Sunday, December 31, 2023

सयौँ किलोमिटरको राजमार्ग : विकास कि विनास!

 अनुपा तामाङ



हाम्रो जन्म थलो भनेकै प्रकृति हो। यदि प्रकृति नै रहेन भने हामी रहन्छौ त? प्रति दिन बढ्दै गइरहेको अनियन्त्रित विकास योजनाहरूको कारण आज पर्यावरण सङ्कटमा पुगेको छ। पर्यावरण प्रति सरकारको ध्यान पुग्न सकेको छैन। दिनोदिन एक पछि अर्को गर्दै वन जङ्गल र नदी-नालाहरू मासिँदै गइरहेको छ। मानव निर्मित प्रकोपहरू कै कारण वन जङ्गल नष्ट हुँदै गइरहेको छ। सहरीकरण र औद्योगीकरणको आडमा व्यापक रूपमा वनविनाश भइरहेको छ। मानव सभ्यताले उल्टा बाटो हिँडिरहेको छ। 

एउटा यस्तो युग पनि थियो, जसलाई हामीले प्राचीन काल भन्छौँ। त्यस युगमा मानिसहरूले प्रकृतिको पूजा गर्ने गर्थे। त्यस युगका मानिसहरू प्रकृति माथि नै निरभर थिए। उनीहरू जीवन-जीविका सबै सबै प्रकृति माथि भर पर्थ्यो। तर अहिले ती कुराहरू हाम्रो सोचदेखि बाहिर छ। हामी त विकासको नाममा प्रकृतिलाई लुट्नमा व्यस्त छौँ।

वर्तमान पर्यपेक्षमा हाम्रो देशमा पर्यावरण सङ्कटले उग्र रूप लिइरहेको छ। सरकारको विध्वंसकारी योजनाहरूले देशका विभिन्न प्रान्तहरूमा व्यापक रूपमा सङ्कट निम्त्याइ रहेको छ। बाँध निर्माण, खदान, सडक निर्माण, रेलवे लाइन आदिले देशको प्राकृतिक सम्पदालाई हुनसम्मको नोक्सान पुऱ्याइ रहेको छ। सिक्किममा हालैमा भएको बाढले पनि अनियन्त्रित विकास योजना अनि प्राकृतिक सम्पदाहरूको नष्ट भएको प्रमाण दिँदै छ। र अब एउटा यस्तै मानव निर्मित विनासको पर्खाइमा छ बाग्राकोट चिया बगान। बाग्राकोट चिया बगानको केही माथि तिरको पैरेनी पाखामा फ्लाइओभर निर्माण हुने कार्य भइरहेको छ। सुरुमा त्यो स्थानमा चौडादार सडक निर्माण गरिएको थियो। तर बर्खाको पानीले सडक बगाए पछि अहिले त्यही क्षतविक्षत बनेको पैह्रो माथितिर फ्लाइओभर निर्माण भइरहेको छ। केन्द्र सरकारको राष्ट्रिय राजमार्ग 717 ए-को निर्माण योजना अन्तर्गत यो काम चलिरहेको छ। सडक र फ्लाइओभर निर्माणले त्यहाँका हजारौँ बोट बिरुवा नष्ट गरेको छ। सडक निर्माणमा प्रयोग हुने अत्याधुनिक भाइब्रेसन र रासायनिकहरूले त्यस भेगका जङ्गली जीव जन्तुहरूलाई कतिको असर पारिरहेको होला! उसै पनि पैह्रो गइरहने त्यो पहाडमा भाइब्रेसन मसिनले जमिनलाई कति धेर धराप बनाइसक्यो होला! अहिले पटक पटक मौसम परिवर्तन भइरहन्छ। कुनै दिन महाभेलले त्यो फ्लाइओभरसँग सँगै बाग्राकोट चिया बगानलाई पनि डुबाउन सक्छ। 

उक्त राजमार्ग निर्माणले कतिपय मानिसलाई फाइदा होला तर प्राकृतिक सम्पदाहरूको भने हुनसम्मको क्षति भएको स्पष्ट देख्न सकिन्छ। नितान्त फरक शैलीमा निर्माण भइरहेको त्यो सडकले विकास होइन तर विनाश ल्याउन भन्ने कुरामा दुई मत नहोला। 

केन्द्र सरकारले यस्ता धेरै वटा परियोजनाहरू पारित गरेको छ। बाग्राकोट देखि गान्तोकसम्म पुग्ने 2 सय किलोमिटरको उक्त राजमार्ग निर्माण कार्यको निम्ति सरकारले सन् 2016 मा अधिसूचना जारी गरेको हो। कुल 4 हजार करोडको लागतमा निर्माण हुने यो परियोजनाको काम सन् 2018 मा सुरु भएको हो। केन्द्र सरकारको “सडक यातायात तथा राजमार्ग मन्त्रालयद्वारा 717A योजना हालमा पनि तीव्र गतिमा चलिरहेको छ। यो नव निर्मित राजमार्ग डुवर्सको बाग्राकोट हुँदै चुइखिम, बरबोट, निम्बोङ, कफेर भएर राष्ट्रिय राजमार्ग 717 बी-सँग जोडिएर सोझै सिक्किम राज्य पुग्ने दोस्रो वृहत् सडक हो।

सडक निर्माणले बाग्राकोट क्षेत्र भने धेरै समस्यामा पर्न सक्ने सम्भावना छ। निर्माण क्षेत्रमा रहेका खोल्चा अनि कल्पट आदिमा चाहिएको भन्दा बढी पानी भेला भएर सोझै जुरन्ती खोलामा भेट हुने गर्दछ। यस भेगबाट बगेर आएको पानीले रोडा ढुङ्गा आदि बर्खाको समयमा बगाउने गर्दछ र यो एउटा सडकको नालीको पानी मात्र नभएर बाग्राकोट बासीको निम्ति पनि एउटा खतराको घण्टी हो। बर्खाको समय यस नालीले चाहिँदो भन्दा बढी पनि बगेको हुनाले सोझै गएर जुरन्ती खोलाको जल स्तर बढ्न सक्छ। 

हालमा पनि बेला बेला नदीको जल स्तर बढ्दा बाग्राकोटको केही घरमा क्षति पुऱ्याइरहेको छ। उक्त क्षतिलाई रोकथामको निम्ति स्थानीय मानिसहरूले केही पहल गरेर सम्बन्धित विभागमा अर्जी पात्र चढाए बापत 80 देखि 90 मिटर लामो बाँध बाँधिने काम भयो। बाँध बाँधिए तापनि यस वर्षको क्षतिलाई रोक्न भने असक्षम बन्यो। यदि यस्तै प्रकोप चलिरह्यो भने डुवर्समा रहेका तमाम गाउँहरूको हालत के होला? 

त्यहाँ वर्षौँदेखि बसोबास गर्दै आएका मानिसहरूको भविष्य अन्धकारमय बन्ने सम्भावना देखिन्छ। त्यसैले सरकारी नियम अनुसार राजमार्ग निर्माण कार्य गर्न अघि त्यस ठाउँलाई पूर्ण रूपमा जाँच गर्नु पर्ने हो। तर त्यस ठाउँको कार्य हेर्दा पटक्कै जाँच भएको जस्तो देख्दैन। जति निर्माण हुँदै छ त्यति नै प्राकृतिक विनाश पनि हुँदै छ। 

राजमार्ग निर्माण कार्यको लागि क्षेत्रको जाँच भए तापनि निर्माण कार्यले व्यापक रूपमा पहाडको बुनोटलाई नष्ट गरिरहेको छ। यस कार्यमा सोझै सरकारको लापरबाही देख्न सकिन्छ। भविष्यमा कुनै ठुलो प्रकृति प्रकोप आए बाग्राकोटलाई व्यापक नोक्सान पुऱ्याउने छ। यसैले विकासको नाममा विकास निम्त्याउनु भनेको खुल्ला आकाशमा ढुङ्गा फ्याँक्नु बराबर हो। झरेर आफ्नै शिरमा बज्रिने छ।

सडक निर्माण कार्यले हजारौँ बोट बिरुवा नष्ट गरेको छ, तर त्यसको सट्टामा नयाँ बोट बिरुवा रोप्ने योजना आजसम्म पारित भएको छैन। एक बिरुवा काटे दस बिरुवा रोप्नु पर्ने हो, जसले प्रकृति सुन्दरतालाई कायम राख्छ। तर हालमा हेर्दा खाली विनाशको कार्य मात्र चलिरहेको पाउँछौँ। 

यसैले, यस्ता विनाशकारी विकासले युगौँदेखि बसोबास गर्दै आइरहेको एउटा आदिम बस्तीलाई उच्छेद गर्नेछ साथै क्षेत्रको प्राकृतिक सम्पदालाई व्यापक नोक्सान पार्नेछ।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...