Friday, June 12, 2015

पत्रकारहरूनै जहाँ असुरक्षित छन्


टीका ‘भाइ’


भारतीय नेपाली भाषीहरूका साप्ताहिक-दैनिक पत्रिका प्रकाशनको इतिहास धेरै बलियो छ तर यस जातिमा व्यावसायिक पत्रकारिताको विकास हेर्नु हो भने यो धेरै आशालाग्दो छैन। भारतमा भारतीय नेपालीहरू धेरै राज्य अनि प्रान्तमा छरिएर रहेका छन्। केही बाहुल्य रहेको स्थान भनेको दार्जीलिङ सिक्किम र आसाम नै हो तर यी स्थानहरू पनि भौगोलिक, राजनैतिक कारणहरूले अलग थलगनै रहेकाले व्यावसायिक पत्रकारिताको विकासमा धेरै समय लागेको हो। हाल बजारमा केही दैनिक पत्रिकाहरू छन् जसले आफ्नो पकड बजारमा सुदृढ बनाउन सङ्घर्षरत छन् भने एउटा मात्र पत्रिका; यसको दैनिक बिक्रि-वितरण अनि यसको प्रभावका हिसाबले गर्दा दह्रो व्यावसायिक क्षमता लिएको छ। तथापी यस्ता पत्रिकाहरू पनि कम तनखा, धेरै चुनौती र रिस्क उठाएर काम गर्ने पत्रकारहरूको सहयोग र सेवाबाट नै सुदृढ हुन सकेका हुन्। तर पत्रिकाले आफुलाई स्थापित गर्ने धुनमा योसित जोडिएर आफ्नो समय र जीवन दिएर लागिपरेका पत्रकारहरूलाई भने विस्थापित गर्न पनि नहिच्किचाउने प्रवृत्ति लिएको हालैको घटनाले पुष्टी गर्दछ। सिलगडीबाट प्रकाशित एक नेपाली दैनिकका व्यवस्थापन पक्षले कुनै जाँच-पड्ताल बिना नै कालेबुङमा कार्यरत् आफ्ना कर्मी अनि पत्रकारहरूलाई चुपचाप बिना कुनै सूचना कामबाट निकाल्ने कार्य गरेर पत्रिकाको मालिकको मालिकाना जबर्जस्तीलाई देखाईदिए। घटना के भएको थियो भने कालेबुङमा कार्यरत उक्त पत्रिकाका कर्मीहरूलाई रेख-देख गर्ने एक प्रमुखको नियुक्तिलाई लिएर कालेबुङका कर्मीहरूले विरोध जनाएका थिए। तर व्यवस्थापन पक्षले थोपेको प्रमुखलाई विरोध गरेको बहानामा जम्मै पुराना पत्रकार अनि कर्मीहरूलाई पत्रिकाबाट निकाल्न कालेबुङमा अवस्थित तिनको कार्यलयमा नै ताला लगाइदिए। यस घटनाले मालिकले एउटा पत्रकारलाई कसरी ‘प्रयोग गर अनि फ्याँकीदेउ’-को मनोवृत्तिसित काममा लिँदो रहेछ भन्ने स्पष्ट भएको छ। त्यती मात्र होइन। उक्त पत्रिकाको व्यवस्थापन पक्षले कुनै पनि कर्मीलाई कुनै ‘एपोईन्मेन्ट लेटर’ नै नदिइ कानुनी रूपमा उनिहरूलाई पत्रिकाको कर्मी नरहेको बनाई तिनीहरूबाट सेवा लिने गरेको रहेछ। दार्जीलिङ, सिलगडी, मिरिक, खर्साङ, डुवर्स, सिक्किम गरि यस पत्रिकासित लगभग सय भन्दा धेर पत्रकार अनि कर्मीहरू काम गरिरहेका भएपनि कानुनी रूपमा आफ्नो थोरै मात्र कर्मी देखाएर यसमा कार्यरत कर्मीहरूमाथि व्यवस्थापनको चाप थोपर्ने गरिएको घटना केवल यो मात्र होइन, यस अघि पनि कालेबुङ तथा अन्य ठाउँबाट यस पत्रिकाले आफु खुसी अरू पनि कर्मीहरूलाई बिना पूर्वसुचना निकाल्ने काम गर्दै आएको हो र यसचोटी पुरै ‘हाउस’-लाई फ्याँकेर पत्रकारहरू केही होइनन् भन्ने मालिक दम्भलाई प्रस्तुत गरेर देखाए। यी पत्रकारहरूको जीवन कस्तो छ भन्दा पत्रिकाले यिनीहरूको सेवा बापत रुपिया २५०० देखि ४००० सम्म मात्र तनखाको रुपमा दिनेगरेको छ। अनि यसमा अरू भत्ता, पी.एफ. आदि केहीको व्यवस्था छैन। कुनै कम्पनिमा ठेका मजदुरहरूको जस्तो जीवन गुजार्नु पर्ने यी पत्रकारहरूलाई सुरक्षा त परको कुरा आजको समय जीवन धान्न आवश्यक सहुलियत पनि दिएका छैनन्। व्यवस्थापनले यिनीहरूको विचार र मतलाई सम्म ध्यान नदिने गरेको छ। एउटा समाज जहाँका पत्रकारहरू नै सुरक्षित छैनन् त्यहाँको पत्रकारिता र समाजको स्थिति के होला? हालमा कालेबुङका समग्र पत्रकारहरू यस घटनाको प्रतिवादमा ओर्लिए तापनि खासै जनतामा यस सङ्घर्षको प्रभावलाई स्थापित गर्नु गाह्रो परिरहेको छ। यसमा अन्य ठाउँका पत्रकारहरूको समर्थन हुँदा हुँदै पनि सबैतिरबाट भरपर्दो साथ भने आईरहेको छैन। सामान्य अपिल, सामान्य भेटघाट अनि विरोधका भरमा पत्रकारहरू व्यवस्थापनको आक्रमणको जवाब दिईरहेका छन्। यस्ता कुराहरूलाई दह्रोसित सम्पूर्ण पत्रकार अनि जनताबाट विरोध गरिनु आवश्यक हो तर पनि पत्रकारहरूमा निहित असुरक्षा अनि राजनैतिक दल, सामाजिक संघ-संस्थाहरूमा निहित मौनताले मालिक र व्यवस्थापनको जबर्जस्तीपूर्ण दम्भी वर्तावलाई टेवा पुगीरहेको छ। पत्रकारहरू सबै एक भई पत्रकारितामा पनि पत्रकार र कर्मीहरूको हक र हीत सुनिश्चित गर्ने बारेमा नसोचे कालान्तरमा अरू पत्रकारहरू पनि यस प्रवृत्तिको शिकार हुँदै जाने र यस्ता मालिकाना दम्भले उक्सानी पाउँदै जानेकुरा निश्चित छ। पत्रकारहरू उत्पीडित हुनु हाम्रो समाजमा नया घटना होइन तिनीहरूले भोगिरहेको असुरक्षा र त्रासदीको सैयौं कथा बन्छ तर समाजलाई संधै सजग राख्न अनि प्रजातान्त्रिक मूल्य स्थापनामा तिनका योगदानहरू र तिनका अपरिहार्यतालाई स्वीकार्नेहरूले उनीहरूको सङ्घर्षमा सामेल बन्नु र साथ दिनु जरूरी भएको छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...