शमीक चक्रवर्ती
एकोहोरो पटकथा र त्यसको विपरीत तस्बिर
बोनसको यो सिजनदेखि हिउँदो पार गर्दै फर्स्ट फ्लशको कलिला पातहरू नआएसम्म लोभी मालिकहरूको यो लुकामारी खेल कुनै नयाँ कथा होइन। मालिकहरूको यही एउटै पटकथा र घाटाको दोहोरीले चिया बगानको फुस्रो तस्विरलाई नियास्रो बनाउदछ। अब सुन्नुहोस् त्यसको उल्टो कहानी- पहाडे चिया श्रमिकहरूको सङ्घर्षको कहानी। चिया-मालिकहरूको वार्षिक भागाभाग र वञ्चनाको विरुद्धमा यसपटक नौलो जीवनको गीत लेखियो, दार्जिलिङ पहाडका चिया श्रमिकहरूको बोनसको लडाईमा। दुई महिनाव्यापी अथक सङ्घर्षले योपाली इतिहास रच्यो, ‘जय श्रमिक’को गर्जनले सरकार पछि हट्यो। सरकारले 16 % बोनसको घोषणा गरेर लन्ठा साफ गर्न खोजे तापनि जिद्दी श्रमिकहरूको दबाबमा सरकारले 6 नोभेम्बर फेरि कोलकातामा बैठक बोलाउने घोषणा गरेको थियो। मिटिङमा युनियनका प्रतिनिधिहरू र बाहिर सडकमा सङ्घर्षरत चिया मजदुरहरू भेला भए पनि त्यस दिन मालिकहरू आएनन्। त्यसैले फेरि 16 नोभेम्बर सिलगढीमा मिटिङ छ। चिया मजदुरहरूको नयाँ सङ्ग्रामी युनियन हिल प्लान्टेसन्स् एम्प्लोइज युनियन र यो सङ्घर्षसँग जोडिएको हुनाले केही दिनअघि लेखेको यो निबन्धलाई फेरि अलिकति बनाउँदैछु, ताजा स्थितिको जानकारी गराउन।
यसपालीको पीक सिजनमा
सन् 1955को 25 जुनको दिन मार्गरेटस् होप बगानमा पुलिसको गोली लागेर 6 जना मजदुर शहीद भएको दिनलाई स्मरण गर्दै, लोकसभा चुनाव सकेपश्चात हामीले न्यूनतम ज्याला, पट्टा, बन्द बगान खोल्ने, अवकाशकालीन सहुलियत आदि लगायत विभिन्न मागहरू लिएर दुई महिना-व्यापी प्रचार अभियान सुरु गरेका थियौँ। यसैबीच विभिन्न बगानमा बक्यौता राशिको लागि आन्दोलन जारी रहँदा नै समग्र चिया मजदुरको बोनसको मुद्दा उठेर आयो।
विगतको अनुभवबाट सिक लिँदै श्रमिकको माग रह्यो– यसपटक 20 % बोनस एकै किस्तामा दिनुपर्छ। किन 20%, र किन एक किस्तीमा-- बुझ्नलाई तपाईंले चाडपर्वको चमकबाट आँखा सारेर बगाने श्रमिकहरूको दैनिक दिनचर्यालाई हेर्नुपर्छ।
चिया निर्माताहरूको मृगौला
विशाल आम्दानी र विदेशी मुद्राको प्रमुख स्रोत हो दार्जिलिङ टी। चियाको सर्कलमा यसलाई 'शैम्पेन अफ टी' भनिन्छ, 'जीआई ट्याग' यसको भूषण हो। निर्यात मात्र किन, घरेलु बजारमा पनि चियाको माग बढ्दै गएको छ भने मागको तुलनामा आपूर्ति कम छ। हो, नेपाल टी-को अवैध प्रवेश, वा उत्पादनको तुलनामा व्यापारमा बढी नाफाको कुरा दिमागमा राखेर पनि यो कुरा लेख्दैछु।पश्चिम बङ्गालको उत्तर भागमा पर्ने दार्जिलिङ-कालिम्पङ पहाड अनि तराई-डुवर्सका चिया मजदुरहरूको दैनिक ज्याला 250 रुपियाँ छ। हो-- दैनिक 250 मात्रै! र असम जस्तै पश्चिम बङ्गालको चिया उद्योग पनि न्यूनतम ज्याला ऐन अन्तर्गत आउन बाँकी छ। सन् 2014 मा चिया उद्योगमा भएको एकवद्ध आन्दोलनको कारण 2015 फेब्रुवरीमा भएको त्रिपक्षीय सम्झौतामा न्यूनतम ज्यालाको उल्लेख भए पनि त्यसपछि फलविहीन एक दशक बित्न लागेको छ। सल्लाहकार समितिहरू फेरिए, उच्च अदालतको आदेश बारम्बार आए पनि यो ऐन कार्यान्वयन भएको छैन। ज्याला बाहेकका विभिन्न फ्रिन्ज बेनिफिटहरू-- छाता-जुत्ता-तिरपल-इन्धन-मेडिकल-क्रेच-घर मर्मतहरू पनि धेरै बगानमा हराइसकेको छ। जग्गाजमीन र घरको पट्टा छैन। पीएफ जम्मा हुँदैन, ग्राचुइटी मिल्दैन, यी भुक्तान गर्दैनन् भनेर रिटयरमेन्ट नदिई काममा लगाई जारी राख्ने चलन-- समग्रमा, एक भयानक असुरक्षित बगाने जीवन चलिरहेको छ।
बीस प्रतिशत बोनस किन माग्ने ?
20% बोनसको दाबी किन उठ्यो भनेर बुझ्नको लागि एउटा साधारण गणित आवश्यक छ। 250 रुपियाँ दैनिक ज्यालाको श्रमिकले चारवटा साप्ताहिक छुट्टी बाहेक महिनामा 26 दिन काम गर्दापनि 26X250= 6500 रुपियाँ ज्याला पाउनेछन्। पीएफ-को दैनिक 30 रुपियाँ काटेपछि पनि झनै कम हातमा आउँछ। कुनैदिन नागा बस्दा वा ठिकाभन्दा कम पत्ती टिप्दा 'परोटा' (प्रो-राटा) भई ज्याला काटिन्छ। हुन त ज्यादा कमाउने बाटो पनि छन्--पीक सिजनमा ओभरटाइम, वा अतिरिक्त पत्ती टिप्नु। तर एक्स्ट्रा लीफ प्राइस वा ईएलपी-को लागि प्रतिकिलो 15 रुपियाँ पाउने कुरा रहे तापनि वास्तवमा 4/5 रुपियाँ मात्रै मिल्छ।
त्यसोभए महिनामा लगभग 6500 रुपियाँ ज्याला पाउने श्रमिकको लागि वर्षभरि बोनसतर्फ हेर्नुबाहेक अरु विकल्प के छ त? पहाडका बगानहरूमा काम गर्ने अधिकांश नै नेपाली, केही आदिवासी, अलिकति राजवंशी र एक–दुईजना बंगाली श्रमिकहरू छन् भने आदिवासीहरूको करमपूजा, नेपालीहरूको दशैं-तिहार र बिहारीहरूको छठ लगायत सबैको चाडपर्व यही समयमा आउँछ – रमाइलो-मनोरञ्जन गर्ने-इष्टमित्रसित सामाजिकता गर्ने, घर सजाउने, लुगा-फर्निचर किन्ने, बालबालिका र वयस्कहरूलाई उपहार दिने समय यही हो। यस्तो समयमा, 250 रुपियाँको फुस्रो दिनचर्या पार गरेर रङ्गीन इच्छाहरू पूरा गर्ने कुञ्जी हो यो बोनस। र एक किस्तामा सबै पाएमा रहरको बाह्र अन्ना प्राप्त गर्न सकिन्छ, अन्यथा खुशी पनि किस्ता किस्तामा किन्नुपर्दछ।
यस वर्षको बोनस: सुरुको कुरा
सुरुमा, 2 सेप्टेम्बर चिया मालिकहरूले पहाडका 87वटा बगानका 55,000 स्थायी श्रमिकहरूको बोनसबारे दार्जिलिङ टी एसोसिएसन (DTA) अफिसमा द्विपक्षीय बैठक बोलाएका थिए। हाम्रो हिल प्लान्टेसन्स एम्प्लोइज युनियन (HPEU)-लाई इमेल मार्फत मालिक सङ्घबाट निमन्त्रणा आयो। बैठकमा हामीसहित पहाडी क्षेत्रमा क्रियाशील 9 वटा युनियनका प्रतिनिधिहरू सहभागी भए र आ-आफ्नो वक्तव्य राखे। मालिकहरूले पनि आफ्ना कुराहरू राखे-- उत्पादनमा कमी, घाटा, एबसेन्टिज्म, र त्यसपछि 8.33 % भन्दा बढी बोनस तिर्न नसक्ने निर्दयी घोषणा।
उल्लेखनीय छ, भारतको बोनस ऐन-1965 अनुसार सम्पूर्ण वर्षको कमाईको 8.33% (1/12 भाग = एक महिनाको आय) सबैभन्दा कम बोनस दर हो, र 20% अर्थात् साढे दुई महिनाको आय उच्चतम हो। यदि कुनै मालिकले त्योभन्दा बढी बोनस दिन्छ भने, त्यसलाई एक्स-ग्रासिया भनिन्छ। भारतका सङ्गठित उद्योगहरूमध्ये सबैभन्दा कम ज्याला पाउने चिया श्रमिकहरूले वर्षमा एकताल आउने दिनहरूमा सर्वोच्च बोनसको मागलाई न्यायिक नै भन्नुपर्छ। न्यूनतम ज्याला लागू भएको भए कुरा फरक हुन सक्थो।
उत्पादनमा कमी, घाटा, एबसेन्टिज्मबारे छलफल पछि गर्न सकिन्छ। तर, यति त भन्नै पर्छ कि कम ज्यालाको कारण बगानको काम छोडेका स्थायी श्रमिकको सट्टा ‘सुखा-हाजिरा’मा ‘बिघा’ वा अस्थायी श्रमिक राखेर मालिकले नाफा कमाउँदै आएका छन्। अनि ‘गैरहाजिर’ श्रमिकको उत्पादनमा आएको कमीलाई वर्तमान श्रमिकले भर्दा उनीहरूको कामको भारी बोझ सहजै कल्पना गर्न सकिन्छ। कम श्रमिकहरूसँग समान उत्पादन - कसलाई फाइदा हुन्छ? नाफा कसको ? अनि कामको बोझ कसलाई ? एक पटक सोच्नुहोस्!
नयाँ युनियन, नौलो धार
राज्यको श्रम विभागले 20 अप्रिल 2023 को दिन दार्जिलिङ र कालिम्पोङ पहाडका बगैँचा (चिया र सिन्चोना) मजदुरहरूको युनियनको रूपमा हिल प्लान्टेसन्स एम्प्लोइज युनियन (HPEU) लाई दर्ता (रजिष्ट्रेसन नम्बर-29579) गर्यो, र त्यसपछि मई दिवस 2023 मा सार्वजनिक घोषणा पछि सक्रिय रूपमा युनियन काम गर्न थाल्छ। योभन्दा अघि पनि यसका सङ्गठकहरूले करिब एक दशकदेखि श्रमिकको हितका लागि लाली गुराँस समूह, चिया बगान सङ्ग्राम समिति, मजदुर अधिकार अभियान लगायत विभिन्न संस्था र अभियानको तर्फबाट यस्ता गतिविधिहरूमा संलग्न नै रहेका छन्, जसको निरन्तरतामा यो युनियन पनि बन्यो।
मार्गरेटस् होप जस्ता तथाकथित पहिलोताकको बगानमा मजदुरको आवाज उठाउने वा बन्द धोत्रे-तुङसुङ चिया बगानमा वर्कर्स कमिटीमार्फत बगान बचाउने वैकल्पिक प्रयास थियो। 25 जुनदेखि दुई-महिने प्रचार अभियानको चरणमा HPEU-को नेतृत्वमा सशक्त आन्दोलन सोनादा नजिक रिङ्टङ बगानमा सुरु भयो। भारी वर्षामा छाता ओडेर चिया बगानमा जम्मा भएका सयौं चिया मजदुरहरूको त्यो तस्वीर धेरैले देखेका छन् होला। मालिक सङ्गठन ‘टिपा’को सिलगढीको माटिगारास्थित कार्यालयमा द्विपक्षीय एग्रिमेन्ट भएर शान्त भएको लगत्तै पछि पंखाबारी नजिकैको लङभ्यू चिया बगानको आन्दोलनले उग्र रुप लियो। 16.9 करोड बक्यौता तिर्ने माग लिएर विभिन्न तहमा डेपुटेशन, द्विपक्षीय बैठक पछि 17 अगस्टदेखि सुरु भएको धर्ना र विरोध प्रदर्शन, पत्ती टिप्ने काम बन्द आदिको कारण 28 अगस्ट पहिलो त्रिपक्षीय बैठक असफल भएपछि 6 सेप्टेम्बर सम्झौतामा हस्ताक्षर भएको थियो। बक्यौता तिर्ने समयसूचि बनाइयो, र श्रमिकहरूले प्रारम्भिक जीत हासिल गरे। यद्यपि, मालिकले फेरि सम्झौताको बक्यौता पूरा गर्न असफल भए, र अर्को रूप लिएर लङ्भ्यु-मा बोनस आन्दोलन सुरु भयो। अक्टोबर-नोभेम्बरको उत्सवकालमा लङ्गभ्यूका श्रमिकहरूले एउटा ऐतिहासिक चरण रचना गरे। त्यो कुरामा आउनेछु।
HPEU को नेतृत्वमा यो आन्दोलनले पहाड तथा समग्र चिया क्षेत्रमा श्रमिक सङ्घर्ष र स्वतन्त्र युनियनको बेजोड सन्देश फैलाइदियो। यी आन्दोलनहरूले सङ्घर्ष-नारा-दृढता-साहसमा श्रमिक सक्रियताका नयाँ मिसाल सिर्जना गर्न थाले। कार्सियाङमा 8 सेप्टेम्बरमा सम्पन्न भएको HPEU-को साधारण सभामा विभिन्न बगानका श्रमिकहरूको व्यापक भागिदारीमा 52-सदस्यीय जिल्ला समिति गठन गरियो। गोरुबथानमा 16 सेप्टेम्बर कालिम्पोङ जिल्ला समिति गठन भयो। श्रमिक सक्रियता, असाधारण भागिदारी, युवाहरूको उर्जा र प्रवीणताको अनुभवले मजदुरहरूको आफ्नै युनियन अघि बढ्यो।
पुराना युनियनहरूको समन्वय मञ्च
यसै चरणमा पहाडका अन्य 8 वटा युनियनहरूको संयुक्त बैठकबाट ‘पर्वतीय श्रमिक सङ्गठन समन्वय मञ्च’ गठन भयो। जीटीएमा सत्तारुढ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युनियन एचटीडीपीएलयू, राज्यको सत्तारुढ तृणमूल कांग्रेसको युनियन टीसीबीएसयू, सीपीआईएमको डीडीसीकेएमयू, सीपीआरएमको डीटीडीसीकेएमयू, गोर्खा जनमुक्ति मोर्चाको डीटीडीपीएलयू, जीएनएलएफको एचपीडब्लुयू, बिजेपी-आरएसको बिसीएमएस, हाम्रो पार्टीको एचएचटीडीसीएसएस-- यी 8 वटा युनियनहरूले संयुक्त रूपमा यो प्लेटफर्म गठन गरेका थिए।
सरकार समर्थक, प्रतिपक्ष र बीचका नानाथरी अवस्थितिमा रहेका पहाडका राजनैतिक दलका युनियनहरू, जसमध्ये धेरैले आफ्नो युनियनलाई पार्टीकै रूपमा चिनाउँछन्-- सब एउटै मञ्चमा आए। तर, पछि हाम्रो पार्टीको HHTDCSS ले मञ्च छोड्यो। र स्पष्ट छैन कि यो नयाँ मञ्च बोनसको चरण समाप्त भएपछि रहनेछ वा छैन, शासकदल बिनाको पहिलाको जोइन्ट फोरम फिर्ता हुनेछ कि त्यो पनि स्पष्ट छैन। यद्यपि, 2 सेप्टेम्बरको पहिलो बैठक पछि समन्वय मञ्च बनिएको थियो र मालिकहरूको 8.33% बोनस प्रस्ताव विरुद्ध सरकारको हस्तक्षेप मागे तिनीहरूले। यसै सन्दर्भमा, पहाडका सक्रिय युनियन भए तापनि HPEU लाई यो पर्वतीय मञ्च गठनको बैठकमा आमन्त्रित गरिएको थिएन। कारण थाहा छैन!
पहाडको बोनसबारे अब सरकारले बोलायो बैठक
तराई-डुवर्सका लागि बोनस छुट्टै रूपले निर्णय गरिन्छ। यसैबीच, बोनस बैठकहरूको श्रृङ्खला 5 सेप्टेम्बर अनलाइन बैठकबाट सुरु भएपछि 19 सेप्टेम्बर कोलकातास्थित मालिकहरूको कार्यालयमा बैठकबाट द्विपक्षीय सम्झौता भयो-- 16% बोनस तय भयो तराई-डुवर्सका चिया मजदुरहरूको निम्ति। केही बगानहरूले छुट पाउनेछन्, श्रमिकहरूलाई कम बोनस दिइनेछ!
यसकै भोलिपल्ट, 20 सेप्टेम्बरको दिन पहाडको लागि बोनस बैठक बोलाइयो। तर, मालिक होइन, यसपटक सरकारले श्रम विभागको कार्यालयमा बैठक बोलाएको थियो। मालिकहरूले 2 सेप्टेम्बर पहिलो बोनस बैठक गरेपछिको दोस्रो बैठक किन तिनीहरूले नबोलाएर सरकारले किन बोलाइरहेको छ भन्ने कुरा पनि स्पष्ट भएन। तराई-डुवर्सको खण्डमा त त्यस्तो भएन!
सरकारी त्रिपक्षीय वार्तामा पञ्जीकृत युनियन HPEUलाई छुट्टाइयो!
ती आठवटा युनियन र मालिक सङ्घ सरकारी बोनस बैठकमा बोलाइए। पञ्जीकृत युनियन भए पनि HPEU ले यस बैठकको पत्र पाएन। जुन श्रम विभागले HPEU लाई लङ्गभ्यू चिया बगानको निर्णायक युनियन भनेर त्रिपक्षीय सम्झौता गर्यो, तिनीहरूले नै बोनस बैठकमा किन HPEU लाई चिट्ठी काटेन? रिंङटङ, मार्गरेटस् होप, लङ्गभ्यू बगानका द्विपक्षीय बैठकहरूमा वा मालिकहरूले बोलाएको पहिलो बोनस बैठकमा उपस्थित भइसकेपछि पनि सरकारले HPEU लाई किन बोलाएको छैन भन्ने बारे स्पष्ट जवाफ नै छैन।
याद आयो, यस वर्षको मई दिवसको दिन जब हामीले चिया बगानमा मजदुर सङ्घर्षको विगत र वर्तमानबारे सभा र जुलुस गरिरहेका थियौँ, त्यही दिन दार्जिलिङमा सरकारी श्रम विभागले ती युनियनहरूमध्ये धेरैलाई सम्बर्धना जनाए। के तपाईँले कहिल्यै यस्तो कुरा सुन्नु भएको छ? सरकारी श्रम विभागले मजदुर युनियनहरूलाई सम्बर्धना जनाएर मई दिवस मनाउँछ?
हामीलाई बोनस बैठकमा आमन्त्रित नगरेकोले, हामीले पहिले सोच्यौँ-- हुनसक्छ विगत वर्ष नयाँ युनियनको रूपमा हाम्रो नाम थिएन, त्यसैले यो पटक फेरि त्यस्तो भयो। अर्को स्रोतबाट उक्त बैठकको पत्र देखेपछि उत्तर बङ्गाल (सिलगढी) का इन्चार्ज अतिरिक्त श्रम आयुक्त श्यामल दत्त महाशयलाई सम्पर्क गर्दा उनले भने, ‘म बैठकमा व्यस्त छु, पछि हेर्छु। खर्साङका सह-श्रम आयुक्तलाई फोनमा सम्पर्क गर्दा उनले भने– ‘केही गल्ती भएको छ होला, बैठकमा आउनुस्’। तर, पछि उनले यो कुरा अस्वीकार गरे।
20 सेप्टेम्बर ठूलो सङ्ख्यामा श्रमिकहरूसहित र गल्ती सच्याइदिन आग्रह गर्दै, 2 तारीखको बैठकमा हामी थियौ बताउँदै, र एएलसीसँग भएको फोन वार्ताका आधारमा आएको भन्दै पत्र लेखेर हामी सिलगढीको श्रमिक भवनमा उपस्थित हुँदा, अतिरिक्त श्रम आयुक्तले हामीलाई बैठकमा नबस्न भन्नुभयो। तिनका शब्दहरूको तर्कहीनता र कठोरता देखेर अचम्भित भयौँ। यहाँ पनि सिन्डिकेट राज छ? शङ्का लाग्यो।
बैठकभित्र र बाहिर श्रमिकहरूको आवाज
बोनस बैठकको दिन श्रमिकहरू भेला हुने वा बैठकमा प्रवेश गर्ने चलन पुरानो हो। त्यसैले दिउँसोको असह्य गर्मीमा HPEU सँग सम्बन्धित सयौँ श्रमिक त्यहाँ पुगे। उनीहरू गेट बाहिर बसे। भित्र बैठक सुरु भयो, बाहिर विरोध। भित्र के के भयो भन्नेबारे जानकारी पछि पाइयो– केही युनियनहरूले हामीलाई भित्र पस्न नदिएकोमा प्रश्न उठाएपछि श्यामल दत्त महाशयले ‘अर्को बैठकमा हेरौँला’ भन्दै मुल बैठक सुरु गरे।
मालिकहरू 8.33% बोनस दरमै अल्झिरहे। मिटिङ लामोसम्म चलेपछि पनि केही अग्रगति भएन। बाहिर उत्तेजित श्रमिकहरूको तर्फबाट एचपीईयूको लङ्गभ्यू शाखाकी सचिव लडाकु श्रमिक सङ्गीता छेत्रीले मेन गेटको बाधा पार गरी ‘श्रमिक’को हैसियतले बैठक कोठामा प्रवेश गरिन्। श्रमिक-विषयक मिटिङमा श्रमिक किन उपस्थित हुन सक्दैनन्?-- उनले प्रश्न उठाइन्। 3/4 घन्टासम्म बटारिएका कुराहरू, खाने ब्रेक, आरामको ब्रेक आदि बितेपछि सङ्गीता अधीर भइन् र 20% बोनसको लागि चर्को माग र तर्क गर्न थालिन्। मालिकहरूले दरमा थोरै वृद्धि गरेर 9.5% बोनस प्रस्ताव गरेका थिए त्यतिबेला।
तर श्रमिकवर्ग नचाहिँदो यहाँ
सङ्गीता छेत्रीको श्रमिक-जन्य सीधा तर्कको सामना गर्न नसकेपछि पुरुष प्रधान सभाले उनलाई अराजकता सिर्जना गरेको र विसङ्गतिपूर्ण व्यवहारको आरोप लगाउँदै मौखिक अपमान गर्न थाले। उनी बैठकबाट बाहिरिन बाध्य भइन्। उनले श्रमिकको अवस्था, असहायता, महिला श्रमिकको शोषणबारे बोलेर ‘वी वन्ट जस्टिस’ भनी बाहिरिइन्। बाहिर सयौँ मजदुरहरूको गुनासो चर्कियो। त्यतिन्जेलसम्म HPEUका सयौं श्रमिक बाहेक पनि अन्य श्रमिक संगठन र हाम्रो पार्टीका अजय एडवर्डलगायत केही राजनीतिक व्यक्तित्वहरू र विभिन्न सञ्चारमाध्यमहरू त्यहाँ भेला भइसकेका थिए। उनीहरूले श्रमिकहरूको रिसको नमुना देखे। HPEU-को केन्द्रीय नेतृत्वलाई बैठकमा पस्न नदिएपछि, एकजना मजदुर सदस्य बोल्दा, यो व्यवस्था र प्रशासनले श्रमिकलाई कस्तो दृष्टिकोणले हेर्छ भन्ने कुरा प्रष्ट भयो। बैठक गतिरोध भएको थियो। मालिकहरू 9.5 % मा अडिग बसेपछि अन्य मजदुर युनियनहरू पनि बैठकमा थप केही हुने छैन बुझेर बाहिरिए र बैठक नै त्यो दिनको लागि भङ्ग भयो।
त्यतिबेला श्रमिक भवन बाहिर...
परिस्थिति देखेर केही युनियन नेताहरू तुरुन्तै गईहाले भने केही युनियन नेताहरू बाहिर आएर मजदुरको पीडा प्रस्तुत गर्नमा सङ्गीता क्षेत्रीको भूमिका र लगनशीलताको प्रशंसा गरे। कोही इमानदारीपूर्वक भन्न सक्छन्, कसैले देखावटी गर्न सक्छन्। आक्रोशित श्रमिकहरूसामु यसो नभनेर उपाय पनि थिएन। अर्को बैठकमा एचपीईयूलाई नबोलाए बैठकमा नजाने कुरा उनीहरूले बताए। बोनसका लागि चर्को आन्दोलन गर्ने कुरा पनि बताए। तर पछि गएर त्यही मञ्चका कोही–कोहीले खबरकागजमा वा मिडियामा त्यो घटनाबारे अनौठो मन्तव्यहरू गरेको देखियो, कता कता मालिकहरूको धुन गुञ्जियो ती बयानहरूमा। यसैबीच, HPEU-लाई अर्को बैठकमा बोलाउन अनुरोध गरेर यस विषयमा जानकारी गराउँदै राज्य श्रम आयुक्तलाई इमेल पठाइएको थियो। तर, उनको तर्फबाट कुनै जवाफ आएन। HPEU र अन्य युनियनहरूको तर्फबाट बगानहरूमा गेट मिटिङहरू जारी रह्यो।अर्को बैठकमा शानदार विरोध
अर्को बैठक चार दिनपछि 24 सेप्टेम्बर बोलाइयो। यस पटक पनि HPEU लाई चिट्ठी छैन। चार दिनअघि जुन युनियनहरूले HPEUलाई नबोलाउँदा हामी पनि जाँदैनौँ बताएका थिए, ती युनियनहरूले प्रश्न उठाउने वाचा गर्दै बैठकमा प्रवेश गरे। थाहा भयो कि, अघिल्लो दिनको कोलाहलको जिम्मेवारी HPEU र सङ्गीता क्षेत्रीमाथि हाल्ने निराधार प्रयास चलिरहेको थियो। गैरकानुनी रुपमा बैठकमा नबोलाउनुबारे प्रश्न गर्दा सरकारी अधिकारीहरूले अब कुरा तिनीहरूको हातमा नरहेको भन्दै माथिल्लो निकायमा सम्पर्क गर्नुपर्ने बताए। कुन माथि? कुन निकाय!
हरेक दिनजस्तै HPEU को तर्फबाट धेर श्रमिकहरू, जसमा अधिकांश महिला, भेला भएका थिए। श्रमिक भवन परिसरमा विशाल मानवश शृङ्खलामा उभिँदै जीवनको गीत–दाबीको स्लोगन-आउने देउसुरेको तालमा बीस प्रतिशतको नारा उठाएर पूरै चौहद्दी गुञ्जाई दिए। घाम पानीको वास्ता नगरी रातिसम्म व्यवस्थित ढङ्गले धर्ना चल्यो। यसैबीच, लामो बैठकपछि, मालिकहरूले बोनसको प्रस्तावलाई 12% सम्म बढाए, जबकि युनियनहरू 20% मा अडिग रहे। बैठक समाप्त भयो।
फेरि बगानहरूमा गेट मिटिङहरू जारी भयो। एचपीईयूले हाम्रो माग 20 प्रतिशत रहेको र वार्ता प्रक्रियामा हामीलाफ समावेश नगरेकोले त्रिपक्षीय बैठकको निर्णय मान्न बाध्य नभएको भन्दै विभिन्न बगानका व्यवस्थापनलाई पत्राचार गर्यो। उदाहरणको लागि, रिङटङ बगान मालिकसङ्घ 'टिपा' को सदस्य हो। यो टिपालाई पहिलो बैठकमा समावेश गरिएको थिएन तर पछि थपियो। तर, हामीले टिपाका कर्ताहरूसँग द्विपक्षीय बैठक गरेर रिङ्टङबारे सम्झौता पनि हामीसँगै भएको थियो, तर हामीलाई नै बैठकमा आमन्त्रित गरिएको छैन। लङ्भ्युमा पनि स्थिति धेरथोर त्यस्तै छ।
फेरि 27 तारिखको बैठकमा...
27 तारीख फेरि बैठक बोलाइयो। त्यो दिन अर्को कुरा आयो। वन्दना राई–प्रताप खातीहरूको नेतृत्वमा रहेको ‘चिया श्रमिक सुरक्षा समिति’ले उच्च अदालतको सर्किट बेन्चबाट एउटा आदेश निकालेर ल्याएको थियो-- तिनीहरूको युनियन दर्तामा ढिलाइलाई समाधान गरेर प्रक्रिया छिटो गर्नुपर्ने र चलिरहेको बोनस प्रक्रियामा समावेश गर्ने विषयलाई विचार्नपर्ने आदेश। उनीहरूको पहलमा पनि श्रमिकहरू त्यस दिन श्रमिक भवनमा देखा परे, यद्यपि उनीहरूलाई प्रवेश गर्न अनुमति थिएन।
गजब सङ्घर्षको रङ्गीन कोलाज
उथलपुथल मच्याइरहेका खटीखाने जनताको लयबद्ध लडाईको कस्तो अद्भुत दृश्य! मजदुर आफैँ नारा लगाउँदै छन्, योजना बनाउँछन्, आन्दोलनको उकालीओरालीबारे सल्लाह गर्दैछन्, राय दिँदैछन्, आफ्ना गुनासो वा मागहरू बेजोड ढङ्ग र भाषामा व्यक्त गर्दैछन् वा एकसाथ गीत गाउँदैछन्। ‘कलम काटी हातैमा ठेला नी’ वा ‘घरबार छोडेर लै लै’ जस्ता बगाने जीवनका दुःख र सङ्घर्षका गीतहरू मजदुरहरूले रटीसकेका छन्। युवा कार्यकर्ताहरू पनि गीत सिर्जना गर्दैछन्, गाउँदैछन्।
मेरो लागि, आन्दोलनको यो सम्पूर्ण चरण एक अविस्मरणीय अनुभव भएर रहनेछ। विभिन्न आन्दोलन हेरेको छु, सहभागी बनेको छु। तर यो आन्दोलनमा जस्तै मजदुरहरूको... विशेष गरी महिला मजदुरहरूको जस्तो सक्रियता र उत्साह मैले विरलै देखेको छु। जब मिडियाका साथीहरू कभर गर्न आउँछन्, जब तिनीहरूले कोसँग कुरा गर्ने भनेर सोध्छन्, हामी सामान्यतया उनीहरूलाई छनौट गरेका श्रमिकहरू देखाउँथ्यौँ। तर जब आन्दोलन अगाडि बढ्दै गयो, जोसँग पनि कुरा गर्न सक्नुहुन्छ भनेर हामीले भन्न थाल्यौँ-- सबैजना अचम्मै राम्रो बोल्छन्। कन्टेन्ट र बोल्ने ढङ्गमा पनि!
दिनको अन्त्यमा, 27 तारिख, मालिकहरूको प्रस्ताव 12% बाट 13% भयो। पहाडका विभिन्न भागबाट गाडी–क्यान्टर–पिकअप–ट्रक भाडामा लिएर हरेक दिन यस लडाइँमा आउने मजदुरहरूको कुरा सोच्नुहोस् त एकपल्ट! चाडपर्वका दिनहरूमा परिवारमा मुस्कान ल्याउने उनीहरूको अकल्पनीय पीडा झेल्नु बगानको दैनिक जीवनको पीडाभन्दा बढी छ। न्यानो कोठामा आरामै बसेर मालिक र सरकारी अधिकारीले यो पोल्ने आगोलाई कसरी बुझ्ने?
फेरि बैठक ... मालिकहरू 13% मै अडिग
एक दिनपछि छोडेर 29 सेप्टेम्बर, आइतबार फेरि बैठक बोलाइयो। फेरि श्रमिकको भीड, दोब्बर सङ्ख्यामा। पहाडका ठूला दलहरूको दलबाजी-हिलो छेपाछेप पार गरी श्रमिकहरूले, चाहे त्यो कुनै झन्डाको होस् या नहोस्-- 20 प्रतिशत बोनसको चर्को धुनमा आफुलाई बाँधिसकेका छन्। भित्र पुराना युनियनहरू लड्ने, र हाम्रो युनियन लगायत अरु बाहिर। बैठक ढिलो सुरु भएर बोनस दर नहल्लिँदा नै रात पर्यो। बाहिर नारा गर्जनमा परिणत भयो, सामुहिक गीत बन्यो करूण अपील... तर कसले सुन्ने पीडाको कुरा! मालिकहरू 13% मै अड्किएर बसे। युनियनका प्रतिनिधिहरू विरोध जनाएर मिटिङबाट बाहिरिए। सबै युनियनहरू उस्तै इमान्दार नभए पनि बाहिर जनतासामु अरू केही भन्न सक्ने स्थिति थिएन– भोलिपल्ट पहाड बन्द डाकियो। पूर्णरूपमा समर्थन जनायौँ हामी र अरू सबैले पनि।
पहाडभरि अभूतपूर्व बन्द
भोलिपल्ट, 30 सेप्टेम्बर, पहाड पूर्ण रूपमा बन्द भयो। कालिम्पोङ बजार क्षेत्रमा बन्द कम भएपनि त्यसको चियाबगान क्षेत्रमा, अनि दार्जिलिङ-खर्साङ-मिरिकभरि मानिसहरूको यस्तो स्वत:स्फूर्त भागिदारीको बन्द पहाडले लामो समयदेखि देखेको थिएन। गोर्खाल्याण्डको मागमा बन्दको बानी बसेको पहाडमा धेरै वर्षपछि जन-उद्यमको केन्द्रमा मजदुरहरू आएको देखियो। उत्पीडित जातिको मुक्ति-आकांक्षाको ‘जय गोर्खा’ नाराले गुञ्जिने पहाड जाति-निर्विशेषको ‘जय श्रमिक’ नाराले गुन्जियो। बोनस आन्दोलनको अभूतपूर्व उपलब्धि हो यो। त्यही दिन मुख्यमन्त्री बाढीको अवस्था हेर्न उत्तर बंगालमा थिइन्। यो कुराबारे सोध्दा उनी आक्रोशित देखिइन्– बन्दको विरोध गर्दै, पहाड अशान्त भएकोले रिसाउँदै, अफिसरहरू कुरा मिलाउँदैछन् – उनले भनिन्। वर्षौंदेखिको थिचोमिचोको सिकार भएका पहाडका चिया मजदुरहरू सङ्घर्षमा ओर्लिएकोले पहाड ‘अशान्त’ बनेको छ। यो भन्दा शान्तिको कुरा के हुन सक्छ र?
बन्दको धक्काले राति पार गरेरै बैठक
बन्दको अभिघातले इमेलमार्फत राति अबेर नै भोलिपल्ट 1 अक्टोबर बिहान 10:30 बजे अर्को बैठक बस्ने घोषणा गरियो। रात पार गरेपछि भोलिपल्ट बिहान मात्रै पहाडलाई मिटिङको कुरा थाहा भयो। तर पनि, धेरै श्रमिकहरू फेरि भेला भइहाले। मालिक-युनियन-सरकारका प्रतिनिधिहरू आए र ठूलो सङ्ख्यामा ऱ्याफ पनि। बैठकको सुरुमै युनियनका प्रतिनिधिहरूलाई सरकारको एडभाइसरी हस्तान्तरण गरियो... त्यसमा 16 प्रतिशत बोनसको कुरा लेखिएको थियो। मालिकहरूले चार तारिखभित्र बोनस बाँडफाँट गर्नुपर्ने पनि बताइएको थियो। र... यदि अझै कुनै गुनासो रहिरह्यो भने त्यो चाडपर्व सकिएपछि मिटिङ राखिने। के देखियो भने, सरकारी निर्देशिकाको ठूलो गतिवेग छ-- टाढा-टाढाका बगान मालिकहरूमा यो निर्देश पहिलै पुगिसकेका छन्। अर्थात् मालिकपक्ष र सरकारको सहकार्यमा ब्लुप्रिन्ट तयार पारिएको हो, र युनियनको सिलमोहरका लागि मात्रै बैठक बोलाइएको थियो।
यसरी ठग्नुको विरोधमा युनियनहरूले भित्रै विरोध जनाए। बाहिर पनि दह्रो प्रदर्शन जारी थियो। युनियनका प्रतिनिधिहरू यसकै बिचमा निस्किए। मजदुरको क्रोधबाट बाच्न मालिकहरू लामो समयसम्म भित्र बसिरहे। श्रमिक जनता र श्रमिक भवनको बीचमा पर्खाल खडा गरियो पुलिस र सशस्त्र ऱ्याफ। ‘पत्ती टिप्ने आमा हो/नफा खाने मालिक हो’ भन्ने नारा केही घण्टा पार भएपछि घाँटीमा गुम्सिएको क्रन्दनमा परिणत भयो। घृणाको आगोले मालिकी व्यवस्थालाई जलाई दिने सपना देख्ने श्रमिकको मन निराशा र अभिमानले पोलिरह्यो। श्रमिक भवन परिसर बिस्तारै खाली र सुनसान बन्दै गएपछि मजदुरले भोलिपल्ट चर्को विरोध जनाउने निर्णय गरेर निस्किए। त्यो राती नै, धेरै बगानहरूमा श्रमिकहरूको खातामा 16% बोनस पैसा पसि हाल्यो। मुख बन्द गराउन।
गान्धी जयन्तीमा अस्तव्यस्त पहाड
भोलिपल्ट 2 अक्टोबर मानौँ, पहाडभरि आगो बल्यो। 20% बोनसको माग गर्दै पार्टीको झण्डा बिना दार्जिलिङमा विशाल श्रमिक जुलुस निकालियो। साथै विभिन्न ठाउँका सडकहरूमा मजदुरहरू धर्नामा बसे। मिरिके, रोहिणी गेट, कुमाई, तकदा... सुनादा भ्यालीका बगानहरूबाट ट्रकमा चढेर श्रमिकहरू यस्तै धर्नामा सामेल हुन जाँदा उनीहरूलाई खर्साङमा रोकियो, जहाँ धर्ना सुरु गरियो। चारैतिर बाटो अचल भयो।
रोहिणी गेटमा तैनाथ पुलिस बल-- बन्दुक, आँसु ग्यास थियो नै, पोर्टेबल साउन्ड बक्समा यान्त्रिक धम्की सहित-- 16% बोनस सबैले स्वीकार गरेका छन् अरे! बाटो छोड, नत्र गिरफ्तार हुनेछ...! के यो व्यवस्था यत्ति नै बहिरा हो? र यति निर्दयी?
धर्नाका क्रममा श्रमिकहरूलाई पक्राउ गर्ने धम्की, फोटो खिचेर सबैलाई मुद्दा हाल्ने धम्की, पुरानो मुद्दामा गिरफ्तारीको धम्की दिँदै पर्यटकहरूलाई असुविधा भएको भन्दै केही घण्टापछी धर्ना फिर्ता लिन बाध्य गरियो। लङ्गभ्यूका श्रमिकहरू दार्जिलिङको जुलुसमा गए भने मात्रै अनुमति दिने कुरा गरेको पुलिसले पछि चक्का ज्याम हटाएपछि त्यो पनि दिन अस्वीकार गरेको थियो। त्यो दिन गान्धी जयन्ती थियो। श्रमिकहरूले गान्धीगिरी गर्दै निर्लज्ज पुलिसहरूको घाँटीमा खदा लगाईदिए।
पुलिसको झुटो मुद्दा, कार्यकर्ता सत्यको बाटोमा...
सडक अवरुद्ध गरेको आरोपमा पुलिसले मुद्दा दर्ता गर्यो– रोहिणी गेटमा 4 जना, कर्सियाङमा 7, जसमध्ये लङभ्यूका श्रमिक सङ्गीता छेत्री, लक्ष्मी छेत्री, एचपीईयू सङ्गठक सुमेन्द्र तामाङ, छेवाङ योञ्जन, र विभिन्न चिया बगानका युवा तथा सहकर्मीहरू छन्। अरु धेरै ठाउँमा चक्का ज्याम भयो, सडक अवरुद्ध गरेर जुलुस निकालियो– तर कतै केस भएको सुनिएन। मजदुरहरूको भनाई हो– त्रिपक्षीय वार्तालाई बेवास्ता गर्दै सरकारले ल्याएको 16 प्रतिशत निर्देशिकाको विरोधमा हजारौं मजदुर कतै सडक अवरुद्ध गरेर जुलुस गरे, कतै विरोध प्रदर्शन। फेरि माथिबाट आधिकारिक सूचना आयो-- 6 नोभेम्बर कोलकातामा बोनस बैठक हुने घोषणा गरियो। यस्तो अनसुलझे मुद्दामा आन्दोलन गरिरहेका मजदुर र नागरिकमाथि पुलिसले कसरी झुटो मुद्दा हाल्यो? हालैमा आरजी कर मुद्दाको सुनुवाईमा माननीय सर्वोच्च अदालतले पुलिसलाई जनताको शान्तिपूर्ण आन्दोलनमा सहयोग गर्न भनेको होइन? त्यसोभए, चिया मजदुरहरू लगायतका साथीहरूमाथिको झूटा मुद्दा किन?
निडर श्रमिकहरूको सङ्घर्ष जारी छ
झूटो मुद्दा हाल्दा साथीहरू डराउँछन् भन्ने लागेको थियो भने पुलिस पूर्णतया गलत छन्। धेरै बगानहरूमा श्रमिकहरूले मालिकको आदेशलाई अस्वीकार गर्दै काम रोके र गेट मिटिङहरू गरिरहे। आठवटा युनियनको मञ्चले चियाको डेसप्याच रोक्ने कुरा गरे-- त्यो पनि केही दिन भयो। त्यसपछि तिनीहरूले बोनसको बाँकी 4% बारे काम गर्दैछन् बताए, व्यापक हस्ताक्षर अभियान घोषणा गरे, र अन्तमा स्वाभाबिक काममा फर्किने कुरा गरे। त्यसको एक-दुई दिनभित्रै फुलपातिको दिनदेखि बगानमा 3 दिने बिदा सुरु हुनेवाला थियो। धेरै बगानहरूमा श्रमिकहरूले मनमा गुनासो बोकी काममा गए, कतै काममा जान अस्वीकार गरे। बोनस नपाएको पीडा पहाडे चिया बगानको मनमा छाइरह्यो।
बीस प्रतिशत बोनस हाम्रो अधिकार
HPEU को पहलमा ब्याज बनियो-- 'दशैं-तिहार हाम्रो महान चार (पर्व) / 20% बोनस हाम्रो अधिकार'। फुलपातिको शोभायात्राबाट चाडपर्वको सुरुवात भयो। तर यसमा पनि चिया मजदुरहरूले अधिकारको आवाज उठाइरहे। फूलपातीदेखि बडा दसैँ हुँदै भैलेनी–देउसी-भाइटीकासम्म श्रमिकहरूले त्यो ब्याज लगाए। यसैबिच, बन्द धोत्रे चिया बगानको तुङसुङमा मजदुरहरूलाई वार्षिक आयको 25 % बोनस दिइयो। कानूनी बोनस अधिकतम 20% हो, तर बन्द बगानमा के को त्यस्तो कानून? सन् 2018 देखि यस्तै चल्दै आएको छ। गर्वसित भन्छन् त्यहाँका वर्कर्स कमिटीकाहरूले।
दुई बगानमा रिले अनशन
पहाडका दुईवटा बगान, रिङ्टङ र लङ्भ्यूमा HPEU-को पहलमा रिले अनशन 7 सेप्टेम्बर सुरु भयो। रिङ्टङ बगानमा दुई दिन अनशन पछि म्यानेजमेन्ट सुईकुच्चा ठोक्दा मजदुरहरूको प्रतिनिधि टोली सिलगढीमा मालिकको घर पुग्यो। र लिखित सम्झौता भयो-- तुरुन्तै पाक्षिक ज्याला र अन्य बक्यौता दिनुपर्छ, र 16% बोनस एक किस्तामा 31 सेप्टेम्बरसम्म भुक्तानी गरिन्छ। त्यसैका आधारमा चौथो दिनमा अनशन उठाइयो। अर्कोतर्फ लङभ्युका मालिकले 8.33% भन्दा बढी बोनस नदिने बताएपछि ‘फिलहाल 20 % होइन, सरकारको निर्देशनअनुसार अहिले16% दिनुपर्छ’ भन्दै मजदुरहरूले विरोध सुरु गरे। मालिकले दुई किस्तामा 5% तिर्ने कुरा गरेपछि एडभाइसरी अनुसार द्विपक्षीय वार्तामा निर्णय नगरी, म्यानेजर भागे, र कसैलाई 10% कसैलाई 5% बोनस हालियो। तर, त्यसै पनि पुरानो बकायाबारे 6 सेप्टेम्बरको सम्झौताअनुसारको पहिलो किस्ताको रकम पूरा नतिरेकाले अडिग श्रमिकहरूले बाँकी बोनस तिर्नुपर्ने मागमा रिले अनशन जारी गरे। मालिकपक्षले सस्पेन्सन अफ वर्क नोटिस दियो र यो सङ्घर्ष एक इतिहास भएर गयो। दसैँको टीकादेखि भाइटीका-- सब यतै लगाइयो। अन्य बगानका श्रमिकहरू ऐक्यबद्धतामा दैनिक आइरहे। कलाकारहरूको एकवद्धता कार्यक्रम भयो। 34 दिन अनशन चलेपछि मालिक घुडा टेक्न वाध्य भयो। 8 अक्टोबर त्रिपक्षीय मिटिङ भएर, 10 तारिख सबैले 16% बोनस पाएपछि अनशन उठ्यो र 11 तारिख बगान खोल्यो।
आन्दोलन दबाउन विफल पुलिस-प्रशासन
लङ्भ्यू आन्दोलनको समर्थनमा मार्गरेटस होप बगानका श्रमिहरूले प्रतीकात्मक अनशन बस्ने निर्णय गरेपछि त्यसलाई रोक्न बात गर्न बोलाएर पुलिसले अवैध रूपमा युनियन कार्यकर्ता प्रसिध राई र सुमित देवानलाई पक्राउ गरे। र कानुनको उल्लङ्घन गर्दै झुटो र भ्रमपूर्ण तरिकाले केस हालेर हिरासतमा थुने। तर यस घटनाले गर्दा विरोध बढेर गयो, मार्गरेटस होपको अनशन पनि भयो, नजिकैको रिङटङको बोनस पनि दिइहाल्यो, र ठुलो हलचल भएर 4 दिन पछि दार्जिलिङ कोर्टबाहिर विशाल जनभेलाबिच तिनीहरू रिहा भए, बढ्दो आँट र उर्जा बोकेर। जजले पुलिसको भूमिकाको लागि शोकज पनि गरे।
लडाई जारी छ - अर्को सुरुवातको लागि
दसैँदेखि तिहार चिया बगानहरूमा धिपधिप गर्दै गुनासोको आगो बलिरह्यो। चाडपर्व सकिएलगत्तै बाँकी 4 %को लागि फेरि लडाइँ सुरु भयो। 6 नोभेम्बर कोलकाताको बैठकमा मन्त्री-युनियन-अफिसर सबैजना आए। हस्ताक्षर गरिएको चिट्ठीहरू पनि जमा गरियो। हाम्रो युनियनको श्रमिकहरू पनि कोलकाता पुगे। नवगठित सर्वभारतीय युनियन सीएसटीयुसँग मिलेर सडकमा विरोध प्रदर्शन पनि भयो। तर भित्रको मिटिङमा मालिकहरू आएनन्। त्यसैले फेरि 16 नोभेम्बर सिलगढीमा मिटिङ डाकियो। त्यही मिटिङ पर्खिने बेला यो लेख अन्त गर्दैछु। 16को नतिजा त यो पत्रिका निक्लिँदा थाहा भइहाल्छ। तर न्यायोचित मागको चर्को आवाज उठाइरहनु पर्छ। तयारी गर्नु पर्छ ठूलो लडाईको लागि, फर्स्ट फ्लशको सिजनमा पनि। यस वर्षको सुरुमा, हामीले न्यूनतम पारिश्रमिक लागू गर्न उच्च अदालतको आदेशलाई सम्झाउँदै राजभवन अभियान गर्यौं। लोकसभा चुनावको बीचमा हराएको चिया मजदुरको मुद्दा विगत केही महिनादेखि केन्द्रमा ल्याइएको छ। बोनस लडाईले यसको अर्को उचाइ सिर्जना गर्यो। उत्सवको होहल्लाभन्दा पनि उँचा सुनियो अधिकारको कोरस। यो कोरस जारी रहोस्।
No comments:
Post a Comment