Friday, November 16, 2018

भारतमा दलित आन्दोलन : इतिहास अनि वर्तमान


सुमेन्द्र तामाङ

दलित आन्दोलनबारे चर्चा गर्नका निम्ति दलित शब्दको प्रयोग कहाँ, कहिले अनि कसरी हुन थाल्यो यो जान्न अनिवार्य छ। दलित शब्द पहिलो चोटि ज्योतिराव फुलेले प्रयोग गरेका थिए। 'दलितहरूमाथि हुने शोषणलाई व्यक्त गर्दै महाराष्ट्रका समाजसंस्कारक ज्योतिराव गोविन्दराव फूलेले 19औँ शताब्दीमा दलित शब्दको प्रयोग गरेका थिए। त्यसपछि दलित डिस्कोर्स भारतको राजनीतिमा निक्कै प्रचलित शब्द भएर अघि आउन थाल्यो। पछि महात्मा गान्धीले 'हरिजन' भनेर दलितहरूलाई सम्बोधन गरे। हरिजनको अर्थ मोटामोटी 'भगवानको शिष्य' भनेर अनुवाद गर्न सकिन्छ। भारतको संविधानमा दलित भन्नाले अनुसूचित जाति भनेर बुझिन्छ। तर 1947 पछि दलित शब्द केवल जात अथवा अछुतको परिभाषा मात्र नरहेर राजनैतिक चिन्हारी पनि भएर गएको छ। निरन्तर हिन्दु कट्टरवादी शोषणको प्रहारमा परेर सङ्घर्षको बाटो हिँड्दै आफ्ना अस्तित्व बनाउँदै गएको इतिहास दलित शब्दमा। वास्तवमा हेर्दा दलितहरूलाई ब्राह्मणवादी हिन्दु समाजले इतिहासको सबै चरणमा आफू देखि छुट्याएर, दमन गरेर, शोषण गरेर राखेको छ। हिन्दु वर्ण व्यवस्थाले तल्लो भन्दा तल्लो दर्जाको काम गर्न बाध्य बनाएको कुरो दलित समाजका निम्ति कुनै नयाँ कुरा होइन। दलित आन्दोलन इतिहास यही हिन्दु वर्ण व्यवस्थासँग जोडिएको छ। अब दलित आन्दोलनबारे कुरा गर्दा बुझ्न सजिलो हुन्छ। दलितहरूको हिन्दु धर्मसँगको द्वन्द्व वैदिक समाजदेखि नै सुरु भएको हो। शोषित समाजमा प्रतिरोधको आवाजहरू निश्चय अघि आउँछ भन्ने कुरा हामीले दलित आन्दोलनको इतिहास हेर्दा सहजै बुझ्न सक्छौँ। 1947 अघिको दलित आन्दोलन अनि यसका राजनैतिक अनि आर्थिक-सामाजिक आत्मनिर्णयबारे कुरा गर्दा धेरै आन्दोलनकारीहरूको नाम दिमागमा आउँछ। त्यसमध्ये सबैभन्दा आवश्यक नामहरू हुन् ज्योति राव फुले अनि भीम राव अम्बेडकर। दलितहरूलाई हिन्दु शास्त्रको तीन वटा मुख्य वर्णका मानिसहरूको सेवा गर्ने काम छुट्याएको छ। मनुले मनुस्मृतिमा यही कुरालाई राजनैतिक रूपमा लेखेको हो। यस प्रकारको श्रम अनि श्रमिक विभाजनले गर्दा दलितहरू अहिलेसम्म शोषित भएर बसेका छन्। दलितहरूलाई तल्लो भन्दा तल्लो दर्जाको काम गर्नुपर्ने, पढ्नु लेख्नु नपाउनु, राजनैतिक, सामाजिक अनि अर्थनैतिक प्रकारको प्रतिनिधित्व गर्नु नदिइने, अछुत भनी अवहेलना गर्ने इत्यादि कारणले गर्दा ज्योति राव फुले अनि पछि 20औँ शताब्दीमा बी आर अम्बेडकरले शिक्षा नै दलितहरूका निम्ति सशक्तीकरणको तत्व हो त्यस शिक्षाले नै दलितहरूलाई योग्य बनाउनु सक्छ भन्दै दलितहरूलाई सङ्गठित गराउनु प्रयास गरे। दलित शोषणको मुख्य औजार हिन्दु धर्मको रुढिवादी अनि दमनकारी शास्त्र कट्टरवादी प्रथाहरू हुन गएकोलेहिन्दु धर्मको अन्त’-मा नै दलितहरूको उन्मुक्ति लुकेको छ। दलितहरूलाई गाउँघरबाट बाहिर सिमानातिर बस्नु पर्ने, उच्चवर्णका गफहरू सुने कानमा उम्लेको तेल हालिदिने कामहरू गरिन्थ्यो अहिले पनि भारतका दुर्गम क्षेत्रहरूमा यस्तै प्रथा जारी छ।विभाजनसामाजिक ढाँचामा उभिएको ब्राह्मणवादी शोषणको एक मुख्य रूप हो। यस यथार्थलाई इतिहासले कहिले पनि बिर्सन सक्दैन यसको जिउँदो जाग्दो इतिहास दलित आन्दोलन हो। यस्ता दरिद्र अवस्थाको विरुद्धमा उभिएर दलित आन्दोलनले आफ्ना जनशक्तिलाई अझै मजबुत बनाउनु पर्छ। दलित आन्दोलन कुनै सुनको मूर्तीको मागबाट सुरु भएको होइन। यो सामाजिक समानताको लड़ाईबाट सुरु भएको दीर्घकालीन सङ्घर्ष हो।
ज्ञान शक्तिको महत्त्वपूर्ण सम्बन्धलाई प्राथमिकता दिँदै बि आर अम्बेडकरले (ज्योति राव फुले अनि अरू धेरै लेखकहरूबाट शिक्षा लिँदै) शिक्षा, क्रान्ति संस्था (Educate, Agitate, Organise) भनेर सामाजिक घोषणा गरे। आरक्षण, स्वतन्त्रता,  समानता जस्ता मानवीय मागको लड़ाईमाथि दलित सङ्घर्षलाई केन्द्रित गरे। अन्तर जातीय विवाह द्वारा वर्ण (सामाजिक) विभाजनलाई एक हदसम्म समाप्त गर्न सकिने विषय पनि अम्बेडकरले अघि ल्याए। वर्गीय शोषण अनि वर्ण आधारित शोषणको बिचको एकाईलाई अम्बेडकरले जोड दिए। अम्बेडकरले 1956 मा धर्म रूपान्तरण गरे। उनी बुद्धिष्ट भए। तर भारतमा भएको बुद्धिष्ट धर्मका अरू सम्प्रदायलाई नकारेर उनले एक नयाँ सम्प्रदाय 'नवायान' (नियो बुद्धिष्ट)-को कुरा गरेका छन्। यसबारे उनले आफ्नो किताब (The Buddha and his Dhamma)- मा उल्लेख गरेका छन्। 14 अक्टोबर 1956को दिन अम्बेडकरसँग-सँगै 500,000 जना दलित अनि बहुजनहरूले पनि धर्मन्तरण गरे। हिन्दु धर्मको विरोधमा यो एउटा महत्त्वपूर्ण दलित अभियान हुन गयो। महात्मा गान्धीले अछुत व्यवस्थाको विरोध गरे तापनि हिन्दु वर्ण विभाजनको कहिले पनि विरोध गरेनन्। 1920 तिर नै अम्बेडकर दलित आन्दोलनका मुख्य अनुहार भइसकेका थिए भने यस दलित आन्दोलनको लहर उत्तर प्रदेश, बिहार, पन्जाब, बङ्गाल, महाराष्ट्रमा पनि सुरु हुन थाल्यो। दलित आन्दोलनको धेरै रूप गतिशील थियो यो विभिन्न लेखक, वक्ता, नेताहरूमाथि निर्भर थियो। यता, स्वामी थाइक्कड (केरला), पण्डित सुन्दर लाल सागर (युपी), मूल दास व्यस्य (गुजरात) जस्ता दलित नेताहरूले ब्राह्मणवादी प्रथा संस्कृति नै अपनाए। वर्णको सिँढी चढेर नै समानता हासिल गर्न सकिन्छ भन्ने यिनीहरूको सोच थियो। आफैलाई हिन्दु वर्ण व्यवस्था भन्दा बाहिर सोच्ने अनि आफैलाई 'पञ्चमा' भनी सम्बोधन गर्ने दलितहरूलाई लिएर 'हिन्दु' आन्दोलन सुरु गरे। ब्राह्मण वा आर्यहरूले यस देशमा आक्रमण गरेर यहाँको मूल बासिन्दाहरूमाथि नियन्त्रण गर्न 'अछुत' व्यवस्था बनाएर शोषण गरेको हो भन्ने मत पनि पाइन्छ। धर्म रूपान्तरण धेरै चर्चित भएर गयो। दलितहरूले इसाई, सिख, बुद्धिष्ट अनि अरू धर्महरू अपनाउन थाले। हिन्दु धर्मको दमनकारी प्रणालीको प्रतिरोधमा कति दलितहरूले -आफ्ना सम्प्रदाय पनि स्थापित गरे (सत्नामी सम्प्रदाय, मतुवा सम्प्रदाय इत्यादि) तर भारतको दलित आन्दोलनको मुख्य पात्र बाबा साहेब नै भए। उनले दलितहरूको राजनैतिक प्रतिनिधित्व अनि मिलिटरी प्रतिनिधित्वबारे महत्त्वपूर्ण मागहरू उठाए अनि आरक्षण लिएर पनि गम्भीर आवाज बुलन्द गरे।
दलित प्यान्थर्स
अम्बेडकरबाट प्रेरित भएर अप्रेल 1972-मा नाम देव धसलले दलित प्यान्थर्स नामक सङ्गठन सुरु गरे। यो एउटा रेडिकल सङ्गठन थियो। यसले अमेरिकामा 1966-1982-सम्म भएको ब्ल्याक प्यान्थर्स आन्दोलनबाट शिक्षा लिएको थियो। यस सङ्गठनका मुख्य सदस्यहरू युवा थिए। यो महाराष्ट्रको विभिन्न क्षेत्रहरूमा फैलिएको थियो। अन्य दलित आन्दोलन भन्दा बेग्लै किसिमको थियो दलित प्यान्थर्स। दलित प्यान्थर्स एउटा मिलिटेन्ट सङ्गठन थियो। दलित आन्दोलनको इतिहासमा त्यो एउटा नयाँ आयाम थियो। दलित आन्दोलनलाई सर्वहाराको क्रान्तिकारी चरित्रसँग जोडेर, केवल वर्ण व्यवस्था मात्र होइन तर यसको पुँजीवादी चरित्रलाई पनि दलित प्यान्थर्सले विरोध गरे अनि दलित आन्दोलनलाई एउटा अन्तर्राष्ट्रिय आयाम दिए। भारतको दलित आन्दोलनलाई पहिलो पल्ट अन्तर्राष्ट्रिय रूपमा अघि बढाएर लाने पहिलो सङ्गठन होदलित प्यान्थर्स वर्ग शोषण वर्ण शोषणको लडाई एकसाथ लड्नुको आवश्यकता जनाउँदै सबै प्रकारका शोषणबाट मुक्त हुने बिगुल फुक्यो दलित प्यान्थर्सले। दलित आन्दोलनमा यो एउटा ठुलो योगदान हो। दलित प्यान्थर्स को यो आन्दोलन 1940 को दशकसम्म चल्यो।
बहुजन आन्दोलन
1984 मा दलित आन्दोलनमा अर्को अनुहार आयो काशीराम-को नेतृत्वमा। काशीरामलाई 'बहुजन नायकभनेर पनि चिनिने गरिन्छ। काशीरामले बहुजन (हिन्दु वर्णको सबैभन्दा तल्लो अछुत)-हरूलाई सङ्गठित गरे। उसले पनि पहिले आफ्ना राजनैतिक जीवन वर्ण उत्पीडन वर्ग सङ्घर्ष मार्फत नै सुरु गरेका थिए। काशीरामले दलित शोषित समाज सङ्घर्ष समिति (DS4) सुरु गरे। यो समिति नै पछि गएर बहुजन समाज पार्टी (बीएसपी)-मा रुपान्तरित भयो। विएसपी-को अहिलेको नेत्री मायावती हुन्। निम्नस्तरका जनतासँग आफ्नू राजनैतिक यात्रा सुरु गरे तापनि पछि गएर काशीराम राजनीतिक शक्ति कुर्सीको चक्करमा परे। बीएसपी-ले जनआन्दोलनको आवाज साइड लगाएर संसदीय राजनीतितर्फ नै रुचि देखाउन थाल्यो। बहुजनको नाममा केवल अनुसूचित जातिलाई मात्र लिएर कुरा हुन थाल्यो। काशीरामले यसरी आफ्ना क्रान्तिकारी प्रतिबिम्ब गुमाइ पठाए वा त्यागे भनौँ। तर पनि काशीराम बहुजन श्रमिकहरूबिच धेरै चर्चित थिए। आर्थिक, राजनैतिक अनि अन्य सांस्कृतिक उत्पीडनहरू विरुद्ध एकै साथ लडाई गर्न जरुरी छ। यदि यसो नगरे राजनैतिक शक्ति हासिल गर्ने होडमा क्रान्तिलाई नै निलाम गर्ने अवस्था आउँछ। यसैले केवल राजनैतिक शक्ति मात्र पर्याप्त हुँदैन भन्ने महत्त्वपूर्ण शिक्षा हामीले काशीराम अनि बिएसपीबाट लिन सक्छौँ। यी सबै दलित आन्दोलनको डिसकोर्सहरूमा ब्रिटिस शासनले दलितहरूलाई प्रयोग गरेका छन् भने काँग्रेसले पनि दलितहरूलाई भोट ब्याङ्कको रूपमा मात्रै लिएको छ। तर दलितहरूले समय अनुसार इतिहासबाट शिक्षा लिइरहेको कुरा दलित आन्दोलनको प्रगतिवादी चरित्र हो। भारतको राजनीतिक उथलपुथलमा दलितको आवाज बुलन्द भएर गएको भने यदि दलित आन्दोलनले अन्य वर्गीय सामाजिक उत्पीडन अनि शोषणलाई पनि एकसाथ लिएर सङ्घर्षको बाटो हिँड्न जरुरी छ।
भाजपा/आरएसएस अनि दलित आन्दोलन:
भारतीय जनता पार्टी/राष्ट्रिय स्वयम् सेवक (भाजपा/आरएसएस)-को राष्ट्रवादी अनि पवित्र हिन्दुवादी राजनीतिको प्रमुख दुश्मन हो दलित। दलितहरूमाथि हिन्दुत्ववादी आक्रमणको यथार्थ उदाहरण धेरै छन्। त्यस मध्ये एक होउना आन्दोलन 2016-को जुलाई 11 तारिख एउटा दलित परिवारको 7 जना सदस्यहरूलाई 'गाई मारेको आरोपमा' कुटपिट गरे अनि भिडियो रेकर्ड गरेर सार्वजनिक गऱ्यो। त्यो दलित परिवारले मरेको गाईहरूको छाला निकाल्ने काम गर्नु पर्थ्यो।संघि ग्याङ’-ले त्यो 7 जना मध्ये 4 जनालाई उनाको सडकमा लगेर मार पिटाई गर्यो। कुटपिटको कारण पीडित दलितहरूको आङको छाला पिल्सिएको थियो। यस दृश्यले दलितमाथि आतङ्कको एउटा सामाजिक तरङ्ग फैलायो। त्यसपछि दलितहरूले सरकारी अफिस गएर मरेको गाईहरू फ्याँक्न सुरु गरे।काम गर्दा पनि गाह्रो नगर्दा पनि गाह्रोभन्दै गुजरातभरिका दलितहरू सडकमा ओर्लिए। यस प्रकारले दलितहरूले भाजपा/आरएसएस-को गुण्डागर्दी विरुद्ध, फाँसीवाद विरुद्ध अनि ब्राह्मणवादी शोषण विरुद्ध आन्दोलन सुरु गरे। जिग्नेश मेवानी यस आन्दोलनका मुख्य नेताको रूपमा अघि आए। यस आन्दोलनले फेरि एक पल्ट दलित डिसकोर्सलाई भारतीय राजनीतिको एक मुख्य आधार बनाएर लगेको छ। जीग्नेशको उनादेखि अहमदाबादको पैदल यात्रामा 50,000 भन्दा धेर दलितहरू शामिल भए। भारतका विभिन्न ठाउँमा यस आन्दोलनको सहमतिमा आवाज उठ्न थाल्यो। भारतको बढ्दै गरेको फाँसीवादी चरित्रको विरोध होउनाको दलित आन्दोलन भाजपा/आरएसएस-को विचारधाराको मुख्य डर आज दलितहरूको सङ्गठित आवाज भएर गएको छ। यसको श्रेय जान्छउना दलित आन्दोलनलाई
भीम आर्मी
गुजरातपछि अहिले उत्तर प्रदेशलाई फाँसीवाद हिन्दुत्वले आफ्नो प्रयोगशाला बनाई रहेको छ। भीमराव अम्बेडकरले "हिन्दु धर्म एउटा मिथ हो" भनेका थिए। "विभिन्न वर्णले बनिएको हो हिन्दु धर्म, प्रत्येक वर्णको आफ्नू चेतना पनि हरेक वर्णको एक अर्कासँग जुडाव पनि उत्तिकै छैन। केवल हिन्दु मुस्लिम बिचको दङ्गाको समय छोडेर" यो अम्बेडकरले लेखेका शब्दहरू हुन्। भाजपा/आरएसएस-ले दलित आक्रमण बढाएको कुरा कुनै असाधारण कुरा होइन। मुस्लिमहरू सङ्घको सबै भन्दा पुरानो दुस्मन हो। उत्तर प्रदेशमा भाजपा/आरएसएसले दलित मुस्लिम बिच हिंसक दङ्गा गराउने षड्यन्त्र गरिरहेको छ। आरएसएसले अम्बेडकरलाई 'फर्मल' रूपमा प्रेरणाको मूर्ती माने पनि दलितहरूलाई दमन गर्नु चाहिँ छोड्दैन। तर जब सहारनपुर (शब्बिरपुर)-का दलितहरूले बाबासाहेबको मूर्ती खडा गर्न खोजे, त्यस बेला भाजपा/आरएसएसका ठाकुर कार्यकर्ताहरूले त्यहाँ भेला भएका दलितहरूलाई सबक सिकाउनुका निम्ति महाराणा प्रतापको नाममा त्यही दिन एउटा ठुलो पथ यात्रा निकाले। आखिर भाजपा/आरएसएसले जे षड्यन्त्र गरेको थियो त्यही भयो। ठुलो झडप भयो। घरहरू जलाइयो, ठाउँ-ठाउँमा मारपिट हत्या-हिंसा भयो। दलित बहुजनहरूको 100 भन्दा धेर घर जलाइयो। रेप-मर्डरको खबर देशव्यापी फैलियो। यो कुरा 2017 जनवरीको हो। त्यही बिच 2015-मा चन्द्रशेखर आजाद विनय रतन सिंहले बहुजन विद्यार्थीहरू जो पढ्नु पाउँदैनन्, तिनीहरूका निम्ति स्कुलहरू खोल्ने निर्णय लिए। सहारनपुरमा पहिलो स्कुल खोलिएको थियो। भीम आर्मीको अगुवाइमा उनीहरूले शिक्षा अभियान सुरु गरे। सन् 2015 सम्म 400 भन्दा धेर स्कुलहरू खोलियो। सहारनपुरमा दलित अनि ठाकुर समुदाय माझ भएको दङ्गामा दलित नेता चन्द्रशेखर आजाद आरोपी बनायो अनि उनी विरुद्ध पक्राउको वारेन्ट जारी गऱ्यो। दलित नेता चन्द्रशेखरमाथि दङ्गा गराएको झुटो आरोप लगाएको थियो। जसको कारण उनी भूमिगत हुन पऱ्यो। त्यही समय यता, दलितहरूले नेता चन्द्रशेखरको पक्ष लिँदै उनीमाथि लगाइएको झुटो मुद्दाहरू विरुद्ध एक भएर विरोध गरे। दिल्लीको जन्तर-मन्तरमा दलितहरूले बृहत् पथसभाको आयोजना गरेका थिए। त्यस पथसभालाई भूमिगत नेता चन्द्रशेखरले सम्बोधन गर्दै उनले दलित आन्दोलनलाई अझ प्रभावशाली बनाउने कटिवद्धता जाहेर गरे। दलित-बहुजनको यस आन्दोलनलाई दबाउन सक्रिय रहेको सत्ताले 2017-मा दलित नेता चन्द्रशेखरलाई पक्राउ गऱ्यो। उनी पक्रा परे तापनि भीम आर्मीको दलित आन्दोलन रोकिएन। चन्द्रशेखर आजादको भाईमाथि पनि भाजपा/आरएसएसकाहरूले हमला गरे। एक सालसम्म आजादलाई जेलमा राखियो तर भीम आर्मीको काम भने रोकिएन। हालसम्म भीम आर्मीले 600 वटा भन्दा धेर स्कुलहरू खोलिसकेको छ। यस स्कुलमा दलित-बहुजन समुदायका शिक्षित युवा/युवतीहरूले नानीहरूलाई पढाउँछ साथै दलित चेतना प्रधान गर्ने काम पनि गर्छ, ‘Educate, Agitate, Organise.’—अम्बेडकर ले भने जस्तै।
केही दिन अघि बन्दी दलित नेता चन्द्रशेखर आजाद जेल मुक्त भए। अहिले भीम आर्मीले नयाँ ऊर्जा प्राप्त गरेको छ। जेलबाट रिहाइ भएपछि मिडियालाई सम्बोधन गर्दै आजादले भीम आर्मीले भाजपा विरुद्धको लडाई अझ प्रभावशाली बनाउने घोषणा गरे। दलित आन्दोलन कुन दिशा तर्फ जानुपर्छ भन्ने कुरा दलित चिन्तक बाबासाहेबले पहिले नै जनाइसकेका छन्। दलित प्यान्थर्सबाट पनि शिक्षा लिँदै सबै स्तरको शोषण विरुद्ध सङ्घर्ष गर्ने मार्गतर्फ लाग्नु आजको आवश्यकता हो। दलित आन्दोलनलाई दलित मुद्दामाथि केन्द्रित गर्दै अन्य सामाजिक शोषणहरू विरुद्ध पनि सङ्घर्ष गर्न जरुरी छ। निश्चय नै दलित आन्दोलनले बढ्दै गरेको भाजपा/आरएसएसको फाँसीवादी आक्रमणलाई रोक्नुमा एउटा मुख्य भूमिका खेल्ने छ। फाँसीवादीहरूका हिन्दु राष्ट्रको सपनामादलित आन्दोलन’ ‘ऐठनहो। बाबासाहेबले भनेका छन्— "कुनै पनि हालतमा हिन्दु राजलाई रोक्नु जरुरी !"
भारतमा धेरै पुरानो यस दलित आन्दोलनमाथि एक संक्षिप्त चर्चा राख्यौं। त्यसको वैचारिक, व्यवहारिक आयाम गतिविधिबारे पनि चर्चा राख्यौं। तर सम्पूर्ण समाजको परिप्रेक्ष्यमा अरू सङ्घर्षहरूसित यसको सम्वन्धबारे चर्चा बाँकी नै रह्यो। अनि हाम्रा यता दलित डिस्कोर्सको चर्चा, सम्पूर्ण भारतको परिप्रेक्षसँग यताको परिप्रेक्ष्य कतिको मेल खान्छ खाँदैन, त्यसमाथि चर्चा पनि बाँकी रह्यो। हाम्रा पत्रिकाको अरू कुनै अङ्कमा यसमाथि चर्चा गर्नु पर्छ।


No comments:

Post a Comment