Sunday, January 5, 2025

लङ्भ्यू श्रमिक आन्दोलन: उपलब्धि अनि गन्तव्य

 सुमेन्द्र तामाङ


विगत अगस्ट महिनादेखि दार्जिलिङमा एउटा छुट्टै आयामको श्रमिक आन्दोलन जन्म लिएको छ। लङ्भ्यू श्रमिक आन्दोलन। दुई महिनाभन्दा ज्यादा समयको अवधिमा लङ्भ्यू कमानका श्रमिकहरुले सङ्गठित श्रमिक आन्दोलनको बेजोड उदाहरण प्रस्तुत गरे। मलिकको दमन अनि हैकमवादविरुद्ध श्रमिकहरू एक भएर लड्न सिकेका छन्। मालिकलाई सदैव शिरोपर राख्ने सत्ताधारी शक्तिको धम्की अनि प्रलोभनविरुद्ध साहस अनि एकता कमाएका छन्। म्यानेजमेन्टको भ्रष्टाचार अनि भाईभतिजावादविरुद्ध आवाज बुलन्द गर्न सक्षम भएका छन्। अनि सबैभन्दा महत्वपुर्ण कुरा, श्रमिक एकता अनि सङ्घर्षको मूल्य बुझेका छन्। 34 दिनको रिले अनशनमा दशैं अनि तिहार केही नभनी लगातार सङ्घर्षमा लागिपरेका थिए लङ्भ्यूका पत्ती टिप्ने श्रमिक अनि कैयौँ कर्मचारीहरू। लङ्भ्यू कमान लगायत समस्त चिया उद्योगलाई नै मालिकवर्गले भित्रबाट खोक्रो बनाई सकेको छ। कमानलाई जङ्गल अनि श्रमिकलाई मशिन बनाएर नाफाको होडबाजीमा कमान नै रित्तो बनाई दिएको छ। चुसेको आँप झै। तर, भोको पेट अनि शोषित आवाजहरु एकसाथ गुञ्जिएर अहिले पहाड हल्लाई दिएको छ। अब श्रमिकवर्गले आफ्नु निम्ति आफै लड्ने पाईलाहरू उठाउन थालेका छन्। 

1873 मा खोलिएको लङ्भ्यू चिया कमान खरसाङ महकुमाको सबैभन्दा ठूलो कमान हो। एक समय दार्जीलिङभरिको कमानहरुमध्ये प्रसिद्ध अनि प्रमुख कमान थियो लङ्भ्यू कमान। कुल एरिया 1020 हेक्टरमा फैलिएको छ भने त्यसमध्ये 508 हेक्टर एरियामा चिया उमार्ने गरिन्थियो। कुल श्रमिक शक्ति 1253 रहेको बगान हो लङ्भ्यू तर कमानको मालिक गोविन्द गर्गको घातक नीति, सरकारको शून्य निरीक्षण, म्यानेजमेन्टको व्यापक भ्रष्टाचार अनि बकाया राशिको पहाडले गर्दा अहिले यहाँ मुश्किलले 350 श्रमिकहरु काम गर्ने गर्दछन्। बगानको अधिकांश एरिया झनै घारी रहेको छ त्यसैले आन्दोलनको एउटा नारा नै ‘आन्दोलन हाम्रो जारी छ कमान भने घारी छ' रहेको थियो। लगभग 3 देखि 4 सालदेखि फ्याक्ट्री बन्द गरेर राखिएको छ। एक समय, महिनामा 80 हजारभन्दा ज्यादा चिया पत्ती बनाउने फ्याक्ट्री आज जङ्गलले बिस्तारै खिइन्दै गइरहेको छ। 2018 देखि फ्याक्ट्री चलाउने लाइसेन्स पनि खारिच भइसकेको छ। कुल 1253 श्रमिकहरुमध्ये लगभग 300 जना जति 58 सालभन्दा ज्यादा उमेरका रहेका छन् भने उनीहरुले अवकाशप्राप्त गरेका छैनन्। यिनीहरूमध्ये काममा हिड्नु पर्ने वाध्यता भएका श्रमिकहरूको पिएफ-को पैसा अहिलेसम्म काटिँदै गरेको जानकारी छ। यस कमानको मालिक गोविन्द गर्गको हातबाट लगभग पिएफ-को कुल 15 करोड भन्दा ज्यादा राशिको घोटाला भएको छ। विगतको 2-3 साल देखि रिटायर भएका 40 भन्दा ज्यादा कर्मचारीहरुको ग्राचुइटिको 80 लाख भन्दा अधिक पैसा पनि सफाचट भएको छ। 2022 अनि 2023 को एरियरको कुल 16 लाख 70 हजार रुपियाँ बाकी छ भने 2022- 23 देखि स्टाफहरु एलटिए (leave travelling allowance) को कुल 11 लाखभन्दा ज्यादा पैसा दिएको छैन। जम्मा गरेर 16 करोडको रुपियाँ श्रमिकको गोजीबाट लुटिएको छ। 

लङ्भ्यू कमानमा पिएफ-को घोटाला 

लङ्भ्यू कमानमा 2013 देखि पिएफ को पैसा जम्मा गरिएको छैन। तर श्रमिकको दैनिक हाजिराबाट भने पैसा काट्ने काम निरन्तर भइरहेको छ। एक दिनमा श्रमिकको 60 रुपियाँ पिएफ- को पैसा जम्मा हुनु पर्ने हो। तर निरन्तर रूपमा यसको भुक्तानी भएको छैन। लङ्भ्यूका श्रमिकहरूको हाजिराबाट काटिएको पैसाले मालिकले आफ्नु अरु बिजिनेस चलाई रहेको छ भन्ने अनुमान गर्न सकिन्छ। मालिकले पिएफको कुल 15 करोडबाट, 8 करोड 71 लाख 56 हजार 3 सय 10 रुपियाँ श्रमिकको लुटेको छ भने 6 करोडभन्दा ज्यादा पैसा (समयमा पैसा जम्मा नगरेको इन्टरेस्ट) सरकारको पनि दिएको छैन। यस देशका भुइँमान्छेहरूले यसरी सरकारको पैसा समयमा नदिएको भए त पुलिस प्रशासनले पक्कै पनि कारवाही गर्छ तर मालिकवर्गलाई त कुनै कारवाही पनि हुँदैन! किसानहरूले ऋण लिएको पैसा फिर्ता गर्न नसकेर आत्म हत्या गरेको कथा धेरै सुनियो तर मालिकहरूले यसरी आत्म हत्या गरेको सुन्नु भाको छ?

 लङ्भ्यूमा मात्र नभएर पहाडको विभिन्न कमानहरूमा पिएफ-को पैसाबारे यो धन्दाबाजी व्यापक रूपमा चलि रहेको छ। 1 मार्च 2023 मा एउटा सुप्रीम कोर्टको अर्डर अनुसार 31.07.2022 सम्म पिएफ-को बकाया हिसाब यस प्रकार रहेको छ;

सेलिम हिल (88,90,811,) मोन्टीभिट(9,94,203), मुलोटार (51,41,923), सिपाईधुरा (1,12,51,134), सिभीटार (58,49,644), सोरेनी (29,31,969), अम्बोटे (2,26,82,561), पानीघट्टा (28,96,795), नामृङ्ग (9,49,03,648), पेशक (1,13,83,264), ओक्स (2,11,50,376), गेल् (1,49,90,567), रङमुख (2,31,40,743), टिस्टा भ्याली (2,89,56,125), राङ्गेरुङ (25,07,654) ,ह्याप्पी भ्याली (89,59,518), आलुबारी (3,85,667), कलेज भ्याली (1,32,17,395), मुण्डा कोठी (2,60,55,418), चुङथुङ (3,42,37,742), पान्दम (73,29,172), नागरी (2,97,43,802), रङली रङलियट (1,73,18,744), धोत्रे (3,55,92,474)।

करोडौ पैसाको घोटाला रहेको छ पहाडमा। यसमध्ये लङ्भ्यू को पिएफ- को बकाया राशि सर्वोच्च 15 करोड पुगिसकेको छ। उक्त अर्डरमा सुप्रीम कोर्टको भूतपूर्व जज् अभय मनोहर साप्रेले यी सबै बकाया पिएफ को पैसा 72 किस्तीमा दिनु पर्ने कुरा जारी गरेका छन् भने यदि लगातार 3 वटा किस्तीको भुक्तानी मालिकले गर्दैन भने, जम्मै पैसा एकै पल्टमा तिर्नु पर्ने कुरा पनि उल्लेख गरेका छन्। तर अहिले भने मालिकवर्गले यसलाई एउटा पिएफ नतिर्ने हतियार झैँ बनाएका छन्। पिएफ-को कुरा गरे कि 72 किस्तीको कुरा अगाडि राखेर पिएफ-को विषयलाई पन्छाई हाल्छन्। त्यसैले कानुनी आन्दोलन सँगसँगै जमिनी आन्दोलनको खाँचो परी आएको छ अब! 

यो सँगसँगै ग्राचुटी अनि कोरोना कालमा घर बस्नु परेको पैसा पनि मालिकवर्गले श्रमिकहरुलाई तिर्नु पर्ने कुरा पनि उल्लेख गरिएको छ अर्डरमा। तर मालिकले न त कानुन नै टेर्दो रैछ न त कुनै अर्डर! 

लङ्भ्यू आन्दोलनसँग डराएका छन् मालिक अनि सत्ता

250 रुपियाँको गरिबी हाजिरा, मालिकको हेपाई र लुट, र घरजमिनको मालिकाना बिना कसरी जीवन निर्वाह गर्ने! त्यसैले विगत दिनहरूमा बारम्बार सङ्घर्ष भएकै हो लङ्भ्युमा। र धेरै पल्ट द्विपक्षीय-त्रिपक्षीय एग्रिमेन्टहरू भएर पनि सब सम्झौताहरु फेल गरेको छ मालिक गोविन्द गर्गले। आश्वासनले मात्र पेट भरिँदैन भनेर अन्तत: लङ्भ्यु चियाकमानका श्रमिकहरूले यसपालि दह्रो अनि संगठित सङ्घर्षको बाटो रोजेका हुन्। यही क्रममा 27 जुलाई 2024 को दिन लङ्भ्यू कमानमा हिल प्लान्टेशनस् एमप्लोयिज युनियन (HPEU) को गठन भएको हो। त्यसपछि निरन्तर रूपमा ज्ञापन पत्र अनि धर्नाको काम भयो। विस्तारै गर्दै, श्रमिकहरुले खुद्रा स्वरूप भए पनि आफ्नु हाजिरा पाउन थाले। तर अचानक 5 तारीख अगस्टको दिन म्यानेजर राखी मनाउनु गएको भनेर लागे अनि 14 तारीख बेलुकी मात्रा फर्किंदा श्रमिकहरु उत्तेजित भएर 15 अगस्टको दिन मिटिङ गरेर आन्दोलन गर्ने निर्णय लिए। 

17 आगस्ट ’24 बकाया राशीको खोजीमा म्यानेजरलाई भेट्न जाँदादेखि थालिएको सङ्घर्ष क्रमैले चर्को रूप लियो। श्रमिक सक्रियता, सामुहिक निर्णयमा भागिदारी, आँट र उर्जाले भरिएका कदमहरू अनि श्रमिक सङ्घर्षको हतियारको रूपमा युनियनको नौलो अनि श्रमिकमुखी प्रयोगले गर्दा लङ्भ्युको चर्चा पहाडभरि फैलियो। पहाडमा मात्र होइन जम्मै देशमा नै लङ्भ्यू आन्दोलनले नयाँ ऊर्जाको किरण फैलाई दिएको छ। कमानको स्याहारसुसार, सुचारू सञ्चालन, र सम्पदाहरूको संरक्षण बाहेक पनि एलटीए,यो श्रमिक आन्दोलनले वर्तमान अनि पुरानो वेतन र ज्याला, र पहिलाको दुई चोटि ज्याला बढोत्तरीको एरियर, अनि ग्राचुइटीको लागि 2 करोड, अनि पीएफ-को लगभग 15 करोडको मागहरु अघि सारे। एक सराहनीय सङ्घर्षबाट लङ्भ्युका श्रमिकहरूले प्राथमिक जीत हासिल गरे। मालिक गोविन्द गर्गको उपस्थितिमै 6 सेप्टेम्बरको त्रिपक्षीय सम्झोतामा भयो। उक्त मिटिङमा श्रमिक आन्दोलनलाई प्रतिनिधित्व गर्दै HPEU लाई पनि बोलाइयो। उक्त सम्झौतामा तय भयो-- 

* वर्तमान ज्याला-तलव नियमित दिने र चालु राख्ने;

* पीएफ-बारे सुप्रीम कोर्टद्वारा गठन गरिएका जस्टिस ए एम सप्रे कमिटीको निर्देश मान्ने; 

* पीएफ-बारे एडिसनल लेबर कमिसनरले पनि हस्तक्षेप गर्ने; 

* 58 वर्ष उमेर नाघेका श्रमिकहरूको पीएफ-राशी कटौती बन्द गरिने; 

* बागानलाई सुचारू रूपले चलाउनबारे सबैको सहमति;

* कर्मचारीहरूको वेतन, श्रमिक-ज्याला, विगतको वर्षको बकाया बोनस, पहिलाको दुइ चोटी ज्यालावृद्धिका (रू210 –> रू232, रू232 –> रू250) एरियरहरू अनि रिटेयार्डहरूको ग्राचुइटीको जम्मा बकाया, जुन लगभग 2 करोड पुगेको छ, त्यसमध्ये– 

* 72,38,879 रूपियाँ सेप्टेम्बरभित्र दिने;

* 40 लाख अक्टोबरभित्र;

* 40 लाख नोभेम्बरभित्र;

* 44 लाख डिसेम्बरभित्र दिने; अनि 

* डिसेम्बरमा पेमेन्ट र अन्य विषयबारे रिभ्यू मिटिङ राख्ने।

अब, यो एग्रिमेन्ट हुँदा हुँदै बोनसको आन्दोलन शुरु भयो। यो आन्दोलन शुरू हुनुमा पनि मालिकवर्गको बोनस 8.33 % दिने वक्तव्यबाट शुरू भएको हो। लङ्भ्यू पछि हटेन। जम्मै पहाड नै बोनस आन्दोलनमा एक भएर आन्दोलन गरे। यसै बीच जब 30 सेप्टेम्बरको दिन समन्वय मञ्चले 12 घण्टा पहाड बन्दको घोषणा गरे पछि आन्दोलन अझै तिब्र हुँदै गयो। त्यसमध्ये 1 अक्टोबरमा सरकारले श्रमिकको इच्छा विरुद्ध 16% बोनसको एड्भाइजरी जारी गर्यो। यो आन्दोलनलाई भत्काउने एउटा चाल थियो। सत्ता आन्दोलनसँग डराएको थियो अनि मालिकको सातो पुत्लो उडेको थियो। यही बीच 16% बोनस कमान कमानमा बाँड्न थालियो। तर श्रमिकहरुलाई भने 20% बोनस नै चाहिएको थियो। त्यसैले सरकारको तर्फबाट अर्को चिट्ठी आयो। 6 नोभेम्बर, 2024 को दिन कोलकातामा रहल बोनसको मिटिङ राखिएको थियो। यता लङ्भ्यूमा भने मालिकले केवल 10% हालिदिने कुरा गरेपछि 8 अक्टोबरदेखि रिले अनशन शुरु भएको हो। दशैं, तिहार, देउसी, भैलो सबै अनशन स्थलमा नै बित्यो। अनशन शुरु गरिएको 16 दिन बाद 23 अक्टोबरको दिन श्रमिक भवनमा लङ्भ्यू विषय लिएर त्रिपक्षीय मिटिङ बोलाइयो। स्मरण रहोस्, अनशनको 7 दिन बाद 14 अक्टोबरको दिन म्यानेजरले कमान छोडेर अफिसमा सस्पेन्सन अर्डर टाँगेर भागेको थियो। 23 तारीख अक्टोबरको उक्त मिटिङमा HPEU छोडेर अन्य समस्त उपस्थित युनियन अनि मालिक पक्षले अनशन उठाए मात्र कुरा गर्न सकिने वक्तव्य राख्ने पछि HPEU ले मिटिङ असफल घोषणा गर्दै आन्दोलन जारी राख्ने घोषणा गरेको थियो। त्यही अनुसार अनशन जारी नै रह्यो। लङ्भ्यू विषय लिएर अर्को मिटिङ्गको डेट 11 तारीख नोभेम्बरको दिन बोलाइयो। त्यही बीच 4 नोभेम्बरको HPEU का सदस्यहरू कोलकाता मिटिङमा धर्ना दिन पुगें। उक्त धर्नामा चिया श्रमिक आन्दोलनलाईं साथ दिन सेन्टर फर स्ट्रगलिङ्ग ट्रेड यूनियन (CSTU) अघि सरे। स्मरण रहोस्, अखिल भारतीय स्थरमा CSTU भित्रको विभिन्न अरु सङ्ग्रामी ट्रेड यूनियनहरु मध्ये HPEU पनि एक हो। तर, मालिकको साहस हेर्नु होस्, त्यो दिन मालिक पक्षबाट कोही पनि मिटिङमा उपस्थित भएनन्। यहाँबाट एउटा कुरा के क्लियर छ भन्दा, श्रमिक आन्दोलनको निरन्तरताको डरले यो मिटिङ बोलाउनु परेको थियो सरकारलाई किनभनें श्रम मन्त्रीको उपस्थिति रहेको मिटिङमा नआउनु भनेको सरकारको कुरा पनि नमान्नु सरह हो। अब फेरि बोनस लिएर मिटिङ 16 नोभेम्बरमा बोलाइएको छ।

अचानक 6 तारीख नोभेम्बरमा लङ्भ्यू विषयको त्रिपक्षीय मिटिङ अगाडि सारेर 8 तारिख नोभेम्बरमा बोलाइयो। उक्त मिटिङमा गोविन्द गर्ग अनुपस्थित थिए। उसको बद्लीमा कम्पनीको एच आर सवारी घोष आएकी थिइन्। मिटिङमा सरकारले बगान खोलाउने कुरालाई चाँप दिएर 16% बोनसको एड्भाइजरीलाई मान्नु पर्ने एग्रिमेन्ट गरे अनि 9 तारीख भित्रमा बोनसको पैसा हालि सक्नु पर्ने कुरा लेखियो एग्रिमेन्टमा अनि 11 तारीख नोभेम्बर कमान खोलिने कुरा भयो। HPEU को तर्फबाट सोही एग्रिमेन्टमा साइन गरिएन। युनियनको अडान स्पृष्ट थियो – पहिला पैसा हालिदियोस् अनि त्यसको बाद अनशन उठ्ने छ। साथै HPEU लाई बारम्बार एग्रिमेन्ट फेल गर्ने मालिकको भरोसा थिएन। त्यसैले एग्रिमेन्ट अनि सरकारको यो मानसिकतालाई ध्यानमा राखेर, 11 तारीख भन्दा अगाडि बोनसको पैसा हालिदिए अनशन उठ्ने छ अनि कमान चल्ने छ तर पैसा पहिला हातमा आउनु पर्छ भन्ने बयान गर्दै HPEU अनि DTDPLU ले उक्त एग्रिमेन्टमा साइन गरेन। साइन गर्नु भन्दा पनि महत्वपूर्ण कुरा उक्त एग्रिमेन्टलाई लागु गराउनु थियो त्यसैले चाँप सृजना गर्दै उक्त निर्णय HPEU ले श्रमिकहरुको सल्लाहको बादमा लिएको हो। र चाँप साच्चिनै बनियो पनि, 10 तारीख नोभेम्बर आईतबारको दिन म्यानेजर जुन गाडीमा भागेका थिए त्यही गाडीमा पुलिसको सुरक्षामा फर्किए। साथै, पैसा लिएर आएँ। बोनस बाँडियो। अनशन उठ्ने तर आन्दोलन जारी रहेको घोषणा गरे समस्त लङ्भ्यूका श्रमिकहरुले!

अब कुरा रह्यो अरु रहल करोडौ रुपैयाँको बकाया राशी बारे, डिसेम्बर महिनामा यो लिएर रिभ्यु मिटिङ रहेको छ। उक्त मिटिङमा 6 सेप्टेम्बर 2024 को एग्रिमेन्टबारे कुरा हुनेछ। अनशन मात्र उठेको हो। आन्दोलन जारी छ। भन्नु पर्दा, यो त ट्रेलर मात्र थियो। असल आन्दोलन भने फर्स्ट फ्लशको समय हुने छ। असल आन्दोलन तब हुन्छ जब समस्त खुला अनि बन्द कमानको श्रमिकहरु एक भएर आफ्नु आधिकारीक निम्ति आन्दोलनरत् हुनेछन्। किनभने न्यूनतम हाजिराको संघर्षलाई दबाएको छ मालिक अनि सत्ताले! 2015 को श्रमिक आन्दोलन बाद न्युनतम ज्याला लागू हुने कुरा थियो। तर 9 वर्ष बित्दा पनि न्यूनतम ज्यालाको अत्तो-पत्तो छैन। अब श्रमिक वर्ग आफ्नु निम्ति आफै लड्न पर्ने समय आएको छ। त्यसैले सङ्ग्रामी अनि श्रमिक पक्षको युनियन बनाएर आफ्नु हतियार बनाई संघर्ष गर्ने बाहेक अरु केही विकल्प छैन। 

श्रमिक एकता जिन्दाबाद। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...