Sunday, December 20, 2015

अरुन्धती रोयको लेखपढ्दा

लेखनाथ छेत्री

आफ्नु उपन्यासको लोकप्रियताबारे अरुन्धती रोयलाई अल-जजिरा टेलिभिजन च्यानलले सोधेकोको प्रश्नमा भनिन् कि जब एक लेखकबाट केही लेखिन्छ, उसलाई थाहा हुँदैन पाठकलाई कुन कुन कुराले  छुन्छ। अथवा पाठको कुन कुन कुरा पाठकले मनपराउँछन्। शायद थाहा हुँदैन, र नैं लेखन एक कला पनि हो, उनी यसो भन्छिन्। के लेखन त्यसो भए एक कला मात्रै हो? भन्ने कुरा मलाई अरुन्धतीबाट जानिरहन मन लागेन। उनीसंग संलग्न यस्तो कुनै पनि बहस कुनै किताब अथवा कुनै ईन्टरनेट साइटमा फेला पारिन। लेखन न बिचारमात्रैले पूरा हुन्छ, न कला मात्रले। म आफै पनि यस्तो धारणा राख्छु। 
सत्रह बर्षको हुँदा अरुन्धती घरबाट भागिन्। किनकि आमासंग उनको कहिल्यै पारा मिलेन। आफूजस्तै छोरी जन्माएकोमा आमालाई पछुतो लाग्थ्यो। दुई पर्माणु हतियारधारी देश कहिले मिलेर बस्न सक्दैन, आमासंग उनको सम्बन्धबारे अरुन्धती भन्छिन् । 
त्यसपछि आर्किटेक्चर पढिन्। तर काम गर्न थालिन् सिनेमामा पटकथा लेख्न। कमसेकम उनको लेखनको सुरुवात यहाँबाट भयो। तर लेखेका फिल्म त्यस्तो खास भएन। आफैलाई मामुली लागे। जब उपन्यास लेख्ने मन बनायिन् उनलाई बारबार लागिबस्थ्यो कि यो उपन्यास उनीबाट लेखिएका सिनेमाका पठकथाहरुभन्दा झुर निक्लिने छ। 
गड अफ स्मल थिङ्सले तर उनलाइ बुकर प्राइज जिताउने पहिलो महिला बनायो। अरबौंको संख्यामा यो उपन्यासको बिक्री भयो। सोल्हभन्दा ज्यादा भाषामा यसको अनुवाद भइसकेको छ। यसलाई  युनीभर्सिटीतिर लेक्चर गरिन्छ, यसमाथि कति बहस भइसकेको छ। असलमा भारतका अंग्रेजी किताब पढ्ने धेर मध्यम्बर्गिय पाठकले उनलाई केही महिनाभित्रमा नैं उनीहरुले खोजेजस्तो मसालेदार किस्सा लेखिदिने पपुलर फिक्सन लेखकहरुको कतारमा उभ्याइसकेको थियो। आज न्वाम चोम्स्कीले उनलाई यो समयको सबभन्दा शक्तिशाली राजनैतिक चिन्तक हो भनेर दावी गरिसक्दा पनि भारतमा कति पाठक उनको अर्को पपुलर फिक्सन पर्खेर बसेको छन्। उदेक लाग्छ। 
अरुन्धतीलाई त्यतिबेला भारतमा बिक्ने साहित्य अनि नबिक्ने साहित्यबारे थाहा भइसकेको थियो। उनी सेलिब्रेटी लेखक बन्न सक्थिन्। सस्तो एकदम फाल्तु कुरा लेखेर प्रचुर पैसा कमाउन सक्थिन्। टेलिभिजनको रियालिटी शोतिर जज बन्न कन्ट्र्याक साइन गर्न सक्थिन्। गड अफ स्मल थिङ्सले उनलाई यो बाटो खुला गरिदिएको थियो। तर अरुन्धतीले जुन फरक बाटो अप्नाइन्, त्यो बाटोले उनलाई अनेक विवादहरुमा फसायो। उनी आफ्नै पाठकहरुको दुश्मन भइन्। उनले आफ्नु लेखमा जुन कुरा पाठकले बुझुन् भन्ने अपेक्षा राखिन् ती सब बुझ्नुभन्दा ज्यादा उनलाई बुझ्न मान्छेहरुले उनको निबन्धहरु पढे। पब्लिक मोर्यालिटी हनन गरेको आरोपमा उनलाई यो बाटोले जेलसम्म पुर्यायो। 
१९९९मा केही महिना अमेरिका बसेर उनी जब भारत फर्किन्, उनलाई देश पहिलेजस्तो लागेन। देशमा माहोल अर्कै थियो। कारण थियो देशले भर्खरै पोखरानमा गरेको पर्माणु परिक्षण। भारत अब पर्माणु हतियार आफूसंग हुने विश्वका केही देशहरुको कतारमा थियो। अब देशलाई आफ्नु दुश्मनबाट कुनै खतरा छैन, टेलिभिजनको प्यानल डिस्कसनमा बसेका बम एक्स्पर्टहरु यस्तो दावी गरिरहेथे। मिडियाहाउस अनि राजनितीकर्मी यसलाई गौरवांकित गर्न यति धेरै लागेका थिए कि देश एक न्युक्लियर पावर स्टेट हुनुको उत्सव मनाइरहेको थियो। 

अरुन्धतीले देशसंग बम हुनुको खुशी मनाउन सकिनन्। कसैसंग पनि पर्माणु हतियार हुन सारा बिश्वको लागि खतरा हो, उनलाई बस त्यति थाहा थियो। यहीँ हुटहुटीले उनलाई पर्माणु बमको व्यापार गर्ने अमेरिकाको कुटनिती, भारतमा बम ल्याइनुको राजनैतिक कारण र आम मान्छेको पर्माणु बममाथिको धारणामाथि सोंच्न उक्सायो। 

उनले आफुलाई कुनै देशको नभएर सारा विश्वको नागरिक घोषित गरिन्। त्यो विश्व जसको हावा पानी, जमीन जंगल, पर्शुप्राणी सब कुराको आयु एक रिमोटको बटनमा कैद छ। 

" कल्पनाको अन्त"- पर्माणु हतियारबारे लेखिएको उनको एक लामो निबन्ध छापिएपछि एकाएक देशमा बहसको माहोल बनियो। बौद्धिकहरु परमाणु बमको प्रोस अनि कन्समाथि चर्चा गर्न अघि आउन थाले। तर " बम हाम्रो साथी हो, अनि पाकिस्तान हाम्रो दुश्मान" भन्ने धारणा आममान्छेमा हावी भएको बेला यसले खास प्रभाव पारेन। पहिलेचोटि एक देशद्रोहीको ट्याग लागिसकेको अरुन्धतीले तर अब फर्केर पछि नहेर्ने सोंचिसकेकी थिन्।

***
अफगानिस्तानको पहाडमा नब्बेताका जब पुँजिवादले सोभियत कम्युनिज्म विरुद्ध जेहाद जित्यो, अन्तर्राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन आयो। भारत जो आफूलाई एक नन एलाइन्ड देश भन्नमा गर्व गर्थ्यो, इजरायल अनि अमेरिकासंग हात मिलयो। कर्पोरेटहरुको हब बनिरहेको अमेरिकासंग हात मिलाएपछि, यिनीहरुको निम्ति भारतिय बजारको फाटक खुल्ला गरियो।

भारत सरकारले यहाँको हावा, पानी, जमीन जंगल हरेक प्राकृतिक संसाधनहरुको निलामी शुरु गर्यो। एमएनसीहरु यसको फायदा उठाउन भारतमा ओइरिए। 

यसको सबभन्दा व्यापक असर ती आधिवासी दलित अल्पसंख्यकहरुमा पर्यो जो युगौँदेखि जंगलमा बसोबास गर्दै आइरहेका थिए । माइनिङ गर्न, बाँध बनाउन अथवा  कल कारखाना बनाउनको लागि उनीहरुलाई आफ्नु ठाउँदेखि धपाएर शहरको झोपडपट्टीहरुतिर हुलियो। आज भारतसंग आन्तरिक रुपमा विस्थापितहरुको सबभन्दा ठूलो संख्या छ।

जब उनीहरु सरकार अनि एमएनसीहरुको स्वार्थको निम्ति आफ्नु ठाउँबाट विस्थापित हुन्छन्, यिनीहरु आर्थिक, सामाजिक, सांस्कृतिक अथवा हरेक प्रकारले उजाडिन्छन्। आफ्नो थलो, आफुले देवता मानेको जल जमीन अनि जंगल बचाउन उनीहरु जो अघिबाबाटै भोका छन्, भोकहड्तालमा बस्न एउटा क्रुर चुटकिला हुन्छ। दिल्लीको जन्तरमन्तरमा बसेको धरनाले उनीहरुको केही हुनेवाला छैन। 

प्रसंग आउँछ, भारतको नक्सलाइट विद्रोहको। यो आन्दोलन ती आदिवासी दलित समुदायको हो, जो आफ्नो पितृथलो, जल, जमिन अनि जंगल छोड्न तयार छैनन्। खनिज पदार्थ निकाल्न, बाँध बनाउन अथवा कारखानाहरु खोल्नको लागि सही वातावरण बनाउन प्रतिबद्ध सरकार मिलिटेरी, अथवा सलुवा जुदुम जस्तो प्राइभेट मिलिसिया लगाएर ती आदिवासीहरुको बस्ती जलाउन पठाउँछ। 
सबभन्दा व्यापक सुरक्षा संकट भनेर लेबल लगाइएका तिनीहरु मर्न त जिउँदै मरिसकेका हुन्छन्, बाँच्ने झिनो आशमा बन्दुक समाउन मजबुर हुन्छ्न्।
भारतको नक्सलाइट क्रियाकलापको केन्द्रमा बसेका ती आदिवासीहरुसंग सरकारले कहिल्यै संवाद स्थापित गर्न चाहेन। बात गर्ने झाँसा दिएर बोलाइएको कमरेड आजादको एन्काउन्टरबारे देश बेखबर छ। यिनीहरुसंग सम्झौतामा आउनु भनेको कर्पोरेटहरुले नोक्सानी झेल्नु हो। मुनाफाको लोभमा निम्त्याइएका ती कम्पनीहरुमा आफ्नु प्रतिबद्धता देखाउन सरकार नक्सलाइट क्रियाकलाप दबाउनको लागि कुनै कसर बाँकि छोड्न तयार छैन। 
रेड करिडोरको जंगल-जंगल ती तथाकथित भारतका आन्तरिक सुरक्षाका संकटहरुसंग चौधह दिन घुमेर संग्रह गरेको तथ्यहरुको आधारमा अरुन्धतीले तीन निबन्धको किताब ब्रोकन रिपब्लिक लेखेकी छिन्। यस किताबमा अरुन्धतीले रेड करिडोरबारे  निकालेको सार नक्सलाइटहरु इन्डियन स्टेट उखेल्ने मिशनमा छन् भन्ने धारणा पालेर बसेकाहरुलाई आपत्तिजनक जरुर लाग्ला, तर बेतुका बयानबाजी गरेर अरुन्धतीको खिल्ली उडाउन गाह्रो होला। पढ्दैजाँदा यस्तो लाग्छ।

१९८९ मा तत्कालिन भारतको प्रधानमन्त्री राजिव गान्धीले एकाएक सत्रौं सताब्दीको प्राचीन जामा मस्दिदको ताला खोल्ने प्रस्ताव लिएलगत्तै भारतीय जनता पार्टीले आफ्नु केन्द्रिय सभामा जामा मस्दिदलाई तोडेर राम मन्दिर निर्माण गर्ने एजेन्डालाई आफ्नु चुनावी मेनिफेस्टोमा सामेल गरायो। दिल्लीदेखि पटनासम्मको आडवाणीको रथ यात्राले भारतलाई दुई टुक्रामा बाँडिसकेको थियो। एकापट्टी हिन्दु बहुसंख्यक अनि अर्कोपट्टि अल्पसंख्यकमा मुस्लिम अनि दलित समुदाय। अयोध्या राम मन्दिर अजेन्डालाई लिएर आडवाणीले थालेको मिशनले हिन्दु बहुसंख्यकलाई आफ्नु वोटब्यांक बनाउन धेर समय लागेन। अघिल्लो चुनावमा मात्र एक लोकसभा सिट जित्ने भाजपा पछिल्लो चुनावमा 1८४ सिट जितेर प्रमुख विपक्षी दल भयो अनि अर्को चुनावमा सिधै सत्तामा आयो। 
त्यहाँदेखि यता लगातार भारतको संविधानको खिल्ली उडिरहेको छ। साम्प्रदायिक एकता बस एक युटोपिया छ।एकअर्कामा घृणा पैदा गरेर राजनीति गर्ने ट्रेन्ड आजसम्म सबभन्दा कुरुप भर्जनमा अभिव्यक्त छ। यसबीच भएको असंख्य साम्प्रदायिक दङ्गामा कति मान्छे मारिए, कति औरत बलात्कृत भए, कति बस्ती जलाइए, कति रेफ्युजी सेन्टरतिर विस्थापित भए र ती विस्थापितहरुको अवस्थाबारे बुझ्न कुनै सरकारी तथ्य छैन। 
आज बिजेपीको रेखदेखमा आरएसएसजस्ता कट्टर  हिन्दुवादी संगठनहरु भारतको अल्पसंख्यकहरु विरुद्ध घृणा फैलाउने काम गरिरहेका छन्। उनीहरुकै सक्रियतामा स्वातन्त्र भारतमा अनेक साम्प्रदायिक दङ्गाहरु भए, यसो भन्न कुनै सरकारी रिपोर्ट अथवा तथ्यहरुको संकलन गरिरहनु पर्दैन, कारण मुस्लिम अल्पसंख्यकहरुको हत्यापछि उनीहरुको संलग्नता उनीहरु आफै खुलेआम स्वीकार गर्छन्।

भारतमा सक्रिय हिन्दुवादी संगठनहरुमा नाइके यहीं आरएसएस हो जो हिटलरको एथनिक क्लिन्सिङ अनि स्टालिनको फासिवादबाट प्रेरित छन्। आरएसएसको बाइबल we or our nationhood defined मा एम एस गोवालकरले लेखेका छन्- 
Ever since that evil day, when Moslems first landed in Hindusthan, right up to the present moment, the Hindu nation has been gallantly fighting to shake off the despoilers. To keep up the purity of the race and its culture, germany shocked the whole world by her purging of its semitic race, the jews... race pride at its highest has been manufested there.... a good lesson for us in Hindusthaan to learn and profit by.
अरुन्धतीका यी तथ्यहरु यसो भन्न काफी छन्  कि यिनीहरुलाई नरोकिए भारत निकट भविष्यमा हिटलरको त्यतिबेलाको जर्मनीजस्तो आफ्नु खुनी अनुहारले संसारलाई तर्साउने अवस्थातिर दिनोदिन बढिरहेको छ। यसमा सबैभन्दा ठूलो समस्या यहीं छ कि यस्ता संगठनहरुहरु मान्छेमा दहसत फैलाउने काम गर्छन्, जबकी भाजपा जस्तो राजनैतिक पार्टी यो दहसतलाई भोटमा परिणत गर्नमा लाग्छ। जस्तोकि २००२को गुजरात दंगापछि त्यतिबेलाको मुख्यमन्त्री नरेन्द्र मोदी (जो आफै आरएसएसका प्रचारक हुन्) राज्यभरी गुजरात गौरव यात्राको नाममा मान्छेहरुमा मुस्लिम अल्पसंख्यकहरुमाथि घृणा फैलाउँदै हिँडे। गुजरात गौरव यात्राले त्यसपछि उनलाई प्रधानमन्त्री नबनुन्जेल गुजरातको सत्तामा राख्यो। गुजरात दङगापछि सबभन्दा पहिले प्रधानमन्त्री बन्ने सपना मुकेश अम्बानी र रतन टाटाले गुजरात बिजनेस समिटमा देखाएका थिए। यो कुराले भारतमा कर्पोरेट, हिन्दु राष्ट्रियवाद अनि राजनितीको सम्बन्धलाई बुझ्न अरुन्धती छोडेर कसैले नहेरेको एंगल दिन्छ। 
इस्लामिस्ट आतंक खतम गर्ने बहानामा अफ्गानिस्थान र इराकतिर अन्धाधुन्ध बमबारी गरेर संसारभरी दहसत फैलाउने अमेरिकाले भारतलाई दिएको दीक्षा यहीँ हो कि मुस्लिमहरु आतंककारी हुन्। यहीं दीक्षा आम मान्छेको चेतनासम्म हावी छ। यहीं दिक्षाको कारण भारतमा मुस्लिमहरुको हाल जस्तो छ, त्यस्तो छ। भारतमा मुस्लिमहरुमाथिको बढ्दो हिंसा अनि यसको प्रतिसोध लिने ध्येयले नयाँ नयाँ आतंकी संगठनहरुको जन्म दिइरहेको छ। अरुन्धती यसो भन्छिन्।

अरुन्धती रोयको लेखनको एक वृहत पाटो हो वर्गबिभाजन। भारतसंग एकातिर संसारभरिका सबभन्दा धेर संख्यामा अरबपतिहरु छन्, अर्कोतिर प्रतिदिन बिस रुपैयाँभन्दा कम पारिवारिक आयमा जिवन धानिरहेका बिशाल निम्नवर्गिय समुह। यी दुइ बिचको यति ठुलो खाडल संसारको अरु कुनै ठाउँमा छैन। ह्युमन डेभलपमेन्ट इन्डेक्समा आज भारत संसारको एक सय पचास देशहरु भन्दा तल छ। भोकमरीमाथि संयुक्त राष्ट्रसंघको रिपोर्टले भारतको स्थितिलाई  साहारा-अफरिकाभन्दा जिर्ण देखाउँछ। 

यो स्थिति निर्माण हुनुको ठुलो कारण अरुन्धतीले भारतमा बढ्दो कर्पोरेट चलखेललाई बताएकी छिन्। कर्पोरेटहरु भारतका नयाँ शासक हुन्, उनी भन्छिन्। यी नयाँ शासक सरकार, विपक्ष, न्यायलय, चुनाव सबकुरामाथि हावी भएर यस्तो व्यवस्था निर्माण गरेका छन् जसलाई नकार्नु भनेको एक आम जिवन बाँच्नको लागि अरु कुनै विकल्प नराख्नु हो।यसले एक वर्गलाई उत्पादनको लागि कच्चा माल अनि अर्को वर्गलाई क्रेता बनाएर आफ्नु धन्दा चलाइरहेछ। 

कलाकार, फेस्टिबल, साहित्यिक समारोह, एनजीओ- यी सबलाई प्रायोजित गरिरहेका यी नयाँ शासकहरु धेरैलाई असल लाग्छ। तर यसो गर्नुमा उनीहरुको ध्येय पोटेनसियल रिवल्युशनरीहरुको खरिदारी गरेर कर्पोरेट टेकओभरसंग युद्ध गर्ने टेन्डेन्सी खतम गर्नु हो। एक नयाँ राजनैतिक चेतना, एक नयाँ कल्पनाले मात्र यो व्यवस्थाको अन्त गरेर नयाँ निर्माण गर्नसक्छ। अरुन्धती सोंच्छिन्। 

एकतर्फ एउटा यस्तो भारत छ जो देखिन्छ। एउटा यस्तो भारत जो शहरमा बस्छ। जोसंग शपिङमल छ। रोयल होटेलहरु छन्। लाउनलाई ब्रान्डेड कपडा छ। एउटा यस्तो भारत जो विकेन्डमा सिनेमा हेर्छ। जसको जिवन टेलिभिजन सिरियलमा जस्तो छ। रियालिटी शो अनि कुनै मध्यमवर्गीय पारिवारिक हिंसामाथि भएको खुलासा जसको मिडियाहाउसमा वहसको विषय बन्छ। एउटा यस्तो देश जसको प्रधानमन्त्री आठ लाखको लुगा लगाउँछन्। मार्क जुकरबर्गसंग फोटो खिच्छन् अनि फेसबुकमा अपलोड गर्छन्। ब्रिटेनको महारानीसंग भोज खान्छन्। 
यो एउटा यस्तो भारत हो, जसको नागरिक आफु यस्तो देशको हुनुमा गर्व गर्छन्। राष्ट्रियवादले ओतप्रोत उनीहरु आफैआफ भनिपठाउँछन् आइ लब इन्डिया। 

तर अर्को एउटा भारत पनि छ, जो देखिँदैन। अथवा देखाइँदैनन्। एउटा यस्तो भारत जसको किस्सा शहरमा बस्नेहरु देहातमा आधारित चरम बलिहुड फिल्ममा बेलाबेला हेर्छन्। तुरुक्क आसुँ पनि चुहाउँछन्। एउटा यस्तो भारत जहाँ भोकले पेठमा पटुका बेरेर सुतेका गरिबहरुलाई थाहा हुँदैन उनीहरु बिहान मरेका हुन्छन् कि जिउँदै हुन्छन्। एउटा यस्तो भारत जहाँ नांगो हुनु कुनै फेशन शोको जस्तो रवाफ होइन, मजबुरी हो। जहाँ बाली बिग्रेको खेतिवाला ब्यांकले कम इन्टरेस्टमा उसलाई उपलब्ध गराएको लोन फर्काउन नसकेर लाखौंको संख्यामा आत्महत्या गर्छन्। एउटा यस्तो देश जसको किसान देशको वार्षिक निर्यातको ग्राफ बढाउन अनि शहरको पेठ भर्न खेत जोत्छ तर भोकभोकै सुत्छ। एउटा यस्तो देश जहाँ आफ्नु आखैं अगाडी मान्छेहरुको बस्ने घर, पुजा गर्ने जल- जंगल, उब्जाउने खेत,  गीत गाउने खोला-नाला सबै टाटा-लाइफस्टायलवालाहरुको असिमित चहानाहरुको आपुर्तीको लागि उत्पादनको कच्चा मालमा परिणत हुन्छ।यहाँ बन्दुकको नोकअगाडि दबाएर सास फेरिरहेको कश्मीर पनि छ, अनि बन्दुक बोकेर सरकारसंग लडिरहेका विद्रोहीहरु पनि। सबभन्दा धेर त्यो भारत जसको कहिले केही सुनिएन। कहिले उनीहरुमाथि कुनै किसिमको बहस भएन।
एक भारतीय अंग्रेज़ी लेखकबाट लेखिने टिपिकल उपन्यास लेखिसकेर अरुन्धती एक फरक बाटोमा छिन् जहाँ उनको लेखन कल्पनामा नभएर तथ्यहरुमा आधारित छन्। आफ्नु पाँच नन फिक्सनको किताबमा अरुन्धती समाज अनि व्यवस्थामाथि कर्तव्यबोध गर्ने बौद्धिक, पत्रकार, लेखक, कलाकार, एक्टिभिस्ट अथवा जो कोहीलाई पनि देखिएको भारत अनि नदेखिएको भारतबिचको सिमानामा लगेर उभ्याउँछिन्, जहाँबाट देखिन्छ कि यी दुइ भारत आपसमा लडिरहेका छन्, जहाँ  देखिने भारत कम्फोर्टको लागि लड्छ अनि नदेखिने भारत केवल बाँच्ने अधिकारको निम्ति।

No comments:

Post a Comment