Sunday, September 1, 2024

‘लापता लेडिज’ भेटिएको सूचना..!

लुबिना कृतिका दाहाल 

साहित्य समाजको दर्पण हो, तर साहित्यलाई उडान भर्न कलाका धेरै विधाहरूले हावा दिरहेका छन्। तीमध्ये चलचित्र र सङ्गीतले महत्वपूर्ण भूमिका निभाउँछन्। सम्भवत हामीले बोक्सी शब्द खाली साहित्य र समाजमा धेरै जसो सुनिआएका छौँ। तर अहिले भने कलीवुडकी खप्पिस अभिनेत्री केकी अधिकारीको ‘बुझिन मैले बुझाईदेउ कसैले’ समीक्षा अधिकारीको सुमधुर आवाजले सारा नेपाली समुदाय रिल बनाउन, नाँच्न र गुनगुनाउँदै नारीत्वको पर्व मनाई रहेका छन्। त्यो गीतमा भएको ‘बोक्सी’ अब अपशब्द रहेको छैन। उसरी नै भर्खरै चर्चामा आउन सफल, अति नै सरल तर जटिल विषय लिएर नेटफ्लिक्सका युवा जमातलाई आकर्षण गर्दै, समाजका धेरै ओझलमा परेका बुदाहरूलाई सुन्दर ढङ्गमा राख्न सफल बनेको फिल्म ‘लापता लेडिज’-को कुरा हुँदैछ। विप्लब गोस्वामीको कथाबाट रूपान्तरित र स्नेहा देसाईद्वारा स्क्रिप्ट गरिएको, साथै किरण रावको निर्देशनमा ‘लापता लेडिज’ एक स्पष्ट नारीवादी उच्चारणको साथ सामाजिक व्यङ्ग्य हो जसले समाजिक कुप्रथाहरूलाई जोडदार तर्क दिन्छ।

घुम्टो भित्र लुकिएको आँखाहरूको अङ्गार बयान गर्दै यो फिल्मले कुनै प्रत्यक्ष बिद्रोह नगरिकन नै बिद्रोहको ज्वाला उकेलेको छ। यसमा भएका मूल पात्र फुल र दीपक कुमार बिवाह गरेर ट्रेनमा घर गई रहेका बेला देख्छन् की ट्रेनमा अन्य दुई तिन नयाँ जोडी यात्रा गरिरहेका हुन्छन्। मजेदार कुरा के भने त्यस ट्रेनमा भएका सबै दुलहीहरूले घुम्टो ओडेका हुन्छन्। दीपक कुमार र फूलको स्टेसन आएपछि दुवै उत्रेर घर जाँदा आरती गरिने बेला फूल फूल हुदिन। ट्रेनमा फूल भनेर दीपक कुमारले अर्काको पत्नी लिएर आएका हुन्छन्। दुलहीको नाम भने पुष्पा रानी बताउँछिन् तर खास नाम उनको जया हुन्छ। फूल उता स्टेसनमा अलपत्र परिरहेकी देखिन्छिन्। 

सबभन्दा व्यङ्गाक्मक कुरा यहाँ के छ भने, अभिभावकहरूले छोरीहरूलाई अर्काको घर जान, खाना बनाउन, लुगा धुन, सोम्य शान्त बनाउनमा ज्यान लगाउछन् तर फूल र पुष्पा जस्तो विवाह गरेर जाने कुन ठाँउ हो, त्यो ठेगानाको बारे बताउनमा र जानकारी दिन चुक्छन्। यही लाचारपनको घेरामा बाँधिएकी देखिन्छिन् ‘फूल’ जब उनलाई उनको ससुरालको गाउँको नाम सोधिन्छ र उनी आफू विवाह भएको ठाउँको नाम बताउन असफल बन्छिन्। फूललाई आफ्नो गाउँको नाम गङ्गापुर भनेर थाहा हुन्छ तर यो गाउँ कुन राज्यमा पर्छ भन्ने कुरा पनि थाहा हुँदैन।

पुष्पा उर्फ जयाले यही अज्ञानतालाई आफ्नो हतियार बनाएर, भागेर आफ्नो सपना पूरा गर्ने योजनामा दीपक कुमारको घरमा काम गरिरहेकी छन्, जयासँग फोन पनि हुन्छ र लुकेर आफ्नो दिदीलाई गहना बेचेर आफ्नो कलेजको फिस तिर्न दिन पनि भ्याउछिन्! फूल र पुष्पाको नारीत्व एकअर्कादेखि छुट्टै छन्। फूल अञ्जान अबोध, पुष्पा पढेकी केटी सपना पूरा गर्ने होडमा जैविक कृषिमा रूचि राखेकी केटी। फूलको सपना चुल्हा चौका छ भने पुष्पाको सपना कलम कपीसँग जोडिएको छ।

जया उर्फ पुष्पा परम्पराबाट मुक्त हुन्छिन्, जबकि फूल, पितृसत्तात्मक संस्कृतिमा फसेको एक अबलाको रूपमा दर्साइएको छ। पुष्पालाई परिस्थिति अनुसार लाचार देखिँदैन तर फूलको पात्रलाई हेर्दा बुझ्दा चिन्ता लाग्छ। फूल एउटा ठूलो डस्टबिनको पछाडि लुक्छिन् जब उनी रेलवे प्लेटफर्ममा पछाडि छोडिन्छिन्।

घरकी छोरी, छोरी हुञ्जेल बाबाको अमानत, बिवाहपछि पतिको अमातन। नारीको इन्डिभिज्वालिटीलाई भिक्टीमाईज गरिएको कुराहरू आजको मात्र होइन। यो कुरा लापता लेडिजको मात्र होइन। पुरुषहरूलाई जहिल्यै प्रदायक र नारीहरूलाई चुल्हाको चार दिवारको रानी, मानिएको सोच अहिलेसम्म पुरुषहरूको मेल इगोलाई पोषण दिँदै आइरहेको छ। अहिले पनि नारीहरू चुल्हा र चौकादेखि टाढा बसे, ऊ असल आमा, पत्नी, छोरी वा बुहारी बन्न असफल बन्छिन्। नारीको चरित्रलाई सियोको टुप्पामा राखिएको पिँढीदर पिँढीको पाखण्ड हो, जुन अहिले पनि ठाउँ ठाउँको परम्परा बनेको छ। खाना खान, पकाउन र दिशा गर्न आम काम हो र पुंलिङ्ग र स्त्रीलिङ्ग दुवैले गरिने हो। दीपक कुमार र पुलिम श्यामकिसन जस्तो सपोर्टिङ्ग पुरुष पात्रहरू महिलाहरूको असल जीवनमा भइदिए मात्र पनि महिलाहरूलाई स्वास फेर्न अलिकति सजिलो हुन्थ्यो की..? 

एक शक्तिशाली दृश्यमा, छाया कदमले अभिनय गरेको मञ्जु नामको चिया पसल अलि कडा महिला मालिकले अनादर र दुर्व्यवहार सहनुको सट्टा एक्लै बाँच्ने निर्णय गरिएको देखिन्छ। उनले फूललाई आश्रय दिन्छिन् तर फूलसँगको उनी गफले नै गम्भीर कुराहरू बताउँछिन्। कसैले तपाईँलाई माया गर्छ तर तपाईँलाई चोट पुर्‍याउँछ भने  ठीक होईन, आफ्नो लागि खडा हुने आवाज उठाउँने सबैको अधिकार छ।  केटी होस्, तँ केही गर्न सक्तैनस् भन्ने पितृसत्ताको विचार फ्रड हो भनेर पनि यही मञ्जुले फूललाई बताउँछिन! आफ्नो लागि आवाज उठाउन, आफ्नो सपनालाई ठाउँ दिन जस्तो कुरादेखि दाइजोको कुप्रथा, सामाजिक हिंसाको विरोध तथा लिङ्ग समानतालाई प्रोत्साहनको कुराहरू फिल्ममा दर्साइएको छ। 

लापता लेडिजले कठिन समयमा पनि मानिसहरूको भलाई र दयालुताबारे प्रकाश पार्छ। जसरी हिलो पानीमा कमल फुल्छ, त्यसरी नै मानिसको भित्री भलाई कसरी चम्किन्छ भन्ने चलचित्रले देखाएको छ। चलचित्रमा, महिलाहरू अचानक सबै कुरामा प्रश्न गर्न वा समस्या निम्त्याउन थाल्दैनन्। यसको सट्टा, तिनीहरू अन्य महिलाहरूसँग मित्रता बनाउन, आफ्नै पैसा कमाउन र सपना देख्न साहस गर्नमा खुशी पाउँछन्। रावको फिल्मलाई उत्कृष्ट बनाउने कुरा के हो भने यो फैन्सी छैन। यो फिल्म आम जनताको लागि बनिएको हो, यसमा कुनै प्रकारको चटकभटक देखाइएको छैन। यसले मलाई 2011-मा बिकास भैलको र कंगना रनावतले लीड गरेको क्विनको पनि सम्झना दिलाउँछ, तर यो अधिक सूक्ष्म छ र गाउँको जीवनमा सत्य रहन्छ। क्विनले हामीलाई मित्रताको महत्त्व र आफूलाई माया गर्नेबारे सिकायो, आफ्नो अस्तित्वबारे बुझायो। 

सिमोन डि ब्योभ्यारको द सेकेन्ड सेक्स-मा भनेको जस्तो केटीहरूलाई ओब्जेक्टिफाई गरिएको, दोस्रो दर्जा दिईएको तर्कलाई हावा दिन्छ क्विनले।  लापता लेडिजका फूल र पुष्पा दुवैलाई परिवर्तन गर्न र आफैलाई पहिलो स्थानमा राख्न खोज्छन् तर यो सजिलो छैन, समय र प्रयाससँग सम्भव भएको हामी फिल्मको अन्त अन्ततिर महसुस गर्छौँ।

यसमा ठूला एक्शन दृश्यहरू छैनन्, न कुनै आइटम गीतहरू छ, तर यो फिल्मले न्यानो मुस्कान र भित्रबाट राम्रो भावना जगाएर ल्याउँछ। निश्चित रूपमा हेर्न लायक, तर हेरेपछि पक्कै पितृसत्तात्मक सोचलाई चिन्तन् र मनन गर्न बाध्य बनाइदिने छ।

हामी अहिले पनि केटीकै मुखबाट “केटी मान्छे बाठो भएको राम्रो होईन” भन्ने सुन्छौँ तर केटी मान्छे बाठो हुँदा किरन रावको जस्तै फिल्मले लाखौँ मन जित्न सक्छ, फिल्मको माध्यमबाट नै सामाजिक कुप्रथाहरूलाई र कुसोचहरूलाई थप्पड लगाउन सकिन्छ।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...