Sunday, December 31, 2023

टिस्टाले नि तीरै हजुर भुल्दा मेरो बासै बगायो !

छेवाङ योञ्जन






त्यो तीन दिनको अविरल वर्षा कसले पो भुल्लान् र! पहाडभरि गएको भीषण पैह्रो र पैह्रोमा परेर ज्यान गुमाएका ती प्राणहरूलाई चटक्क बिर्सन नसकिँदो रहेछ। त्यो लगातार परेको मुसलधारे झरीले हरेकलाई मृत्युको मुखेन्जी पुगेको अनुभव गराएको थियो। आमा-बुबाहरूका नियाँस्रो सुस्केराले अठसठ सालको भल-पैह्रो सम्झिरहेका थिए। जुन भल-पैह्रोले पहाडको भूगोल फेरिएको थियो। नदी-नालाहरूले किनार भुलेको थियो। गाउँहरू चुँडिएर टाढा-टाडा पुगेका थिए। यति मात्र कहाँ हो र?

दुधमुखे बालकहरूका असङ्ख्य चित्कारहरू पैह्रोमुनि पुरिएका थिए। सुत्केरी आमाहरूका कलिलो शरीरलाई भलले बगाएर बेपत्ता बनेको थियो। अठसठ- सालको भल पैह्रोमा धेरै परिवारका धुरी खाँबो ढले र अनाथ बने हरियाली पहाड। त्यसैले त पानी पर्दा तर्सिने भए हाम्रा बाजे-बोजुहरू। आँगनका डिलहरू सुरक्षित छ छैन! घरमाथिका ढिस्कनाहरू बलियो छ छैन! सुर्ता गर्छन् बाजे-बोजुहरू। कारण भल-पैह्रोमा ज्यान गुमाएका प्रियजनका अनुहारहरू आज पनि उनीहरूका आँखामा झलझल्ती छ। त्यही अठसठ सालको सम्झना बोकेर हरेक साल आइपुग्छन् अविरल झरी, भल, पैह्रो र भूकम्पहरू। विगत सालको घाउ पुरिएकै हुँदैन। कुनै कुनै प्रियजनलाई टपक्क टिपेर जान्छ भल-पैह्रो र हावा-हुन्डरीहरू। 

अ! यस चोटी पनि प्रकृतिले पहाडको प्राणै लिएको थियो। पानी पर्नु, घाम लाग्नु प्रकृतिको सामान्य नियम त हो। तर निरन्तर पानी पर्नु / अनौठो शैलीमा बादल फाट्नु/ पहाडका हरेक थुम्काहरूमा पैह्रो जानु यी जम्मै त प्रकृति विपरीत सङ्कटहरू हुन्।

के बाँध निर्माणले त यस्ता सङ्कटहरू निमत्याइ रहेको छैन? टिस्टा नदीको तीरमा सुन्दर देखिने थुप्रै गाऊँहरू आज कहाँ छन्? 29 माईलको रमाईलो गोलाइहरू आज किन यति धेर आतङ्कित भइरहेको छ? करीब दस किलोमिटरको दुरीमै टिस्टामा दुई दुईवटा बाँधहरू निर्माण गरिएको छ। सांस्कृतिक आस्थाको केन्द्र त्रिवेणीमा पुन: नयाँ बाँध निर्माण हुने चर्चाहरू सुनिन्छ। अहिले नै हाम्रो पहाडको स्थिति यस्तो छ। थप बाँधहरू निर्माण भए! हाम्रो अस्तित्व के होला! सबैलाई थाहा छ नि! टिस्टा नदीको पानी बढेर सडकसम्म आइपुगेको थियो। आखिर के भइरहेछ टिस्टालाई? यति आवेशमा किन उठ्यो टिस्टा? हरेकलाई चिन्ता त लाग्छ नै। 

साँच्चै टिस्टा! तिमीले त्यो दिन देखाएको उग्र रूपले सयौँको घर-परिवार छताछुल्ल बनाएको छ। बगरमा गिट्टी कुटेर जीवन धान्ने दिदीहरूलाई तिमीले कहाँ पुऱ्यायौँ? दिनभरि बालुवा थुपारेर साँझमा चुल्हा छेउ उज्यालो सपना देख्ने दाजुहरूलाई कता फ्याँक्यौँ तिमीले? ती गिट्टी र बालुवाका थाकहरूले किनी दिएका नानीहरूका कलिला अक्षरहरू खोइ कहाँ छन् आज? टिस्टा तिमीले यसको जवाफ दिनै पर्छ। हो तिमीले जवाफ दिनु पर्छ किनारमा टम्बु टाँगेर आफ्ना पेट पाल्ने ती बेरोजगार युवाहरूलाई। कसले खोस्यो उनीहरूको गाँस?

 खुम्चिएका पहाडहरूलाई चौडादार सडकहरूले पनि हेप्दो रहेछ। तलतिर टिस्टाको दम्भकारी रूप, माथितिर चट्टाने भित्ताहरूको आक्रामक हेराई। साँच्चै ती तीन दिन राजमार्गवासीले कसरी रात बिताए होलान्? दिनरात सुत्न नपाएका राजमार्गवासीले आफ्नो प्राण जोगिएको सपनासमेत देखे के? मान्छेलाई सबै भन्दा धेरै माया आफ्नै प्राणको त हुन्छ नि! प्राण जोगाउन अनेक जुक्ति गर्छन् मानिसहरू। तर के राजमार्गवासीसँग प्राण जोगाउने कुनै जुक्ति छ? अह छैन नि। माथिबाट पैह्रोले थिच्ने। तलबाट टिस्टाले बगाउने। उनीहरूको दुवैतिर मृत्यु उभिएका छन्। आखिर किन यति जोखिमपुर्ण बन्यो यो धर्ती/ यो नदी/ यो पहाड? प्रश्न त उठ्छ नै।

रेलवे-ले लापारवाही पूर्वक पहाड खने झैँ, बाँधले जबरजस्ती नदीहरूलाई रोके झैँ हामीले पनि हाम्रा पहाडलाई चारैतिरबाट टुक्राइ रहेका छौँ। हामीसँग पर्यावरण चेतको अभाव त छदैछ नि, त्यसैले त हामी लापारवाही साथ रूख-पात मास्न पुग्छौँ। अत्याधिक प्लास्टिक प्रयोग गर्छौँ। सरकारको रेलवे साथै हामी पनि प्लास्टिक प्रयोग गरेर थप पैह्रोहरू निम्त्याइ रहेका छौँ। यता, बाँधले नदी रोकेर पहाडमै डुब्ने स्थितिमा छ भने हामी मौन दर्शक बनेर आफ्नै दुर्गति पो हेरिरहेका छौँ कि!

प्रकृतिले उग्र रूपधारण गरिरहेको छ। मौसम परिवर्तनले विनाशकारी दिशा पक्रेको छ। बादल फाट्नु, अविरल वर्षा हुनु, डुबाऊ, भल-पैह्रो, आतङ्ककारी तुफान, हिम पैह्रो, भूकम्प, समुन्द्री तुफान-- मानव सभ्यताले आज किन यति धेरै सङ्कटको सामना गरिरहेको छ? चिन्ता त लाग्छ नै। के यी प्राकृतिक सङ्कटहरूको समाधान छ? हामी चर्चा गरौँ। एउटा यस्तो विकल्प तयार गरौँ। टिस्टा किनारमा फेरि फर्की आउन् गिट्टी-बालुवाका मुस्कानहरू। हरेकको सुरक्षामा उभिउन् पहाडका चट्टाने भित्ताहरू। पैह्रोहरूमा फुलोस् हाम्रा चेतनाका कोपिलाहरू।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...