Friday, November 16, 2018

पेट्रोल मूल्य वृद्धि एवं सरकारी लुट


पासाङ तामाङ

हालैमा पेट्रोल-डिजेलको मूल्यले आकाश छुएको छ। केही महिनाको अन्तरालमै पेट्रोल-डिजेलको मूल्य तीव्र गतिमा बढ्यो। 80 रुपियाँदेखि 90 रुपियाँसम्म पेट्रोलको मूल्य वृद्धि भयो जसको कारण हरेक आवश्यकीय सामग्रीहरूको बजार मूल्य बढ्ने सम्भावना प्रबल छ। तर पेट्रोल-डिजेलको मूल्य कसले अनि कसरी वृद्धि गर्छ? यो बारे जनसाधारण अनभिज्ञ छन्। दिन प्रतिदिन इन्धन मूल्यमा वृद्धि भइरहेको छ। यो मूल्य वृद्धिको मारमा आम जनता परिरहेका छन्। तर आकाश छुने इन्धन मूल्य वृद्धिमा कसले रोक लगाउने? के पेट्रोल-डिजेलको मूल्यमा नियन्त्रण गर्न सकिन्छ?—भन्ने विषयहरूमा सायदै बहस हुन सकिरहेको छैन। यो मूल्य वृद्धिबारे पेट्रोल पम्पको लाइनमा उभिरहेका वाहन चालकलाई यति मात्र थाहा —‘उताबाटै बढेर आउँछ यो उतै भन्ने ठाउँ कहाँ ? यो उतै बस्नेहरू को को हुन् अनि उनीहरूले दैनिक रूपमा किन इन्धनको मूल्य बढाइरहेका छन्?—यो दिशामा भने हामीले खोजी गरेका छैनौँ। यसैले महँगो मूल्यको पेट्रोल किनिरहँदा हामीले यसको मूल्य वृद्धिबारे पनि जानकारी लिनु आवश्यक छ। आउनोस् आज 90 रुपियाँको पेट्रोलमा हामी कति लुटिरहेका छौँ त्योबारे चर्चा गरौँ।
4 सितम्बर 2018 को विश्व क्रुड ओयल (काँचो तेल) रेकर्ड अनुसार एक बेरल काँचो तेलको दाम 69.82 अमेरिकी डलर पऱ्यो अर्थात् भारतीय 5064.04 रुपियाँ। एक बेरल काँचो तेललाई लिटरमा परिणत गर्दा 159 लिटर हुन्छ। त्यसो भए विश्व बजारमा एक लिटर काँचो तेलको मूल्य 31.84 रुपियाँ पर्छ। यसलाई प्युरिफाइ गर्नका निम्ति प्रति लिटर 10 रुपियाँ खर्चा हुन्छ अर्थात् काँचो तेललाई पेट्रोल बनाउँदा यसको मूल्य 41.84 रुपियाँ हुन्छ। उक्त पेट्रोललाई पेट्रोल पम्पसम्म ल्याउनलाई डीलरले प्रति लिटर 3 रुपियाँ कमिसन राख्छ। त्यसो भए विश्व बजार देखि पेट्रोल पम्पसम्म आइपुग्दा एक लिटर पेट्रोलको दाम केवल 44.84 रुपियाँ पर्छ। तर हामी आज 44.84 रुपियाँको पेट्रोललाई 83 रुपियाँ प्रति लिटरमा किनिरहेका छौँ। मुम्बईका जनताले त्यहीँ  पेट्रोल 90 रुपियाँ प्रति लिटर किनिरहेका छन्।
पेट्रोलको मूल्य वृद्धि गर्नमा केन्द्र सरकार अनि राज्य सरकारको ठुलो भूमिका छ। माथिउताबाटै बढेर आउँछभन्ने कुरा गरेको थियौँ। उता बसेर पेट्रोल-डिजेल हरेक चिज-बिजको मूल्य बढाउनेहरू केन्द्र अनि राज्य सरकार नै हुन्। पेट्रोलमा केन्द्र सरकारले 21 रुपियाँ प्रति लिटर एक्साइज ड्युटी (Excise Duty) लगाएको भने राज्य सरकारले 14 रुपियाँ प्रति लिटर स्टेट भ्याट (State VAT) लगाएको छ। जसको कारण जनताले प्रति लिटर 35 रुपियाँ गरी केन्द्र अनि राज्य सरकारलाई कर(ट्याक्स) तिरिरहेका छन्। यसरी दोहोरो करको मार्कमा परेर जनताले 44 रुपियाँको पेट्रोललाई 80-90 रुपियाँको डबल रेटमा किनिरहेका छन्। वर्ष 2014 सम्म पेट्रोलमा केन्द्र सरकारको एक्साइज ड्युटी (Excise Duty) केवल 9 रुपियाँ प्रति लिटर मात्र थियो। तर 2017 भित्रमा मोदी सरकारले यो ट्याक्स बढाएर 21 रुपियाँ प्रति लिटर पुऱ्याएको छ। हालको स्थितिमा यो ट्याक्स अझ बढेको छ। तर सरकारको बदनाम हुने डरले यसको तथ्य भने सार्वजनिक गरेको छैन।
विश्व बजारमा हाल काँचो तेलको मूल्यमा खासै बढोत्तरी भएको छैन। तर सरकार पक्षले काँचो तेलको मूल्य वृद्धि भएको कारण नै पेट्रोलको मूल्य बढेको हो भन्ने तर्क दिइरहेको छ। सत्ता बचाउनका निम्ति सरकारले यसरी झुट बोलिरहेको छ। आज भन्दा चार वर्ष अघि विश्व बजारमा काँचो तेलको मूल्य अत्यधिक रूपमा बढेको थियो। त्यस समय काँचो तेलको मूल्य प्रति बेरल 109 अमेरिकी डलर थियो। यो मूल्य आजको तुलनामा दुई गुणा धेर हो। तर पनि त्यस समय जनताले 75 रुपियाँ प्रति लिटर पेट्रोल खरिद गरेका थिए। त्यसपछि बिस्तारै काँचो तेलको मूल्य कम हुँदै गयो। अन्तर्राष्ट्रिय मार्केटमा काँचो तेलको मूल्य घटेर 40 अमेरिकी डलर प्रति बेरलसम्म पुगेको थियो। तर काँचो तेलको मूल्य बढ्दा पेट्रोलको मूल्य बढाउने सरकारले काँचो तेलको मूल्य ह्वात्तै घट्दा कहिले पनि पेट्रोलको मूल्य घटाएन। बरु जनतामा एक्साइज ड्युटी बढाएर अझ पेट्रोलको दाममा आकस्मिक बढोत्तरी गरिरह्यो। सरकारले चाहेँ ट्याक्सहरू घटाएर पेट्रोलको मूल्यमा नियन्त्रण गर्छ सक्छ। तर जनतालाई लुट्न खप्पिस रहेको यो सरकारले पेट्रोलको मूल्य घटाउने होइन, बरु अझ बढाउने सम्भावना छ। केवल पेट्रोल-डिजेल मात्र होइन यो सरकारले घरेलु ग्यासको मूल्यमा पनि अत्यधिक करहरू लागु गरेको , जसको कारण जनताले ठुलो मूल्य चुकाउन परिरहेका छन्।
यता, इन्धनबाट गरिब जनतालाई लुटिरहेको सरकारले यसै देशको पुँजीपतिहरूलाई भने खुल्ला छुट दिइरहेको छ। यसै वर्षको जनवरी महिनामा सिभिल एभिएसन सचिव आरएन चौवेले विमान इन्धनमा 5 सय करोड रुपियाँ सब्सिडि दिने घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय बजारमा काँचो तेलको मूल्य वृद्धि भएको कारण विमान व्यवसायमा पुँजीपतिहरूलाई नोक्सान हुन सक्ने बताउँदै सरकारले उनीहरूलाई करोडौँ रुपियाँको सब्सिडि एवं छुट दिएको उनको भनाइ थियो। बिजिनेस लाइन (BusinessLine) पत्रिकामा प्रकाशित समाचारमा क्षेत्रीय यात्री विमानहरूलाई इन्धनमा 5 सय करोड रुपियाँको सब्सिडि दिइने कुरा उल्लेख छ। गजब यो देशको सरकार। जहाँ जनतालाई 90 रुपियाँ पेट्रोल किन्न बाध्य गराइरहेको भने अर्कोतिर पुँजीपतिहरूलाई व्यवसाय गर्न विशेष छुटको साथ तेल दिइरहेको छ। अब आफैँ हिसाब लगाउनुहोस् यो देशको सरकार जनताको हो कि, पुँजीपतिहरूको हो? तेल निर्यातको विश्व सुचीमा भारत तेस्रो नम्बरमा छ। भारतले नेपाल, भुटान अनि श्रीलङ्कालाई पनि तेल निर्यात गर्छ। तर यी तीनैवटा देशहरूमा आजसम्म पेट्रोल-डिजेलको मुल्यमा बढोत्तरी भएको छैन, जत्तिको भारतमा भइरहेको छ। आजको तारिखमा नेपालमा पेट्रोलको मूल्य 67.81 नेपाली रुपियाँ(नेरू) प्रति लिटर , जसको भारतीय मूल्य केवल 42.18 रुपियाँ मात्र हो। भुटानमा भारतबाटै इन्धन निर्यात हुन्छ। त्यहाँ पनि पेट्रोलको मूल्य केवल 65.39 बीटीएन मात्र , जसको भारतीय मूल्य 65.33 रुपियाँ हुन्छ। यता, श्रीलङ्कामा पेट्रोलको मूल्य 116 एसकेआर प्रति लिटर , जसको भारतीय मूल्य 49.74 रुपियाँ प्रति लिटर हुन्छ। भारतबाटै इन्धन निर्यात हुने देशहरूमा पेट्रोल-डिजेलको मूल्य सामान्य भने यहाँ सरकारले दुइगुणा धेर ट्याक्स लगाएर जनतालाई कतिसम्म लुटिरहेको भन्ने कुरा स्पष्टै हुन्छ।
यो देशको सरकारले जनतालाई केवल पाँच सालमा एकचोटी भोट हाल्ने मिसिन मात्र ठान्छ। जनताको भोटले सत्तामा पुग्नसाथ सरकारले आफ्नो वास्तविक रूप देखाउन थाल्छ। वर्ष 2014 को कुरा हो। भोट जित्न अघि भारतीय जनता पार्टीले 35 रुपियाँको पेट्रोल दिने वाचा गरेको थियो। तर आज जनता 90 रुपियाँको पेट्रोल किन्न बाध्य बनिरहेका छन्। सरकारले चाहेँ ट्याक्सहरू घटाएर पेट्रोलको मूल्य कम गर्न सक्छ। तर सरकार जनहितको काम गर्न चाहँदैन। यो सरकारलाई पेट्रोलबाट जनतालाई लुटेर 2019 को चुनाऊ खर्चा निकाल्नु छ। चुनाउको लागि करोडौँ रुपियाँको विज्ञापन गर्नु , अरबौँ रुपियाँको चुनावी जनसभा ऱ्यालीहरू गर्नु छ। जनतालाई सर्वस्व लुटिसक्यो यो देशको सरकारले, तरै पनि मोदी भक्तहरू भनिरहेका छन्वाह् मोदीजी वाह्


No comments:

Post a Comment