Friday, June 12, 2015

भो! अब अझ लेख्दिन युद्धअपराध, मौलवाद, देश, राजनीति लिएर...


वशिकुर रहमान

[बंगलादेशको वशिकुर रहमानले  पनि अभिजित राय जस्तै मृत्यु अंगाल्न पर्यो। केही महिना अघि मात्र विज्ञानी, निबन्धकार र सामाजिक कर्मी अभिजित राय, जसले आफ्नो 'मुक्त-मोना' नामक ब्लगमा धार्मिक कट्टरपन्थ विरुद्ध प्रगतिशील लेखहरू लेख्थे, उनको बंगलादेशको राजधानी ढाकामा मुस्लिम कट्टरपन्थीहरूको हातबाट निर्मम हत्या भयो। उनले धार्मिक कट्टरवादको विरोधमा निरन्तर आफ्नो ब्लगमा लेखहरू लेखि रहन्थे। यसो गर्दा तिनलाई धेरै धम्कीहरू पनि आउने गर्थ्यो। अनि यसकै निरन्तरतामा उनको हत्या गरियो। यसको प्रतिवादमा बंगलादेश फेरि शाहबाग पछि एक चोटी गर्जी उठ्यो। धेरै अन्य ब्लगरहरूले पनि विभिन्न ब्लगहरूमा धार्मिक कट्टरपन्थ विरुद्ध लेख्न थाले, त्यस मध्ये एक थिए वशिकुर रहमान, एक युवा, जसको ब्लगहरू पनि कट्टरवाद विरुद्ध दह्रिलो भूमिका निभाइरहेको थियो। ढाकाको सडकमा उनको पनि हत्या भयो। केवल बंगलादेशमा नै होइन, भारत-पाकिस्तान लगायत जम्मै भारतीय महाद्वीपमा धार्मिक कट्टरवादले, त्यो हिन्दु कट्टरवाद होस् वा मुस्लिम— प्रगतिवादी जनताको आवाजलाई दबाउन कोसिसमा लागिपरेका छन्। यसको प्रतिवादमा प्रगतिवादी आवाजलाई प्रतिनिधित्व गर्दै हामी वशिकुर रहमानको ब्लगमा प्रकाशित एउटा लेखको नेपाली अनुवाद प्रस्तुत गर्दैछौं]
भो! अब अझ लेख्दिन युद्ध अपराध, मौलवाद, देश, राजनीति लिएर। त्यसैले पनि लेखेर केही हुनेवाला त छैन, केवल मनलाई आश्वासन मात्रै। तर त्यसले पनि मन घोच्छ हरे, ‘शान्ति’ भंग हुन्छ हरे, उन्नति बाधित हुन्छ हरे। त्यहि भएर यस्तो केही लेख्न पर्छ जसले कसैलाई पनि समस्या न होस्।
ठीक छ— रूखपात लिएर लेखौ त त्यसो भए। हाम्रो देशमा आवश्यकता भन्दा कता हौ कता कम्ति रूखपात छन्। विभिन्न कारणले दैनन्दिन जसो रूखपात त काटिँदैछ नै। पोहोर हेफाजत शिविरको नाम गरेर प्रचुर मात्रामा रूख काटियो। हुनसक्छ तिनीहरूलाई मरुभूमि साह्रै मन पर्छ होला... त्यहि भएर रूखपात-जंगललाई तिनीहरू यस्तो घृणा गरेका होलान्। त्यहि माथि रामपालको विद्युत केन्द्र निर्माण गरे भने त सुन्दरबनको जंगल....
अरे! यो सब के लेख्दैछु म! होइन, होइन यस्तो लेखेर हुँदैन। शान्ति नष्ट हुन्छ, अनि उन्नति बाधित हुन्छ। अन्यै केही लिएर लेख्नु पर्ला...
अम्, शिक्षा लिएर लेखौ त। शिक्षानै जातिको मेरुदण्ड हो। प्रति वर्ष परिक्षामा सफल विद्यार्थीहरूको हरदर बढ्दैछ तर शिक्षाको अवस्था कस्तो छ त? व्यापक रूपमा प्रश्नपत्र पहिलै खुल्ला गरिन्दैछ। जसोतसो पास गराउनमा मात्रै बेसी ध्यान दिइन्दैछ। शिक्षाको मूल्यबोधको कुरै छैन। देशमा तीन स्तरीय शिक्षा व्यवस्था प्रचलित...
हेट्! यो सब लिएर पनि लेख्नु उचित होइन। शिक्षितको हरदर फटाफट बढ्दैछ। यस्तो अवस्थामा यो सब लिएर लेख्नु भनेको शिक्षामाथि आघात...
बरू, भ्रमण कथा लेख्छु। केही वर्ष अघि सिताकुण्ड भन्ने ठाउँमा गएको थिए। त्यहाँबाट पार्वत्य चट्टग्रामको पहाडहरू देखा पर्छ। देशको आदिवासीहरूको जनसंख्याको ठुलो अंश नै त्यहाँ बसोबास गर्छन्। सेट्लर र सेनावाहिनीको आगमनले यहाँको जन जीवन त्रस्त त थियो नै, त्यहि माथि धेरै अघाडी काप्ताई जलविद्युत केन्द्रको निर्माणले यहाँको विशाल क्षेत्र डुबेको थियो...
सर्वनाश, यो सब लेखे भने पक्का पनि विच्छिन्नतावादी, राष्ट्रद्रोही हुनेछु म। आदिवासीहरू जसरी बस्दैछन् त्यसरीनै बसुन्। म त सुरक्षित केही...
पाए! सिनेमा!! हाम्रो सिनेमाको हालत खुबै बेहाल छ। तर पनि कतिपय अल्पसंख्यामै भए पनि मानिसहरू यसको स्तर बढाउने कोशिश गर्दैछन्। तिनीहरूमा सबैभन्दा उल्लेखनीय छन् तारेख मासुद। दुर्भाग्यवश उनलाई हामीले बचाएर राख्न सकेनौं। देशको एउटा श्रेणीले उनलाई मन पराएनन् कारण उनको चलचित्रमा धार्मिक कट्टरवादले, आतंकवादको तक्मा पाएको थियो। उनले बनाएको ‘माटिर मोयना’ भन्ने सिनेमाले कान्स फिल्म फेस्टिवलमा पुरस्कार पाए तापनि तत्कालिन बीएनपी–जामात् गठबन्धन सरकारले यो सिनेमालाई धार्मिक अनुभूतिको अपमान र खिसी भनेर प्रतिबन्धित गरिदियो। पछि गएर....
असम्भव, मेरो गर्दनमा कतिवटा टाउको छ र मैले धार्मिक कट्टरवादको विषयमा लेखेको? बरू....
.....प्रेम, अँ प्रेम-माया –पिरती सबैभन्दा निरपेक्ष विषय। को छैन जसले जीवनमा एकपल्ट पनि प्रेम गरेको छैन? धेरैजना केटाहरू त झन् एक पछि अर्को प्रेम गर्छन्। तर प्रत्येक पल्ट नै विवाहको बाचा गरेर, शारीरिक सम्पर्क बनाए पश्चात् सम्बन्ध विछिन्न गरी दिन्छन्। कति जनाले त झन् अन्तरंग क्षणको भिडियो बनाएर इन्टरनेटमा छाड़ि दिन्छन्। यो सब काण्डमा केवल नारीलाई मात्रै दोषारोपण गरिन्छ। ती केटाहरू त पछि गएर विवाहको निम्ति कन्ये केटीहरूनै खोज्छन् तर ती केटीहरू पछि गएर खुब कमै स्वाभाविक जीवन यापन...
होइन; नारी अधिकार, नारी स्वाधीनता लिएर एक शब्द पनि लेख्न सकिन्दैन। समाज नष्ट भएर जान्छ, केटा-केटीहरू जम्मै बिग्रन्छन्। समाज ठीक रहोस् मँ...
आफैलाई लिएर केही लेख्छु अब। मेरो जन्म मध्यमवर्गीय परिवारमा भएको हो। मध्यमवर्गको चिरकालीन विशेषता सुविधावादी, दोग्लापन, स्वार्थीपना सबै गुण मँ भित्र पनि छदैछ। तर पनि राम्रो भयो निम्नवर्ग वा कृषक-श्रमिक श्रेणीमा जन्मिन। कृषकहरू पाउदैनन् फसलको न्यायसंगत मूल्य, श्रमिकहरू पाउदैनन् आफ्नो श्रमको न्यायसंगत ज्याला। सबैभन्दा ठुलो शिल्प उद्योग गार्मेन्ट्समा त झन् श्रमिकहरूको स्वाभाविक मृत्युको पनि निश्चितता छैन। कहिले त भवन मक्किएर झर्छ श्रमिकहरू थिचिएरै मर्छन्, कहिले त आगो लाग्छ श्रमिकहरू डढेरै मर्छन्। त्यसपछि अरूलाई देखाउनको निम्ति उद्धार तत्परता, नामको निम्ति खोजबीन कमिटी, क्षतिपूर्तिको झुठो आश्वासन, न्यायको नाममा अभियुक्तहरूलाई लुकाउने प्रक्रिया यो सब...
उफ्फ, लाग्दैछ म द्वारा केही लेख्नु सम्भवै छैन। कस्तो राम्ररी बिस्तारो बिस्तारो देश अघाडी बढ्दैछ। अन्त, मँ चाहिँ बाधा दिँदैछु। यो सब त षड्यन्त्रकारीहरूले लेख्छन्, जसले देशको शिल्प, उद्योग ध्वंस गर्न चाहन्छन्, कृषि विकाशको नाश गर्न चाहन्छन्।
कथा लेख्छु। एउटा राजा थियो। अहिले त राजाको अस्तित्व छैन, त्यसो भए सबैभन्दा अन्तिम स्वतन्त्र नवाब सिराजद्दौला, मीरजाफ़रको विश्वासधातकताले गर्दा पराजित भएका थिए र डरलाग्दो घाइते पनि भएका थिए। जे होस्, मीरजाफ़रले त आफ्नो कर्मको सास्ती भोग गर्नु परेको थियो पछि गएर। तर, मीरजाफ़रभन्दा दशगुणा भयङ्कर युद्ध अपराधीहरू यो देशमा धरै वर्षदेखि शान्तिसँग बसोबास गर्दै आउँदैछन्। सत्ताको स्वाद पनि चाखेका छन्। वर्तमानमा तिनीहरूको विचार चल्दैछ न्यायलयमा तर कछुवाको गति भएको ट्राइब्युनलले,... जहिले पनि राज सरकारको साथ हमलाकारीहरूको सम्बन्ध,... शहबाग आन्दोलन.........
दिमाग खराब भयो क्या हौ मेरो! यो सब लिएर लेख्ने बित्तिकै त युद्ध अपराधीहरूको विचारमा बाधा पर्छ। स्वाधीनता विरोधी राजाकारहरूको निधारमा दोस्रो टीका पर्नेछ।
त्यसो भए के लिएर लेख्नु त मँ? के कसैले भन्न सक्छन् के लिएर लेखे सरकार, राजनैतिक दल, कट्टरवादी मानिसहरू, स्वाधीनता पक्षी-विपक्षी सबै गोष्ठी शान्त रहनेछन्? कोई छ त्यहाँ? जसले यस विषयमा बुद्धि दिन सक्छ मलाई?
हेलो......!

[अनुवाद: संगीता खेवा ]

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...