Sunday, December 20, 2015

सम्पादकीय : नोभेम्बर -डिसेम्बर २०१५

सन्दर्भ : असहिष्णुता

असहिष्णुता लिएर देशभरि नै बहस-चर्चा चलिरहेको छ। एकातिर मानिसलाई हत्या गर्नु, जिउदो जलाईदिनु,'घर वापसी’,'लभ जिहाद’, धम्की— बिजेपी, आरएसएस, सङ्घ परिवारको पक्षबाट धार्मिक अल्पसंख्यक माथि यस्ता घटनाहरू लगातार भइरहेको छ। अर्कोतिर चलिरहेको छ इतिहास विकृतिको सुनियोजित परिकल्पना। तर यी विरुद्ध प्रतिवाद पनि चलिरहेको छ अनि राष्ट्रिय पुरस्कार फर्काउनु, प्रतिवादी पत्रहरू पठाउनु, र  विरोध प्रदर्शनहरू भइरहेको छ।
कस्तो छ त यो असहिष्णुताको स्वरूप?  यस्तो छ- फरवरीमा प्रगतिवादी लेखक गोविन्द पानसारे, अगस्टमा एम.एम. कलबुर्गीको हत्या भयो। कारण यिनीहरूले कुसंस्कार र धार्मिक कट्टरवाद विरुद्ध आवाज उठाउदै थिए। गोरुको मासु घरमा भएको बहाना बनाएर दिल्ली नजिक दादरीमा महम्मद आखलाखलाई कुटेर हत्या गरियो। हिमाचल प्रदेश र कश्मिरमा पनि त्यस्तै कतिवटा घटना घट्यो। गोरुको मासु बिक्री र काट्नु माथि पनि कतिवटा राज्यमा निषेधाज्ञा जारी भएको छ। मुस्लिमहरूलाई बातबातमा पाकिस्तान पठाउने कुरा, हिन्दु संस्कृति अपनाउन पर्छ भन्ने कुरा, मुस्लिम र इसाईहरूलाई जबर्जस्ती हिन्दु बनाउने प्रयास जस्तै थुप्रै डरलाग्दो कार्यक्रम चलिरहेको छ सङ्घ परिवारको तर्फबाट। उनीहरूको हिन्दु भन्ने धारणा उच्च वर्ण ब्राह्मणवादी धारणामा आधारित भएकोले यसको असर दलित, आदिवादी, वा तथाकथित निम्नवर्गीय हिन्दुहरुले झेल्नुपरिरहेको छ।  स्थिति अहिले यती हदसम्म बढेको छ कि प्रख्यात गजल गायक गुलाम अलि धरी लाई पाकिस्तानको नागरिकको पहिचानमा प्रोग्राम गर्नबाट रोकिएको छ। इतिहासलाई विकृत गर्नु र दर्शनगत स्तरमा कट्टर हिन्दुत्ववादी विचार थप्नुको लागि शिक्षा र शोध प्रतिष्ठानहरूको उच्च पदहरूमा सङ्घले छानेका मानिसहरूलाई हाल्ने काम भइरहेको छ।
यसको विरुद्धमा प्रतिवाद पनि निक्कै भइरहेको छ। अहिलेसम्म प्राय ५० जना लेखक, बुद्धिजीवीहरूले सरकारी पुरस्कार फर्काइ सकेका छन्। देशविदेशबाट १३० जना विज्ञानीहरूले राष्ट्रपतिलाई प्रतिवाद पत्र पठाएका छन्। सठीक प्रकारले बहसको कुनै अवसर नरहेकोले असहनशीलताको एउटा माहौल बढिरहेको छ। जसको नतिजा अमिर खान वा ए आर रहमान आदिहरूको विवृतिमा पनि देखा पऱ्यो।  
तर देशभरिमा बनिएको भयंकर स्थितिलाई असहिष्णुताले मात्रै व्याख्या गर्न सकिँदैन। यसको राजनैतिक चरित्र निकै गहिरो छ। असहिष्णु त हामी पनि हुन्छौ। यस चलिरहेको व्यवस्थाले गर्दा नानीहरू शिक्षाबाट वञ्चित, युवाहरू कामबाट वञ्चित, मजदुरहरू अधिकार र सठीक ज्याला देखि वञ्चित, किसानहरू फसलको न्यायपूर्ण दाम देखि वञ्चित हुँदा असहिष्णु त हामी पनि हुन्छौ। केटीहरू बलात्कृत हुन्छन्, उनीहरू ढुक्क भएर हिड्ने उपाय छैन। चियाबगानको मजदुरहरू भोकमरी र कुपोषणले मरिरहेका छन्। पुर्खादेखि बसोबास गरेका मानिसहरू आफ्नै जल-जङ्गल-जमिनबाट विस्थापित भइरहेका छन् । जीवन जिउने न्यूनतम अधिकार र साधनबाट वञ्चित भएर बस्नुपर्ने र भ्रष्टाचारले भरिएका व्यवस्थालाई दिनहुँ झेल्नुपर्ने मानिसहरूका कतारमा उभिएर के हामी सोच्न सक्छौ सहिष्णुताको कुरा? यस्तो प्रकारको सहिष्णुताको पनि त अन्त हुनुपर्ने। 
तर शासकको तर्फबाट जुन असहिष्णुतालाई जबर्जस्ती सुचारुरुपले मानिसहरू माथि थोप्ने काम चलिरहेको छ, त्यो हाम्रो  असहिष्णुताको एकदमै विपरीत छ। यो असहिष्णुताको पछाडि लुकेको छ गहिरो राजनैतिक र दार्शनिक षड्यन्त्र। यस  वर्तमान समयमा अभिव्यक्तिको अधिकारलाई हनन गर्ने, चिन्ताको स्वतन्त्रतालाई रोक्ने, प्रगतिवादी संस्कृतिलाई कुल्चने काम चलिरहेको छ। अनि यी सबै कस्तो बेला भइरहेको छ? जब सामाजिक सुरक्षाहरू घटिरहेको छ, आमजनताको आर्थिक सङ्कट बढिरहेको छ, महंगाई, बेरोजगारी, भ्रष्टाचार र असमानताले आकाश छुने स्थितिमा पुग्न आँटेको छ। सँगसँगै नयाँ अधिकारको कुरा त छोडीदिनु होस्, सङ्घर्षको बाटोमा जितेको ऐनी अधिकारहरू पनि खोस्ने काम चलिरहेको छ। असहिष्णुता हामी पनि देखाउने छौ। समाजको आधारभूत समस्याहरूबाट आँखा फर्काएर, झुठो युद्धको डर बनाउदै, देशको सुरक्षाको बहाना गरेर अरूलाई थिचोमिचो, गोरुको मासु निषेध, लभ जिहाद, घर वापसीको बनावटी कथा फैलाउनु — यी सबै चाललाई उदाङ्गो पार्दै जनतालेनै देखाउने छन् आफ्नो असहिष्णुता— यो व्यवस्था प्रति।

No comments:

Post a Comment