कोतिर असंवेदनशील मुख्यमन्त्री दुर्गा पूजाको कार्निभल आयोजना गर्न लागे। मुख्यमन्त्रीको कार्निभलको विरोध गर्दै आक्रोशित जनताले ‘द्रोहको कार्निभल’ आह्वान गरे, र ठूला जमघटमा त्यो मनाइयो। छेउमै चलिरहेको थियो जुनियर डाक्टरहरूको अनशन साथै मानवशृङ्खल। फेरि शासक डराए। फेरि बैठक बोलाउन बाध्य भए।
सरकार अन्य विभिन्न मागहरु स्वीकार गर्दै अभियुक्त पुलिस आयुक्तलाई हटाउन बाध्य भयो। डाक्टरहरुले पनि अनशन उठाए। तर आन्दोलन नाना थरिका रूपमा जारी नै छ, केही उपलब्धि र केही विफलताको बाटोबाट गुज्रिँदै।
नारी समानताको कुरा जोरतोरले उठ्यो, मागहरू सामूहिक स्वरले गर्जियो...
आरजी करको यो घटना हुने दिन त्यो केटी किन अबेर राती त्यस्तो ठाउँ गयो भन्ने प्रश्न उठाएको थियो कलेज प्रिन्सिपलले, जबकि त्यो डाक्टरहरूको सधैँजाने ठाउँ नै थियो। यसको लगत्तै पछि राज्य प्रशासनबाट पनि राती केटीहरू काम नगरोस् खालको सुझाव आयो। हरेक ठाउँलाई सुरक्षित गर्ने व्यवस्था नलिई पीडितलाई नै दोष्याउँदै, र केटीहरूको सामाजिक र पेशागत जीवनलाई सीमित पार्ने यस्ता बयान र षडयन्त्रहरूको विरोधमै उठेको थियो रिक्लेम द नाइट-को आवाज। र कार्यक्रमको व्यापक सफलता पछि नारी र किनारीकृत लैङ्गिक पहिचानका मानिसहरूको अधिकार, समानता, कार्यस्थल र सामाजिक जीवनमा सुरक्षाको चर्चा र सङ्घर्ष प्रभावी ढङ्गले चुलिएको छ। यसबारे बेग्लै चर्चाको आवश्यकता छ।अदालतमा सुनुवाइ प्रक्रिया अझै चलिरहेको छ...
अदालतमा सुनुवाइ प्रक्रिया विभिन्न गोलाई काटेपछि अझै चलिरहेको छ। पक्राउ परेका सिभिक भलान्टियरले आफू निर्दोष भएको बारम्बार बताउँदै छ। पुलिस आयुक्त विनीत गोयलले उसलाई फसाएको भन्दैछ। अनुसन्धान एजेन्सी सीबीआईले सोचेअनुरूप अनुसन्धान गर्न सकेको छैन। जनताले आन्दोलनको तीव्रता अलिकति घटाएमा शासकले न्यायिक प्रक्रियालाई प्रभाव पार्न थाल्छ। सिभिक भलन्टियरलाई बलिको बोका बनाउँदै वास्तविक अपराधीलाई मुक्ति दिनेछ।
आन्दोलनको प्रारम्भिक चरणमा विकसित विभिन्न जनआन्दोलनलाई सक्रिय बनाउँदै मागहरूलाई थप फैलाउन सके मात्र आन्दोलन सफल हुनेछ। आशा छ, यसले उठाएका धेरै आयामहरू जनताको पहलबाट नै केही हदसम्म मञ्जिलमा पुग्छ।
[अनुवाद: शमीक चक्रबर्ती]
No comments:
Post a Comment