Sunday, January 5, 2025

चियाको बोटैमा जुटौँ, ल्याउनलाई हासो ओठैमा...

 लाली गुराँस समूह


हाम्रा आमा-दिदीबहिनी साथै बाबा-दाजुभाइहरूले जति मेहनत र समय खर्चिएर चियाका बुट्टा सम्हालेका छन् सायदै आफ्नै छोराछोरीलाई त्यति समय दिनपाएका होलान्। आफ्ना सन्तानलाईभन्दा बढी प्राथमिकता दिएर चियाका मुना स्याहार्ने, फ्याक्ट्रीको चौकीदारी गर्नेदेखि लिएर मालिकको असीमित मुनाफाको पहाड खडा गरिदिने सबैखाले भूमिका श्रमिकहरूको हो। 

चियाश्रमिक अर्थात् डुवर्सको सुनकोसदेखि लिएर तराईको मेचीसम्म र दार्जिलिङका पहाड पखेरादेखि लिएर गोरूबथान कुमाइका टारहरूसम्म छरिएर बसेका अथवा भनौँ पुस्तौँदेखि शोषणको अगुल्टोमा पिसोल्टिँदै आएकाहरू हुन्। विविध जातजाति र धर्म विशेषका समुदायहरू आपसमा मिलेर बसेको समाज। मालिकको शोषणले सबै समुदायलाई उत्ति नै पोल्छ र पुस्तौँदेखि भोग्दै आएको शोषणको भारीले अब उदाउँदो नयाँ पुस्तालाई पनि थिच्न थालेको भान हुन्छ। 

दार्जिलिङ-पहाड-तराई-डुवर्सका लाखौँ चिया श्रमिकहरूका सन्तानहरू गुणस्तर शिक्षाबाट वञ्चित भइरहेका छन्। विश्व-प्रसिद्ध चिया उत्पादन गर्ने हाम्रो चिया उद्योगले श्रमिकहरूको जीवनसँग उपहास गर्न खोजिरहेको छ। हाम्रो क्षेत्रका कलिला भविष्यहरू कम उमेरमै पलायन हुनुपर्ने बाध्यताको सिकार भइरहेका छन्। देशभित्र नै कैयौँ देश भएजस्तो आफ्नो घरबाट सयौँ-हजारौँ किलोमिटर टाढा बसेर पनि मजदुरी नै गर्नुपर्ने बाध्यता। बाहिर गएर पनि उनीहरूले गर्ने काम भनेको मजदुरी नै हो, चाहे त्यो सुटबुट लगाएर गर्ने मजदुरी होस या अन्य कुनै। त्यही अवसर वा वेतन यही उद्योगमा किन लागु हुन सक्दैन? यसरी 21औँ शताब्दीमा आएर पनि हाम्रा युवा वर्गले पुस्तौँदेखि चलिआएको प्रथालाई सहेर बस्ने त? कहिलेसम्म यस्तो? किन यस्ता शोषण-नीतिको जग तोडेर आफ्नै ठाउँमा जीविकाको निम्ति वैकल्पिक व्यवस्थाको लडाई नलड्ने? निर्णय हाम्रै हातमा छ। हाम्रो बुझाइ हो– आजका युवावर्गले आफ्नो हकबाट खोसिएका गाँसको खोजीमा, खोसिन लागेको वासको खोजीमा, संविधानले दिएका थुप्रै अधिकारहरूको खोजीमा अथक लडाई लड्नुपर्नेछ। यही उद्योगमा न्यायिक न्यूनतम ज्याला लागु हुने हो भने यहाँको अर्थतन्त्र र बजार बलियो हुनसक्छ। नयाँ पुस्ताले गुणस्तरीय शिक्षा आर्जन गर्न सक्नेछन् र सचेत भएर अझ आफ्नो संवैधानिक अधिकार प्राप्त गर्ने लडाई लड्न सक्नेछन्। आफ्नो पुर्खाको किपटको पर्जापट्टा, श्रमिकहरूको सामाजिक सुरक्षा साथै सम्पूर्ण समाजको न्यायको निम्ति नयाँ चेतनाले योगदान दिन सक्दछन्। यही माटोमा नै नयाँ बिहानी सम्भव छ। यति सबै जान्दाजान्दै के युवावर्ग सङ्घर्षको मैदानबाट पिठ्युँ देखाएर भाग्ने छन् त? अहँ! परिवर्तन त आउनै पर्छ। दार्जिलिङ पहाड-तराई-डुवर्सका श्रमिक साथै सम्पूर्ण समाजको जीवनशैलीको विकास हेतु अबको लडाई तय छ। 

चियाबारी मालिकहरूको मनमानी राज, र वर्षौँदेखि फेरिँदै आएका केन्द्र-राज्य-क्षेत्रीय थुप्रै सरकारहरूको उदासीन नीतिबारे सबै जनताले बुझिसकेका छन्। आजका सचेत युवा अब झुटो आश्वासन अनि भ्रमको जालोमा भुल्लिने छैनन्। अझ दह्रोसँग सामाजिक-सांस्कृतिक पहलहरू लिइयोस्, अधिकारको चर्को आवाज गुञ्जियोस्– जुटौँ सबैजना, चियाकमानेको ओठमा हासो ल्याउन।

(लाली गुराँस समूहद्वारा आयोजित २७ अक्टोबर 

सोनादादेखि दार्जिलिङसम्म 'हिडौँ अनि कुरा गरौँ' कार्यक्रमको पर्चा)





No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...