Friday, June 12, 2015

जल्पेश गाउँ : केहि अनुभव

अम्बिका राई

सिलीगडीदेखि प्राय ६०-६५ कि.मी. टाढा, जलपाईगुडी जिल्लामा एउटा सानो गाउँ छ, जल्पेश। मँ समाजशास्त्रको छात्रा भएको कारण मास्टर डिग्रीको अन्तिम सालमा हामी सर्वेक्षणको निम्ति कुनै एउटा ठाउँमा जान पर्छ । यो सालको मार्चमा हामीलाई सर्वेक्षणको निम्ति जलपाईगुडीको जल्पेश भन्ने गाउँमा लगिएको थियो। हामी १५ दिनसम्म त्यही गाउँमा बस्यौं। पाठ्यक्रम अन्तर्भुक्त सर्वेक्षणको कामको लागि त्यहाँ जाँदा केहि विषयहरू नजरमा आयो जसले गाउँबस्ती इलाकाको सामाजिक-आर्थिक रुपान्तरणको एउटा चित्र दर्शाउछ। अनि यो गाउँमा मैले धेरै जस्तो घरको वरिपरी सानो सानो चिया बगानहरू देखे। त्यसबारे जानकारीहरू पाठकहरूको निम्ति चाखलाग्दो हुनसक्छ सोचेर यो लेखमा मैले यहि सानो सानो चिया बगानको विषयमा जानेका केही कुराहरू व्यक्त गरेको छु।
यहाँ बसोबास गर्नेहरू मध्ये धेरै जस्तो राजबंशी छन् भने अल्पसंख्यक बिहारी परिवारहरू पनि छन्। जल्पेश मन्दिर गाउँको छेउ भएको कारण यहाँका मानिसहरू यही मन्दिर वरिपरी सानो बजार खोलेर आफ्नो जीवन निर्वाह गर्छन्। तर बेसी भाग भने खेती पाती सँग जोडिएका छन्। उनीहरू पुर्खा पुर्खा देखि साग-सब्जी, धानको खेती गरेर आफ्नो पेट पाल्छन्। बजारमा कहिले राम्रो दाम पाईन्छ त कहिले थोरैमा नै सन्तुष्ट हुनु पर्दछ। तर यहाँका वासिन्दाहरूले साग-सब्जी वा धानको खेती छोडेर वा संगै अरू अन्य खेती गर्न थालेका छन्। त्यो हो चियाको खेती। किन यहाँका वासिन्दाहरूले आफ्नो पुर्खाहरूले अपनाएका पेशालाई नकारेर अरू अन्य पेशाको खोजी गर्दै छन् त? के कारण छ उनीहरूले धानको खेति गर्ने जमीनमा चियाको बोट लगाउनु?
एक तर्फ हामी देख्न सक्छौ कि कसरी मल र कीटनाशकको कारण कृषि क्षेत्रमा नराम्रो असर पर्दैछ, र कसरी त्यसको खर्चले कृषकहरूलाई असर पार्दैछ। कृषि क्षेत्रलाई पनि पुँजीपतिहरूले नाफा कमाउने श्रोतको रूपमा इस्तामल गर्दैछन्। कम्ती समय अनि कम्ती श्रममा बेसी उत्पादन अनि बेसी नाफा हुने झुटो आशा देखाउदै उनीहरू बजारमा उत्रिए। ल्याए हाइ-यील्डिंग बीज, कीटनाशक, मल— जसले नाफा त होइन बरू किसानहरूको नोक्सान मात्र गर्यो। यो सबैको प्रयोग गरे पछि जमीनको उर्वरता कम भएर जान्छ अनि अर्को पल्ट बिउ रोप्न सकिंदैन। यसको साथमा थप के भन्न सकिन्छ भने यी सबै चीजबिजको दाम बेसी भएको कारण उनीहरूले ब्यांकहरूबाट लोन लिएका हुन्छन् अनि यो पनि उनिहरूले ब्यांकलाई फिर्ता दिन सक्दैनन्। यसरी झन उनीहरूको स्थिति बिग्रिँदै जान्छ। यस्तो नयाँ प्लान्टेसन शुरू भएको लगभग २५ साल भयो। यसैक्रममा यस्तो चिया कम्पनीका मिडल म्यान वा दलालहरू किसानको जमीन, फ्री जोन वा आदिवासीहरूको  जमीन कब्जा गरेर यस्तो नयाँ प्लान्टेसन शुरू गर्छन्। टि बोर्डको आंकलन अनुसार हाम्रो देशको भित्री बजारमा हरेक साल चियाको मांग बड़दै जाँदैछ, त्यो पनि पहिलाको साल भन्दा ३% बेसीको दरले। अर्को तर्फ उत्पादन भने त्यत्रो मात्रामा बढदैन। त्यही कारणले नयाँ नयाँ इलाकामा चियाको खेती बढाउने क्रम चलिरहेको छ। देशको भित्री मार्केटलाई आपूर्ति गरेको कारणले यसको क्वालिटीको पनि प्रश्न त्यत्रो छैन। अर्कोतिर यस प्रकारले एकतिर 'नयाँ बगान' भन्ने जमीनहरूमा किसानहरू द्वारा चिया उब्जाउनु, अनि अर्कोतिर अलग्गै 'बटलिफ (किनेको पत्ती) प्लान्ट स्थापना गरी दुवै तिर धेरै दायित्वबाट निस्किएका  छन्  मालिक-व्यापारीहरू। पुरानो टि एस्टेस्ट जस्तै श्रमिकहरूका न्युनतम अधिकारहरूका यहाँ प्रश्नै छैन। यसरी सङ्गठित चिया उद्योग बाहिर चियाको एउटा असंगठित क्षेत्र बनिरहेको छ— जसमा मालिकहरूको नाफा झन् बेसी हुँदैछ। किन भने यहाँ कुनै फ्याक्ट्री एक्ट लागु हुँदैन, न लागु हुन्छ कुनै प्लान्टेसन लेबर एक्ट।
जल्पेशमा प्रथम पल्ट चियाको बोट २००० सालमा एउटा परिवारले लगाएको थियो। त्यसपछि बिस्तारै बिस्तारै यहाँका मानिसहरूले चियाको खेती गर्न शुरू गरे। कसैले २००५ देखि चिया खेती शुरू गरे त कसैले २००७ देखि। अहिले यहाँ प्राय जस्तै घरमा नै चियाको खेती गरिएकको पाईन्छ। र यो संख्या अझ विस्तार रूपले बढदैछ। यो चियाबगानहरू सरकारी वा ठूलो मालिकहरूका चियाबगानहरू होइनन्। सबै निजी चियाबगानहरू हुन्।
कसैले १ बिघा जमीनमा चिया खेती गर्छन् त कसैले १ ऐकर जमीनमा। चिया खेतीले बिस्तारै यहाँ ठाउँ बनाउनुको मुख्य कारण हो खेती गर्दा जति खर्च भयो, बजारमा बिक्रि गर्दा त्यसको तुलनामा साग-सब्जीको भाव नपाउनु अनि पानीको अभाव।
उनीहरूले चियाको बोट सिलगडीबाट लैजान्छन्। पहिला त एउटा बोटको दाम ५० पैसा हुने गर्थ्यो। तर अहिले त्येसको दाम २-४ रुपियाँ सम्म पुगेको छ। प्रथम त चिया खेती गर्नलाई उनीहरूले आफ्नो भएको जमीनमा अझ थप माटो थपेर त्यो जमीनलाई अग्लो बनाउँछन्। त्यसपछि त्यहाँ बोट लगाउछन्। प्राय जस्तो मानिसहरू आफ्नो बगानमा आफै काम गर्छन्। कुनै कुनै बेला मात्र बाहिरबाट कामदारी लगाउछन्। उनीहरू आफै पत्ती टिप्छन्। तर आफै गएर फ्याक्ट्रीमा दिदैनन्। पत्ती टिपे पछि उनीहरू ब्रोकरलाई फोन गर्छन्। ब्रोकर आएर त्यो टिपेको पत्ती गाड़ीमा हालेर लान्छ। कहिले पत्तीको दाम १२ रुपियाँ हुन्छ त कहिले ५ रुपियाँ वा त्यो भन्दा पनि कम। राम्रो पत्ती छ भने १ किलोको २० रुपियाँ सम्म पाउछन्। यहाँबाट ब्रोकरले सबै चिया पत्ती मैनागुडीको फ्याक्ट्रीमा लान्छ। चिया खेती गर्ने मानिसलाई त्यो फ्याक्ट्रीको मालिकबारे केही जानकारी छैन, न जान्दछन् उनीहरू त्यो कम्पनीको नाम-ठेगाना। उनीहरूले फ्याक्ट्रीको मालिकबाट केही सहुलियतहरू पाउँदैनन् न पाउँछन् चिया पत्तीको केही निर्दिष्ट दाम। उनीहरूले भने कि साग-सब्जीको खेती गर्नु भन्दा चियाको खेतीमा नै बेसी नाफा छ तर कसैले गुनासो पनि गरे कि चिया पत्तीको एउटा निर्दिष्ट दाम भए अझ राम्रो हुने थियो, यस्तो अनिश्चितताले जीवन बिताउनु अफ्ट्यारो हुन्छ। यसरी यहाँको खेती गर्ने मानिसहरू पुँजीवादको, त्यसको बजारको, बजारको अनिश्चितता र उतार-चढावको चक्करमा परिरहेका छन्। कहिले साग सब्जी वा धानको खेति गर्ने किसानको रुपमा ठगिन्छन् भने कहिले चियाबगानको मजदूरको रुपमा। ठगिँदै जीवन बिताउनु नै यहाँको मानिसहरूका दिनचर्या बनिसकेको छ।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...