Friday, August 30, 2013

सन्दर्भ— उत्तराखण्ड, दार्जीलिङ अनि सिक्किम

१४२०० फुट उच्चताको बासुकीताल हिमानी फुटेकोले हिमालयको सुनामी भएको छ। २२७०० फुट उच्च सिक्किमको चरटेन साइमर हिमानी देखि उत्पन्न भएको टिस्टाले पनि यसरी क्लाउड बर्स्ट भए पैह्रो र यस्तो बिपदा ल्याउनसक्छ। सन १९६८ मा यसरी नै राती भएको एउटा पैह्रोले पानीको स्तर बढेर धेरैजनालाई बगाएर लग्यो। यो फोटो १९६८ को बाडमा टिस्टाबजारको हो।

हालैमा उत्तराखण्डको केदारनाथमा भएको घटनाले हामी सबै बिच आतंक मचाएको छ। हजारौं तीर्थयात्री अनि पर्यटकहरू हरेक साल यहाँ आउने गर्दछन्। तर कसलाई थाहाँ थियो होला की उनीहरू आफ्नो ज्यान हत्केलामा राखी यस यात्रामा जाँदैछन् भनेर? – जून २०१३मा आएको यस हिमालयन सुनामीले हजारौ मानिसको ज्यान लिए, धेरैले आफ्नो परिवार गुमाए त धेरै जसोको त अझ सम्म केही खबर छैन। शायद यो घटना भुल्नुको निम्ति ती परिवारहरूलाई अझ धेरै समय लाग्छ होला।

न्यूटनको बहुचर्चित नियम- ‘To every action there is an equal and opposite reaction’ हामी सबैलाई थाहाँ नै छ।  त के यस घटना पछि कसैको हात छ?? या यो मात्र प्रकृतिको एउटा खेल हो कि विकासको नाममा ल्याएको विनाश?? हो यो कुरा नकार्न सकिंदैन की यसको पछाडी प्रकृतिको ठुलो हात छ। धेरै दिनदेखि आएको निरन्तर वर्षा अनि बादल फाटँनु यसको मुख्य कारण भएर अगाडि आएको छ। उत्तरकाशी, केदारनाथ, रुद्रप्रयाग, चमोली, पिथौरागढ, अल्मोरा अनि अरू नजिकैका ठाउँहरूमा बादल फाटेर आएको बाढ़ अनि पैह्रोले चारैतर्फ तहस नहस पारी दिएको छ।

यो दुर्घटना हुनको एक दिन अघि मौसम विभागले ४८ घन्टाको चेतावनी  दिएको थियो। यो मात्र होइन, मौसम विभागले १६ जूनको दिन पनि १ बजेर ४५ मिनटमा राज्यको उच्च अधिकारीलाई इमेल पठाएर यस्तो घटना हुन सक्छ भनेर चेतावनी दिएको थियो। तर शायद कसैले यसलाई पत्तो दिएन। विशाल रूपमा रूख कटाई, जल विद्दुत परियोजनाको कारण झील या सुरंग खनाई अनि सडकको निर्माणले पहाड़लाई खोक्रो पारी रहेको छ। त प्रश्न उठ्छ की दोषी को हो? प्रकृति या मानिस??

पूँजीपतिहरूको शिकारबाट सबै नै प्रभावित भएका छन्। प्रकृतिलाई पनि उनीहरूले छोडेनन्। अझ यसलाई त उनीहरूले नाफा कमाउने एउटा मुख्य श्रोतको रूपमा लिनछन्। उत्तरखंडको ५१ जलविधुत परियोजनाहरू मध्य ३१ वटा चाहिँ चमोली, उत्तरकाशी, टिहरी, रुद्रप्रयाग अनि पौढ़ीभित्र पर्छ। यी मध्ये १२ परियोजना चालु भइसकेको छ, ९ वटा निर्माणाधीन छ अनि ३० वटा परियोजना प्रतिक्रियामा छ।

हाम्रो टिस्टा पनि त्यही हालतमा छ। यस्तै धेरै परियोजनाहरू टिस्टा नदीमा पनि लागु गरिएको छ। नदीमा बनाएको बाँधको कारण वरिपरिको ठाउँहरूमा भूकम्प आउदाँ ठूलो क्षती पर्ने सम्भावना हुन सक्छ। दार्जीलिङ अनि सिक्किम sensitive seismic zone भएको कारण याहाँ कस्तो क्षती हुन सक्छ भनेर कल्पना पनि गर्न सकिन्दैन।

विगतमा गएर हेयो भने दार्जीलिङमा पनि यस्ता भूकम्प अनि पैह्रोले धेरै जान माल प्रभावित भएका छन्। दार्जीलिङमा १८९८ सालमा भयंकर रूपमा भूकम्प आएको थियो अनि हालै १८ सितम्बर २०११ मा पनि भूकम्पले धेरै मानिसको ज्यान लिएको थियो। भौगोलिक रूपमा हेयौ भने दार्जीलिङ-सिक्किम हिमालय, बंगालको खाडी देखि मात्र ८०० किलोमिटर उत्तरपटी पर्छ। यसकारण वर्षमा कमसेकम ५-७ वटा चक्रवात आउने संभावना हुन्छ।  दार्जीलिङको स्थान-निर्धारणको कारण यहाँको औसत वार्षिक वर्ष ३००० मिलिमिटर सम्म हुन पुग्छ अनि यो उत्तरखंडको तुलनामा हेयौ भने दुइगुणा अधिक हो जहाँ १५२३ मिलिमिटर वर्षा हुने गर्छ। इतिहासको पन्ना पल्टाएर हेऱ्यो भने यहाँ धेरै चोटि पैह्रो आएको छ। सितम्बर १८९९, जून १९५०, अक्टुबर १९६८, सितम्बर २००७, यी विगतका सालहरूमा यस्ता घटना घटीसकेका छन्। अनि शायद नै कसैले २००९ मा आएको आइलालाई भुलिन सक्छ होला।

जिओलोजीकल सर्भे अफ इण्डियाले गरेको सर्वेक्षणपछि दार्जीलिङलाई देशको मुख्य पैह्रो आउने ठाउँ भनी घोषित गरिएको छ। टिस्टा नदीमा ३० वटा भन्दा ज्यादा बाँध बनिएको छ वा बनिने प्रक्रियामा छ। बहु आबादी भएको ठाउँहरू जस्तै रंगपु, सिंग्तम, माझीटार, मल्ली, जोरथांग, टिस्टा अनि रंगीतको बगरमा पर्छ तसर्थ भविष्यमा कुनै यस्तो दुर्घटना भएमा ज्यादा प्रभाव यी गाऊँहरूमा पर्ने आशंका छ। कालिझोडा देखि २९ माइल भित्र कमसेकम १४ वटा यस्तो सानो ठूलो पैह्रो आई सकेको छ। दार्जिलिङ जस्तो पहाडी क्षेत्रमा जनसंख्या कतिसम्म हुनुपर्ने, त्यसको सीमा छ। ब्रिटिसको जमानामा दार्जिलिङको जनसंख्याको सीमा थियो १०००० जना, सिमलाको २५००० जना। अनि यहीहिसाब अनुसार नै पानी, बाटो, स्यानिटेसन व्यवस्था बनेको थियो। १९१० मा दार्जिलिङको जनसङ्ख्या थियो १५०००। त्यसको लागि बन्यो ९० मिलियन लिटर पानी धारण गर्नसक्ने उत्तर सिन्चल लेक। १९३१ मा जनसङ्ख्या बढेर २११८५ भयो। १९३२ मा बन्यो ६०.७५ मिलियन लिटर क्षमताको दक्षिण सिन्चल लेक। आज दार्जिलिङ सहरको जनसङ्ख्या दुई लाख पुग्नुआट्यो। पानीको व्यवस्था आजसम्म त्यो पुरानो नै छ। १९८१ मा पब्लिक हेल्थ इञ्जिनियरिङ दफ्तरले ६५.२५ मिलियन लिटरको एउटा जलाधार परियोजनाको घोषणा गरेको थिए, तर आजसम्म यो कार्यन्वयन भएको छैन। १९९७ को जुलाईमा गान्तोकमा भएको पैह्रो पछि चर्चा हुँदाखेरी यस्तो दस्ताबेजहरू भेट्यो जसमा लेखिएको छ कि १५ मिटर भन्दा बेसी उच्चताको बिल्डिङ निर्माण पहाडी क्षेत्रमा मनाही छ। यो नियम सबै पार्वत्य क्षेत्रको निम्ति लागु छ, उत्तराखण्डमा पनि। तर उत्तराखण्ड जस्तै यहाँ दार्जिलिङ, गान्तोकमा पनि धेरै अग्ला अग्ला बिल्डिङ बनिन्दैछ! पहाडमा गाडीको सङ्ख्या पनि नियन्त्रणमा राख्नुपर्छ। गाडीबाट निस्केको ग्यासले जीवजगतलाई नष्ट पार्छ, अनि गाडीको कम्पनले गर्दा पहाडी तहमा पनि चोट पुग्दछ। दार्जिलिङ जिल्लामा १९९५ मा ३८१७१ वटा गाडी पंजीकृत भएको थियो। १९९६, १९९७ , १९९८, १९९९ मा त्यो बढेर ३९४१५, ४४८८२, ३६२७०, ४२३३० बन्यो। त्यही समयमा सडक दुर्घटनाको संख्या थियो ३७५ (मृत्यु ११६), ३६५ (मृत्यु १२५), ३५३ (मृत्यु १५२), ३३२ (मृत्यु १४१), ३५४ (मृत्यु १४७)। अङ्ग्रेज जमानामा भारी बाहन पहाडमा चल्नुमाथि रोक थियो। त्यही समय बनेको बाटोको सङ्ख्या त्यति बढेको छैन, तर गाडीको सङ्ख्या अनि भारी बाहन बढ्दैछ। 

रूद्रप्रयागको ३४ वर्षको इतिहास हेयो भने यहाँ यस्तो बाढ़ ७ चोटी आई सकेको छ। उत्तराक्षी अनि चमोली-रूद्रयाग-केदारनाथमा पनि अगस्त-सितम्बर २०१२ मा यस्तो घटना घटेको थियो। अलकानन्दा, भागिरथी, गंगा, गोरी-गंगा, कलि-गंगा जस्ता अन्य नदीहरूमा पनि धेरै जल विद्युत परियोजनाहरू चालु  भएको छ। लगभग ६८० बाँधहरू यी नदीहरूमा छन्।

प्रशासनले पनि यसमा कुनै कदम उठाएको छैन। बरू सरकारले त यी पुँजीपतिहरूलाई यस्तो विशाल दूर्घटना सम्भावित विधुत परियोजनाहरू बनाउने स्वीकृति दिन्छ। यसैले मानव सभ्यताको अभिन्न अङ्ग प्रकृतिको विनाशलाई रोक्न अनि उन्नतिको नयाँ परिभाषा दिन अति आवश्यक बनेको छ।

 अम्बिका राई

No comments:

Post a Comment