Sunday, December 31, 2023

समाजमा महिलाहरूको स्थिति अनि यौन हिंसा : एक सन्दर्भ

अम्बिका राई 



आजको समयमा जब भारत देशले चन्द्रमामा चन्द्र यान-3 लाई सफलता पूर्वक ‘सफ्ट ल्यान्डिङ’ गराउन सक्षम बनेको छ, त्यही देशमा महिलाहरूको स्थितिले गम्भीर साथै सोचनीय रूप लिइरहेको छ। नेसनल क्राइम रिपोर्ट ब्युरो (एनसीआरबी) -को रिपोर्ट अनुसार, वर्ष 2021 मा महिला हिंसाको कुल 4,05,861-वटा मामिला दर्ता गरिएको थियो। जुन मामिलाहरू मध्ये 32,033-वटा घटनाहरू केवल बलात्कारको मात्र थियो।

हाम्रो देशको यस्तो स्थिति अचानक आज आएर बनिएको भने होइन। प्रत्येक खबर कागज, सामाजिक सञ्जाल पोस्टले कुनै न कुनै महिलामाथिको अमानवीय हिंसा अनि कुकृत्यको खबर हाम्रो अघि ल्याइरहेकै छ। यस्ता घटनाहरूको विरोधमा समाजका संवेदनशील मानिसले आफ्नो आवाज बुलन्द गर्दै सडकमा उत्रेर जोड-तोडले प्रदर्शनहरू पनि गरिरहेको हामी देख्न सक्छौँ। हो! यस्तो घटनाको विरोध गर्नु अनि महिलाहरूका निम्ति समाजमा एउटा सुरक्षित ठाउँको माग राख्नु आजको परिस्थितिमा एकदमै महत्त्वपूर्ण छ। तर हामीले यो कुरा पनि बुझ्नु जरुरी छ कि, महिला वर्गलाई केवल ‘सुरक्षा’ मात्र होइन तर समाजमा सम्मानको एउटा ठाउँ पनि दिन जरुरी छ। 

‘यस्तो किन?’--भन्ने प्रश्न हाम्रो मनमा उठ्न सक्छ र यस्तो प्रश्नको चर्चा पनि हुन् जरुरी छ। किन भने ‘सुरक्षा’ कै कुरा गर्ने हो भने त हामी सबैको लागि सबैभन्दा सुरक्षित ठाउँ त हाम्रो घर अनि परिवार हो। तर समाजमा यस्ता महिलाहरू पनि हुन्छन्, जो आफ्नै परिवारका सदस्यहरूका हिंसाको सिकार बन्न पुग्छन्। नेसनल फ्यामेली हेल्थ सर्भिस (एनएफएचए)- को 2019-2021 को रिपोर्ट अनुसार, भारतमा लगभग 30% विवाहित महिलाहरू कुनै न कुनै प्रकारका हिंसाको सिकार बनेका छन्। यी मध्य 87% विवाहित महिलाहरूले न्यायको निम्ति कुनै प्रकारको कानुनी वा आफ्नै परिवारको सहयोग लिँदैनन्। उनीहरू चुप-चाप यस्ता हिंसाहरू सहेर बस्छन्। यस्तो किसिमको हिंसाको कारणले महिलाहरूको शारीरिक, मानसिक, यौन र प्रजनन स्वास्थ्यमा पनि गहिरो असर पर्दछ। 

यौन हिंसाको सिकार कुनै पनि उमेरमा रहेको महिलाहरू हुन् सक्छन्। भारतमा सानो भन्दा सानो बालिकादेखि वृद्ध उमेरका महिलाहरू पनि हिंसाको सिकार बनिरहेका छन्। एनसीआरबी-कै रिपोर्ट अनुसार भारतमा हरेक 15 मिनटमा एउटा नाबालक यौन हिंसाको सिकार हुन्छ अनि 53% हिंसा उनीहरूकै अभिभावक, आफन्तजन, छिमेकीहरू साथै स्कुलका शिक्षकद्वारा गरिन्छ।

हाम्रो देशमा हरेक नारी कुनै न कुनै प्रकारको हिंसाका सिकार बनेका छन्। कुनै हिंसा खुल्ला रूपमा देख्न सक्छौँ भने कुनै हिंसाले अदृश्य रूप लिन्छ, जुन हाम्रो अगाडी भए ता पनि हामी ठिम्याउन असक्षम बन्छौँ। र यस्तो हिंसाको केवल एउटा मात्र रूपमा हुँदैन। यस्तो हिंसाको हजारौँ रूप हुन्छन्, जसलाई हामी शायद धेरै चोटि जानी-नजानी नजर अन्दाज पनि गर्छौँ। उदाहरण कै रूपमा हेरौँ भने- बाटोमा हिँड्दा कुनै केटाले एउटी महिलालाई जिस्काउने, ‘मस्ती गरेको’ भन्दै कुनै महिलामाथि यौनजन्य टिप्पणी गर्ने प्रवृत्ति, महिला हुने ‘कर्तव्य’-को नाममा उनीहरूको स्वतन्त्रतामाथि लगाइने रोक, महिलाहरूको चरित्रमाथि गरिने प्रश्न, इत्यादि। यस्ता घटनाहरूलाई लिएर मिडिया, प्रशासन अनि सरकारले पनि आ-आफ्नो स्तरमा यस्तो समस्यालाई सुल्झाउने कोसिस त गरिरहेका छन्। तर पनि आजसम्म हामी यस समस्याको प्रभावकारी समाधानको नजिक पुग्न सकिरहेका छैनौँ। 

एक तर्फ चन्द्रमामा अनुसन्धान गर्ने सोच र अर्कोतिर ‘महिलाहरू पुरुषको तुलनामा कम सक्षम हुन्छ’ भन्ने सोच र महिलाहरू जहिले पनि पुरुषहरूको सुरक्षामा बस्नु पर्ने रुढीवादी सोच भएको समाजमा हामी बसिरहेका छौँ। यदि यस्तो घटनाको विरोधमा कुनै चर्चा आयो भने पनि हामी केवल त्यही एउटा घटनालाई लिएर मात्र छलफल गर्छौँ। त्यसै कारण हामी यस्तो बारम्बार भइरहने घटनाहरूको जरासम्म गएर त्यसको निचोड निकाल्न असफल बन्छौँ। तसर्थ महिला हिंसाको मुख्य जड ‘पितृ सत्ता’-को विषयमा गहिरो रूपमा चर्चा गर्नु एकदमै अनिवार्य छ। पितृ सत्ताकै कारणले समाजमा पुरुष अनि महिलाहरूमा भेदभाव गरेर पुरुष र स्त्री जाति बिच अन्तर राखिदिने काम भइरहेको छ। यसै कारण समाजमा महिलाहरूलाई दोस्रो नागरिकको दृष्टिकोणले हेर्ने गरिन्छ। हाम्रो समाजमा एउटी महिलाको मुख्य पहिचान नै कसैको आमा, स्वास्नी, दिदी, बहिनी अनि छोरी – सम्म मात्रा सीमित भएको छ। मानौँ उसको अन्य कुनै स्वपहिचानको महत्त्व नै छैन। 

यही पितृ सत्ताको कारण महिलाहरू आफूलाई असुरक्षित, कमजोर, बाँधिएको महसुस गर्छन्। यस पुरुष-तन्त्र समाजबाट महिलाहरू मुक्त नभई एक जना स्वतन्त्र मनुष्यको स्तरमा इज्जत अनि सम्मान पाउनु असम्भव छ। यौन हिंसा कै डरले गर्दा नै समाजमा महिलाहरूले हरेक क्षेत्रमा अगाडी बढ्नमा बाँधाको सामना गर्नु पर्छ। यही समाजको डरको कारणले गर्दा आफूसँग भइरहेको अन्याय अनि अत्याचारको खिलाफ आवाज उठाउन सक्दैनन्। तसर्थ समाजमा परिवर्तन ल्याउनका निम्ति हरेक पीडित अनि शोषित व्यक्तिहरूको भागीदार एकदमै जरुरी छ।





No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...