Friday, August 30, 2013

लामो सङ्घर्षपछि तेलंगाना राज्य गठन

तेलंगाना क्षेत्र भित्र उठी आएको जन आन्दोलनहरूलाई कुल्चनु भारतीय शासक वर्गले के-कस्ता आक्रमण चलाए त्यो इतिहासको पन्ना-पन्नामा खोपिएका छन्, तर आज त्यही कांग्रेसी नेताहरू बरफ पग्ले झैँ तेलंगानावासीहरूलाई सहानुभूति देखाउदैछन्। यति दीर्घकालीन आन्दोलनलाई कुल्चेको बिर्सेर उनीहरूकै प्रिय मांग जतिकै हल्ला पिट्दैछन्। तेलंगाना राज्य लोकसभाको शीतकालीन सत्रमा पारित गरिनेछ भनेर रक्षा मन्त्री ए.के.अन्थोनी ले ऐलान गरिदिएका छन्। यसो लाग्छ दयाको भावना जागेको छ काँग्रेस बहुमत यु.पी.. सरकारलाई, जसको नेता नेहरू देखि अनुवंशिकता इन्दिरा-सोनियाले यी मुद्दालाई आँखा तर्ने गर्थे। तर दयाको भावना कदापि यी नेतागणको मनमा छाएको छैन बरु लोकसभा चुनावको मुखमा सत्ताको भोकले राल चुहाउँदैछन् यिनीहरूले।  

तेलंगाना: संक्षिप्त इतिहास
इतिहासलाई हेर्दा तेलंगाना एउटा समृद्धशाली राज्य रहेको थाहा पाइन्छ। सन १९५६ सम्म यो क्षेत्रमा हैदरावादको सातौं निजाम मीर ओसमान आली खान बहादुरको शासन चलिरहेको थियो, अनि यो निजाम त्यतिबेला संसारमा सबभन्दा धनी मानिसको हिसाबले ख्याति पाएको, जसको सम्पत्तिको परिमाण सन १९४० मा २ बिलियन डलर जस्तो थियो। यो रकम स्वतन्त्रता पछि १९५० मा भारत सरकार द्वारा उठाएको राजस्वको दुइगुना हो ! हैदरावाद राज्य स्वतन्त्रता अघिको ६०० वटा प्रिन्सली स्टेट्स वा करद राज्यमध्ये सबभन्दा ठुलो थियो। त्यो नै थियो एकमात्र राज्य जसको आफ्नो मुद्रा थियो, 'हैदरावादी रुपियाँ', जो बाकी भारत देखि अलग्गै थियो। हैदरावाद  १९४७ अघि भारतमा पाँचौं ठुलो शहर थियो। 
सन् १९४७-मा अङ्ग्रेजी हुकुमतले भारत र पाकिस्तान छोडेर जाँदाखेरि, निजामले हैदरावाद साम्राज्यलाई भारत र पाकिस्तान दुवैमा गाभ्ने पक्षमा थिएनन्। तर यो प्रस्ताव ब्रिटिसले नकारीदियो। निजामले राजाकार(निजी आर्मी)हरुलाई बढावा दिन्थे, अनि यसको अस्तित्वलाई देखायेर हैदरावादलाई भारतभित्र गाभ्ने प्रश्नमा त्यहाँको जनता मान्दैन भनेर निजामले बहस उठायो। हैदरावाद साम्राज्यमा १९४६ देखि नै प्रचलित किसान आन्दोलन— ‘तेलंगाना आन्दोलन’, जमिन्दारहरू विरुद्ध सुरु भएको थियो। यो आन्दोलन जमिन्दारहरू विरुद्ध त थियो नै तर पछि गएर निजाम मिर ओसमान आली खानको शासनलाई विरोध गर्न पनि यो पछि हटेन। भारत स्वतन्त्र भए पश्चात् निजाम राज शासनको विरुद्ध हैदरावाद राज्य अधिन तेलंगाना क्षेत्रको किसानहरूले विद्रोह जोडले चम्काएका थिए। त्यतिबेलाको अविभाजित कम्युनिष्ट पार्टी पनि निजाम र राजाकारहरू विरुद्ध यो सङ्घर्षमा ओर्लियो। हजारौं जनता यो सङ्घर्षमा शहिद भएपछि, अन्तमा, तेलंगानाको सशस्त्र किसान विद्रोहले सन १९४८ मा आंचलिक जमिन्दारहरुलाई (जमिन्दार, डोरा, देशमुखहरू) खेद्न सफल भयो अनि जमिन नहुनेहरूलाई जमिन बाड्ने काम गर्यो। भारतको इतिहासमा यसलाई निश्चयनै एउटा ठुलो विद्रोह मानिन्छ।
त्यसताक हैदरावाद राज्यको शासकहरू मुसलमान भएतापनि ९३ प्रतिशत प्रजा नै हिन्दु थियो अनि त्यो राज्य चारैतिरबाट भारत द्वारा घेरिएको हुनाले यो विद्रोहको समयनै सन १९४८ मा भारत सरकारले हैदरावाद पसेर त्यसलाई भारतभित्र गाभ्यो।  यहाँको बहुमत हिन्दुहरूले 'जोएन इण्डिया (भारतसँग जोडो)' सङ्घर्ष चलाइरहेका थिए। १७ सेप्टेम्बर १९४८ मा सर्दार बल्लभभाइ पटेलको नेतृत्वमा अपरेसन पोलो भन्ने मिलिटरी एक्शन द्वारा निजामलाई हटाएर हैदरावादलाई भारतको अंश घोषित गर्यो र सन १९४८-५६ भित्र यसले एउटा पूर्णरुपमा राज्यको रुप लियो।
त्यस समय हैदराबाद राज्यमा तेलंगाना क्षेत्रको नौ वटा तेलुगु भाषी जिल्ला, गुल्बर्गा क्षेत्रमा चार कंनाडा जिल्ला र चार मराठी भाषी जिल्ला औरंगाबाद क्षेत्रमा थियो। केन्द्र सरकारले २६ जनवरी १९५० मा सीविल सरवेन्ट, एम.के. भेल्लोडीलाई हैदरावादको पहिलो मुख्यमन्त्रीको पद दिए। उनले बम्बै र मद्रास राज्यका नोकरशाहहरूका मद्दतले प्रशासन चलाए तर स्थानीय वासिन्दाहरूका निम्ति यो आपत्तिजनक थियो। सन् १९५२मा प्रथम गणतान्त्रिक चुनाव पछाडि डा. बुर्गुला रामकृष्ण राव मुख्यमन्त्री बने साथै बाहिरका नोकरशाहहरूलाई खेद्न अनि मुलकी-कानुन, जसले स्थानीय मानिसहरूका लागि रोजगार सुरक्षित गर्दथ्यो, लागु गराउन जोरदार हिंसात्मक सङ्घर्षको स्थिति थियो।        

आन्ध्र राज्यको गठन
१९५२ मा तेलुगु भाषी मानिसहरू जम्मा २२ वटा जिल्लामा बाडिएका थिए भने ती जिल्लाहरू  निजामको हैदरावाद साम्राज्यमा ९ वटा जिल्ला (तेलंगाना क्षेत्र), मद्रासको १२ वटा जिल्ला (आन्ध्र क्षेत्र), र एउटा फ्रेन्च उपनिवेश यानाममा थिए। मद्रास राज्यमा तामिलहरूको रोजगार, उद्योगमा आधिपत्य अनि आन्ध्र क्षेत्रलाई हेल्चेक्र्याई गरेको आधारमा छुट्टै राज्य आन्ध्रको माँग १९५०मा तेलुगुभाषीहरूले गरे। छुट्टै राज्यको माँगमा पोटी श्री रामालुले ५८ दिन भोक-हर्ताल बसेर १५ डिसेम्बर १९५२मा ज्यान गुमाएका थिए। उनिको शवयात्रा निकाल्दा आन्ध्र र मद्रासको कैयौं अंशमा हिंसा फैलिएको थियो। यतिबेला सम्म नेहरू सरकारले ध्याननै नदिएको मुद्दालाई अचानक यस घटनाको चार दिन पश्चात् छुट्टै राज्य आन्ध्रलाई जन्म दिए।

राज्य पुनर्गठन कमिटी    
तेलुगुभाषी आन्ध्र राज्यको निर्माण पछि पुरा देशमा भाषा आधारित राज्यको माँग हुनथाल्यो अनि केन्द्र सरकारले राज्य पुनर्गठन कमिटीको गठन गरे। यस कमिटीले हैदरावाद राज्यको तेलुगु भाषी तेलंगाना क्षेत्रको आन्ध्र राज्यमा विलयको दुवै नकारात्मक-सकारात्मक विचार प्रकट गरे। कांग्रेसी केन्द्र सरकारले आखिरमा  तेलंगानावासीहरूका कुनै मत बिना तेलंगाना क्षेत्र र आन्ध्रलाई संयोग गरेर १ नोवेम्बर १९५६मा  जेन्टलम्यानस अग्रीमेंटद्वारा आन्ध्रप्रदेशको निर्माण गरे। यस जेन्टलम्यानस अग्रीमेंट मुताबिक तेलंगाना क्षेत्रलाई अन्य क्षेत्रभन्दा धेरै सुविधाहरू लागु गराउने भए चाहे त्यो शिक्षा, रोजगारमा होस् वा राजनैतिक चौकी, विकाशको मुद्दाहरू सुरक्षित राख्न। तर वास्तविक्ता भिन्न हुनगयो। तेलंगाना वासिन्दाहरूलाई जे कुराको डर विलयको समय थियो आखिरमा त्यही भयोमुलकी कानुन र जेन्टलम्यानस अग्रीमेंटको उल्लंघन। आन्ध्रप्रदेश तीन क्षेत्रहरूमा विभाजित छ। ती हुन्तटवर्ती आन्ध्र वा सिमान्ध्र, रायालासीमा अनि तेलंगाना। तटवर्ती आन्ध्र अनि रायालासीमा अथवा दुइटै जोडेर आन्ध्रसीमाका शासकहरूको तेलंगाना विलयमा स्वीकृति दिनुको मूल उद्देश्य थियो, त्यहाँको प्राकृतिक सम्पदा अनि रेडिमेड नगरभारतको पाचौं विशाल नगर हैदरावाद, जसलाई आन्ध्रप्रदेशको राजधानी बनाइएको थियो।   

जय तेलंगाना आन्दोलन: पृष्टभूमि
आन्ध्रमा विलयको सोचले नै तेलंगानावासीहरूको मन-मस्तिष्कमा अन्धकार छाएको थियो। ब्रिटिस शिक्षाले परिपक्व आन्ध्र क्षेत्रका मानिसहरूका आधिपत्यको नै चिन्ता तेलंगानालाई थियो। आखिरमा राजनैतिक सत्ता देखि शिक्षा-स्वास्थ्य, आर्थिक-विकाश, वा कुनै पनि सरकारी, निजी क्षेत्रहरूमा रोजगार, इत्यादि कुराहरूमा तेलंगानाले हेलचेक्राई खप्नुपयो। १९६८मा नै तेलंगानामा आन्ध्रसीमाका २५००० वासिन्दाहरूले रोजगार ओगटेका थिए।
-मुलकीहरूले तेलंगानामा जेन्टलम्यानस अग्रीमेंट र मुलकी कानुनको उल्लंघन गरेकोमा आन्दोलन छड्केको थियो। ओस्मानिया विश्वविद्यालयबाट थालेको यो आन्दोलन छिट्टै नै जम्मै क्षेत्रमा फैल्यो। ओस्मानिया विश्वविद्यालयको छात्र आन्दोलनले छुट्टै तेलंगाना राज्यको नारा लगाए, जय तेलंगाना आन्दोलन जन्माए ३५० भन्दा ज्यादा छात्रहरू शहीद भए। यस आन्दोलन छात्रहरूमा मात्र सीमित नरहेर शिक्षक, कर्मचारी, बुद्धिजीवी, साधारण जनताले पनि भागीदारी लिए। आन्दोलनको ९ महिना अवधिमा ७०००० मानिसहरूलाई गिरफ्तार गरियो। ३२६६ पल्ट लाठीचार्ज भयो जसमा २०००० मानिसहरू घायल भए भने १८४० जना बन्दुकको गोलीले घाइते हुनपुगे। तर यस चरणको आन्दोलन त्यतिबेला धमिलियो जब तेलंगाना प्रजा समितिका केही नेताहरूले चौकीको लोभमा काँग्रेसलाई समर्पण गऱ्यो। सन् १९७२ मा तेलंगाना क्षेत्रका मानिसहरूका शैक्षिक क्षेत्र र रोजगारमा आरक्षणको सुरक्षा निम्ति सुप्रिम कोर्टले मुलकी कानुनलाई स्वीकृति दिए। त्यसपश्चात आन्ध्रवासीहरूले पनि जय आन्ध्र आन्दोलन गरे जसले झन् तेलंगानालाई विपदमा ल्यायो। यस आन्दोलनले मुलकी कानुनको क्षमतालाई कमजोर बनाए, तेलंगाना रिजिओनल कमिटी निलम्बित बनाए, आन्ध्रका वासिन्दाहरूले तेलंगाना किसानबाट जमिन किन्न पाउने भए, हैदरावादलाई फ्री जोन बनाए इत्यादि। त्यो १९७२ देखि तेलंगाना माथि, त्यहाँको सम्पदा माथि आन्ध्रको मानिसहरूका शोषण बढ्दै गयो। कुन कुन मुद्दा उठाउनु? शिक्षा, रोजगार, स्वास्थ्य व्यवस्था, इरिगेसन, उद्योग र शक्ति, सानो-कटेज-ह्यान्डलुम उद्योग ध्वस्त पार्नु, खानी र फरेस्ट सम्पदा माथि कब्जा, हैदरावाद शहर बाहेक बाकी जम्मै तेलंगाना क्षेत्र प्रति बन्चना, तेलंगानाको शहिद र नेताहरु प्रति अवहेलना, मिडियाको पक्षपातपूर्ण आचरण, अनि राजनैतिक सत्ताको प्रश्नसबैमा नै शोषण-बन्चनाको धेरै उदाहरण छ। श्रीकृष्ण कमिटीको रिपोर्ट अनुसार, जहाँ सीमान्ध्र क्षेत्रबाट आएका नेताहरुले मुख्यमन्त्रीको पद ४२ वर्ष सम्हालेका छन, जब कि तेलंगानाबाट मात्र १०.५ वर्ष।
जहिलेपनि तेलंगानाको जनताले आफ्नो चिन्हारी र स्वशासनको माग गर्दा अलग राज्यको कुरा गरियो, एक पछि एक सरकारले सबै जनाको भाषा तेलुगु हो भनेर, तेलुगु भाइचाराको बात उठाएर, तेलंगाना माग्नेहरुलाई विच्छिनतावादी भन्दै यो मागलाई नकार्ने परम्परा चलाइरह्यो। 
तेलंगाना आन्दोलन तरैपनि आफ्नो आवाज बारम्बार उठाउदै गयो। आन्दोलनलाई दबाउने धेरै प्रयास पछि, फेरी २००१मा यसले आफ्नो गति पक्रन थाले, तेलंगाना राष्ट्र समितिको गठन भयो। बार्ह विद्यार्थी संगठनहरू एउटै मन्चमा आएर जयेंट एक्शन कमिटी बनायो। भोक हड़्ताल, राजीनामा, चक्काजाम, आत्मदाह, जुलुस इत्यादि चल्दैथियो। यही क्रममा २००९मा तत्कालीन गृहमन्त्री पी. चिदम्बरमले तेलंगाना राज्य गठनको कार्य सुरु हुने बताए पछि तेलंगानामा खुसीको लहर छायो। त्यसपछि पनि धेरै बहस चल्यो, तर आखिरमा तेलंगानाको जित भयो। भारतीय शासकहरू तेलंगानाको आवाज अघि झुक्न बाध्य भयो। तेलंगानाको ऐतिहासिक महत्व, जुझारु आन्दोलन, आत्मनिर्णयको निरन्तर चाहनाले आज तेलंगानाले जित हासिल गरेको छ।

No comments:

Post a Comment