Sunday, September 1, 2024

जिन्दगी बाँच्नु रहर कि कर ?

सागर थापा 

अहिले टिस्टा तटका मानिसहरूको जीवन र 2023-को बाढ पीडितहरूको जीवन “जिन्दगी बाँच्नु रहर कि कर ?" यहीँ प्रश्नमा आएर अड्किएको छ।

घरको नामोनिशान बगाउँने बाढ आएको समय पनि जीवन बचाई राख्नलाई बेल्चा, डोको नै जीवनको आधार बनिएको छ। टिस्टाबजारमा हाम्रो कपुर/गफुर बस्तीका प्राय मानिसहरूको जीवन खोलामाथि नै निर्भर थियो र अहिले पनि त्यस्तै परिस्थिति छ।

  आजभन्दा 10/15 वर्ष अगाडि टिस्टा खोला सानो, एउटा खोल्साको धार जति नै थियो। त्यसबेला मानिसहरू खोला बगरमा गिटी कुटेर, बालुवा बोकेर, रोडा-ढुङ्गा निकालेर जीविका धान्ने गर्थे। मेरा आमा-बाबाले पनि मलाई र मेरो भाइलाई त्यसरी नै पढाए। अत: 2012-14 सम्मकाहरूले खोला बगरमा नै आफ्नो बाल्यकाल बिताए। यति त पक्कै भन्न सक्छु टिस्टा खोलासँग धेरैको भावनात्मक सम्बन्ध रहेको छ। टिस्टा खोलामा नुहाउनु, पुजाआजा गर्नु, पौडी खेल्नु, माछा मार्नु आदि कार्यहरू हुने गर्थ्यो।

2023-मा त कसैले नसोचेको नै भयो। 1968-को बाढ त देखिनँ तर पनि 68-को बाढले पनि धेरै ज्यान मालको क्षति पुर्‍याएको थियो रे। धेरै घरहरू, बाटाहरू बगाएको थियो। सिलगढीबाट सिक्किम-कालेबुङ जाने पुल पनि डुबाएको थियो (त्यस पुलको अवशेष वर्तमान टिस्टाबजार थाना पछाडि अझ छ)। 2023को बाढले त के कति उधुम मचायो हामी साक्षी नै छौँ।

 2024-मा पनि टिस्टाले बेला-बेला टिस्टा किनारवासीहरूलाई फेरि सुकुम्बासी बनायो। धेरै वर्षा भएको कारण घरि-घरि जलस्तर बढेर फेरि बाटो चुडायो, गाडी डुबायो, पुलहरू भत्कायो, मल्लीमा पारीको फुटबल स्टेडियम समेत डुबायो। यस्तो अवस्थामा पनि यहाँका वासिन्दाहरू एक पट्टी घर डुबाउने डर अर्को पट्टी भोक मेटाउने करमा बाँचिरहेका छन्।

 टिस्टा बाढले बगाएका मेरो गाउँका घरहरू 8 महिना बितिसक्दा पनि सम्बन्धित विभागले जम्मा 14 मध्ये 3-वटा घर मात्र बनाउँन सक्षम भएको छ। हुन त मान्छेहरूको आ-आफ्नै डिमान्ड छ। कसैले घर थाप्ने कसैले पैसा नै थाप्ने भएका छन्। तर सम्बन्धित विभागले केही चित्त बुझ्दो र  उचित कार्य भने गरेका छैनन्। 5-अक्टोबरका दिन ठुलो घोषणा त गरेकै थियो “जिटिए सक्षम छ। बाढ पिडितका लागि कसैले पैसा उठाउनु पर्दैन” भनेर। त्यसपछि न त क्षेत्रीय प्रशासले केही गर्‍यो न त राज्य सरकारले न त केन्द्र सरकारले। को कति पानीमा तैरिन सक्छ यो बितेको 8 महिनामा देखियो। सबै आउँछन् आश्वासन मात्र दिएर जान्छन्।

यो बर्खाको समयमा टिस्टा खोलाले मानिसहरूलाई रातारात लखेट्ने काम गरिरहेको छ। बाढले ज-जसको घर बगायो उनीहरूसँगै खोला नजिकै रहेका रहल घरहरू पनि खतरामा छन्। टिस्टा बजारदेखि टिस्टापुल बिचका सडकको तल्लोपट्टि भएका घरहरू प्रत्येक दिन खोलाले तान्दै छ, कति जनाको घर त फेरि खोलाले बगाइसकेको छ‌। प्रत्येक दिन खोलाको उचाई अझ माथि-माथि आउँदै छ। जब जब पानी पर्छ राति-राति गाउँका मानिसहरू सुत्दैनन्। दिनको चैन रातको निन्द्रा, टिस्टा खेलाले बगाइ रहेको छ। पानी धेरै परेको कारणले गर्दा मेरो घर नजिकै बग्ने ठाडे खोला पनि बढेर गाउँलाई खाऊँ जस्तै झम्टेर आउँछ। तल टिस्टा खोलाले त मुख आ....गरेर बसेको छदै छ। गाउँ अब मुखभित्र पस्नु मात्र बाँकी छ। टिस्टाबजार अब सुरक्षित छैन। यसको विकल्प पनि देखेको छुइन। कसरी पनि आश गर्नु त एउटा गाउँ नै सारेर अर्को ठाउँमा राख्छ भनेर‌। गाउँको जम्मा 15-वटा घर धरी त बनाउँन सकेको छैन। बाढ पीडितहरू सँगसँगै टिस्टावासी पनि टिस्टा बजारको र आफ्नो घरको सुरक्षा चाहन्छन्। यसमा सरकारले केही ठोस् निर्णय गर्ला त ? यही प्रश्नले पनि टिस्टा बजारवासी चिन्तित छन्।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...