Sunday, December 31, 2023

इजरायल-प्यालेस्टाइन : विवाद अनि वर्तमान

विशेष निवन्ध [ साभार : क्विन्ट हिन्दी ] 





इजरायलमाथि हमासको आक्रमण र इजरायलद्वारा प्यालेस्टाइनको गाजामा भयानक नरसंहार अभियान थालिएपछि इजरायल-प्यालेस्टाइन विवादको चर्चा फेरी चुलिएको छ। विगत 7 अक्टोबर 'हमास'ले गाजा क्षेत्रबाट 5 हजार रकेट सहित इजरायलविरूद्ध 'अपरेसन अल-अक्सा स्टर्म' आक्रमण सुरु गरेपछि इजरायलका प्रधानमन्त्री बेञ्जामीन नतन्याहले पनि हमास विरूद्ध युद्ध घोषणा गरेका छन्। यसबेला दुनिया मध्यपूर्व क्षेत्रमा भइरहेको नरसंहारको साक्षी बनिरहेको छ। 

इजरायल र प्यालेस्टाइनको भूगोल-- गाजा स्ट्रिप के हो?

मध्यपूर्वमा स्थित यहुदीबहुल देश हो इजरायल। यसको पूर्वी पाटोमा वेस्ट ब्याङ्क र दक्षिण-पश्चिममा गाजा स्ट्रिप रहेको छ, जसलाई प्यालेस्टाइन भनिन्छ। वेस्ट ब्याङ्कमा प्यालेस्टाइन इकाई-ले गर्दा फतह पार्टीको सरकार छ र यसलाई अन्तराष्ट्रिय मान्यता प्राप्त छ। अहिले महम्मद अब्बास यहाँका राष्ट्रपति छन्। वेस्ट ब्याङ्कमा नै इस्लाम, यहुदी र ईशाई धर्मको तथाकथित पवित्र सहर जेरुसेलम स्थित छ। इजरायलको दक्षिण-पश्चिमी भागमा अवस्थित गाजा स्ट्रिपलाई इजरायलले दुई तर्फबाट घेरेको छ। भूमध्यसागर यसको एकातिर छ भने अर्कोतिर इजिप्टसँग सिमाना छ। इजरायलमा पछिल्लो हमला यही गाजा पट्टीबाट गरिएको हो  र यो सन् 2007 देखि हमासको कब्जामा छ। 

अटोमन साम्राज्यको पतन, विवादको सुरुवात् 

प्यालेस्टाइन र इजरायलबिचको विवाद प्रथम विश्वयुद्धमा (1914-19) अटोमन वा तुर्की साम्राज्यको पराजयसँगै सुरु भएको थियो। अटोमन साम्राज्यभित्र थियो प्यालेस्टाइन। तर प्रथम विश्वयुद्धमा अटोमन साम्राज्य हारेपछि ब्रिटिसले प्यालेस्टाइनलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। त्यसबेला इजरायल भन्ने कुनै देश थिएन। इजरायलदेखि वेस्ट ब्याङ्कसम्मको क्षेत्रलाई प्यालेस्टिनी क्षेत्र भनी चिनिन्थ्यो। त्यतिबेला प्यालेस्टाइनमा यहूदी अल्पसंख्यक र अरबहरू बहुसंख्यक थिए।

सन् 1917 मा ब्रिटिसद्वारा प्यालेस्टाइनमा यहूदीहरूका लागि एउटा ‘राष्ट्रिय घर’ स्थापना गर्ने आफ्नो लक्ष्यबारे सार्वजनिक घोषणा गरियो। यसलाई बालफोर घोषणा भनिन्छ। तत्कालीन ब्रिटिस विदेश सचिव अर्थर जेम्स बालफोरले लियोनेल वाल्टर रोथस्चाइल्डलाई (ब्रिटिश-यहूदी समुदायका प्रमुख नेता) लेखेको पत्रको रूपमा यो घोषणा आएको थियो। युद्धपछिका बाँकी जनादेशहरूको विपरीत, यहाँ ब्रिटिश जनादेशको मुख्य लक्ष्य यहूदी 'राष्ट्रिय घर' स्थापनाको परिस्थिति सिर्जना गर्नु थियो। त्यसबेला यहाँ यहुदीहरूको जनसंख्या 10 प्रतिशत भन्दा कम थियो। 

सुरुमा ब्रिटिसहरूले प्यालेस्टाइनमा युरोपेली यहूदीहरूको आप्रवासनलाई सहज बनाउन थाले। 1922 र 1935 को बीचमा, यहूदी जनसंख्या नौ प्रतिशतबाट कुल जनसंख्याको लगभग 27 प्रतिशतमा बढ्यो। त्यसबेला प्यालेस्टाइनमा यहूदी आप्रवासीहरूको संख्यामा वृद्धि हुनुको मुख्य कारण युरोपेली देशहरूमा यहूदीहरूमाथि भएको उत्पिडन थियो। विशेष गरी जर्मनीमा हिटलरको नाजी शासनकालमा दोस्रो विश्वयुद्ध र यहूदीहरूको व्यापक नरसंहारपछि यहूदीहरूका लागि छुट्टै देशको माग तीव्र हुन थाल्यो। एकातिर, यहूदीहरू यसलाई पुर्खाहरूको घर मान्थे भने अर्कातिर प्यालेस्टिनी अरबहरूले पनि यस क्षेत्रलाई दाबी गर्दथे। यसरी द्वन्द्व सुरु भएको थियो।

सन् 1948 मा इजरायलको स्थापना 

नोभेम्बर 29, 1947 मा, संयुक्त राष्ट्रसङ्घले सङ्कल्प 181 (जसलाई विभाजनको सङ्कल्प पनि भनिन्छ) अपनायो। यस अन्तर्गत प्यालेस्टाइनलाई ब्रिटिस शासनमा रहेको यहुदी र अरब राष्ट्रमा विभाजन गर्ने निर्णय गरियो। उक्त प्रस्तावमा जेरुसलमलाई संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्ने निर्णय भयो। यसको लगत्तै अर्को वर्ष इजरायलले आफ्नो स्वतन्त्रता घोषणा गर्यो। मइ 14, 1948 मा, यहूदी संस्थाका प्रमुख डेभिड बेन गुरियनले इजरायल राज्य स्थापनाको घोषणा गरे। अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमनले त्यही दिन नै नयाँ राष्ट्र इजरायललाई मान्यता दिए।

इजरायलले आफ्नो स्वतन्त्रता घोषणा गर्ने बित्तिकै 24 घण्टाभित्र अरब राष्ट्रहरूको संयुक्त सेनाले आक्रमण गरेको थियो। करिब एक वर्षसम्म चलेको यो युद्धमा अरब राष्ट्रका सेनाहरू पराजित भए। अन्ततः ब्रिटिश शासनको यो सम्पूर्ण भाग तीन भागमा विभाजित भयो। जसको नाम इजरायल, वेस्ट ब्याङ्क र गाजा स्ट्रिप थियो।

सन् 1917 देखि प्यालेस्टाइनमा इजरायलको कब्जा कसरी बढ्यो?

सन् 1917 देखि 2020 सम्म प्यालेस्टाइनमा इजरायलको कब्जा कसरी बढ्यो यसको चर्चा गरौँ। अल जजिराको रिपोर्टका अनुसार प्यालेस्टाइनमा ब्रिटिस शासन हुनुअघि यहूदीहरू कुल जनसंख्याको 6 प्रतिशत थिए। 1947 देखि 1950 सम्म, नाक्बा वा 'विपत्ति'को समयमा, यहूदी सैन्य बलहरूले कम्तिमा 750,000 प्यालेस्टिनीहरूलाई निष्कासित गरे र ऐतिहासिक प्यालेस्टाइनको 78 प्रतिशत कब्जा गरे। बाँकी 22 प्रतिशत वेस्ट ब्याङ्क र गाजा पट्टीको बीचमा बाँडिएको थियो।

1967 को युद्धको समयमा इजरायली सेनाले ऐतिहासिक प्यालेस्टाइनलाई कब्जा गर्यो र 300,000 भन्दा बढी प्यालेस्टिनीहरूलाई घरबाट निष्कासित गर्यो। 2008 र 2021 को बीचमा, कम्तिमा 5,739 जना प्यालेस्टिनी र 251 जना इजरायली मारिए। संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार इजरायलमा एक जनाको मृत्युको तुलनामा प्यालेस्टाइनमा 23 जनाको मृत्यु भएको छ। यस अवधिमा कम्तिमा 1,21,438 प्यालेस्टिनी र 5,682 इजरायली घाइते भएका छन्।

संयुक्त राष्ट्रसङ्घकै तथ्याङ्कअनुसार प्यालेस्टिनी गुटबाट मारिएकामध्ये कम्तीमा 1,255 (22 %) जना बालबालिका र 565 (10 %) जना महिला थिए। इजरायली पक्षबाट मारिएका मध्ये 121 (48 %) जना सुरक्षा बल सदस्यहरू थिए।

विभाजित शहर, जेरुसेलम

इजरायल-प्यालेस्टाइन विवादको बीचमा जेरुसेलमको इतिहास बुझ्नु आवश्यक छ। वास्तवमा जेरुसेलम मुस्लिम, ईसाई र यहूदीहरूको पवित्र प्राचीन शहर हो।

पश्चिम जेरुसेलम सन् 1948 देखि इजरायलले कब्जा गरेको छ र यहाँ यहुदीहरूको बाहुल्य छ। तर पूर्वी जेरुसेलममा प्यालेस्टिनीहरूको बाहुल्यता रहेको छ। यस भागमा अल-अक्सा मस्जिद परिसर सहित जेरुसेलमको पुरानो शहर समावेश छ। इजरायलले यो क्षेत्र सन् 1967 मा कब्जा गरेको थियो।

किन अल-अक्सा मस्जिद दुबैको लागि यति महत्त्वपूर्ण छ?

अल-अक्सा मस्जिद इस्लामको तेस्रो सबैभन्दा पवित्र स्थल हो। यसबाहेक यहूदीहरूले पनि यसलाई आफ्नो सबैभन्दा पवित्र स्थान मान्छन्। दुबैले यसमा आ-आफ्नो दाबी गर्छन्, यो विवादको अर्को कारण हो। यहूदीहरूका लागि 'टेम्पल माउन्ट' र मुस्लिमहरूका लागि 'अल-हरम अल शरीफ' भनेर चिनिने स्थलमा 'अल-अक्सा मस्जिद' र 'डोम अफ द रक' समावेश छन्। 'डोम अफ द रक' लाई यहूदी धर्ममा सबैभन्दा पवित्र स्थलको दर्जा दिइएको छ। पयगम्बर मोहम्मदसँगको सम्बन्धका कारण, 'डोम अफ द रक'लाई मुस्लिमहरूले पनि पवित्र स्थल मान्छन्। 1980 मा इजरायलले जेरुसेलम कानून पारित गर्‍यो जसले “जेरुसेलम सम्पूर्ण र संयुक्त इजरायलको राजधानी हो” भनेर दावी गर्‍यो। प्यालेस्टाइनले यसको विरोध गर्दै आएको छ भने संयुक्त राष्ट्रसङ्घको प्रस्ताव अनुसार यसलाई अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्ने निर्णय गरिएको थियो।

गाजा पट्टी र पीएलओ अनि हमास

गाजा पट्टी प्यालेस्टिनी क्षेत्र हो। यो इजिप्ट र इजरायलबीच भूमध्यसागर तटमा स्थित छ। यसमा अहिले हमासको शासन छ। 1948मा अरब-इजरायल युद्धपछि नवगठित गाजा पट्टी इजिप्टद्वारा शासित थियो। तर सन् 1967 को 6 दिने युद्धमा यसलाई इजरायलले फेरि कब्जा गर्यो र लगभग 25 वर्षसम्म शासन गर्यो। 

यसैबिच 1959 मा प्यालेस्टाइनको उन्मुक्तिका लागि फतह-को स्थापना भयो, यसेर अराफत जस्ता काइरो र बेइरुटबाट पढेका विद्यार्थी-नेताहरूको अगुवाइमा। 1964मा प्यालेस्टाइनमा इजिप्टका तत्कालीन राष्ट्रपति गमाल अबर नोसार र अहमद सकु आइरीको नेतृत्वमा 'प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन' (पी.एल.ओ.)को गठन भयो। प्यालेस्टाइन र त्यस क्षेत्रको स्वतन्त्रताका निम्ति सङ्घर्ष गरिरहेका थुप्रै सानाठुला सङ्गठनहरूको सहयोग थियो यसमा। 

1967मा फतह पीएलओ-मा सामेल भयो। फतहको यसेर अराफत गेरिल्ला युद्धनायक बन्न पुगे र आफु बाध्ने फेटालाई प्यालेस्टाइनको चिन्ह भनेर घोषणा गरे। युद्ध-सङ्घर्ष-शान्ति बैठक, एवं समर्थन र आलोचनाका संघारहरू पार गर्दै यसेर अराफतले अन्तिम साँससम्म पीएलओ र समग्र प्यालेस्टाइनको नेतृत्व गरिरहे। 1994मा प्यालेस्टिनियन अथोरिटी वा प्यालेस्टिनी प्राधिकरण (PA) ढाँचा बनियो। 

1993-2014 मा  इजरायलले प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (PLO) द्वारा हस्ताक्षर गरेको ओस्लो सम्झौताका सर्तहरू अन्तर्गत प्यालेस्टिनी प्राधिकरण (PA) लाई गाजा स्ट्रिपमा सरकारी अधिकारको चरणबद्ध रूपमा हस्तान्तरण गर्न थाल्यो। 2005 मा, इजरायलले गाजा पट्टीबाट आफ्ना सबै सेना र बासिन्दाहरूलाई फिर्ता गर्यो। यसपछि सन् 2006 मा गाजामा हमासले चुनाव जित्यो। एक वर्षपछि, हमासले प्यालेस्टिनी प्राधिकरण (PA) सुरक्षा बलहरू हटाएर गाजालाई पूर्ण नियन्त्रणमा लिएको थियो। हमासको स्थापना भएको थियो सन् 1980 को दशकको अन्ततिर वेस्ट ब्याङ्क र गाजा स्ट्रिपमा इजरायली अतिक्रमनबिरूद्ध पहिलो प्यालेस्टिनी इन्तिफादा (विद्रोह) सुरु भएपछि। त्यसैले गाजा पट्टीमा हमास र इजरायलको डेढ दशकदेखि द्वन्द्व जारी छ। दुवै पक्षबाट लगातार घातक आक्रमणहरू भए जसमा हजारौँको मृत्यु भयो।

पछिल्लो दशकमा के भयो?

प्यालेस्टाइन प्राधिकरण (PA) ले सन् 2011 मा संयुक्त राष्ट्रसङ्घमा ‘प्यालेस्टाइन राज्य’को रूपमा मान्यताका लागि अपील गर्यो। यद्यपि यसले आवश्यक समर्थन प्राप्त गर्न सकेन, युनेस्कोले ‘प्यालेस्टाइन राज्य’लाई सदस्यको रूपमा स्वीकार गर्यो। नोभेम्बर 2012 मा, संयुक्त राष्ट्र महासभाले प्यालेस्टाइनलाई ‘गैर-सदस्य पर्यवेक्षक राज्य’को दर्जा प्रदान गर्यो। सन् 2017 मा हमास र फतहबीच सम्झौता भयो। जसअन्तर्गत गाजाको प्रशासनिक नियन्त्रण फतहको प्रभुत्व रहेको प्यालेस्टाइनी प्राधिकरणलाई हस्तान्तरण गर्ने थियो तर निशस्त्रीकरणको विवादका कारण यो विषय अगाडि बढ्न सकेको छैन। 2022 मा, फतह र हमास सहित 14 वटा प्यालेस्टिनी गुटका प्रतिनिधिहरूले नयाँ सम्झौतामा हस्ताक्षर गर्न अल्जियर्समा भेटे, जसमा 2023 को अन्त्यसम्ममा राष्ट्रपति र संसदीय चुनाव गर्ने प्रावधानहरू समावेश थिए। तर यसैबिच आइपऱ्यो हालको स्थिति।

7 अक्टोबर हमासको आक्रमणमा 1,400 जना व्यक्तिको मृत्यु र 200 भन्दा बढीलाई बन्धक बनाएको छन् भने इजरायली आक्रमणमा हालसम्म प्राय 8000 मानिस मारिएका छन्। प्रमुख साम्राज्यवादी देश अमेरिकाको मद्दत पाइरहेको इजरायल भने कुख्यात छ मानव अधिकार तथा व्यक्ति-स्वतन्त्रताको उल्लङ्घनका लागि। भारतको सत्तासीन फासीवादीहरू अन्तराष्ट्रिय सम्बन्धबारे पञ्चशीलको नीति जस्ता आधारभूत कुरालाई तिलाञ्जली दिएर इजरायल-अमरिकी गठजोडपट्टी झुकाव देखाउँदै यस अन्याय हमलाविरूद्ध दह्रो अडान लिएकै छैन। जबकि संसारभरि शान्तिको पक्षमा र जनतामाथि इजरायली हमलाविरूद्ध करोडौँ मानिसका आवाज सुनिँदैछ। यससित आवाज जोडौँ।  


No comments:

Post a Comment