Friday, June 12, 2015

यो समाज कसको निम्ति

 शैलेन्द्र ठाकुर

भारत संसारको एउटा वृहत जनसंख्याको घर हो। यहाँको सभ्यताले विश्वको प्राचीनत सभ्यताहरूमा महत्वपूर्ण स्थान राख्छ। यहाँ धेरैवटा जाति र धर्मको मानिसहरू निवास गर्छन् र यिनीहरूको आ-आफ्नो भाषा, रिति-तिथि र संस्कृति छ साथै रहन-सहनको तरिका पनि बेग्लै छ। यहाँसम्म कि पुजा-आजा गर्ने समय त तिथी पनि अलग अलग छ। तर जब नारीको प्रश्न आउछ तब सबै जसो धर्म र जाति एउटै ठाउँमा उभिएको जस्तो देखिन्छ। जस्तै पर्दा प्रथा, घुम्टो प्रथा, घरको सम्पत्ति र निर्णय लिने अधिकारमा पुरुष सदस्यकै कब्जा देखिन्छ। आखिर सबै घरमा नारीहरू लिएर एउटै विचार कसरी पैदा भयो?
हाम्रो समाज धर्म सँगसँगै अर्को मूल धरातलमा उभिएको छ, त्यो हो आर्थिक धरातल। तर यहाँ पनि नारीको स्थितिमा साह्रै परिवर्तन आएको जस्तो छैन। आजको कुरो त होइन, पुरुषले कहिले पनि नारीलाई समान धिकार दिन मान्दैन, किनकी तिनीहरू डराउँछन् यसो गरे भने त्निहरूको सुविधाको के हुन्छ? को माथि तिनीहरू आफ्नो हक-डक चलाउने वा शक्ति देखाउने? यहि डरलाइ यिनीहरू सामाजिक परम्पराको नाम दिन्छन् र यो परम्परालाई निभाउने स्वांग रच्छन् कि नारीहरू जहिले पनि पुरुषको अधिनमा रहनु पर्छ। अचम्भको कुरो के हो भने आफ्नो कुरा सिद्ध गर्न पुरुषहरू प्राचीन धर्म ग्रन्थहरूको उदाहरण दिन्छन्। यी ग्रन्थहरूमा केहि स्मृतिहरू छ त्यसमा पनि प्रमुख मनुस्मृतिलाई लिन सकिन्छ जसमा मनुले भनेका छन्नारी सानो हुँदा आफ्नो पिताको अधिनमा, वयस्क भएपछि आफ्नो पतिको अधिनमा र वृद्ध भएपछि आफ्नो पुत्रको अधिनमा बस्नुपर्छ।तर हामीले यो भुल्न हुँदैन कि मनु पनि एउटा पुरुषनै थिए। वैदिक कालदेखी समाजलाई हेरे हामि पाउछौं कि हाम्रो समाजले जब एक ठाउँ देखि अर्को ठाउमा सरुवा हुने गोष्टीको जीवन छोडेर स्थायी बसोबास गर्ने जीवन जिउन थाल्यो तब देखिने समाजले चौतर्फी विकाश गर्न थाल्यो। तर जब हामि नारीको सामाजिक प्रतिष्ठा, उसको स्वतन्त्रता, उसको शिक्षाको विकासको ग्राफ हेर्छौं तब देख्छौं कि यो ग्राफ लगातार झरेको छ। हाम्रो समाज उल्टो दिशामा हिडिरहेको देख्छौं, नारीहरूमाथि लगातार नयाँ नयाँ किसिमको प्रतिबन्धहरू लाग्दै आइरहेको देख्छौं हामी। जहाँ वैदिक कालमा नारीहरूको शिक्षाको पूर्ण अधिकार थियो, त्यहि उत्तर वैदिककालमा यसमा कमि आउन थाल्यो अन्त पछि गएर यो कमि झन् झन् बढ्दै गयो र उपनिषद् र स्मृतिको कालमा आएर त झन यो चरम सीमामा पुग्यो। बालविवाहले नारीहरूको सिक्षालाई पूर्णतः बन्द गरिदियो।
फेरी भारतभूमिमा बुद्ध र महाबीरको जन्म भयो, दुवैले आ-आफ्नो सम्प्रदाय बनाए अनि आ-आफ्नो सिद्धान्त बनाए, महाबीर र बुद्धले समाज सुधारको अनेकौ काम गरे, उच-नीच जातिको भेद-भावको विरोध गरे, तर तिनको यहि विचार के नारीहरूको निम्ति पनि थियो? यसको उत्तर हो थिएन। किनकी महाबीर र बुद्ध पनि त्यहि पुरुष प्रधान समाजकै अंग थिए। यसैबाट बुझ्न सकिन्छ कि मनु जस्तो विद्वान र महाबीर-बुद्ध जस्तो समाज सुधरक्ले पनि त्यो समाज व्यवस्थादेखि माथि उठेर हेर्न सकेनन्। यसबाट यो पनि बुझ्न सकिन्छ कि समाजमा नारि पुरुषको अन्तर्द्वन्दले कत्ति गहिरो जरा गाडेको छ।
आखिर पुरुषहरूले नारीलाई किन अधिकारहरू/जिम्मेदारीहरू न दिएको त? के नारीहरू यसको निम्ति उपयुक्त थिएनन्? यसको उत्तरमा बरु हामी पाउछौं कि जब पनि नारीहरूले जिम्मेवारी लिने मौका पाएका छन्, तिनीहरूले आफैलाई राम्रै प्रकारले सिद्ध गरेका छन्। प्राचिन कालमा अनेकौं महर्षि विदुषीहरूले कैयौं ऋषिहरूलाई पछाडी छाडी दिएका थिए। कैयौं वैदिक मन्त्र, श्लोकहरू रचना गर्ने श्रेय पनि नारीहरूलाई प्राप्त छ।
अझ मुगल युगको कुरा गर्दा त्यहाँ रजिया सुल्तान जस्तो कशल शासक पाउछौं। त्यसपछि झांसीको रानीको साहस र वीरताको कुरो त सबैलाई थाह भएकै कुरो हो। यसैले नारीले मौका पाउदा पाउदा राम्ररी आफ्नो कर्तव्य निभाएको इतिहास छ। तिनीहरू कुनैपनि प्रकारले पुरुषहरू भन्दा निम्न तहका थिएनन्। तरपनि यस्तो भेदभाव किन? यो सब पछाडी पुरुषहरूको त्यही डर निहित छ कि यदि नारीहरूलाई बराबर अधिकार दिए हाम्रो विशेष अधिकार र शासनको के हुन्छ?
वर्तमान काल अथवा २१ औं शताब्दीमा पनि पुरुष आफ्नो यो अधिकार र सुविधाहरूलाई छोड्न तैयार छैनन्। आज पनि तिनीहरू वा यो पुरुष प्रधान मानसिकताले नारीहरूलाई आफ्नो वशमा राख्न खोज्छ। यसको निम्ति धेरैवटा पाखण्ड समाजले रच्छ र नारीहरूलाई दबाउने कोशिश गर्छ। समाजले नारीलाई नाना-थरीले डर देखाउछ र तिनीहरूलाई आफ्नो सम्पत्ति सरह आफ्नो कब्जामा राख्न खोज्छ। समकालीन समाजमा नारीमाथि भएको अत्याचारलेनै यो समाजको पुरुषवादी दृष्टिकोण देखाउछ। दहेज प्रथा यसमा सबभन्दा माथि आउछ। दहेजको लोभले नारीको हत्या गरिन्छ, नारीले प्रस्ताव अस्विकार गरे उ माथि एसिड फ्याकिन्छ, नारीको तस्करी हुन्छ खुलेआम। आखिर किन नारीले दाइजो दिनु पर्छ? यही दाइजोको चक्करले गर्दा मानिसहरू कन्या भ्रूण हत्या गर्छन् तर आफ्नो छोराको लागि दाइजोको राशि तोक्न चुक्दैनन्। यो सब यसैले हो कारण समाजमा नारीको दर्जा पुरुषभन्दा तर छ र उसले जहिलेपनि एउटा निर्दिष्ट सीमाभित्र बस्नु पर्छ जो यो समाजले उसको निम्ति बनाइ दिएको हुन्छ।
यस्तो बाधा विघ्न हुँदाहुँदै पनि जब एउटा नारी स्वतन्त्र भएर आफ्नो काम गर्न थाल्छिन् वा पुरुषको अधीनता अस्विकार गर्छिन् त्यतिबेला यही समाजले फेरी उ माथि अश्लील टिप्पाणीहरू गर्न थाल्छन्। नारीहरूले कहिले पनि स्वतन्त्र भएर हिड्न हुँदैन भनेर उसको खुट्टा तान्छ यो समाजले। तिनीहरूको धम्कीले नडराई नारीले सहास देखाउन गए उ सँग बलात्कार हुन्छ कारण यसको सिधा प्रभाव त्यस नारीको चरित्र र भविष्यमा पर्छ। नारीको इज्जत सियोको टुप्पोमा हुन्छ भन्ने उखानहरू त्यसै बनिएको होइन नि। फेरी इज्जत पनि नारीकै हुन्छ। त्यो बलात्कारी खुलेआम पग्ल गोरु जस्तै डुल्न सक्छ सडक सडक तर त्यो बलात्कारको शिकार नारीको जीवन बर्बाद हुन्छ। उसैलाई लाज हुन्छ उसकै इज्जत जाँच। समाजका प्रतिष्ठित मानिसहर, नेता, धर्मगुरु सबैले उसैको चरित्रमा दाग लगाउछन्।
[स्मरण रहोस् १६ दिसम्बरको दिल्ली बलात्कार केसको डोक्युमेन्ट्री जसमा बलात्कारी स्वयं, उसको उकिल ईत्यादिले नारीलाई खुलेआम वस्तुसँग तुलना गरेका छन् र नारीलाई आफ्नो अभिभावक छोडेर त्यसै हिड्ने अधिकार छैन भनेका छन्। बलात्कारीले त झन् यो घटना नारीहरूलाई शिक्षा दिन लाई भएको हो भनेका छन् उक्त डोक्युमेन्ट्रीमा। यहाँबाट साफ साफ पुरुष प्रधान समाजको झलक पाइन्छ]
यो पुरुष प्रधान समाजको जरा यति साह्रो गहिरो छ कि स्वयं नारीहरू पनि यसको संचालक हुने गर्छन्। नारीले नारीलाई अत्याचार सहन सिकाउछिन्, पुरुषमाथि परजीवी भएर बाँच्नु सिकाउछिन्। एउटा पुरुषले अत्याचार गरेर तलाक दिएको देख्दादेख्दै पनि केवल पैसाको मुख हेरेर अर्को नारी उसँग बिहे गर्न तैयार हुन्छिन्। धेरैजसो आमाबाबुले त झन् पैसावाला केटा छ भने कान्छी बुडी भएर जाने सल्लाह समेत दिन्छन् आफ्नो निम्ति त केही गर्न सक्दिन भने आमाबाबुको निम्ति झन् के गर्न सक्ली? आफ्नो पत्नीलाई कुट्ने-पिट्ने, प्रताडित गर्ने छोराहरूको पक्ष पनि आमाहरू लिन्छन् कारण जे होस् उ पुरुष हो, शक्तिशाली हो। आमालेनै छोरा र छोरीमा भेदभाव गर्छिन्। छोरीलाई आफुजस्तै मानसिकता भरिदिनमा यिनीहरूको सबभन्दा ठुलो हात छ र हात छ प्रचलित धारावाहिकहरूको जसको ९९% धारावाहिकहरूले नारीको जन्मनै बिहे गरेर अर्काको घर जानुको निम्ति हो भनेर सिकाउँछ।

अन्त्यमा नारीमाथि हुने थिचोमिचोलाई हटाउनु हो भने यो पुरुष प्रधान समाजको संग्लोलाई तोडेर बाहिर आउनुपर्छ पुरुष तथा नारीहरू स्वयंले पनि।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...