Sunday, December 31, 2023

परिवर्तन नै स्थायी हो

नारायण काफ्ले  



जन्म र मृत्युबिचको जीवन यात्रामा जे जति चेतना जगेरा गर्न सक्यो त्यसैको आधारमा जीवन जगतका तमाम कुराको व्याख्यान गर्ने धृष्टता गर्न छोड्दैन मान्छे। इतिहासको लामो कालखण्ड पार गरेर मान्छे आजको स्थितिमा उभिएको छ। भोलिको भविष्य के हुने हो? त्यसको अनुमान समेत गर्न सक्ने स्थिति छैन। क्षणभरमै हराउने पानीमा उम्रिने फोका जस्तै छ मान्छेको जीवन। तथापि जीवन जगतको क्रमिकतामा छोटो अवधिको लागि जन्म लिएर पनि मान्छेले तमाम ब्रह्माण्डको व्याख्या गर्ने चासो राख्ने गर्छ। यही प्रवृत्तिले उसलाई धरतीका अन्य प्राणीभन्दा पृथक् पारेको छ। हिजोको दिनमा धरतीका अन्य तमाम जीव झैँ मान्छे पनि एक थियो। तर, चेतनाको तीव्र विकास, त्यसलाई व्यक्त गर्ने भाषाको निर्माण र अर्जित चेतनालाई व्यवहार गर्दै मान्छेले जङ्गलदेखि यहाँसम्मको यात्रा तय गर्‍यो। मान्छेको चेतनाको मूल फुटेदेखि नै परिवर्तनको यथार्थलाई चिह्नित गर्दै आएको छ, परिवर्तनको धुव्रसत्य जान्दै आएको छ।

ग्रिसेली दार्शनिक हेराक्लिट्स इसा पूर्व 600 तिर जन्मिएका थिए। महान् दार्शनिक प्लेटोको उदय-- एरिस्टोटलका विरासतलाई पछ्याउँदै भएको थियो। उनी पश्चिमेली दर्शनशास्त्रका एक प्रसिद्ध दार्शनिक हुन्। Change is the only constant in life (जीवनमा केवल परिवर्तन मात्र स्थायी छ)-- उनको यो भनाइले दर्शनशास्त्रको चिन्तन प्रणालीमा नयाँ आयाम थपिदियो। हामी एउटै प्रवाहलाई दोस्रो पटक महसुस गर्न सक्दैनौँ। अथवा भनौँ, हामी एउटा नदीको त्यही पानीले दोस्रो पटक नुहाउन सक्दैनौँ। धाराप्रवाह रूपमा परिवर्तन बगिरहन्छ, समय बनेर, नदी बनेर, गति बनेर। जीवन गतिशील छ। यस गतिसँगै परिवर्तन पनि गतिशील रहन्छ, बद्लिरहन्छ सब थोक। विद्यमान सत्यलाई खोतलेर उनले समाज समक्ष यस्तो तर्क राखे जसले मानव समाजको चिन्तन प्रणालीको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ।

परिवर्तन छ र नै जीवन छ। कल्पना गरौँ त! सबै चिज यथास्थितिमा रहने भए कस्तो बन्ला जगत? जीवनको अस्तित्व रहला र! अथवा जगतको अस्तित्व नै रहला र! ब्रह्माण्डको लामो समयको परिवर्तनकै उपज त हो यो धर्ती, जसमा मान्छेको अस्तित्व टिकेको छ। यस अर्थमा जीवनको सौन्दर्य नै परिवर्तन हो।

समय, स्थान र गति (Time, Space and Motion) परिवर्तनका कारक तत्त्व हुन्। यसकै आधारमा विविध वस्तुहरूले आफ्ना चोला फेरिरहन्छन्। विश्व ब्रह्माण्डमा गतिहीन कुनै चिज छैन। सबै अस्तित्वमा भएका चिजको आफ्नै स्थान छ‌। अनि प्रत्येक चिजको स्थिति परिवर्तनको निम्ति निश्चित समय। परिवर्तनको यही अविराम यात्राको एउटा सूक्ष्मातिसूक्ष्म हिस्सा मात्र हो मानव सभ्यता। एक क्षण गहिरो सोचौँ त - 'परिवर्तनका यो क्रम नहुने भए ...?' अहँ यो कुरा कल्पना गर्न समेत सम्भव छैन। 

मान्छेभित्र नै ब्रह्माण्डको सत्य खोज्नुपरे उसको लोभको अन्त्य खोजे हुन्छ। अहिलेको पृथ्वीमा मानव जातिले एकल हैकम चलाइरहेको अवस्था छ। मान्छेमा चेतनाको विकासका कारण पृथ्वीमा हैकम जमाउनबारे सोच्न सबल र सक्षम भएको छ। मान्छेले प्रकृतिका संसाधनको प्रयोग गरेर आफ्ना सुख सुविधाका निम्ति अनेकानेक सामग्रीहरूको सिर्जना गरियो। बिस्तारै मान्छेको प्रवृत्तिमा परिवर्तन आउँदै गयो र मान्छेमा लोभको यति धेरै विकास भयो, जसको अन्त्य छैन। तत् पश्चात् आफ्ना स्वार्थ पूर्तिको निम्ति प्रकृतिको अत्यधिक दोहन सुरु भयो। जगतका तमाम चिजबिजमाथि मान्छेले आफ्नै मात्र नियन्त्रण रहोस् भन्ने चाहना राख्न थाल्यो जसको प्रतिक्रियामा म “असम्भव” बाहेक केही भन्न चाहन्न। वास्तवमा मानव जातिले परिवर्तनको नियमलाई समेत आफ्ना इच्छाअनुरूप नियन्त्रणमा राख्न खोजिरहेको छ र यो उसको मूर्खता सिवाय अरू केही होइन। 

वर्तमान समाजको स्थिति निर्क्योल गर्ने हो भने-- विद्यमान असमानता, अपराध, शोषण र उत्पीडन देखेर हताश हुने जमातको एउटा हुल छ। यी सबै खाले घटना भएको देख्दा देख्दै पनि केही नभएको स्थिति जस्तो, सामान्य समय जस्तो अभिनय गर्ने संवेदनहीन जमातको पनि एउटा हुल छ। समाजमा आदर्शका भाषण छाँटेर आफैँ त्यसको विपरीत कार्य गर्ने आडम्बरे जमातको पनि हुल छ। चोरेर, लुटेर, ढाँटेर, ठगेर पनि लज्जा महसुस नगर्ने थेत्तरो वर्गको पनि हुल छ। हिंस्रक भएर, दमनकारी भएर, निरङ्कुश भएर सबैमाथि हैकम जमाउने र हैकम जमाउन चाहने वर्गको पनि विशाल हुल छ। अनि यस्तो विशृङ्खल समाजको उन्मूलन र सबैको निम्ति समान समाजको निर्माणका निम्ति जीवन समर्पण गरी लागिपर्नेहरू पनि यसै समाजमा छन्। यस्ता थरी थरीका सामाजिक असामाजिक तत्त्वहरू हाम्रो समाजभित्रै रहेका छन्। यी सबैले एउटा कुराको सामना गर्नु नै पर्छ, त्यो हो परिवर्तन। तर त्यो परिवर्तन सबैको निम्ति समान र सम्मानजनक रूपमा मानवीय सचेतना सँगसँगै हुन सके मात्र मानव सभ्यता टिक्न सक्छ। अन्यथा हामी इतिहासका डाइनोसोर बन्ने छौँ भन्दा फरक नपर्ला।

हजारौँ वर्षसम्म युगको गर्दनमा हतियार राखेर, शरीरमा कोर्रा/चाबुक बर्साएर शासन गरेका थिए दास मालिकहरूले। मान्छे मान्छेबिच सिङ जुधाइ खेलाउनु, खेलमा मान्छे मारिनु, यी त मनोरञ्जनका साधन थिए कुनै समय। बाँच्नका निम्ति खान पाउनुको ठेगान पनि नभएकाहरू, आफ्नो प्राणको अधिकारसमेत मालिकको हातमा सुम्पिएर, केवल जीवित रहन पाउनु नै अहोभाग्य हो भन्ने ठानेर काममा दलिएका थिए। यसरी प्राकृतिक रूपमा चेतनाको विकास हुन नदिएर पूरै युगलाई नै दास मालिकहरूले आफ्नो मुठ्ठीमा कज्याएर राखेका थिए। यस्तो कहालीलाग्दो युगको पनि कुनै समय अन्त्य होला भनेर कसले कल्पना गरेको थियो होला र? यस्ता तमाम निरङ्कुश तन्त्र, क्रूर शासक र जटिलभन्दा जटिल परिस्थितिलाई पनि मानव सभ्यताको सामूहिक सङ्घर्षले पराजित गर्दै आएको छ। सत्य भनी स्थापित गराइएका अनेक रूढीहरू असान्दर्भिक बनेका छन्। समयको माग र आवश्यकता अनुसार नयाँ सत्य स्थापित हुन्छन् र पुराना विस्थापित। यसको क्रम क्रमशः चलिरहन्छ। परिवर्तनको नियम विरुद्ध कुनै शक्ति टिक्न सक्दैन। यस विरुद्ध जे उभिन्छ त्यो धराशायी बन्छ। 

परिवर्तन जगतको अपरिहार्य नियम हो। परिवर्तन नै नियति। परिवर्तन नै सत्य। निरन्तर वा क्रमिक परिवर्तनको उपज नै जन्म हो, मृत्यु हो। सुरु र अन्त्य हो। कुनै चिज बन्छ भत्किनलाई र भत्कन्छ केही नयाँ बनिनलाई। यसरी परिवर्तनको क्रम निरन्तर चल्दै आएको छ, चलिरहन्छ। यस ध्रुव सत्यलाई आत्मसात् गरेर नै मानव समाजले आफ्नो भविष्यको दह्रिलो योजना बनाउन सक्नेछ।


No comments:

Post a Comment